९ चैत्र २०८१, शनिबार

फागुन २४ को किसान सङ्घर्ष

0

             मोहनविक्रम सिंह

 

(फागुन २४ गतेको किसान सङ्घर्षमा शिविरको सङ्गठनात्मक ढाँचा र त्यसमा पार्टीको विशेष भूमिकाको परिणाम स्वरूप नै त्यो सङ्घर्षलाई अत्यन्त थोरै अवधिमा अगाडि बढाउनु र सफल पार्नु सम्भव भएको थियो । वास्तवमा नारीकोटको किसान सङ्घर्षको यो पक्ष यस्तो चीज हो, जो देशका अन्य भागका किसान सङ्घर्षहरूमा कमै पाइन्छ । अन्य कतिपय किसान सङ्घर्षहरू या त स्वतस्फूर्त प्रकारका रहेका छन् वा पार्टी वा किसान संघका केही मुख्य नेताहरूले व्यक्तिवादी प्रकारले सञ्चालन गर्ने गरेका छन् र तिनीहरूमा सामूहिक कार्यप्रणाली तथा पार्टीको भूमिका अत्यन्त कमजोर रहने गरेको छ ।)
–क–
२०१० साल फागुन २४
आज भन्दा ३५ वर्ष पहिले ।
प्यूठानको एउटा गाउँ नारीकोटमा एउटा किसान सङ्घर्ष चलेको थियो । आकार र प्रकारका दुवै दृष्टिले देशका विभिन्न भागहरूमा योभन्दा कैयौं गुणा ठूला सङ्घर्ष चलेका छन् । ती सङ्घर्षहरूका सिलसिलामा ठूलो मात्रामा किसानहरूले सामन्त, जाली फटाहा, सरकारी कर्मचारी र प्रहरीमाथि आक्रमण गरेका छन्, उनीहरूको सम्पत्तिमाथि कब्जा जमाएका छन्, ठूलो संख्यामा गिरफ्तार भएका छन्, यातनाको शिकार भएका छन् वा सहिद पनि भएका छन् । ती सबैका तुलनामा फागुन २४ गतेको किसान सङ्घर्ष एकदम सानो, महत्वहीन र गौण महत्वको सङ्घर्ष हो । तैपनि फागुन २४ गतेको किसान सङ्घर्षको महत्व यो कुरामा छ कि यो एउटा योजनाबद्ध, सचेत र सङ्गठित किसान आन्दोलन थियो । त्यसको यो प्रकृतिले त्यसलाई देशका अन्य किसान सङ्घर्षहरू भन्दा बेग्लै बनाउँछ ।
फागुन २४ गतेको किसान सङ्घर्ष २०१० सालको फागुनमा प्यूठानको नारीकोटमा करिब एक हप्तासम्म चलेको थियो । २०१० सालको पुषदेखि ३ महीनासम्म प्रगतिशील प्यूठानको रातामाटा (विजयनगर) मा अध्ययन मण्डलको मातहतमा एउटा शिक्षण शिविर चलेको थियो, जसमा करिब १५० कार्यकर्ताहरूलाई राजनीतिक शिक्षा र शारीरिक तालिम दिने काम गरिएको थियो । त्यही शिक्षण शिविरको एउटा टोली प्रशिक्षणका लागि नारीकोट गएको थियो । नारीकोटका केही किसानहरूले त्यहाँका साहुहरूले उनीहरूमाथि गरेका अन्याय अत्याचारका विरुद्ध शिविरमा रिपोर्ट दिएका थिए । त्यही सिलसिलामा शिविरका युवकहरू नारीकोट गएका थिए । शिविरमा करिब ३ महीना उनीहरूले माक्सवादी–लेनिनवादी सिद्धान्त, नीति र वर्गसङ्घर्षबारे जे जानकारी प्राप्त गरेका थिए, सो ज्ञानलाई व्यवहारमा प्रयोग गर्नका लागि त्यो एउटा राम्रो अवसर थियो ।
