३० आश्विन २०८१, बुधबार

इस्लाम धर्म : संक्षिप्त इतिहास

0

           – जावेद कुद्दुस

 

 

 

 

इस्लाम एउटा एकेश्वरवादी धर्म हो । जसलाई एक अरबभन्दा बढी जनताले अपनाएका छन् । यो केवल अरबबासीको धर्म होइन । केवल अरबबासी भएकै आधारमा यो समुदायमा कोही वरिष्ठ र कोही कनिष्ट हुँदैन । पैगम्बर मुहम्मदले इस्लामको भूमण्डलीय प्रकृतिलाई एकदम नै स्पष्टसँग बताएका छन् । उनले भनेका छन् : “न कुनै पनि अरबबासीको कुनै पनि गैर-अरबबासीमाथि कुनै प्रकारको श्रेष्ठता हुँदैन । न त कुनै गैर-अरबबासीको कोही अरबबासीमाथि कुनै प्रकारको वरियता हुनेछ । न त कुनै  स्वेत व्यक्तिको श्रेष्ठता कुनै अश्वेताथि हुन्छ । न कुनै अश्वेतको श्वेतमाथि नै हुनेछ । तिमीहरू सबै आदमका सन्तान हौं र आदम माटोबाट बनेका थिए ।”
‘इस्लाम’को अर्थ ‘शान्ति’ हो र यसले आफ्ना सबै अनुयायीहरूलाई शान्ति र न्यायको स्थापनाको लागि एउटै सूत्रमा जोड्दछ । यो आतङ्कवादको स्रोत होइन । यथार्थमा इस्लाम आतङ्कवादको समाधान हो । ‘कुरान’ले एकदमै स्पष्ट रुपमा भनेको छ, “हामीले इजरायली कबिलाको लागि त्याग गरेका थियौं । अतः यदि कुनै व्यक्तिले अरुको हत्या- यदि उसले धरतीमा अन्यायलाई मेटाउनको लागि गरेको छैन भने उसले सम्पूणर् मानवताको हत्या गरेको हुन्छ । यदि कुनै व्यक्तिले कुनै अर्कोको लागि जीवन दिन्छ भने उसले सिङ्गो मानवताको लागि बलिदान दिएको हुन्छ । हाम्रो दूत उहाँसमक्ष स्पष्ट सङ्केतको साथ जान्छन्; परन्तु उनीहरूमध्ये कतिपयले धरतीमा हिंसा फैलाउँछन् ।” (सूरा, अल-सा-इदा-३२) जो कोहीले पनि यसको प्रतिकूल काम गर्दछ भने उसले अल्लाहलाई निन्दा गरेको हुन्छ । यद्यपि ऊ एकजना मुस्लिम हुनसक्छ तर उसको काम इस्लामी हुन सक्दैन ।
इस्लामको उदय मध्यपूर्वमा सातौं शताब्दीको आसपास भएको हो । इस्लाम अतिरिक्त यो क्षेत्र यहुदी र ईसाई धर्मको पनि जन्मस्थान हो । त्यसप्रकार मध्यपूर्व इस्लाम, ईसाई र यहुदी धर्मको एउटै उद्गमस्थलसँग सम्बन्धित छ । यिनीहरूको आ-आफ्नै इतिहास पनि रहेको छ । त्यसको साथै आपसमा प्रतिद्वन्द्विता पनि छ । जसले उनीहरूलाई उथलपुथल बनाइरहन्छ । जो आज देखिइरहेको छ ।
