
मोहनविक्रम सिंह
(फागुन २४ गतेको किसान सङ्घर्षमा शिविरको सङ्गठनात्मक ढाँचा र त्यसमा पार्टीको विशेष भूमिकाको परिणाम स्वरूप नै त्यो सङ्घर्षलाई अत्यन्त थोरै अवधिमा अगाडि बढाउनु र सफल पार्नु सम्भव भएको थियो । वास्तवमा नारीकोटको किसान सङ्घर्षको यो पक्ष यस्तो चीज हो, जो देशका अन्य भागका किसान सङ्घर्षहरूमा कमै पाइन्छ । अन्य कतिपय किसान सङ्घर्षहरू या त स्वतस्फूर्त प्रकारका रहेका छन् वा पार्टी वा किसान संघका केही मुख्य नेताहरूले व्यक्तिवादी प्रकारले सञ्चालन गर्ने गरेका छन् र तिनीहरूमा सामूहिक कार्यप्रणाली तथा पार्टीको भूमिका अत्यन्त कमजोर रहने गरेको छ ।)
अब यो स्पष्ट भइसकेको थियो कि साहुहरूसित प्रत्यक्ष सङ्घर्षमा नउत्रिकन उनीहरूले किसानहरूमाथि गरेका अन्याय–अत्याचार खतम गर्नु, किसानहरूलाई न्याय दिलाउनु सम्भव थिएन । त्यति मात्र होइन, अब साहु–जिम्मावालहरूले किसानहरुलाई शिविर फर्कने बित्तिकै उनीहरूमाथि कुटपिट गर्ने, घरवास उठाउने र मुद्दा मामिला लगाइदिने धम्कीसमेत दिनथालेका थिए । त्यो स्थितिमा उनीहरूले (साहुहरू) का विरुद्ध कडा कदम उठाउनु अनिवार्य हुन गएको थियो ।
तर साहुहरूका विरुद्ध प्रत्यक्ष कदम कसरी उठाउने ? यो प्रश्न गम्भीर थियो । खुङ्गका ठकुरीहरूले पूरै उनीहरूको रक्षा गरिरहेका हुन्थे । साहुहरूका घरमा खसी र दूध–भातको भोज लागिरहेको हुन्थ्यो । कुनै पनि बेला आवश्यक पर्दा शिविरमाथि हमला गर्नका लागि उनीहरूले प्रसस्त लाठी, हतियार जुटाएका थिए । यो अवस्थामा उनीहरूसित प्रत्यक्ष सङ्घर्ष केही कठीन हुन्थ्यो । शिविरको सङ्गठित शक्ति र त्यसमाथि अब किसानहरूमा भएको जागृतिका कारणले हाम्रो स्थिति पनि कमजोर थिएन । तैपनि हामीले कम क्षतिद्वारा आफ्नो उद्देश्य पूरा गर्न चाहन्थ्यौं । त्यसका लागि हामीले साहुहरूको प्रत्यक्ष सङ्घर्षको बेलामा खुङ्गका ठकुरीहरूलाई गाउँबाट हटाउने योजना बनायौं ।
एउटा किसानले खोलाको तिरमा बाँध बाँधेर जग्गा आवाद गरेका थिए र साहुहरूले “सन्धी सर्पण” भनेर त्यो किसानलाई खेती गर्न दिएका थिएनन् । हामीले सभामा त्यो किसानको कुरा उठाएपछि साहुहरूले त्यो जग्गा “सन्धी सर्पण” मुर्दा पोल्ने ठाउँ हो भनेर जोड गरे । हामीले अरू किसानहरूका उजूरहरूबारे केही नगर्ने र त्यो जग्गा सन्धीसर्पण भएमा शिविर आफै फर्केर जाने कुरा ग¥यौं । साहुहरू र उनीहरूका ठकुरीहरू तुरून्त तयार भए । हामी सबै खोलामा जग्गा हेर्न गयौं । जग्गा हेरेपछि हामीले अरू केही कुरा नगरिकन