३ भाद्र २०८२, मंगलवार

पोखरा महानगरका मेयर आचार्यद्वारा नेकपा गण्डकी प्रदेशको उत्पादनको अवलोकन

0

पोखरा — नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशद्वारा सञ्चालन भइरहेको उत्पादन तथा आत्मनिर्भरता अभियानको पोखरा महानगरका मेयर धनराज आचार्यले प्रत्यक्ष अवलोकन गरेका छन् । अवलोकनका क्रममा मेयर आचार्यले राजनीतिक दलले विचार र आन्दोलन मात्र नभई उत्पादन र श्रममा समेत जोड दिनु राजनीतिक संस्कारको उन्नत उदाहरण भएको भन्दै उच्च प्रशंसा गरेका छन् ।
नेकपाका स्थायी समिति सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज शिलुको आतिथ्यमा मेयर आचार्यले पोखरा–१४ छिनेडाडास्थित पार्टी प्रदेश कार्यालय, कार्यालय परिसरको उत्पादन क्षेत्र, कृषि गतिविधि तथा अन्य स्वावलम्बनमूलक परियोजनाहरूको निरीक्षण गरेका थिए ।
अवलोकनपछि मेयर आचार्यले भने, “विप्लव नेतृत्वको नेकपाले देखाएको उत्पादन–आधारित राजनीतिक अभ्यासले सिद्ध गरेको छ कि जनतासमक्ष विश्वसनीय र स्वावलम्बी बन्न उत्पादन र श्रमको संस्कार विकास गर्नैपर्छ । यो अभ्यास अनुकरणीय छ र यो बाटो अन्य दल र समुदायले पनि अंगिकार गर्नुपर्छ । पोखरा महानगर यस अभियानलाई प्राविधिक, प्रशासनिक र आवश्यक पर्ने जस्तोसुकै सहयोगका लागि तयार छ ।”

यसै अवसरमा नेकपा नेता शिलुले मेयर आचार्यको अवलोकन र प्रतिबद्धतालाई स्वागत गर्दै भनिन्, “राजनीतिक दललाई जनता, भूमि र उत्पादनसँग प्रत्यक्ष जोड्ने यो अभियान कुनै सामान्य गतिविधि होइन, यो एक नयाँ राजनीतिक संस्कारको निर्माण प्रक्रिया हो । गण्डकी प्रदेशमा हामीले आत्मनिर्भरता र श्रमको सम्मानलाई राजनीतिक एजेण्डाको केन्द्रमा राखेका छौँ । नगरपालिकाबाट प्राप्त सहयोगको प्रतिबद्धताले हाम्रो अभियानलाई थप ऊर्जा प्रदान गर्नेछ ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।