नारीकोटमा सर्वप्रथम साहु, मुखियाहरुसित कुराकानी गरेर किसानहरूमाथि उनीहरूले गरेका अन्याय अत्याचारलाई समाधान गर्न प्रयत्न गरियो । तर कैयौं दिनको सभा–कचहरीपछि पनि उनीहरू तयार भएनन् । उल्टो उनीहरूले खुँग, नारीकोटको नजिकको गाउँबाट ठकुरीहरूलाई बोलाएर शिविरमाथि आक्रमण गर्ने प्रयत्न गर्नथाले । खुँगका ठकुरीहरूले आाफ्ना साथमा बन्दूक र तरवारहरू ल्याएर भगाएका थिए र रातको समयमा कैयौं पल्ट वा दिउँसो सभाका बेलामा पनि शिविरमाथि हमला गर्ने प्रयत्न गरे । तर शिविरका युवकहरूका सतर्कता तथा अनुशासित र सङ्गठित शक्तिका अगााडि उनीहरूको जोड लागेन । साहुहरूले शिविर गएपछि उनीहरूका विरूद्ध शिविरमा उजूर गर्ने किसानहरूको घरवास उठाउने धम्की पनि दिन थाले । त्यो अवस्थामा शिविरले साहुहरूका विरूद्ध निर्णयात्मक कदम उठाउने निर्णय ग¥यो । शिविरले कैयौं गाउँहरूबाट आफ्ना सहयोगीहरू बोलायो । गाउँका किसानहरूलाई व्यापक रूपले आन्दोलित पा¥यो । जब साहुहरू कुनै पनि तरिकाले किसानहरूमाथि गरेका आफ्ना अन्यायपूर्ण कारवाही बन्द गर्न तयार भएनन्, शिविरले साहुहरूलाई पक्रेर रातारात अखरकोट पु¥यायो । त्यसो गर्दा खुँगका ठकुरीहरूसित खुनी भीडन्तलाई रोक्न, उनीहरूलाई कुनै जुक्तिद्वारा, (जसको पछि चर्चा गरिनेछ), गाउँबाट हटाइयो ।
शिविर र किसानहरू साहुलाई पक्रेर मछी पुगेपछि रातमा करिब २०० जना खुगका ठकुरीहरूले हात हतियारसहित शिविरमा हमला गरेर साहुहरूलाई छुटाउने प्रयत्न गरे । तर किसानहरू र शिविरका युवकहरूको सशक्त प्रतिरोधले गर्दा उनीहरू (खुगका ठकुरीहरू) को आक्रमण असफल भयो र उनीहरू भागे । त्यही दिन दिउँसो उनीहरूले पुनः आक्रमण गरे । उनीहरूले नदी पारीबाट गहुँका खेतहरूमा घेरा दिएर आक्रमण गर्ने प्रयत्न गरे । तर त्यो प्रयत्न पनि सफल भएन । अन्तमा साहुहरूले उनीहरूमाथि परेका सबै उजूरीहरूमा आफुले गरेका अन्यायपूर्ण कारवाहीहरू समाप्त गर्न मञ्जुर गरे र त्यसरी त्यो सङ्घर्ष शिविर र किसानहरूको विजयमा टुङ्गियो । फागुन २४ गते, २०१० साल टुंगिएको थियो ।
फागुन २४ गतेपछि प्यूठानमा वर्ग–सङ्घर्ष तीव्र र व्यापक बनेर गयो । गाउँ–गाउँमा जाली–फटाहा विरोधी सङ्घर्ष, अधियाँ आन्दोलन र जिल्ला प्रशासन विरोधी सङ्घर्ष. व्यापक बनेर गयो । फागुन २४ गतेको किसान सङ्घर्षपछि जिल्लाभरिका जाली फटाहाहरूले एउटा बैठक गरेर शिविरका विरूद्ध सङ्गठित हुने निर्णय गरे र त्यसपछि शिविरका विरुद्ध