
नवलपुर । नेपाल कम्युनिस्ट पार्टी, नवलपुरले मध्यबिन्दु नगरपालिका–९ बसन्तपुरस्थित १ बिघा क्षेत्रफलमा धान रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम पार्टीको आत्मनिर्भरता निर्माण अभियान अन्तर्गत सञ्चालन गरिएको हो ।
“श्रमलाई सम्मान गरौँ, श्रम संस्कृतिको निर्माण गरौँ” भन्ने नारासहित आयोजना गरिएको रोपाइँ कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज पदम सी, जिल्ला सेक्रेटरी सुमन सी, नेता विश्वास सी, बेल सी, सल्लाहकार भरतलाल सी, उत्पादन विभागका प्रतिनिधिहरू तथा जबस–मोर्चाका नेता–कार्यकर्ताहरूको सक्रिय उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी नेताहरूले श्रम र उत्पादनलाई पार्टी कार्यदिशासँग जोड्दै राजनीतिक चेतनासहितको कृषि अभियानले नै मुलुकलाई आत्मनिर्भर र समृद्ध बनाउने धारणा राखेका थिए । उनीहरूले ‘श्रम संस्कृति’ लाई संस्थागत गर्दै देशभर उत्पादनमूलक अभियानहरू सशक्त रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
पार्टीले विगत केही वर्षयता उत्पादन, श्रम र आत्मनिर्भरता अभियानलाई प्राथमिकतामा राख्दै विभिन्न जिल्लाहरूमा यसप्रकारका कार्यक्रम गर्दै आइरहेको छ ।