फर्केर जाने कुरा ग¥यौं– त्यही दिन बेलुका फर्केर जाने निर्णय ग¥यौं । त्यहाँबाट खुङ्गका ठकुरीहरूको गाउँ नजिक पर्दथ्यो । हामीले त्यही दिन फर्केर जाने कुरा गरेपछि बुङ्गका ठकुरीहरूले अब आफ्नो आवश्यकता नभएको कुरा गरे र दलबल सहित आफ्नो गाउँमा फर्के । उनीहरूले साहुहरूलाई भने “आवश्यक प¥यो भने बाजा बजाउन लगाउनु होला । हामी तुरून्त आउनेछौं ।”
त्यसपछि हामी सबै फर्केर ठाँटीमा आयौं । साहुहरू पनि त्यहाँ आए । उनी धेरै प्रसन्न थिए र शिविर त्यसै फर्कन थाल्यो भनेर किसानहरू निराश थिए । साहुहरूले आफ्नो हाव–भावद्वारा यो देखाइरहेका थिए कि शिविर फर्कने बित्तिकै उनीहरूका विरुद्ध अगाडि आएका किसानहरूलाई तहस–नहस पार्नेछौं । अर्कातिर त्यो बेलासम्म हामीले अन्य गाउँहरूबाट पनि थुप्रै साथीहरूलाई त्यहाँ बोलाई सकेका थियौं र उनीहरू लुकेर बसेका थिए । उनीहरू कुनै पनि प्रकारको सङ्घर्षका लागि तयार थिए । खोलातिर जाँदा आफ्नो शक्ति कम देखाउन हामीले थुप्रै साथीहरूलाई फर्काउने कुरा गरेका थियौं र साहुहरूका अगाडिबाट उनीहरू हिंडेका थिए । तर उनीहरू गएका थिएनन्, लुकेर बसेका थिए । जब अन्तिम बेला आयो, हामीहरूले पुनः किसानहरूका सबै समस्याहरूलाई उठायौं । त्यो देखेर उनीहरू एकदम तातेर जङ्गिन थाले । हाम्रा पक्षका साथीहरू र किसानहरूले झण्डा उठाउन थालेः “अब हाम्रा मागहरू पूरा नगरेसम्म छाड्दैनौं ।” त्योबेला प्रकट रूपमा त्यहाँ हाम्रा साथीहरू कम संख्यामा थिए र साहुहरूपक्षका मान्छेहरू पनि ठूलो संख्यामा थिए । त्यसकारण साहुहरूले हाम्रो भनाइलाई दृढतापूर्वक अस्वीकार गरे । उनीहरूले भन्न थाले, “अहिले बाजा बजाएर बाबु साहेबहरु (बुङ्गका ठकुरीहरु) लाई बोलाएर तिमीहरुका हातखुट्टा तोडिदिन्छौं ।” त्यसपछि शिविरका सेक्रेटरीले सिठी बजाए र त्यसका साथै अहिलेसम्म लुकेर बसेका सयकडौंका संख्यामा शिविरका युवकहरु, अन्य गाउँहरुबाट मद्दतका लागि आएका साथीहरु र किसानहरु अगाडि आए । त्यो देखेर साहूहहरु तर्से र भाग्न खोजे । उनीहरुका केही मान्छे भाग्न सफल पनि भए । तर सबै मुख्य व्यक्तिहरु साहु–जिम्मावालहरु– गिरफ्तार भए । उनीहरुका भागेर गएका मानिसहरुले तुरुन्त बाजा बजाउन थाले । हाम्रो पूर्व योजनानुसार हामी तुरुन्त साहुहरुलाई लिएर त्यहाँबाट हिड्यौं । ठूलो संख्यामा किसानहरु पनि साथै गए । करिब ३–४ घण्टाको ठाउँबाट गएर सामन्तवाद र जाली–फटाहा विरोधी नाराहरु लगाउँदै किसानहरु ९–१० बजे राति मछि (ओखरकोट) पुगे । बाटामा साहुहरुका मान्छेहरुले आएर उनीहरुलाई छुटाउन नसकून् भनेर हाम्रो पूरा तयारी थियो ।