इस्लामका पैगम्बर मुहम्मदको जन्म मक्कामा रबी-उल-अब्बलको बाह्रौं तारिखमा (सामान्य कालइन्द्र अनुसार ५७१ औं वर्ष) भएको हो । उनको पिताको मृत्यु उनी जन्मनुभन्दा केही साता अगाडि मात्र भएको थियो । उनी ६ वर्षको मात्र हुँदा उनको आमाको पनि मृत्यु भयो । उनका काका अबुतालिबले उनको लालनपालन गरे । उनलाई घुमक्कड व्यवसायको शिक्षा दिए । मोहम्मदले शिघ्र नै अल-अमिन (इमान्दार व्यक्ति)को उपाधि पाए । इमानदारी र चरित्रको कारण मुस्लिम बन्नु अगाडि नै जनता उनीसँग सरसल्लाह लिन आउँथे । जनता उनको बुद्धिमत्ता, न्यायशीलता र स्वच्छताको कारण उनीमाथि विश्वास गर्थे । आफ्नो साधनाको क्रममा जब उनी ‘हीरा’ नामक गुफामा पुगेको बेला गेब्रियल नामक दूतमार्फत् पहिलो सन्देश प्राप्त गरे । यो दैवी सन्देश कुरानमा सङ्ग्रहित छ । ‘हदीस’ (पैगम्बरको कृत्य एवं वचन) सहित ‘कुरान’ सम्पूणर् इस्लामी जगतलाई शासित गर्दछ ।
पैगम्बर मुहम्मदले १३ वर्षसम्म उक्त आव्हान गर्दै मक्काका मान्छेहरूलाई उपदेश दिए । मेरो साथमा आऊ, अल्लाहप्रति ‘एक्यवद्धता’मा विश्वास गर भने । प्रारम्भमा थोरै मान्छेले मात्र उनलाई विश्वास गरे । तर धेरैले यो नयाँ धर्मको विरोध गरेका थिए । त्यस्तो के कारणले भयो भने मक्काका मानिसहरूलाई इस्लाम आफ्नो आर्थिक-सामाजिक ढाँचाको लागि खतरा महसुस भयो । मक्काको समाज मानवताको अवधारणा अथवा स्वच्छ व्यवहार नभएको, अत्यन्त भ्रष्ट समाज थियो । महिलाको अवस्था दयनीय थियो । पति वा परिवारको सनकको भरमा केटीहरू र महिलाहरूलाई जिउँदै पुरिन्थ्यो । कतिपयलाई जन्मनासाथ मारिदिन्थे । अर्कोतिर विभिन्न जनजातिहरूबिचमा सङ्घर्ष निरन्तर चलिरहन्थ्यो । अधिकांश पुरुषहरूको एकभन्दा धेरै श्रीमतिहरू अथवा दासीहरू हुन्थे । जसलाई आफ्नो मालिकले भोग गर्न पाउँथे वा बाध्य पारिन्थे । मोहम्मद ती सबै विकृति र अत्याचार रोक्न चाहन्थे । त्यसकारण त्यसको विरोध गर्थे । जुन मान्छेहरूले इस्लामलाई स्वीकार गरेका थिए, उनीहरूलाई मार्ने धम्की, विरोध, अत्याचार र हिंसाले पैगम्बरलाई के  बाध्य गर्‍यो भने उनले आफ्ना केही शिष्य अबिसिनियाँ पठाउनु पर्ने भयो । जहाँ उनीहरूलाई ईसाई राजाद्वारा सुरक्षा दिइन्थ्यो । त्यसको लगत्तै आफ्ना चेलासहित उनी ‘याथ्रिब’ गए । त्यो शहर जो ६२२ ई.मा माक्काको उत्तरमा थियो । याथ्रिब (आज जसलाई मदीना भनिन्छ) गएपछि नै इस्लामी पात्रो (हिज्राह) प्रारम्भ हुन्छ । ६६१ ई. सम्म मदीना खलीफाको स्थान बनिरह्यो । त्यसपछि दमिश्कले त्यो स्थान लियो । मदीनाका मान्छेहरूले इस्लाम स्वीकार गरे । अनेक रक्षात्मक लडाइँहरू एवं कूटनीति अवलम्बन गरेपछि मक्काबासीहरूलाई पराजित गर्न सफल पनि भए । त्यसपछि मात्र पैगम्बरले आफ्ना अनुयायीहरूको साथमा मक्कामा प्रवेश गरे । मक्का फर्केपछि उनले आफ्ना सबै पुराना शत्रुहरूलाई क्षमा दिए । त्यहाँ रहेका सबै मूर्तिहरूको स्थानमा ‘काबा’लाई पुनः स्थापना गरे । त्यसपछि मुहम्मद मदीना फर्के । सन् ६२२ मा मक्काको आफ्नो अन्तिम तिर्थयात्रा (जिआरत) पछि पैगम्बर बिरामी परे । उनले आफ्ना अनुयायीहरूलाई ‘मेरो मृत्युपछि पनि न्याय-पथबाट कहिल्यै विचलित नहुनु’ भनेका थिए । यो उनको अन्तिम उपदेश थियो ।
