२९ माघ २०८१, मंगलवार

महरालाई सँगै राखेर विप्लवले भने ‘माओवादीहरु रुपान्तरण भए एकता’

0

दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले माओवादीहरु रुपान्तरण भए एकता सम्भव भएको बताएका छन् ।
सोमबार नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्ण बहादुर महरा समेत सहभागी एक कार्यक्रममा विप्लवले यस्तो टिप्पणी बताएका हुन् ।

सहिद ऋषि-राधा स्मृति केन्द्रको दोस्रो साधारणसभा तथा श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने– ‘माओवादीहरु एकतावद्ध हुने बेला आएको छ यो कुरा सत्य हो तर एकताका लागि रुपान्तरण हुनुपर्दछ । पहिले माओवादी नै रुपान्तरण हुनुपर्छ । बिग्रेका हामी हौं । काँग्रेस, एमालेका कुरा छोड्नुस्, तिनीहरुलाई पनि रुपान्तरण गर्दै जाउँला तर पहिले माओवादी नै रूपान्तरण हुनुपर्दछ र नयाँ ढंगले एकताको प्रयास गर्नुपर्दछ । ०६४ को जनमत माओवादीले थेग्न सकेन वा आन्तरिक रुपमा पार्टीमा गम्भीर त्रुटि पनि भएका छन् । त्यसैले पार्टी फुट्यो फुट्यो मात्रै भन्ने होइन, पार्टी त्यसै फुटेको होइन तर अब जुट्ने बेला आएको छ । माओवादीहरुसंग मुलुकका लागि विशिष्ट भूमिका छ । सहिद परिवार, घाइते, बेपत्ता परिवारले एकताको माग गरिरहेका छन् । रूपान्तरित भएर नयाँ विचार र योजनामा एकतावद्ध हुने बेला आएको छ ।’

‘अहिलेको शासनबाट जनता सन्तुष्ट छैनन् । यो दलाल पुजीवादी संसदीय व्यवस्थाले देश र जनताको समृद्धि गर्न सक्दैन् । हामी यसको विकल्पमा नेपालमा समाजवादी राज्यप्रणालीको स्थापनाको लागि संघर्ष गरिरहेका छौँ । नेपाली श्रमिक जनताको चाहना एकपटक नेपालमा समाजवाद देख्नु हो त्यसका लागि पार्टी अगाडि बढेको छ । हामिले ०८४ को चुनावलाई पनि समाजवादी अभियानका लागि संघर्षको मोर्चा बनाएर प्रयोग गर्ने निर्णय गरेका छौँ । समाजवाद चाहने शक्तिहरुसंग पार्टीले सहकार्य, मोर्चाबन्दी गर्ने नीति वनाएको छ । नेपालमा समाजवाद नभन्ने कुनै दल रहेनन्, हाम्रो चाहना एकपटक समाजवादको खुल्ला बहस गरौं भन्नेछ,’ महासचिव विप्लवले भने ।

महासचिव विप्लवले शहिदहरुको सपनाका लागि आफुहरुले एकीकृत जनक्रान्तिमार्फत नेपालमा वैज्ञानिक समाजवादका लागि संघर्ष गरिरहेको बताए ।
उनले भने – ‘शहिदहरु सम्झिदा हामी सबै तरंगित, उद्देलित एवम भावुक हुने गर्दछौं । हामी मुक्ति वा मृत्यु भनेर निसर्त लडेका मान्छे हौं । आज हामीलाई अपराधिकरण गर्न खोजिएको छ । माओवादी आतंककारी भन्ने नाम जस्तै बनाइएको छ । यो दुखद कुरा हो, हामीले देश र जनता बाहेक केही सोचेका थिएनौं । सहिदहरु भनेका हाम्रा पुँजी हुन् । हामी शहिदहरुका सपना पूरा गर्न फेरि बलिदान गर्न परेपनि तयार भएका छौँ । हामीले पछिल्लो एकीकृत जनक्रान्तिकामा पनि १५ जना कमरेडहरुको रगत बगाएका छौँ । शहिदहरुको सपना एकपटक भुइँमान्छेको सत्ता स्थापना हो, त्यो पूरा गरिछाड्ने संकल्प लिएका छौँ ।’

नेता विप्लव सीले पार्टीको आत्मनिर्भर उत्पादन नीतिलाई अझै व्यवस्थित गर्दै जनतालाई नै आत्मनिर्भरताको दिशातिर डोर्याउने गरि सोचेको बताएका हुन् ।

यस्तै कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले ढिलोचाडो माओवादी घटकहरूबीच एकता हुने बताएका छन् ।

उनले भने, “ढिलोचाडो माओवादी घटकहरू बीच एकता हुन्छ । अलि ढिलो होला, तर हामी एक ठाउँमा उभिनै पर्छ । देशको राजनीति अहिले स्थिर अवस्थामा छैन । कांग्रेस–एमालेको सरकार भए पनि निकै नाजुक अवस्थामा छ। यो अवस्थाबाट माथि उठ्नका लागि माओवादीप्रति आकर्षण बढेको छ ।”

सहिद ऋषि-राधा स्मृति केन्द्र राप्ती गाउँपालिका-५ को दोस्रो साधारणसभा तथा श्रद्धाञ्जली कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता इन्द्रजित थारु, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट, नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी, नेकपाका केन्द्रीय सदस्य सम्झना सी, पाटन सी, तिलक सी लगाएत सबै राजनीतिक दल एवम विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।