मछिमा खानपिन गरेर सुत्दा रातको करिब १ बजिसकेको थियो । त्यहीबेला खुङ्गका ठकुरीहरु ढाँडमा आएको देखियो । उनीहरुले तरबार, बन्दूक र खुकुरीहरु लिएर आएका थिए । उनीहरु करिव २–३ सयको संख्यामा थिए । पालोमा बसेका साथीहरुले तुरुन्त सबैलाई त्यसको सूचना दिनुभयो । शिविरका साथीहरु र किसानहरु तुरुन्त जम्मा भए र उनीहरुले आफ्नो कार्यक्रम बनाएः १) शिविरका साथीहरु र किसानहरुको मुख्य समूहले मछितिर आउने बाटोमा गएर झाडीमा गएर लुकेर बस्ने र उनीहरु नजिक आउने बित्तिकै ढुङ्गामुढा पल्टाउँदै हल्ला गर्ने र उनीहरुलाई भगाउने प्रयत्न गर्ने २) केही साथीहरुले साहुहरुलाई गर्तड खोलातिर जाने ३) केही साथीहरु मछि ठाँटीतिर मोर्चा लिएर बस्ने । तुरुन्त कारवाई शुरु भयो ।
साहुहरुका मान्छेहरु नजिक आउने बित्तिकै योजनाअनुसार ढुङ्गा–मुढा बर्साउने काम भयो । उनीहरुमध्ये धेरैजसो खोलातिर कुदिहाले । तर केही मान्छेहरु खुकुरी र तरवार चम्काउँदै अगाडि बढ्दै आए । अगाडिबाट हवाई फायर भएपछि उनीहरु पछाडि हटे । पछि उनीहरु झिमरुक खोला तरेर खेततिरबाट अगाडि बढे । हाम्रा साथीहरु पुनः त्यहाँ पुगे र झिमरुक तिरमा मोर्चा कसे । बाहिरबाट हवाई फायर भयो । त्यसपछि उनीहरु सबै भागेर गए । अहिलेसम्म हाम्रा साथीहरुले साहुहरुलाई धेरै टाढा पु¥याइसकेका थिए । हामी पनि मछि ठाँटीलाई खाली गरेर ओखरकोटको उकालोतिर लाग्यौं ।
बिहान खुङ्गका ठकुरीहरु सबै फर्केर गएको पत्ता लाग्यो, हामी पुनः सबै जम्मा भयौं । त्यो दिन नारीकोट आसपासका गाउँहरुका पनि ठूलो संख्यामा किसानहरु जम्मा भएका थिए । दिउँसो यो पनि थाहा भयो कि शिविरका पनि कतिपय युवकहरु रातमा भागेर गएका थिए । त्यसरी भाग्नेमा ती दुवै प्रकारका मुख्य साथीहरु थिए, जसले बिनातयारी साहुहरुमाथि आक्रमणको कुरा गर्दथे वा बिनासङ्घर्ष गाउँ छाडेर हिड्ने कुरा गर्दथे । शिविरका लकडीहात, कुस्तिका प्रशिक्षक र सबैभन्दा लडाकु मानिएका कतिपय साथीहरु अग्रीम पंक्तिमा रहेर भागेका थिए ।
दिउँसो पुनः सभा शुरुभयो र साहु–जिम्मावालहरुले गरेका अन्याय–अत्याचारबारे छलफल शुरुभयो । दिउँसो पुनः खुङ्गका ठकुरीहरुले पिडाल्नेका गहुँ खेतमा लुकेर आक्रमण गर्ने प्रयत्न गरे । तर सामान्य धम्कीपछि उनीहरु हटेर गए र अन्तमा साहुहरु आफूले अन्याय–अत्याचार गरेका सबै विषयहरुमा किसानहरुका मागहरु पूरा गर्न बाध्य भए । त्यसरी फाल्गुण २३ गतेको सभा सफलतामा टुंगियो । त्यो रात ठूलो संख्यामा शिविर र किसान साथीहरुले सँगै बिताए र २४ गते विहान किसानहरु गाउँमा फर्के र शिविरका युवकहरु रातामाटातिर लागे ।
