
पोखरा । नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशले आफ्नो प्रदेश कार्यालय परिसरमा रहेको खेतमा रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका–१४, छिनेडाडास्थित पार्टी कार्यालयको खेतमा असार महिनाको अवसर पारेर धान रोपाइँ गरिएको हो ।
कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सी, पोलिटब्युरो सदस्यहरू आजाद सी र आस्था सी, केन्द्रीय सदस्य उभार सी, कपिल सी, सागर सी, काजी सी, उमेश सी, सुशिला सी लगायत केन्द्रीय प्रतिनिधि समिति सदस्यहरू, विभिन्न मोर्चा तथा जनवर्गीय सङ्गठनका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता थियो ।
रोपाइँपछि आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज शिलु सीले श्रम र उत्पादनसँग जोडिनुपर्ने पार्टीको धारणा पुनः स्मरण गराउँदै केन्द्रीय नीतिबमोजिम देशभरजस्तै गण्डकीका ११ वटा जिल्लामा धान रोपाई गरिएको बताइन् । उनले पार्टी, नेता-कार्यकर्तालाई आत्मनिर्भर बनाउँदै देशलाई नै आत्मनिर्भर बनाएर समाजवादको यात्रामा जाने उद्देश्यसहित रोपाई गरिएको बताइन् ।
उनले भनिन् ‘श्रम र उत्पादनमा आधारित समाज निर्माण गर्दै नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउनु अन्तिम लक्ष्य हो । जनताको बीचमा जान, उनीहरूको पीडा बुझ्न र श्रमको सम्मान गर्न यस प्रकारका अभियानकाे सशक्त सन्देश हो ।’
देशमा राजनीति गर्नेहरु कमिसन या भ्रष्ट्रचार गरेर बाच्नुपर्ने स्थिति हुनु हुँदैन राजनीतिक दल र देशको सेवा गर्छु भन्नेले त उत्पादन अनिवार्य गर्नुपर्छ हामी त्यसको नेतृत्व गरिरहेका छौँ, नेता शिलुले भनिन् ।
अहिले नेकपा धानसहित विभिन्न नगदे र बेमौसमी बालीहरु लगाइरहेको छ ।
रोपाइँ कार्यक्रमले स्थानीय कृषकहरूलाई उत्साहित गरेको छ भने सम्पूर्ण पार्टी पंक्ति नै यतिबेला उत्पादन जुटिरहेको छ ।