त्यसबेलासम्म अधिकांश अरबबासीहरूले इस्लाम स्वीकार गरिसकेका थिए । यसको सन्देश सिरिया, इराक, लेबनान, फिलिस्तान हुँदै पर्सियासम्म फैलिसकेको थियो । सन् ६३८ मा प्यालेस्टाइनमाथि रोमबासीहरूको ‘यारमौक’को विरुद्ध युद्धपछि कब्जा भयो । प्यालेस्टिनमाथि आफ्नो आधिपत्य भएपछि रोमबासीहरूले यहुदी र ईसाई धर्मको उपासना गर्न बन्द गराए । यहुदी धार्मिक प्रतिष्ठानहरूलाई नष्ट गरिदिए । उनीहरूले यहुदीहरूलाई जेरुसलेमबाट सन् ७० ई. मा लखेटेर निकाले । जेरुसलेममा रोमबासीहरूको पराजयपछि उमर इब्न अबल-खतबले (जो यारमौकमा आफ्नो जितपश्चात् द्वितीय खलिफा नियुक्त भएका थिए) ईसाईहरूका नेता ‘बिसप सोफ्रोनियस’सँग एउटा
ऐतिहासिक अनुबन्ध तयार गरे । यो अनुबन्धबाट यो स्पष्ट भयो कि ईसाई अब भने आफ्नो पुरै अधिकारसहित आफ्नो धर्मको उपासना गर्न सक्छन् । आफ्नो घर पुजाको लागि प्रयोग गर्न सक्थे । आगतमा आफ्नो उपासना स्थलमा जान सक्थे । यो सम्झौता-वार्ताको अवधिमा नै जब प्रार्थनाको समय आयो, तब सोफ्रोनियसले खलिफालाई गिरिजाघरमा प्रार्थनाको लागि निमन्त्रणा गरे । जसलाई उनले विनम्रतापूर्वक अस्वीकार गरिदिए । उनको उक्त अस्वीकारोक्तिको कारण मुसलमानहरूलाई रोक्नु थियो । जो उत्साहित भएर उक्त आयोजनाको अवसरमा चर्चलाई ध्वस्त गरेर त्यहाँ मस्जिदको निर्माण गर्न सक्थे । किनभने यस्ता कामबाट इस्लामका निर्देशनहरूको उल्लङ्घन हुन्थ्यो ।
इस्लामको विस्तार पहिले ६४१ ई.सम्म मिश्रमा र त्यसपछि ६५४ ई.सम्म पुरै उत्तरी अफ्रिकामा जारी थियो । मध्य-युगसम्म आइपुग्दा-नपुग्दै इस्लाम सारा संसारमा फैलियो । इस्लामको आफ्नो मौलिक सोचको कारण त्यसलाई स्वीकार गरिएको थियो । यसमा इस्लामलाई विश्वास गर्ने र नगर्ने दुवैलाई स्थान दिइयो । त्यसअघि त्यस्तो सोच अरु धर्म वा शासनमा थिएन । ती अधिकारहरू यसप्रकार थिए-
बाँच्ने अधिकार
नारीको पवित्रताप्रति आदर-भाव
आधारभूत जीवनयापनको अधिकार
व्यक्तिगत स्वतन्त्रताको अधिकार
जीवनको सुरक्षाको अधिकार
सबैको बिचमा समानताको अधिकार
सहयोग गर्ने; नगर्ने अधिकार
युद्धमा भाग नलिने अधिकार
न्याय पाउने अधिकार
शासक कानुनभन्दा माथि हुँदैनन्
घाइतेको सुरक्षा
धनको पवित्रता