नारीकोटको सङ्घर्षको मुख्य विशेषता हो त्यो सम्पूर्ण कारवाई योजनावद्ध र सङ्गठित रुपले सञ्चालित भएको थियो । शिविरका युवकहरुले ३ महिनासम्म उच्च प्रकारको अनुशासित जीवन बिताएका थिए । नारीकोटको यात्रामा जाँदा उनीहरुले “यात्रा प्रवन्ध समिति” बनाएका थिए, जस अन्तर्गत कैयौं विभागहरु थिए, जस्तै कि खाद्य, सफाई, स्वास्थ्य, प्रचार, सुरक्षा आदि । प्रत्येक विभागका एकजना इञ्चार्ज र इञ्चार्जको मातहतमा उपसमितिको व्यवस्था थियो । कुनै पनि विषय अगाडि आउने बित्तिकै विषयको महत्वअनुसार सम्बन्धित उपसमिति, इञ्चार्ज, प्रबन्ध समितिले निर्णय गर्ने व्यवस्था थियो । प्रत्येक दिन झण्डागानको बेलामा र अन्य बेलामा आवश्यकताअनुसार शिविरका सबै युवकहरुको सामूहिक बैठक हुन्थ्यो, जसमा आवश्यक छलफल, आत्म–आलोचना, आलोचना र निर्णयहरु गरिन्थ्यो । त्यसप्रकारको अनुशासित र सामूहिक कार्य प्रणालीले गर्दा शिविरका युवकहरुमा अत्यन्त दह्रो एकता र उत्साह थियो र उनीहरुको कार्यक्षमता निकै बढाई दिएको थियो । ती सबै कार्यविधिलाई निर्देशन दिन ३ जनाको सबै उम्मेदवार सदस्यहरुको पार्टी एकाई थियो । सबै आवश्यक र महत्वपूर्ण विषयमा पार्टी एकाईले निर्णय लिने गर्दथ्यो ।–
पछि साहुहरुसितको सङ्घर्षको स्थिति कडा बन्दै गएपछि यात्रा प्रबन्ध समिति सङ्घर्ष समितिमा बदलियो र त्यसअनुरुप त्यसको कार्यप्रणालीमा पनि काफि परिवर्तन भयो । त्योबेला शिविरका सेक्रेटरीलाई आवश्यक भएमा सङ्घर्ष समिति वा साधारण समितिमा छलफल नगरिकन तुरुन्त निर्णय लिनसक्ने अधिकार दिइयो । सङ्घर्ष समितिको मातहतमा कैयौं टोलीहरु बने र ती सबैको एकजना नेता नियुक्त गरियो । अनुशासन र पालो–पहराको व्यवस्थालाई कडा गरियो । पार्टी एकाईको भूमिका विशेष महत्वपूर्ण भएर गयो । पहिले शिविरको कार्यविधिको स्वरुप अधिकतर आन्तरिक थियो भने अब त्यसको कार्यविधि मुख्यतः बहिरमुखी बन्नगयो र गाउँका किसानहरुका बिचमा प्रचारात्मक र सङ्गठनात्मक कार्यमा विशेष जोड दिइयो ।
