२० फाल्गुन २०८१, मंगलवार

विप्लवले भेडा फर्मको उद्घाटन गर्दै भने ‘मरुभूमिमा भेडा पालेर होइन नेपालमै पाल्नुपर्छ’

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले रुप्साको चिसापानीमा शनिबार त्रिवेणी साझेदारी भेडा फर्मको उद्घाटन गरेका छन् ।
महासचिव विप्लवले एक कार्यक्रमका बिच व्यानर पढेर र भेडा समातेर भेडा फर्मकोे उद्घाटन गरेका हुन् ।
महासचिव विप्लवले भेडाफर्मको उद्घाटन गर्दै नेपालका युवाहरुले खाडीका मरुभूमिमा गएर भेडा पालेर नहुने भन्दै नेपालमै भेडा पाल्न अपिल गरे ।
उनले भने ‘आखिर नेपाली युवाहरु राज्यको असक्षमताका कारण विदेश जाने गरेका छन्, विदेश गएर पनि विदेशीहरुको भेडा हेर्ने, खेतीपाती गर्ने, पसिना बगाउने गरेका छन्, त्यो नेपालमै गरौं, नेपालमै उत्पादनमा लागौं । देश र जनतालाई आत्मनिर्भर बनाउन सकिन्छ ।’
उनले गाउँगाउँमा राज्यले निष्पक्ष रोजगारी, अवसर र न्याय दिन नसक्दा नेपाली युवाहरु विदेशीन बाध्य हुनुपरेको टिप्पणी गरे ।
महासचिव विप्लवले विश्वका विभिन्न देशमा गएर श्रम गर्न सक्छौ भने नेपालमा किन गर्न सक्दैनौ ? प्रश्न गर्दै भने, ‘नेकपाले भेडा पालनमा मात्र होइन, कृषि, उद्योग र व्यापारमा हात हालेको छ, पार्टी र जनतालाई आत्मनिर्भर बनाउने अभियानमा छ । अहिले पार्टीले गरेको उत्पादन कहि पनि घाटामा छैन, १७ सय क्वईन्टल धान उत्पादन गरेका छौँ । ४० टन आलु उत्पादन गरेका छौँ । आफ्नै मह उत्पादन छ, कालिकोटको घ्यू , जुम्लाको अर्गानिक सिमी सी व्यापार केन्द्रबाट सुलभ मुल्यमा बेचेका छौँ ।’
महासचिव विप्लवले देशभर गरेको उत्पादनमा कतै घाटा नभएको भन्दै नेकपा आत्मनिर्भरतिर जादै गरेको दाबी गरे ।
उनले नेपालका राजनीतिक पार्टीलाई उत्पादनमा लाग्न पनि आग्रह गरे । महासचिव विप्लवले देशमा गणतन्त्र आएपनि अझै महिला, दलित,किसान सुकुमवासी, जनजातिहरुको अधिकार प्राप्त नभएको भन्दै गणतन्त्र दलालहरुले कब्जा गरेको बताए ।
उनले पार्टीले भेडाफर्म उद्घाटन मात्र गरेको नभई एकीकृत जनक्रान्तिको कार्यदिशा अनुसार आर्थिक क्रान्तिलाई पनि संगै अगाडि बढाएको जिकिर गरे ।
महासचिव विप्लवले कालिकोटमा पालिका भेडाको नाफा सबै पार्टीले नलिने आश्वासन दिदै यसको केही हिस्सा कालिकोटको जनतालाई पार्टीले दिने बचन दिए ।
महासचिव विप्लवले कालिकोटे जनतालाई उत्पादनमा लाग्न आग्रह गर्दै वजार व्यवस्थापनको चिन्ता नगर्न सुझाव दिए ।
कृषि क्रान्तिमा लाग्नु भएका महासचिव विप्लव जुम्ला धाँचुगाउँ र कालिकोटको फोईमा स्याउ रोपन गरेर र रारस्कोटको जनसभा सकेर भेडाफर्म उद्रघाटन गर्न रुप्सा पुगेका हुन् । मौसम प्रतिकुलताका कारण शुक्रबार गर्ने भनिएको उद्घाटन शनिबार भएको हो ।
नेकपाले तराईका जिल्लामा धान र तरकारी, पहाडका जिल्लामा सुन्तला र हिमाली जिल्लामा स्याउ रोपन र पालन गरिरहेको छ । तर यतिबेला भने नेकपाले कृषि क्रान्तिमा थप योगदन दिन भेडापालन पनि सुरु गरेको हो ।
नेकपाले २०८१ साल कर्तिक १६ गते रुप्साका स्थानीयवासी राम बहादुर वोगटी संग २० लाखमा ९० भेडा किनेको थियो ।
अहिले नेकपाले पालेका भेडा ११८ पुगेका छन् । यसको औपचारिक उद्घाटन महासचिवले गरेका हुन् । पार्टीको केन्द्रीय उत्पादन विभाग अन्तरगत पालिएका भेडाहरुको रेखदेख भेडा फर्मका अध्यक्ष धुव्र सी लगायत ५ जना युवाहरुले गरिरहेका छन् ।
उद्घाटनमा नेकपाका स्थायी समिति सदस्य सन्तोष सी, भरत सी, केन्द्रीय सदस्यहरु, पत्रकार स्थानीय जनता लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता सन्तोष सीले गरेका थिए भने संचालन नेकपा कालिकोटका इन्चार्ज विवेक सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।