शत्रुको शव फिर्ता
सम्झौता तोड्न मनाही
उपर्युक्त सुरक्षा इस्लामको अर्थवत्ताको एक भाग हो । इस्लामको आधारभूत विश्वासहरू अन्तर्गत ५ स्तम्भ आउँछन् । जसमा छन्- (क) यो आस्थाप्रति स्वीकृति कि ‘अल्लाह’ बाहेक कुनै ईश्वर छैन र मुहम्मद अल्लाहका सन्देशबाहक हुन् । (ख) प्रतिदिन पाँच पटक प्रार्थना (नमाज) (ग) रमजानको महिनामा रोजा (उपवास) (घ) जीवनमा केवल एक पटक र त्यो पनि जब परिवार, नातेदार एवं मित्रहरूप्रति जिम्मेवारी पूरा गरिसकेको अवस्थामा र वित्तीय दृष्टिबाट सम्भव भएमा हज (मक्काको यात्रा) (ङ) जकात (आफ्नो सबै सम्पत्तिमध्ये २.५ प्रतिशत करको रुपमा हरेक वर्ष गरिबहरूलाई दिनु ।
इस्लाम र आतङ्कवाद
इस्लामलाई आजभोली आतङ्कवादको पर्यायवाची शब्दको अर्थमा बुझिन्छ । ‘कुरान’को उद्धरण, जुन ऐतिहासिक सन्दर्भहरूबाट उल्लेख छ ; त्यसलाई इस्लाम प्रकृतिदेखि नै हिंस्रक धर्म हो भन्ने प्रमाणित गर्न प्रयोग गरिन्छ । इस्लामी विद्वानहरूलाई त्यसको ज्ञान नै नभएझैं गरेर प्रचार गरिएको छ । इस्लामको अध्ययनको सन्दर्भमा उनीहरूको बुझाई एकदमै सतही, दुराशयपूणर् र आलोचनात्मक
चेतरहित पूर्वाग्रहपूणर् देखिन्छ ।
इस्लामले हिंसालाई प्रश्रय दिंदैन बरु अरु धर्म जसरी नै यसले आत्मरक्षामा विश्वास गर्दछ । खासगरी कुरानले के भन्दछ भने “लड्ने अनुमति केवल तिनीहरूलाई दिइएको छ जसको विरुद्ध कोही लड्न आउँछ । किनकि उनीहरूलाई बाध्य पारिएको छ । वस्तुतः ईश्वरले उनीहरूको समर्थन गर्न सक्छन् जसले केवल यो भन्छन् कि ‘अल्लाह हाम्रो मालिक हुन्’ जसलाई आफ्नो घरबाट कुनै कारणबिना निकालेर लखेटिदिइएको छ (सूरा-अल-हज्ज, ३९-४०) । यसबाट प्रष्ट हुन्छ कि मुसलमान केवल त्यसबेला युद्ध गर्न बाध्य हुन्छ, जब उनीहरूमाथि दमन हुन्छ । जब उनीहरू विरुद्ध हिंसा हुन्छ । त्यसैगरी कुरानले युद्धका सीमाहरूको सन्दर्भमा पनि चर्चा गरेको छ र कठोर आचार संहिता निर्धारित गर्दछ, “ईश्वरको बाटोमा उनीहरूको विरुद्ध लड, जो तिमी विरुद्ध लड्छन् । परन्तु सीमाहरूभन्दा बाहिर नजाऊ ।” यहाँ सीमाको अर्थ युद्ध-आचार संहिता हो । जहाँ युद्धलाई सकेसम्म मानवीय बनाउने अभिप्राय छ । जसमा समावेश छ ः घाइतेहरूमाथि आक्रमण नगर्नु, युद्धमा संलग्न नभएका (बृद्ध, बच्चा, महिला, पूजास्थलका पूजारी, प्रार्थनारत व्यक्ति) इत्यादिमाथि आक्रमण नगर्नु । त्यसबाहेक युद्धबन्दीको हत्या, लुटपाट गर्नु, गाउँ नष्ट गर्नु, खेतीपाती, रुख तथा बगैंचाआदिमा क्षति पुर्‍याउनुलाई निषेध गरिएको छ । मुसलमानलाई