फागुन २४ गतेको किसान सङ्घर्षमा शिविरको उपरोक्त प्रकारको सङ्गठनात्मक ढाँचा र त्यसमा पार्टीको विशेष भूमिकाको परिणामस्वरुप नै त्यो सङ्घर्षलाई अत्यन्त थोरै अवधिमा अगाडि बढाउनु र सफल पार्नु सम्भव भएको थियो । वास्तवमा नारीकोटको किसान सङ्घर्षको यो पक्ष यस्तो चीज हो, जो देशका अन्य भागका किसान सङ्घर्षहरुमा कमै पाइन्छ । अन्य कतिपय किसान सङ्घर्षहरु यात स्वतस्फूर्त प्रकारका रहेका छन् वा पार्टी वा किसान संघका केही मुख्य नेताहरुले व्यक्तिवादी प्रकारले सञ्चालन गर्ने गरेका छन् र तिनीहरूमा सामूहिक कार्यप्रणाली तथा पार्टीको भूमिका अत्यन्त कमजोर रहने गरेको छ ।
त्यो बेला प्यूठानमा किसान संघको सङ्गठन अझै व्यापक बनेको थिएन तर जनता शिक्षण शिविरको ३ महिनाको प्रशिक्षणकालमा प्यूठानमा कैयौं वामपन्थी सङ्गठनहरूको जग रहेको थियो, त्यहीबेला पार्टी, किसान संघ र युवक संघका जिल्ला सङ्गठन समितिहरु बनिसकेका थिए । त्यसरी शिविर प्यूठानमा वामपन्थी आन्दोलनको प्रारम्भ विन्दु थियो । त्योबेला शिविरमा करिब १५० जति युवकहरू प्रशिक्षित भएका थिए र फागुन २४ गतेको आन्दोलन तथा त्यसपछिको प्यूठानको किसान आन्दोलनमा ठूलो संख्यामा किसानहरूले भाग लिएका थिए । तर आज ती युवकहरूको के हालत छ ? ती किसानहरूको के स्थिति छ ? त्यसको मूल्याङ्कन हाम्रा लागि उपयोगी हुनेछ र त्यसबाट प्राप्त हुने शिक्षाले हामीलाई भविष्यमा गतकालका कैयो नकारात्मक परिणामहरूबाट बच्न मद्दत गर्नेछ ।
३५ वर्षपछि आज गतकालको मूल्याङ्कन गर्दा हामीले के पाउँछौं भने त्योबेला शिविरमा तालिम पाएका युवकहरूमध्ये एकजना पनि वामपन्थी आन्दोलनमा बँचेका छैनन् भने हुन्छ । उनीहरूमध्ये पनि कोही पञ्चायतमा गए, कोही सरकारी नोकरीमा, कोही प्रहरीको जागिरमा, कोही शिक्षक पेशामा, कोही घर–गृहस्थीमा कतिपय गुप्तचरमा परिणत भए । २०११ सालमा दमनको दौरानमा नै कतिपय साथीहरूले पलायनको बाटो समाते भने अधिकतरले २०१७ सालको काण्डपछि पलायन वा गद्दारीको बाटो समाते ।
२०११ सालको दमनको दौरानमा मुख्य साथीहरूको गिरफ्तारी र दुई वर्षको जेल र २०१७ सालको काण्डपछि त्यहाँको मुख्य साथीहरूको लामो समयसम्मका लागि जेलको परिणाम यो भयो कि पार्टीको नेतृत्व र काममा निरन्तरता भएन । त्यसले गर्दा पार्टीको किसानहरूसितको सम्बन्धको कडी टुट्यो । नारीकोटमा त्यहाँको धरमपानी क्षेत्र त्यँहाको किसान आन्दोलनको मुख्य गढ थियो । तर त्यहाँका एकजना मुख्य पार्टीका साथीका मातहतमा थुप्रै साथीहरूले नवलपुरमा बसाई सरे । त्यो क्रममा त्यहाँका धेरैजसो लडाकु साथीहरूले गाउँ छाडे । त्यहाँका मुख्य पार्टीका साथी दुई वर्षको जेलपछि निराश र निष्क्रिय भएका थिए र उनको बसाईसराई वास्तवमा उनको पलायन थियो । तर उनको किसान कार्यकर्ताहरूमा राम्रो प्रभाव थियो र त्यसले गर्दा उनी आफ्ना