
पोखरा । नेकपा गण्डकी प्रदेशद्वारा सञ्चालित उत्पादन अभियानको अनुगमन तथा अध्ययनका क्रममा पोखरा महानगरपालिकाको कृषि शाखाका प्रमुख मनोहर कडेरिया र कृषि ज्ञान केन्द्रका प्रमुख माधव पौडेलले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
नेकपा गण्डकीले आफ्नै कार्यालय परिसरमा सञ्चालन गरेको कृषि उत्पादन कार्यक्रमको अवलोकनपछि प्रमुख कडेरियाले उत्पादन अभियान निकै प्रभावकारी भएको बताउँदै प्रशंसा गरे । उनले यस प्रकारको उत्पादनलाई प्रवर्द्धन गर्न स्थानीय सरकारबाट आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी, कृषि ज्ञान केन्द्रका प्रमुख माधव पौडेलले अनुगमनपछि उत्साहित हुँदै नेकपा गण्डकीको पहललाई उदाहरणीय कदमका रूपमा लिने उल्लेख गर्नुभयो। उहाँले उत्पादन अभियानलाई थप व्यवस्थित बनाउन कृषि ज्ञान केन्द्रबाट आवश्यक सहयोग पुर्याउने प्रतिज्ञा गर्दै सबै पक्षले यसरी उत्पादनलाई प्राथमिकता दिए मात्र देश आत्मनिर्भर बन्ने धारणा राख्नुभयो।
नेकपा गण्डकी प्रदेश इन्चार्ज एव पार्टीका स्थायी समिति सदस्य शिलु सी ले पार्टीको उत्पादन निति र अभियानबारे जानकारी गराउदै नेकपाले गरिरहेको उत्पादनले पार्टी र कार्यकर्ता आत्मनिर्भर बन्दै गएको उल्लेख गर्नुभएको थियो । यसरी उत्पादन गरिरहेको हुदा सम्बन्धीत निकायहरुले सहयोग गर्न पनि उहाले आव्हान गर्नुभएको थियो।
नेकपा गण्डकीले यसअघि आलु, मकै, धनियाँ, गाजर, र हिउँदे धान खेती सञ्चालन गर्दै उत्पादनलाई निरन्तरता दिँदै आएको छ। स्थानीय स्रोतहरूको अधिकतम उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्रको अवधारणालाई अघि बढाइरहेको नेकपा गण्डकीको प्रयासलाई कृषि क्षेत्रका विज्ञहरूले सकारात्मक रुपमा हेरेका छन्।