साँझ करिब ५ बजेको थियो।यो मान्छेहरूको चहलपहल अलि बढी नै हुने समय पनि हो । दिनभर आ-आफ्नो काम सकेर बेलुकापख मानिसहरू घर फर्किने भएकोले पनि यतिबेला सार्वजनिक यातायातमा अलि घुइँचो नै हुने गर्छ । भदौ१८ गते धनगढीमा नेकपा सुदुरपश्चिम प्रदेशले आयोजना गरेको `विज्ञानको विकास, विचार र क्षेत्रीय समस्या विषयक´ बौद्धिक अन्तरक्रिया कार्यक्रम सहभागी भएर फर्कदै थिए । मेरो श्रवणशक्तिले राम्रो काम नगरेतापनि कार्यक्रममा देखिएको जनसहभागिता, श्रोताहरुको उत्सुकता र वक्ताहरुको विषयप्रतिको प्रस्तुति, गम्भीरता र उच्चताका हिसाबले अन्तर्कृया सानदार भएको अनुभूति भयो ।
कार्यक्रम समापन भैसकेपछि कोठातिर जानका लागि सहिद गेट आइपुगे । पुग्ने बित्तिकै हाइसमा बसियो । हाइस खाली थियो । करिब १५ मिनेटको प्रतिक्षा पश्चात् यात्रुको खोजीमा धनगढी चौराह हुँदै बसपार्क सम्म ३ चक्कर लगाएपछि तीन जना यात्रु जम्मा भयौं । हामी सवार हाइस फेरि सहिद गेट नजिकै आएर रोकियो । मलाई हतार थियाे, किनकी डेरामा पुग्नलाई जङ्गलको बाटो थियो, अनि नदी पनि तर्नु पर्थ्यो । त्यसैले त्यो हायसबाट झरे र अर्को नगर बस समातेर अत्तरिया आएपछि फेरी उक्त हायसबाट पनि झरे । म अत्तरिया पुगिसकेपछी छिटोछिटो जान अर्को गाडीको पर्खाइमा थिए ।चौराहको पूर्वी रोडमा अर्को हायस यात्रुको पर्खाइमा थियो, त्यो पनि लगभग खाली नै थियो । सिटमा बसेको करिब दस मिनेट पछि धनगढीको जस्तै फेरी उहि नियति दोहोरियो । यात्रुबाहक गाडी छन् तर यात्रु छैनन् । महेन्द्रनगर रोड र बसपार्क सम्म झन्डै ३ चक्कर लगाए पश्चात् जम्म जम्मी ६/७ जना यात्रु जम्मा भयौं । करिब साढे ७ बजे त्यहाँ बाट यात्रा शुरु भयो । पौने ९ बजे पहलमानपुर पुग्दा म एक्लै थिएँ र बेलुका सवा नौ बजे रत्तिपुरस्थित मेरो डेरा आइपुगेँ ।
अधिकतम दुई घण्टाको दुरीको यात्रामा त्यो दिन लगभग पौने चार घण्टा लाग्यो । म बर्षौदेखि धनगढीबाट लम्की सम्मको यात्रा यही समयमा गर्दै आएको छु । मान्छेको चहलपहल कम हुँदैगएको अनुभूति गर्दै आएको भए पनि त्यो दिनको भोगाइ अरु दिनको भन्दा बेग्लै, अलिकति बढी सोचनीय र चिन्तनीय रहन गयो । राति खाना खाए पश्चात् सामाजिक संजालमा जोडिए । यसो हेर्छु त राज्य संचालकहरुप्रति आक्रोश, घृणा, तिरस्कार, आरोपप्रत्यारोपले सामाजिक सञ्जाल भाइरल भएको पाए । एकपटक सोच्न बाध्य बनायो कि यो नियोजित हो वा वस्तुगत ? उत्तर खोज्ने जिज्ञासा जाग्यो । त्यो साँझको यात्रा स्मरण गरे, केही दिन अगाडि बाजुरा यात्राको अनुभुती सम्झे । गाडीहरू प्राय यात्रुविहिन, क्याम्पसहरु विद्यार्थीबिहिन, सटर क्रमशः बन्द हुँदै, व्यापार व्यापार चौपट, आधारभूत बिधालयमा समेत विद्यार्थी कम हुँदा मर्ज हुदै गएका, होटलहरु ग्राहकविहिन हुँदै गएका, शहर र गाउँहरु युवाविहिन हुँदै गएका, खेतबारी क्रमश जंगलमा परिणत हुँदै गएर गाउँ निर्जन, उजाड र निराश बन्दै गएको महसुस भयो ।
यी सबै तथ्य र स्थिति हेर्दा सामाजिक संजालमा देखिएका घृणा, आक्रोश र नीतिनिर्माता र शासकप्रशासकहरुप्रति व्यक्त तिरस्कार स्वभाविक र वस्तुवादी हुन भन्ने ठम्याए । देशमा श्रमशक्ति खाली हुँदैछ । दलाल लुटेराहरुले चलाएको विद्यमान पुँजीवादी सत्ताका स्वार्थी, लोभीपापी, आफू र आफ्ना केन्द्रित, श्रमचोर, भ्रष्ट शासकहरुले के हाम्रो युवा श्रमशक्ति पलायनतालाई रोक्न सक्छन् ? किमार्थ सक्दैनन् । यिनीलाई देशका युवा पलायनतालाई रोक्न न चिन्ता छ, न चासो छ न फुर्सद छ न सहि भिजन छ न कुनै नीति छ न त कार्ययोजना नै !