अड्डा अदालतमा कैयौ उजूरहरू पारेर थुप्रै साथीहरूका विरूद्ध पक्राउ पूर्जीहरू जारी गरिए । पछि कयौं मागहरू लिएर जूलूसमा गएका बेलामा ६ जना साथीहरू गिरफ्तार गरिए र उनीहरूका विरूद्ध ‘राजद्रोह’ को मुद्दा चलाइयो, उनीहरूले शान्तिपूर्ण प्रकारले गएको जुलूसका विरूद्ध सशस्त्र आक्रमण गर्न गएको आरोप लगाए । ‘सशस्त्र आक्रमण’ का प्रमाणका रूपमा राति बास बस्दा दाउरा काट्न ल्याएको बम्चरोलाई प्रस्तुत गरे । त्यो मुद्दाका सिलसिलामा ६ जनालाई करिब दुई वर्ष जति जेलमा राखियो भने अन्य व्यक्तिहरूलाई पक्राउ पूर्जी काटियो र उनीहरू भूमिगत हुन बाध्य भए । त्यो दुई वर्षको कालमा लगातार प्रहरीको आतङ्क कायम रह्यो र उनीहरूसित भीडन्त भइराख्यो ।
दुई वर्षपछि सल्यान अपिलको निर्णयअनुसार सबै साथीहरू जेलबाट छुटे र पक्राउ पूर्जीहरू खारेज भए । त्यसपछि जिल्लामा बसेको अखिल नेपाल किसान संघको जिल्ला समितिले ‘फागुन २४ गते’ लाई किसान दिवसका रूपमा मनाउने निर्णय ग¥यो र २०१६ सालसम्म प्रत्येक साल त्यो दिवस मनाउने गरिन्थ्यो । २०१७ सालको काण्डपछि फागुन २४ गतेलाई किसान दिवसको रूपमा मनाउने क्रम रोकियो ।
त्यो बेला देशभरि नै किसान सङ्घर्षहरू चलिरहेका थिए । वास्तवमा किसान सङ्घर्षका दृष्टिले त्यो काल सबैभन्दा धनी छ । पूर्वी तराई, उपत्यका, पश्चिमी पहाड, पश्चिमी तराईआदि देशका कैयौं भागहरूमा त्यो बेला जोड्दार किसान सङ्घर्षहरू चलेका थिए । अफशोचको कुरा हो कि देशमा त्यति व्यापक र जोड्दार किसिमले चलेका किसान आन्दोलनको अहिलेसम्म कुनै इतिहास लेखिन सकेको छैन । त्यस विषयमा देशका सबै लेखक र प्रगतिशील कार्यकर्ताहरूको ध्यान जानुपर्ने आवश्यकता छ । त्योबेलाको किसान आन्दोलनको विस्तृत इतिहास तयार पार्न नसके पनि त्यो बेलाका विभिन्न ठाउँका सङ्घर्षहरू सम्बन्धी सामग्रीहरू यथासम्भव प्रकाशित हुँदै गएमा त्यसप्रकारको इतिहास तयार पार्नका लागि आधार तयार हुँदै जाने थियो । फागुन २४ गतेको आन्दोलन सम्बन्धी यो लेखले त्यो दिशामा केही मद्दत पु¥याउने छ भन्ने आशा छ ।
–ख–
नारीकोटको त्यो बेलाको किसान सङ्घर्ष– फागुन २४ गतेको सङ्घर्षको सञ्चालनका लागि एउटा सचेत, सङ्गठित र अनुशासित शक्ति थियो । त्यो शक्ति थियो– शिविर – जनता शिक्षण शिविरबारे पहिले नै लेखिएको छ । ३ महिनासम्म विभिन्न सैद्धान्तिक, राजनीतिक विषयमा मात्र होइन, सैनिक प्रकारको तालिम र अनुशासनमा प्रशिक्षित युवकहरूको सङ्गठित समूहले त्यो आन्दोलनको सञ्चालन