आमजनतासँग (विजित देशका जनतासँग समेत) सित्तैमा केही लिन मनाही गरिएको छ । भनिरहनु पर्दैन कि मुसलमानहरूलाई शत्रुको लाससमेत क्षत-विक्षत नगर्न भनिएको छ । मृत शत्रु-सैनिकको लास ढिला नगरी र कुनै मुआब्जा नलिइकन फिर्ता गर्नु पर्दछ । यद्यपि इस्लाम समर्थकहरूले कहिले काहीं उक्त कानुनको उल्लंघन गरेको पाइन्छ । उनीहरूद्वारा यस्तो कार्य इस्लामलाई मान्ने वा नमान्ने सोचको कारण पनि भएको हुन्छ । यसमा उक्त अन्तर देख्न सकिन्छ ।
संयुक्त राज्य अमेरिकामा भएको भयानक अत्मघाती आक्रमण तथा अफगानिस्तान, इराक, इजरायल, टर्कीका हालैका असंख्य घटनाहरू यस्ता व्यक्तिहरूद्वारा सञ्चालित भए जसलाई इस्लाम धर्मालम्बी मान्ने गरिन्छ । जसको कारण गैर-इस्लामलाई इस्लाम धर्म हिंश्रक लाग्ने गरेको छ । सबै खराबीको मुहान इस्लाम हो भन्ने परेको छ । जसको कारण यसमा सुधार हुनुपर्छ अथवा धरतीबाट समाप्त हुनुपर्दछ । इस्लामप्रति घृणा पैदा गर्न कुरानबाट उद्धरणहरू लिइन्छ । यहाँ के कुरा बिर्सिने गरिन्छ भने आतङ्कवादको शिकार धेरैजसो मुस्लिम नै भएका हुन्छन् ।
बोस्नियामा सर्बियाली ईसाईहरूद्वारा लगभग २ लाख मुसलमानहरूको हत्या गरियो । ९ देखि ८२ वर्षका २२ हजार मुस्लिम महिलाहरूलाई ईसाई सैन्यकर्मीहरूले बलात्कार गरे । १० लाखभन्दा धेरै इराकी बच्चा अमेरिकी प्रतिबन्धको कारण मारिए । इजरायली कब्जामा प्यालेस्टिनी शरणार्थी शिविरहरूमा मान्छेहरू भोकले मर्ने प्रक्रिया जारी छ । भारतमा आतङ्कवाद तथा आतङ्कवाद विरोधी कारवाहीमा ६० हजारभन्दा धेरै मुसलमान र सयौं हिन्दुहरू काश्मिरमा मारिएका छन् । बाबरी मस्जिद विध्वंसमा संलग्न धर्मान्धहरूद्वारा अल्पसंख्यकहरूलाई निशाना बनाउने अपराध जारी छ । उक्त मुसलमान विरोधी अभियानमा २ हजारभन्दा धेरै मुसलमानहरूलाई मारेका छन् र २ लाखभन्दा धेरै शरणार्थी बन्न बाध्य भएका छन् । ती विस्थापित मुसलमानलाई हिन्दु आततायीहरूले घर फर्किन पनि दिइरहेका छैनन् र भन्दैछन् कि हिन्दु धर्म स्वीकार गर कि त अन्यत्र नै जाऊ । ३०० भन्दा धेरै मस्जिद, ऐतिहासिक भवनहरू तथा सम्पदाहरू जलाइएका छन् । तीमध्ये केहीमा मन्दिर बनाइएका छन् । मुसलमानहरूका हत्याराहरूलाई नक्कली साक्षी उभ्याएर दोषमुक्त गरिएको छ । पोटा कानुन अन्तर्गत निर्दोष मुसलमानलाई जेलमा सडाइएको छ । जबकि गुजरात-नरसंहारका एक जना पनि हिन्दु आततायीलाई यो कानुनको आधारमा गिरफ्तार गरिएको छैन ।
