
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सहकारीलाई उत्पादन र नगदसँग जोड्नुपर्ने बताएका छन् ।
जनश्रम कृषि सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेकपाका महासचिव तथा सहकारीका संरक्षक विप्लव सीले सहकारीलाई उत्पादन र नगदसँग जोड्नुपर्ने कुरामा विशेष जोड दिंदै देशको आर्थिक विकासका लागि उद्योग क्षेत्रलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।
उक्त कार्यक्रममा सहकारीका अध्यक्ष सन्देश सीले आगामी कार्ययोजना प्रस्तुत गर्दै उत्पादन वृद्धि गरी बजारसम्म पुर्याउने लक्ष्य रहेको बताए । उनले जनतालाई उत्पादन कार्यमा सहभागी गराउने, श्रम र प्रविधिलाई जोड्ने योजना पनि प्रस्तुत गरे । उनले हाल ७२ जना सदस्य रहेको सहकारीको आगामी योजनालाई प्रभावकारी बनाउन सदस्यहरूको भूमिका महत्त्वपूर्ण रहने बताए ।
उक्त कार्यक्रममा सहकारी संस्थाका प्रशिक्षक प्रकाश अधिकारी र व्यवस्थापक सुशील सीले संस्थाका सीमा, कमजोरी र सम्भावनाका विषयमा प्रस्तुति दिएका थिए । सहभागीहरूले यी विषयमा गहन छलफल गरेका थिए ।
देशभरबाट सहभागी भएका सहकारीका शेयर सदस्यहरूको उपस्थिति रहेको उक्त सहकारी संस्थाकी उपाध्यक्ष सम्झना सीले उपस्थित सबैलाई स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिनेश सीले गरेका थिए ।