गरेको थियो र त्यसलाई सञ्चालन गर्न पार्टी थियो । उनीहरूले प्रत्येक दिन, कुनै दिन आवश्यकतानुसार दिनमा कैयौं पल्ट आफ्नो बैठक गर्दथे र आफ्ना नीति र कार्यक्रमहरू ठेगान गर्दथे । त्यसको ठीक उल्टो त्यसभन्दा पहिले नारीकोटमा, नारीकोटमा मात्र होइन, प्यूठान जिल्लाभरि नयाँ किसानहरूको कुनै सङ्गठन बनेको थिएन । त्यो अवस्थामा शिविरले आफ्नो एक हप्ताको कार्यक्रमको दौरानमा नयाँ किसानहरूलाई सङ्गठित गर्ने र साहु मुखियाहरूका विरुद्ध सङ्घर्षमा उतार्ने काम गर्नुपरेको थियो । त्यति अल्प अवधिमा त्यो काम यसकारणले सम्भव हुनसक्यो कि त्यहाँ शिविरका रूपमा एउटा सचेत, सङ्गठित, अनुशासित शक्ति थियो । त्यसप्रकारको शक्तिको अभावमा साहु–मुखियाहरूको कडा प्रतिरोधको सामना गरेर किसानहरुलाई सङ्गठित पारेर किसान सङ्घर्षलाई सफल पार्नु सम्भव हुने थिएन ।
शिविरले नारीकोटमा शिविर बनाउने र उनीहरूले किसानहरूका समस्याहरूलाई समाधान नगरेमा सङ्घर्षमा उत्रने पहिले नै सूचना पठाएको थियो । त्यसकारण शिविर गाउँमा पुग्नुभन्दा १–२ दिन पहिले देखिनै साहुहरूले शिविरलाई गाउँमा पस्न नदिन सकेसम्म तयारी गरेका थिए । त्यसका लागि उनीहरूले शिविरलाई गाउँमा पस्न नदिन हाँक दिएका थिए भने अर्कातिर खुँग, नारीकोटको नजिकै पर्ने गाउँका ठकुरीहरूलाई मद्दतका लागि बोलाएका थिए । खुँगको ठकुरीहरू लकडीहात खेल्नलाई सिपालु मानिन्छन् । आर्थिक किसिमले उनीहरू नारीकोटका साहुहरूमाथि  आश्रित भएकाले बल–मद्दतको काममा उनीहरू जहिले पनि साहुहरूको मद्दतका लागि तयार हुने गर्दछन् । शिविरले पनि गाउँमा जानुभन्दा पहिले त्यहाँको साहुहरूको प्रत्येक गतिविधि जान्नका लागि व्यवस्था गरेको थियो । नारीकोट दुई भागमा बाँडिएको छः तल्लो नारीकोट र उपल्लो नारीकोट । नारीकोटका साहु–मुखियाहरूको मुख्य गढ तल्लो नारीकोटमा नै थियो । उपल्लो नारीकोटका मुखियाहरूसित उनीहरूको केही विरोध थियो । उपल्लो नारीकोटका मुखिया जनजातिका थिए र उनको आर्थिक स्थिति कमजोर थियो । फलतः उनीहरूद्वारा गाउँमा धेरै शोषण र उत्पीडन हुने गर्दैनथ्यो । त्यसले पर्दा उपल्लो नारीकोटका किसानहरू तल्लो नारीकोट, जहाँ साहुहरूको प्रत्यक्ष प्रभुत्व थियो, मा जस्तो दब्बु थिएनन् । ती सबै कुराहरूमाथि ध्यान दिंदै हामीले उपल्लो नारीकोटका मुखियालाई आफ्ना पक्षमा मिलाउने र किसानहरूसित घनिष्टता बनाउने प्रयत्न गरेका थियौं । त्यसरी तल्लो नारीकोटका साहुहरुका विरुद्धको सङ्घर्षमा हामीले उपल्लो नारीकोटलाई आधार बनाउन चाहेका थियौं ।
