२९ बैशाख २०८२, सोमबार

आत्मनिर्भरताको लक्ष्यलाई व्यवसायिक उत्पादनमा विस्तार गर्ने विप्लवकाे घोषणा

0

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अब आत्मनिर्भरताको लक्ष्यलाई व्यवसायिक उत्पादनमा विस्तार गर्ने घोषणा गरेका छन् ।
अर्घाखाँची, शीतगंगा ११ मान्द्रेमा नेपाल कम्युनिष्ट पार्टीद्वारा सञ्चालित जनकम्युनमा एक हप्तासम्म कम्युनमा श्रम गरिरहेका महासचिव विप्लवले यस्तो घाेषणा गरेका हुन् ।
उनले भने,-“हामीले यो व्यवसायिक रूपमा यात्रा आलुबाट सुरु गरेका थियौं । आलु भन्दा पहिला हामीले अरु उत्पादन गरेका थियाैँ तर त्यो केवल आफ्नो आवश्यकता पूरा गर्नका लागि थियो । अब यो वर्षदेखि हामीले बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी व्यवसायिक उत्पादन थालेका छौं ।”
उनले यसवर्ष मात्रै २०० टन आलु उत्पादन गरेर कम्युनले एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको जानकारी दिए । यसका साथै, यस वर्ष अगबरे खुर्सानी पनि बजारमा ल्याउने तयारी भइरहेको उनले बताए ।
कम्युनमा सक्रिय रूपमा सहभागी रहेका केन्द्रीय सदस्य तथा महासचिव विप्लव सीका सचिव अडिग सीले सामूहिक श्रमको महत्त्वलाई जोड दिए ।
उनले भने, “मैले श्रमलाई नै जीवन ठानेको छु र श्रमबिना कुनै विकल्प छैन । यो श्रम संगैको विचारले मलाई सधैँ उत्साहित बनाएको छ ।”
पार्टीका पाेलिट ब्युरो सदस्य भेषराज सीले व्यवसायिक उत्पादनको दूरगामी महत्त्वबारे प्रकाश पारे ।

उनले भने, “हाम्रो जोड पार्टीभित्रको सामूहिक जीवन र त्योभित्र सदस्यहरूको निजी जीवनलाई व्यवसायिक उत्पादनमार्फत कसरी समृद्ध बनाउन सकिन्छ भन्नेमा छ । त्यसै अनुरूप हामीले यो व्यवसायिक उत्पादनको थालनी गरेका हौं ।”
केन्द्रीय सदस्य प्रयास सीले जनकम्युनको यो प्रयासलाई भविष्यको समाजवादको आधारशिलाको रूपमा व्याख्या गरे ।
उनलेे भने, “हामीले भोलिको समाजवाद स्थापना भएपछि हाम्रो देश कस्तो हुन्छ भन्ने कुरा अहिलेदेखि नै निर्माण गर्दैछौं ।,”
हाल १६ जनाको टोली ७ रोपनी क्षेत्रफलमा सक्रिय रूपमा कृषि कार्यमा संलग्न छन् भने ११ रोपनी जग्गामा थप उत्पादनको तयारी भइरहेको छ । जनकम्युन कृषिमा सहभागी सबै सदस्यहरू सामूहिक श्रम, लगनशीलता र व्यवसायिक दृष्टिकोणका साथ आत्मनिर्भर र समृद्ध भविष्य निर्माणतर्फ अग्रसर छन् । महासचिव विप्लव सीको यो घोषणाले जनकम्युनका सदस्यहरूमा थप उत्साह र ऊर्जा थपेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।