
नवलपुर/ सहिद सप्ताहको अवसरमा नेकपा नवलपुरले आज गैंडाकोटमा महान सहिद परिवारहरूलाई अभिनन्दन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज जुझारु सी रहेका थिए ।
कार्यक्रम नेकपा नवलपुर कावासाेती नगर इन्चार्ज तथा केन्द्रीय प्रतिनिधि सदस्य अर्जुन सीको सञ्चालनमा सम्पन्न भएको थियो । सोही कार्यक्रममा नेकपा नवलपुर जिल्ला सेक्रेटरी तथा केन्द्रीय सदस्य सुमन सीको अध्यक्षतामा सहिद परिवारलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विशेष अतिथिका रूपमा नेकपा केन्द्रीय प्रतिनिधि सदस्य तथा लुम्बिनी प्रदेश उत्पादन विभाग सदस्य सागर सी, नेकपा नवलपुर जिल्ला सल्लाहकार समिति सदस्यहरू भरत सी, कोष बहादुर सी र टेक बहादुर सीको उपस्थिति रहेको थियो । सहिद परिवारको प्रतिनिधित्व गर्दै सर्मिला सी उपस्थित थिइन् ।
कार्यक्रमका प्रमुख वक्ता जुझारु सीले सहिदहरूको योगदानको स्मरण गर्दै समाजवाद निर्माणको दिशामा निरन्तर अगाडि बढ्नुपर्ने धारणा राखे । उनले सहिद परिवारलाई सम्मान गर्दै संगठनलाई अझ बलियो बनाउनु पर्ने बताउदै सहिदका सपनाहरु पूरा गर्न आफूहरु निरन्तर क्रान्तिमा लागेको बताए । त्यसैगरी, नेकपा नवलपुर जिल्ला सल्लाहकार समिति सदस्य भरत सीले सहिदहरुकै कारण आजको परिवर्तन सम्भव भएको धारणा राखे ।
कार्यक्रममा स्वागत मन्तव्य नेकपा नवलपुर कावासोती नगर इन्चार्ज तथा केन्द्रीय प्रतिनिधि सदस्य विश्वास सीले दिएका थिए ।
सहिद परिवारलाई प्रमुख अतिथि जुझारु सीद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा सहिद परिवारलाई यातायात खर्चसहित झुल प्रदान गरिएको थियो । नवलपुर जिल्लाका कुल ३४ जना सहिद परिवारमध्ये आज २५ जनाको सम्मान गरिएको छ भने बाँकी ९ जना, जो बुलिङटार र बौदिकाली पालिकाका रहेका छन्, उनीहरूको सम्मान फागुन १८ गते गरिने आयोजकले जनाएको छ ।
कार्यक्रमको समापन अध्यक्ष सुमन सीले गरेका थिए ।