६ पुष २०८१, शनिबार

प्रचण्डबाट क्रान्तिको नेतृत्व हुँदैन

0

            इन्द्रदेव यादव

 

 

हामी माओवादीहरू फुटेर होइन, जुटेर क्रान्तिलाई अगाडि बढाउनु पर्छ भनेर ध्रुविकरणमा आएका हौं । प्रचण्ड कमरेडमा समस्या आयो । आन्दोलनमा समस्या आयो । त्यसपछि निस्क्रिय बसेको थिएँ । तर यसरी थाकेजस्तो गरेर बस्नु हुँदैन भनेर ध्रुविकरणमा सहभागी भयौं । नेतृत्वप्रति विश्वास लागेर आयौं । तर धेरै विषय बुझेका छैनौं । विप्लव कमरेडले प्रचण्ड बिग्रियो भन्दा दुःख लागेको थियो । यत्रो ‘महान्’ नेता पनि बिग्रन सक्छन् र भन्ने लागेको थियो । तर कालान्तरमा उहाँले भनेको कुरा सत्य रहेछ । धेरै समयपछि पुष्टि हुँदै गयो ।
२०६४ सालको संसदको निर्वाचनमा धनुषा जिल्लाबाट श्रवण यादव, महादेव यादव र म इन्द्रदेव यादव उमेद्वार छनोट भएका थियौं । मेरो उमेर सबैभन्दा कम थियो । उमेद्वार बन्न उमेर नै पुगेन ।  मैले अरु साथीहरूलाई समर्थन गरें । २०६४ को संविधान सभाको निर्वाचनपछि गाउँमा व्यवहारिक झमेलामा झडप भएको थियो । त्यही झगडामा मेरो गोडा भाँचियो । साथीहरूले नै फसाउन खोजेका थिए । आफ्नैको आक्रमणमा परियो । नेताहरू नव-सामन्तवादमा पतन भए ।
म काङ्ग्रेस पृष्ठभूमिको मान्छे हुँ । २०५४ सालसम्म कम्युनिस्ट भनेपछि घृणा गर्थें । त्यसैबेला एमाले समूहले मेरो घर लुटेका थिए । तर दोष माओवादीलाई लगाए । त्यसपछि माओवादीतिर नजिक भएँ । माओवादीको ‘पोस्टर’ टाँसेको कसुरमा गिरफ्तारीमा परें । त्यसपछि सबैले मलाई माओवादी भन्न थाले । जसका कारण मेरो असुरक्षा भयो । त्यसपछि २०५५ सालमा माओवादीको पूणर्कालीन कार्यकर्ता भएँ । चुनावमा अवसरवादीहरूलाई अवसर दिइएछ । मधेश पैसा उठाउने थलोमात्र भयो । जनतामाथि दमन, उत्पीडन, अपमान र शोषण घटेन । यो विषय उठाउन थालेपछि मलाई किनारा लगाउन थाले । रामवृक्ष यादव र सहिदको नाममा आन्दोलनलाई बदनाम गर्न थालियो । म गरिब भएकोले उमेद्वार नै बनाइएन । ‘खर्च जुटाउन नै सक्दैन के गर्ने’ भन्थे । प्रचण्ड प्रा. लि.बाट क्रान्ति सम्भव छैन । त्यसैले विप्लवप्रति भरोसा लागेर आएको छु ।
युवाहरूलाई उत्पादनको काममा लगाएको छु । पशुपालन शुरु गरेका थियौं । त्यो सफल भएन, कृषि उत्पादन जारी छ । एक पटक विप्लव कमरेडलाई म काम गर्न तयार छु भनेको थिएँ । तर त्यसपछि के भएर हो सम्पर्क भएन । मैले मधेशमा म जति वरिष्ठ नेता तपाईहरूमा छैन भनेको थिएँ । त्यही भएर हो कि ! जस्तो लाग्यो । म क्रान्ति चाहेर आएको छु । कसैलाई असजिलो पार्न होइन । किनकि ममाथि सहिदहरूको दायित्वको दबाव छ । मैले जनयुद्धमा हिंडाएकामध्ये १० जना साथीहरू सहिद भएका छन् । तर प्रचण्डसँग चाकरी गर्न मन लागेन ।
प्रचण्डको पार्टीमा अन्तरविरोध अस्वस्थ भएर गयो । अनिल कमरेडसँग के भन्न चाहन्छु भने व्यवस्थापन गर्न नसके समस्या बल्झेर जान्छ । हाम्रो गाउँमा ४६ जना घाइते थिए । हामी तपाईहरूसँग काँधमा काँध मिलाएर लड्छौं ।