पाकिस्तानमा शिया र सुन्नी समूहहरूद्वारा एक अर्कोले आतङ्कवादी आक्रमणहरूमा अनेकौं निर्दोष मान्छेको ज्यान गएको छ । जबकि प्यालेस्टिन र चेचेन्यमा मुसलमानहरूलाई नश्लवादी हिंसाको शिकार बनाइएको छ । त्यसकारण मुसलमानहरूमा निराशा, आक्रोस, असहायता र कुण्ठा बढ्दै गएको छ । आफै आतङ्कवादको शिकार हुँदाहुँदै पनि विश्वका अधिकांश भागमा मुसलमानलाई अपराधीको रुपमा शिकार बनाइएको छ ।
‘इस्लामी’ आतङ्कवादी महसुस गर्न सक्दछन् कि ‘लक्ष्य’ले साधनहरूको औचित्य निर्धारण गर्दछ । परन्तु इस्लामले यसलाई अस्वीकार गर्दछ । खासगरी कुरानले भन्दछ कि ‘धरतीमाथि दुष्टता गर्ने प्रयास नगर; किनकि अल्लाह उनीहरूलाई प्रेम गर्दैनन्, जसले दुष्टता गर्छन्’ (सुरा ः २८ः७७) । इस्लामले उपासना-स्थलहरूको विनाश अथवा उनीहरूप्रति हिंसालाई मनाही गर्छन् । चाहे ती इस्लाम होउन् वा गैर-इस्लामी । “ती मान्छेहरू एउटा ठूलो गल्ती गर्छन् जसले प्रार्थनामा बाधा दिन्छन् र जो संयम गुमाएर उपासना-स्थललाई विनाश गर्छन्” (सुरा-अल-करा, ११७) । इस्लाम आत्महत्या तथा आत्मघाती बमहरूको निन्दा गर्दछन् । पैगम्बरले अनेक अवसरहरूमा उक्त कुरा स्पष्ट रुपमा भनेका छन् । उनको चेतावनी छ कि “जो कसैले पनि कुनै वस्तुले आफ्नो हत्या गर्छ, अल्लाहले उसलाई नरकमा कष्ट दिएर तड्पाएर राख्छन् ।” त्यसैगरी “कसैले कुनै हर्कत गरेकोमा तबसम्म खुसी नबन, जबसम्म तिमीलाई त्यो कसरी गर्‍यो !” यस विषयमा अर्को धारणा हुनै सक्दैन भन्ने स्पष्ट छ ।
केही व्यक्तिको हर्कतलाई हेरेर इस्लामप्रति निष्कर्ष निकाल्नु भ्रामक हुन्छ । जसको आफ्नै खतरा हुनसक्छ । यसले बहुसंख्यक कानुनप्रिय मान्छेहरूलाई कलङ्कित गर्छ र इस्लाम धर्मलाई बदनाम गर्छ । जुन कुरा अमेरिका र विश्वका कैयौं भागहरूमा तीव्र रुपमा बढिरहेको छ । यसले मुसलमानहरूको हृदयमा गहिरो आक्रोस पैदा गर्दछ र उनीहरूले गैर-मुसलमानहरूलाई निशाना बनाइदिन्छन् । जब डेविड कोरेशले वाकोमा अराजकता सृजना गरिदिए, राष्ट्रपति क्लिन्टनले त्यसलाई पागल भने । टिमोथी मैकवे, ओकलाहोमाको मुरा बिल्डिङमा बम विष्फोट गर्नेलाई उसको ईसाई सम्बन्ध भए पनि कहिल्यै ईसाई आतङ्कवादी मानिएन । त्यसैगरी बाबरी मस्जिद विध्वंशलाई लिएर हिन्दु आतङ्कवादीहरूमाथि अथवा मुम्बई, गुजरातका आतङ्कवादीहरूमाथि अथवा टोकियोमा ग्याँस आक्रमणको कारण बौद्ध आतङ्कवादीहरूमाथि कसैले पनि धार्मिक दोषारोपण गरेन । निश्चित् रुपमा यी सबै आतङ्कवादी थिए । परन्तु के ती ईसाई मत, हिन्दुत्व अथवा बौद्ध धर्मका प्रतिनिधि थिए त ? कुनै पनि धर्मले यस्ता अन्यायपूणर् हिंसालाई अनुमति दिंदैनन् ।