त्यो सङ्घर्षका पक्षमा एउटा अर्को महत्वपूर्ण तत्व पनि थियो । नारीकोट जाने बाटोमा धरमपानी गाउँ पर्दछ । त्यहाँ भारतको मिलिट्रीबाट फर्केका केही भूतपूर्व सैनिक अधिकृत थिए । भारतबाट फर्केदेखि नै उनीहरूले साहुहरूको सेवा चाकडी नगरिकन स्वतन्त्र र इज्जतपूर्वक आफ्नो जीवन निर्वाह गर्ने र गाउँमा बाटो, विद्यालय बनाउने काममा लागेका थिए । त्यसले गर्दा उनीहरूको साहुहरूसित विरोध परेको थियो । उनीहरूको प्रभावले गर्दा त्यो गाउँका किसानहरू पनि साहुहरूका विरुद्ध खडाभएका थिए । धरमपानीका किसानहरूसित पहिलेदेखि नै हाम्रो सम्बन्ध थियो र तल्लो नारीकोटका साहुहरुका विरुद्धको सङ्घर्षमा धरमपानीका किसानहरूसितको सम्बन्धले ठूलो महत्व राख्दथ्यो । नारीकोटमा पहिले किसानहरूको कुनै सङ्गठन नभए तापनि खास गरेर उपल्लो नारीकोट र धरमपानीका किसानहरुले २००७ सालमा र पछि पनि कतिपय सङ्घर्षहरूमा भाग लिएका थिए । त्यो पृष्ठभूमिले पनि नारीकोटको किसान सङ्घर्षलाई निकै मद्दत पु¥यायो । नारीकोटसित जोडिएका कतिपय गाउँहरूका जनताले पनि त्यस प्रकारका सङ्घर्षहरूमा भाग लिंदै आएका थिए र उनीहरूको पनि फागुन २४ गतेको किसान सङ्घर्षमा महत्वपूर्ण योगदान रह्यो ।
नारीकोटमा पुग्नुभन्दा पहिलो रात शिविरले दारिमचौर (ओखरकोटको एउटा ठाउँ) मा बितायो र एक विहान धरमपानीमा । त्यहाँ नारीकोटबाट साहुहरूको गतिविधिबारे प्राप्त समाचारहरू बुझेपछि विशेष तयारी गरी बाटो छलेर उपल्लो नारीकोटको बाटो हुँदै गाउँमा पस्ने निर्णय गरियो । साहुहरूले खुँगका ठकुरीहरूलाई घरमा ल्याएर राखेका थिए । उनीहरू बन्दूक, तरवार र लाठीहरूद्वारा सज्जित थिए । तर उनीहरूले शिविरको बाटोलाई छेक्ने हिम्मत गरेनन् ।
नारीकोटका साहुहरूद्वारा मुख्यतः तल्ला नारीकोटका किसानहरू नै शोषित उत्पीडित थिए र शिविरमा उजुर गर्ने पनि मुख्यतः तल्ला नारीकोटका किसानहरू थिए । तर तल्ला नारीकोटका किसानहरूमा साहुहरूका विरूद्ध सङ्घर्ष गर्ने क्षमता अत्यन्त निम्न थियो (त्यसैले नै उनीहरू सबभन्दा बढी उत्पीडित थिए) । अर्को समस्या के थियो भने तल्लो नारीकोटमा शिविरमा साहुहरूका अन्याय–अत्याचारका विरुद्ध उजुर गर्ने किसानहरूको संख्या एकदम कम थियो र बहुसंख्पक त्यो सङ्घर्षका किसानहरू साहुहरूकै पक्षमा थिए । त्यो सङ्घर्षका विरूद्ध भएको सबैभन्दा ठूलो बाधा थियो । त्यो समस्यालाई समाधान नगरिकन किसानहरूलाई व्यापक रूपले जागृत र सङ्गठित नपारिकन