२१ पुष २०८१, आईतवार

सरकार तीन बुँदे सहमति विपरित फासिवादी अभ्यासमा गए प्रतिवाद गर्छौं : प्रकाण्ड सी

0

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीेले सरकार तीन बुँदे सहमति विपरित फासिवादी अभ्यासमा जान खोजे त्यसको सशक्त प्रतिवाद गरिने चेतावनी दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी सुर्खेतले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपाका प्रवक्ता प्रकाण्ड सीले सरकार तीन बुँदे सहमति विपरित फासिवादी अभ्यासमा जान खोजे त्यसको सशक्त प्रतिवाद गरिने चेतावनी दिएका हुन् ।
उनले भने, ‘यो सरकारले तीन बुँदे सहमति विपरित गतिविधि गरिरहेको छ, अहिलेसम्म आफ्नो नेता कार्यकर्तामाथिका झुट्टा मुद्धा फिर्ता लिएको छैन, मुद्धा फिर्ता लिन केही नेपाल ऐन सशोधन गर्न बनेको धारा ६४ को संशोधन प्रावधान फिर्ता लिने भनेको छ, यी क्रियाकलापहरु तीन बुँदे सहमति विपरित छन्, यो ओली सरकारको फासिवादी अभ्यास हो, यदि त्यसो भए हामी प्रतिवाद गर्छौँ ।’
उनले आफ्नो पार्टी शान्तिपूर्ण माध्यमबाट नेपालमा देश र जनताको समस्याहरु समाधान गर्न चाहेको प्रष्ट्याउदै सरकारले दमन र हिंसाको बाटो लिन खोजे सशक्त प्रतिवाद गर्नुको विकल्प नभएको उद्घोष गरे ।
‘हामी देश र जनताको मुद्धा लिएर संघर्ष गरेका हौं, कुनै सामाजिक अपराध गरेका छैनौँ’ उनले भने, ‘यो दलाल संसदीय व्यवस्थाको अदालतमा हामी हाजिर हुन जादैनौँ, मुद्धा सहमति अनुसार खारेज हुनुपर्छ, होइन भने हामीले जनतामाथि अपराध गर्ने तत्वलाई जनताको अदालतमा उभ्याउनेछौँ ।’
प्रवक्ता प्रकाण्ड सीले नेकपाले आगामी निर्वाचनमा नेकपा सहभागी हुने निर्णय गरेको जानकारी दिदै नेकपाका नेता कार्यकर्तामाथि लगाइएका सम्पूर्ण झुट्टा मुद्धा तत्काल खारेज गर्न आग्रह गरे ।
‘अहिलेको व्यवस्था पूर्ण असफल भयो, यसको विकल्प चाहिन्छ’ उनले भने, ‘सबै विकल्पकाेबारे सबैतिर बहसमा भएको छ, नेपालमा संविधान संशोधनको कुरा उठिरहेको छ यो कांग्रेस एमालेले पनि उठाएका छन्, उहाँहरु संविधान संशोधनको कुरामा अगाडि बढेर गर्नु हुन्छ कि पछाडि फर्केर गर्नु हुन्छ त्यो त हेर्न बाँकी छ ।’
प्रवक्ता प्रकाण्डले नेपाल कम्युनिष्ट पार्टी ०८४ को निर्वाचनमा सहभागी हुने भएपछि दलालहरु षड्यन्त्रमा लागेको जिकिर गरे । उनले कर्णालीको विकासमा अहिले पनि काठमाडौँले उपेक्षा गरेको टिप्पणी गरे ।
उनले भने, ‘कर्णालीको विकासका लागि सबै कर्णालीवासीहरु एकताबद्ध हुनुपर्छ, समाजवादका लागि एक ठाउँमा उभिनुपर्छ, समाजवाद विना उत्पीडित क्षेत्र, जाति र समुदायको मुक्ति हुँदैन ।’
उनले अहिलेको समस्याको समाधानको उत्तम विकल्प नेपाली विशेषताको समाजवाद भएको दाबी गर्दै समाजवादी क्रान्तिमा सबैलाई साथ दिन अपिल गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।