
तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी दाङका सचिवालय सदस्य दिवंगत नेता शिव सीको स्मृतिमा वृक्षारोपण गरिएको छ ।
पार्टीले अवलम्बन गरिरहेको मृत्यु संस्कार अनुसार मृतकको स्मृतिमा मंगलबार मृतकको आफ्नै घर परिषरमा फल, फुल र जडिबुटीका बिरुवाहरु रोपिएको हो ।
नेकपाले पार्टीको नवौं महाधिवेशनबाट नयाँ सी जाती र त्यसको आफ्नै मृत्यु संस्कार सी संस्कार पास गरेर देशव्यापी नेताकार्यकर्ता र जनताको बिचमा प्रयोग गरिरहेको छ ।
सी संस्कार अनुसार पहिलो दिन मृतकको पार्थिव शरीरको अन्त्येष्टि गर्ने, दोस्रो दिन मृतकको सम्झना सार्वजनिक स्थल, घर आँगनमा त्रीरोपण (फल, फुल र जडिबुटी) का बिरुवाहरु रोपण गर्ने, तेस्रो दिन मृतकको स्मृतिमा समाजका गरिव, असहाय, अशक्त तथा बृद्धबृद्धालाई खाद्यान्न, लत्ताकपडा वितरण गर्ने, चौथो दिन मृतकको सम्झनामा अक्षयकोष स्थापना गर्ने र अन्तिम दिन अर्थात पाँचौ दिन मृतकको सम्झनामा स्मृति सभाको आयोजना गरि मृतकले समाज, राष्ट्र र परिवारका लागि पुर्याएको योगदानको चर्चा गर्ने नीति रहेको नेकपाले जनाएको छ ।
सोही नीति अनुरुप मंगलबार असार २२ गते हृदयघातका कारण निधन हुनुभएका नेता शिव सीको सम्झनामा अम्बा, सितलचिनी, धोबी सल्ला, बारमासे फुलहरु लगाएतका विरुवाहरु रोपण गरिएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले सी संस्कार अनुसार गरिएको वृक्षारोपणका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै यो सरल, सहज र वैज्ञानिक संस्कृति भएको जिकिर गरे ।
उनले भने– ‘मृत्यु संस्कारलाई बोझ र झण्झटिलो बनाउनु हुँदैन । मान्छेको जैविक शरीर विघटन भइसकेपछि त्यसको सम्झनामा मनाइने शोकहरु सरल, सहज र वैज्ञानिक हुनुपर्दछ । सी संस्कार नै आजको वैज्ञानिक संस्कृति हो । कम्युनिस्टहरुले पुरानो मृत्यु संस्कारको आलोचना मात्रै गर्ने तर वैज्ञानिक र उत्तम विकल्प दिन नसकेपछि हामीले पार्टीको महाधिवेशनबाट सी जाती त्यसको आफ्नै संस्कार लागू गरिरहेका छौँ । हामीले मृत्यु संस्कारलाई पाँच दिनसम्म मनाउने गरेका छौँ ।’
वृक्षारोपण कार्यक्रमको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी तुलसीपुरका सेक्रेटरी रुद्र सीले गरेका थिए ।
वृक्षारोपण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला सचिव तिलक सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य धर्ती सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य प्रतिरोध सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य भुवन सी, जिल्ला सचिवालय सदस्य नवीन सी, प्रकृति सी लगाएतका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
नेता शिव सीको ५२ वर्षको उमेरमा असार २२ गते ७:५० बजेतिर हृदयघातका कारण अकल्पनीय, असमायिक दुखद निधन भएको थियो ।
उहाँकी आमा कृष्णा सुवेदी अखिल नेपाल महिला सँघ दाङका संस्थापक जिल्ला अध्यक्ष (२०३६) हुनुहुन्छ भने उहाँकी जिवनसंगिनी सुमित्रा सुवेदी अखिल नेपाल शिक्षक संगठनको दाङ जिल्ला उपाध्यक्ष हुनुहुन्छ ।
दिवंगत नेता शिव सीका दुई छोरी छन् ।