 हामीले संसदीय निर्वाचनलाई खारेज गर्ने गरी नै बहिष्कार गर्नुपर्छ । तर त्यसो गर्न सकिने अवस्था छैन भने संसदीय व्यवस्थामा हुने चुनावलाई विद्रोहको आधार बनाउन सकिन्छ । प्रचण्डमा नै हुँदा मैले बाटोमा बम राखेको थिएँ । त्यसबेला ममाथि नै शङ्का गरिएको थियो । तर गिरफ्तार गर्न सकेका थिएनन् ।
काङ्ग्रेसजस्तो भ्रष्ट पार्टीले भ्रष्टाचारको विरुद्धमा केही गर्दैन । प्रचण्ड काङ्ग्रेसभन्दा फरक छैनन् । हामी भारत र चीन कसैबाट पनि परतन्त्र हुन चाहन्नौं । हामी स्वतन्त्रता चाहन्छौं । म क्रान्तिको महान् अभियानमा सहभागी हुन आएको छु । म लोभीपापी मान्छे होइन ।
 मैले माथि पनि चुनावको कुरा गरें । चुनावको विषयमा अनिल कमरेडले राखेको कुरा ठीक लाग्यो । नेकपाले २०१० मा काठमाडौं महानगर पालिकाको चुनावमा भाग लिएर मेयर पद जितेको थियो । २०१५ को संसदीय चुनावमा भाग लिएर ४ स्थानमा जितेको थियो । २०४३ सालमा नेकपा (माले)ले पञ्चायती व्यवस्थाको चुनावमा ‘जनपक्षीय’ उमेद्वार उठाएर ५ जना राष्ट्रिय पञ्चायत सदस्य विजयी गराएर पञ्चायती व्यवस्था भित्रैबाट बहुदलीय व्यवस्थाको जग हालेको थियो । २०४४ सालको स्थानीय तहको निर्वाचनमा पनि तत्कालीन नेकपा (माले)ले भाग लिएको थियो । तर चुनावसँगै नेकपा (माले) ओरालो लाग्दै गयो ।
मदन भण्डारीको दक्षिणपन्थी यात्रालाई २०४८ सालमा नेकपा (एकता केन्द्र)को महाधिवेशनले विकल्प दियो । नेकपाले संसदीय चुनावलाई ‘कार्यनीति’ भन्ने लेनिनको पुरानो व्याख्या र एमालेको रणनीतिक साधन (साध्य) ठान्ने संसोधनवादलाई सच्याएको बुझेको छु । २०८१ बैसाखमा भएको स्थायी समिति बैठकले संसदीय निर्वाचनलाई ‘क्रान्तिको मोर्चा’ भनेको भन्ने भनाई राम्रो लाग्यो । २०४८ सालमा तत्कालीन नेकपा (एकता केन्द्र)ले चुनावमा भाग लियो । त्यसबेला ९ पदमा जित्यो । २०४९ सालको स्थानीय तहको निर्वाचनमा पनि भाग लियो । तर २०५४ सालमा बहिष्कार गर्‍यो । २०६४ सालमा एक दशकपछि फेरि भाग लियो । २०७१ सालमा फेरि बहिष्कार गर्‍यो । तर त्यसपछि फेरि भाग लियो । संसदीय निर्वाचनका सन्दर्भमा नेपालका क्रान्तिकारी कम्युनिस्टसँग समृद्ध इतिहास र अनुभव छ ।
२०५९ असोज १८ मा आंशिक र २०६१ माघ १९ गते पूणर् रुपमा राजतन्त्र कार्यकारी भयो । नयाँ शैलीमा २०१७ साल दोहोरियो । तर २०६५ जेठ १५ गते २४० वर्ष लामो राजतन्त्र ढल्यो । २०४८ सालमा अमेरिकाको अखबार न्युजविकले मदन भण्डारीलाई उचाल्दै ‘इन नेपाल, कार्ल माक्र्स लिभ्स’ शिर्षकमा अन्तरवार्ता छापेको थियो । साम्राज्यवादले त्यसरी उचाल्छ । प्रचण्डलाई पनि धेरै माथि उचालेर पछारे । यस्ता विषयमा छलफल गर्दै गरौंला । अहिले म क्रान्तिमा डटिरहने प्रतिवद्धतासहित आफ्ना भनाईहरू टुङ्ग्याउन चाहन्छु ।
(२०८१ साउन ३१ गते मधेश प्रदेश कार्यालयमा भएको ध्रुविकरण कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)
स्राेत: जनपत्रिका १४ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।