१० कार्तिक २०८१, शनिबार

नेकपा नेता शिलुले गरिन् गोरखकाली रबर उद्योगको अनुगमन

0

गोरखा/ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा सी (शिलु) ले गोरखा जिल्लामा रहेको गोरखकाली रबर उद्योगको अवस्थाबारे अनुगमन गरेकी छिन् । गोरखा जिल्ला मजुवा देउरालीमा ५६६ रोपनी क्षेत्रफलमा फैलिएको उद्योग हाल पूर्ण रुपमा बन्द छ । बन्द भइसकेको उद्योगको संरचना र मेसिनहरु समेत काम नलाग्ने अवस्थामा पुगिसकेका छन् । तत्कालिन संविधानसभा सदस्य समेत रहनुभएकी नेकपा नेता शिलुले उद्योगको अवस्था, संरचना र मेसिनहरुको अवस्थाबारे अनुगमन गरेकी हुन् ।
अनुगमनपछि नेता शिलुले नेपालमा ठूलो संख्यामा सवारीसाधान आयात बढिरहेको बेला देशमै कच्चा पदार्थसमेत भएको गोरखकाली टायर उद्योगको अवस्था रुग्ण हुनु निकै दुखद रहेको बताइन् । उनले देशमा राजनीतिक परिवर्तन सकियो भन्दै आर्थिक परिवर्तन सुरु गरेका राजनीतिक दलहरुका विभिन्न सरकारहरुले संसदीय भासमा फसेर देशको भविष्य र यहाँको युवाहरुको बारेमा नसोच्नु नै विडम्बना भएको बताइन् । उनले हरेक बर्ष झण्डै आठ अर्बको टायर र टायरजन्य सामाग्रीहरु नेपालमा आयात हुने गरेको र गोरखकाली टायर उद्योग दलाल पुजीँवादकै कारण बन्द भएको बताइन् । भारत, चीन लगायतका अन्य मुलुकले विकासोन्मुख देशहरुलाई आत्मनिर्भर हुनबाट रोक्नलाई विभिन्न नीति बनाएर यस्ता ठूलो उद्योगहरु बन्द गराउने र सधैँ परनिर्भरतामा लैजान चाहन्छन्, तर यसबाट बचेर आफ्नो माटो सुहाउँदो नेपाली विशेषतामा उद्योगहरु सञ्चालन गर्ने र देशमा रोजगार सिर्जना गर्दै, आर्थिक घाटा कम गर्न राज्यले नीति निर्माण गर्ने र कडाईपूर्वक लागू गर्नुपर्ने उनको भनाई थियो ।
२०४१ सालमा शिलान्यास भई २०५० सालबाट आफ्नो उत्पादन सुरु गरेको गोरखकाली टायर उद्योग लिमिटेडले बार्षिक ८० हजार ट्रक टायर र अन्य ४० हजार टायर उत्पादन गर्न सक्ने सामथ्र्य राख्दथ्यो । १२ प्रकारका जीप भ्यानहरुको लागी टायर यही उद्योगबाट उत्पादित हुने मेसिनहरु अहिलेपनि छ । २०६३/०६४ सालतिर राजनीतिक दलहरुले आफ्नो दलीय नियुक्तिका आधारमा महाप्रबन्धकहरु नियुक्त गर्ने र अव्यवस्थित कर्मचारीहरु भर्ति गर्ने गर्दा उद्योग बन्द हुनुपर्ने नियतीमा पुगेको हो । उद्योगलाई स्तरोन्नती गर्दै ट्युवलेस टायरहरुदेखि विकसित प्रविधिहरुसहित टायर निर्माण गर्नुपर्ने अवस्थालाई नजरअन्दाज गर्दै राजनीतिक स्वार्थ र उद्योग नीतिमा गम्भीर नबन्दा बलियो उद्योग धरासायी हुने अवस्थामा पुगेको हो ।
उद्योग सञ्चालन गर्न नेकपाको दबाब नेपाल कम्युनिष्ट पार्टी गोरखा जिल्लाले पटकपटक गोरखकाली टायर उद्योग लिमिटेड सञ्चालनको लागी भन्दै स्थानीय तहदेखि केन्द्रसम्म पटकपटक दबाबहरु सिर्जना गरिरहेको छ । केही समय अगाडि मात्र नेकपा गोरखाले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उद्योग सञ्चालनको लागी भन्दै ध्यानाकर्षण पत्र बुझाएको नेकपा गोर्खाका इन्चार्ज कपिल सीले बताए । यस्तै उद्योग परिसरमा पटकपटक गरी आधा दर्जनभन्दा धेरै पटक उद्योगलाई अविलम्ब सञ्चालन गर्न भन्दै जनप्रदर्शन गरेको नेकपाले गोरखा जिल्लाका मुख्य क्षेत्रहरुमा गोरखकाली टायर सञ्चालनको लागी ध्यानाकर्षणस्वरुप ब्यानर र पर्चा पम्पलेटहरु समेत टाँस्ने लगायतका दबाबमुलक कामहरु निरन्तर गरेको नेकपा गोरखाका सेक्रेटरी काजी सीले जानकारी गराए । सेक्रेटरी काजीका अनुसार उद्योग सञ्चालनको लागी के गर्न सकिन्छ भन्ने सन्दर्भमा गोर्खा उद्योग वाणिज्य संघ, बुद्धिजीवि एवं उद्योगी व्यवसायीहरुसँग विभिन्न चरणमा अन्तरक्रिया, भेटघाट र छलफल गरेको र आगामी दिनमा पनि अझ दबाबमुलक कार्यक्रमहरु बढाउने योजना पार्टीले बनाएको बताए ।
गोरखकाली रबर उद्योग बन्द भएको आर्थिक वर्ष २०७१ र ७२ मा २३ करोड २० लाख ४३ हजार रुपैयाँको टायर आयात भयो । त्यसको तीनवर्ष पछि (आ.व.) २०७५ र ७६ मा आठ अर्ब छ करोड ६३ लाख ३१ हजार रुपैयाँको टायर आयात भएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ भने पछिल्लो आर्थिक बर्ष ०७९/०८० मा मात्रै हेर्दा झण्डै ११ अर्ब बराबरको टायरजन्य सामाग्रहरु आयात भएको देखिन्छ । यसरी बर्षेनी अर्बाैको व्यापार घाटा बढिरहेको छ भने बेरोजगारीको अवस्थापनि विकराल बन्दै गैरहेको छ । विकसित प्रविधिलाई भित्र्याएर राज्यले बलियो नीति बनाउने हो भने उद्योग सञ्चालनको असम्भावना छैन, हरेक दिन २ हजारभन्दा बढी नागरिकले बेरोजगारीकै कारण देश छोडिरहेका छन्, यस्ता उद्योगहरु संचालन गर्दा रोजगारीको दर पनि बढाउन सकिन्थ्यो यसप्रति राज्य गम्भीर हुन भने जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।