२७ असार २०८२, शुक्रबार

शिव सीको स्मृतिमा असहाय तथा विपन्न परिवारलाई राहत वितरण

0

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सचिवालय सदस्य दिवंगत शिव सीको स्मृतिमा असहाय तथा विपन्न परिवारलाई खाद्यान्न, लत्ताकपडा र फलफूल वितरण गरिएको छ ।
बुधबार पार्टी र परिवारको संयुक्त पहलकदमीमा विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीले अवलम्बन गरिरहेको सी संस्कृति अनुसार आज तेस्रो दिन समाजका गरिव, असहाय, अशक्त, विपन्न तथा बृद्धबृद्धाहरुलाई मृतकको स्मृतिमा खाद्यान्न, लत्ताकपडा तथा फलफुल वितरण गर्ने गरिएको छ ।

सी संस्कृति अनुसार नेकपाका नेता शिव सीको स्मृतिमा तुलसीपुर-१६ उत्तर भेलाहीका सिताराम चौधरी र सोही ठाउँका वासुदेव चौधरीसहित तुलसीपुर-१५ पहरुवाका सम्पा दमाईलाई धान, ब्ल्याङकेट लगाएत विभिन्न लत्ताकपडा र फलफूल वितरण गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नेकपाले पार्टीको नवौं महाधिवेशनबाट नयाँ सी जाती र त्यसको आफ्नै मृत्यु संस्कार सी संस्कार पास गरेर देशव्यापी नेताकार्यकर्ता र जनताको बिचमा प्रयोग गरिरहेको छ ।

सी संस्कार अनुसार पहिलो दिन मृतकको पार्थिव शरीरको अन्त्येष्टि गर्ने, दोस्रो दिन मृतकको सम्झना सार्वजनिक स्थल, घर आँगनमा त्रीरोपण (फल, फुल र जडिबुटी)का बिरुवाहरु रोपण गर्ने, तेस्रो दिन मृतकको स्मृतिमा समाजका गरिव, असहाय, अशक्त तथा बृद्धबृद्धालाई खाद्यान्न, लत्ताकपडा, फलफुल वितरण गर्ने, चौथो दिन मृतकको सम्झनामा अक्षयकोष स्थापना गर्ने र अन्तिम दिन अर्थात पाँचौ दिन मृतकको सम्झनामा स्मृति सभाको आयोजना गरि मृतकले समाज, राष्ट्र र परिवारका लागि पुर्याएको योगदानको चर्चा गर्ने नीति रहेको नेकपाले जनाएको छ ।

राहत वितरण कार्यक्रमको सहजीकरण पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला सचिव तिलक सीले गर्नुभएको थियो ।

राहत वितरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी, पार्टीका केन्द्रीय सदस्यहरु प्रदिप सी, विकास सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्यहरु धर्ती सी, भुवन सी, प्रतिरोध सी लगाएत पार्टीका जिल्ला, पालिका र स्थानीय नेताकार्यकर्ता एवम मृतकका परिवारको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।