साथमा थुप्रै साथीहरू लगेर जान समर्थ भए । ती साथीहरूमध्ये कतिपय पछि नवलपुरमा डा. रायमाझीको सङ्गठनमा सामेल भएर झन् पतन हुँदै गए भने कतिपय पूरै निष्क्रिय भएर गए । ती सबैलाई लैजाने मुख्य साथी अहिले बौद्ध भिक्षु बनेर एउटा बौद्ध मन्दिरमा बस्दछन् । नारीकोटमा बचेका साथीहरू पञ्चायतमा सामेल हुँदै वा निष्क्रिय बन्दै गए ।
त्यसरी ३५ साल पहिलेको जनता शिक्षण शिविर र फागुन २४ गतेको किसान आन्दोलनमा सामेल भएका सबै जस्तो कार्यकर्ताहरू आज हाम्रा अगाडि नभए तापनि शिविर र फागुन २४ गतेको किसान आन्दोलनको प्रवाह अनेक प्रकारका उतारचढाव, दमन र एक वा अर्को प्रकारको भटकावको सामना गर्दै अगाडि बढ्दै आएको छ । ३५ सालको अनुभवका हाम्रा थुप्रै तिता–मिठा अनुभवहरू छन् । सबैभन्दा तितो अनुभव त त्यो हो कि लामो समयसम्म साथसाथ काम गर्दे आएका घनिष्ठ साथीहरू एक वा अर्को रूपमा निष्क्रिय वा गद्दारसम्म बन्दै आएका छन् । त्यसको विपरित हाम्रो मीठो अनुभव के हो भने त्यसरी कुनै साथी वा सिङ्गै पिंढीले निष्क्रियता, पलायन वा गद्दारीको बाटो समाए तापनि नयाँ पिंढीबाट नयाँ साथीहरु पैदा हुने क्रम अविरल गतिले चल्दै आएको छ । यो हाम्रो क्रान्तिकारी आन्दोलनको प्रत्यन्त उज्वल, आशावादी पक्ष हो ।
गत दशकहरूमा देशका अन्य भागहरुमा झैं प्यूठानमा पनि किसान आन्दोलन शिथिल भएर गएको छ र यसरी फागुन २४ गतेको परम्परा टुटेको छ । यसका पछाडि कुन कारणहरु जिम्मेवार छन् ? यसका लागि लामो र विस्तृत विश्लेषण आवश्यक पर्नेछ । त्यसपछि नलागेर हामीले के कुरामा जोड दिन चाहन्छौं भने किसान आन्दोलनलाई अगाडि बढाउनका लागि फागुन २४ गतेको अनुभवले हामीलाई अहिले पनि किसान आन्दोलनलाई यही रुपमा अगाडि बढाउन मद्दत गर्न सक्दछ । फागुन २४ गतेको मुख्य विशेषता यी हुन् ः
१) पार्टीको नेतृत्व, २) सचेत सङ्गठन, योजनावद्ध र अनुशासित कार्यप्रणाली, ३) नेतृत्व र किसानहरुका बिचमा घनिष्ठ सम्बन्ध, ४) किसानहरुलाई व्यापक रुपले जागृत र सङ्गठित पारेर सङ्घर्षलाई अगाडि बढाउने प्रयत्न, ५) शोषकहरुको हतियारबन्द कारवाईको विरुद्ध त्यही प्रकारको जवाफी कारवाई । त्यसरी नै खालि त्यसरी नै किसान आन्दोलनलाई अगाडि बढाउन सकिन्छ । त्यसरी नै फागुन २४ गतेको परम्परा अगाडि बढ्नेछ । निश्चयनै त्यसका लागि हामीले लामो तयारी गर्नुपर्दछ र त्यसका लागि पार्टीको भूमिका निर्णयात्मक महत्वको कुरा हुनेछ । यो कुरा देशभरिका लागि नै सत्य हो ।
(स्रोत : झिल्को, पूर्णाङ्क १२, असोज २०४६)