धार्मिक आतङ्कवाद
धार्मिक आतङ्वाद भन्ने कुनै विषय हुँदैन । परन्तु आतङ्कवादको लागि धर्मको दुरुपयोग गरिन्छ । अपराधिहरूले धर्मलाई आफ्नो स्वार्थमा प्रयोग गर्दछन् । तर हामी धार्मिक आतङ्कवाद हुन्छ भनेर ठान्ने गर्दछौं । कथित धार्मिक आतङ्कवादी आफ्नो उद्देश्य पूरा गर्नको लागि अन्धो दौडमा धार्मिक शिक्षाको अपमान गर्छन् । त्यसको प्रतिकूल काम गर्छन् । आफू खास धर्मको अनुयायी भएको दाबि गर्छन् । तिनीहरूमध्ये केही त पेशेवर अपराधी हुन्छन् । जसले आफू धनी बन्न कुनै पनि अवसरको फाइदा उठाउँछन् । दोस्रो थरी धर्मको माध्यमले धन कमाउँदै जाँदा अपराधी बन्छन् । लक्ष्यले साधनको पवित्रता निर्धारण गर्छन् । नैतिकता, नीतिवाद तथा धार्मिक आस्थाआदि यिनीहरूको लागि कुनै अर्थ रहन्न । त्यही स्थिति प्यालेस्टिन, काश्मीर, पाकिस्तान, चेचन्या तथा विश्वका अन्य देशहरूमा देख्न सकिन्छ ।
धार्मिक योद्धाहरूले आफ्नो पवित्र स्थानहरूको मुक्तिको क्रममा जेरुसलेमका मन्दिरहरू लुटे । मुसलमानहरू र यहुदीहरूको हत्या गरे । त्यसोगर्दा उनीहरूले बाइबलको कुनै कानुनको पालना गरेका थिएनन् । आयरल्याण्डमा क्याथोलिकमाथि आफ्नो बर्चस्वको लागि भएको सङ्घर्षमा सङ्लग्न प्रोटेस्टेण्ट अलस्टर फ्रीडम फाइटर्स अथवा अलस्टर भोलेण्टियर फोर्स र न त क्याथोलिकले कुनै ईसाई कानुनको पालना गरेका थिए । अमेरिकामा श्वेत सर्वशक्तिमान सेना समूह तथा क्रिश्चियन पैट्रिआट अर्ध-सैनिक बलजस्ता धुवा जनक समूह इसाइयतको झण्डा उँचो गर्दै छैनन्, बरु त्यसलाई अपमानित गरिरहेका छन् । राँबिनका हत्यारो इब्जहाकले आफूलाई ईश्वरको आदेश प्राप्त भएको बताएको छ । उक्त आतङ्ककारी आक्रमण यहुदी धर्मको नियमहरू अनुरुप हुनै सक्दैन । बामियानमा बुद्धका प्रतिमा भत्काउने तालिवान, बाबरी मस्जिद भत्काउने हिन्दु तालिवान तिनीहरू सबै आतङ्कवादी थिए । ती धार्मिक आतङ्कवादी थिएनन् ।
गुजरातमा मुस्लिम जनताको विरुद्ध सञ्चालित आतङ्क राज्यद्वारा प्रायोजित र प्रोत्साहित थियो । जसलाई केन्द्र सरकारले संरक्षण गर्‍यो; त्यसलाई राज्य आतङ्कवाद भन्न सकिन्छ । तर त्यसलाई धार्मिक आतङ्कवाद भन्न सकिन्न । माथि भनिसकिएको छ प्यालेस्टिन, काश्मीर, पाकिस्तान, चेचन्या तथा अन्यत्र कतै पनि आतङ्कवादीहरूले जेहाद (स्वतन्त्रताको लडाइँ) गरिरहेका छैनन्; जस्तो कि इस्लाममा परिभाषित गरिएको छ ।

अनुवाद- अनिल सी
स्रोत- धर्म, सत्ता र हिंसा

स्राेत: जनपत्रिका मासिक १४ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।