
स्याङ्जा/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाले असार २२ गते वालिङ नगरपालिका–११ डौवामा सामूहिक रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ । ‘पार्टी निर्माणसँगै उत्पादनमा जोड’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा सी प्रमुख अतिथि रहेकी थिइन् ।
केन्द्रीय निर्देशनअनुसार आयोजित कार्यक्रममा नेकपा स्याङजाका इन्चार्ज उभार सी, वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी, नगर सदस्य भक्त गोतामे लगायत स्थानीय जनप्रतिनिधि, नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
करीब १० रोपनी खेत लिजमा लिएर धान रोपिएको उक्त कार्यक्रममा सहभागीहरूले हातमा बाला समाएर खेतमा उत्रिएर परम्परागत शैलीमा धान रोपेका थिए । कार्यक्रममा पत्रकार, समाजसेवी तथा विभिन्न पेशाका व्यक्तिहरूको समेत सहभागिता रहेको र उत्पादनसग जोडिदा खुसी व्यक्त गरेको नेकपाका स्याङ्जाका सेक्रेटरी सागर सीले बताए ।
स्थानीयस्तरमै उत्पादनमूलक अभियानमा पार्टीको संलग्नता र नेतृत्वले उदाहरणीय सन्देश दिएको सहभागीहरूको भनाइ थियो । पार्टीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । नेकपा गण्डकी प्रदेशले प्रदेशका सबैजसो जिल्लामा उत्पादन कार्य अघि बढाएको छ ।