शासकहरु कसरी शक्ति केन्द्रलाई खुसी पार्ने र रिण अनुदानको पासोमा नेपालीलाई डुबाउने र देशलाई शक्तिकेन्द्रको रणमैदान बनाउने, कसरी अधिकतम श्रमशक्ति विदेश पलायन गराएर प्राप्त रेमिटेन्सबाट आफ्नो लुटको स्वर्ग बचाइराख्ने भन्ने ध्याउन्नमा व्यस्त र लिप्त छन् । उनीहरुलाई देश, युवा, र समाजको सोधिखोजी गर्ने कुनै चासो मात्रै हुन्थ्यो भने संभवत मुलुकले यस्तो बेथितिको दुष्परिणाम भोग्नु पर्दैन थियो होला । त्यसैले अब ढिला नगरी समस्याको समाधान हुने विकल्प खोज्ने बेला आयो ।
हामीले दैनिक जीवनमा भोग्ने समस्याको जरो देशको राजनीति र आर्थिक प्रणालीसङ्ग अनिवार्य जोडिएकै हुन्छ । समस्यालाई प्रणालीगत र संरचनागत परिपाटीबाट अलग राखेर हेर्न मिल्दैन।हामीले हाम्रा दैनिकी, पीडा, दु:ख, अभाव, गरिबी, बेरोजगारी लगायत आमजनजीवनको अवस्था बदल्न का लागि नयाँ र सामाजिक न्यायसहितको समाज र व्यवस्थाको परिकल्पनासहित इतिहासमा धेरै पटक लडाइ लड्यौँ । बलिदान गर्यौं । त्यसले सरकार र शक्तिसमीकरणमा अलिकति हेरफेर हुँदै पनि आयो तर यसप्रकारका खुद्रे परिवर्तनले हामी भुइँतहका नागरिकलाई छुन सकेन । हुन त हाम्रोमा मात्रै होइन, संसारभरी जहाँ जहाँ पुँजीवाद छ, संसदीय राजनीति प्रणाली छ, ती देशका नागरिकको जीवन पनि आखिर उस्तै र यस्तै छ । विकसित भनिएका तथाकथित सभ्य र अमेरिका युरोपका देशहरूमा पनि निरपेक्ष गरिबीमा बाच्ने, एकछाक खान र आधारभूत जीवन जीउन नसक्ने करोडौं नागरिकहरु छन् नि !
त्यसैले अब नेपालमा पनि समस्याको समग्र र दिगो विकल्प खोजौं । विकल्पको रूपमा नेपाली मौलिकता एवम् स्वाभिमानी अर्थराजनीतिक विशेषता बोकेको नेपाली विशेषताको समाजवाद यतिबेला बहस र चर्चामा छ । बरु त्यो समाजवाद कसरी आउँछ होला ? त्यसको नेपाली मोडेल के हुन्छ होला ? साच्चिकै समाजवादले अहिलेको भन्दा राम्रो विकल्प कसरी सुनिश्चित गर्छ होला त्यसबारे सोचौँ र अब साझा मुद्दा र साझा भविष्यका लागि सहकार्यका हातहरु अघि बढाऔं ।
१९ भाद्र कैलाली