साहुहरूका विरुद्ध किसान सङ्घर्षको कल्पना पनि गर्न सकिंदैनथ्यो । त्यो अवस्थामा शिविरका केही साथीहरूले एउटा विचार ल्याएः शिविरले तुरून्त गएर साहुहरूका घरमा आक्रमण गर्नुपर्दछ र किसानहरूलाई न्याय दिलाउनु पर्दछ । एकपल्ट करिब–करिब पूरै शिविरले त्यही प्रकारको कदम उठाउने निर्णय पनि गर्न लागेको थियो । तर पछि त्यो विचार त्यागियो । त्यसका सट्टा अर्को नीति निश्चित गरियोः गाउँमा किसान र साहुहरूसमेतको सभा बोलाउने । त्यो सभामा साहुहरूमाथि किसानहरूले लगाएका आरोपहरू अगाडि ल्याउने र बहस चलाउने । त्यो बहसमा दुई प्रकारका परिणाम अगाडि आउन सक्दथेः प्रथम, साहुहरूको बढी भण्डाफोर हुन सक्दथ्यो; द्वितीय, साहुहरूलाई नङ्ग्याएर किसानहरूलाई बढी जागृत गराउन र साहुहरूका विरुद्ध लैजान सकिन्थ्यो । त्यसअनुसार हामीले सभाका लागि पहलकदमी ग¥यौं । तर पहिलो १ दिन साहुहरू सभामा नै आएनन् । त्योबेला पुनः शिविरका कतिपय साथीहरूले साहुहरूका घरमा आक्रमण गर्ने कुरामा जोड दिए । तर त्यो विचार स्वीकृत भएन । त्यसको सट्टा अर्को दिन बिहान साहुहरूका घरमा सभामा आउन कडा चेतावनी दिन २–३ जना साथीहरूलाई पठाउने निर्णय गरियो । त्यसअनुसार साहुहरू आए । उनीहरूका साथ लाठी बोकेर बुङ्गका ठकुरीहरू पनि आए । छलफल शुरू हुने बित्तिकै उनीहरू (साहुहरू) तात्न थाले, उनीहरूसित आएका बुङ्गका ठकुरीहरू लाठी लिएर लड्न तम्सिए । त्यसका जवाफमा शिविरका साथीहरू पनि लाठी लिएर अगाडि आए । शिविरका युवकहरू पनि लाठी, कुस्ती आदि काममा अभ्यस्त थिए । हाम्रो तत्परता देखी साहू र उनीहरूका मान्छेहरू पछि हच्के । तर त्यो दिनको सभामा एउटा महत्वपूर्ण कुरा के देखाप¥यो भने तल्लो गाउँका आम किसानहरू साहुहरू कै पक्षमा देखापरे । जो हाम्रो पक्षमा थिए वा उजुर गर्न गएका थिए, उनीहरू पनि देखिएर अगाडि आउन सकेनन् ।
त्यसपछि स्थिति एकदम बदलिएर गयो । एकातिर साहुहरूले बुङ्गबाट झन् बढी मानिसहरू बोलाए र बढी हतियार जम्मागर्न थाले । एक–दुई पल्ट रातमा हामी बसेका ठाउँमा पनि आक्रमण गर्न मानिस पठाए । तर शिविरका साथीहरू नारीकोटको ठाँटीमा शिविर बनाएर बस्थे र रातमा आफ्नो पालो पहराको प्रवन्ध गर्दथे । त्यसले गर्दा साहुहरूका मानिसहरू भागेर जानुप¥यो । त्यो अवस्थामा शिविरका कतिपय साथीहरूले गाउँ छाडेर फर्केर जाने कुरामा जोडगर्न थाले । तर त्यो विचार पनि स्वीकृत भएन । त्यसको सट्टा साहुहरूका विरुद्धको सङ्घर्षलाई सशक्त र प्रभावशाली रूप दिनका लागि कैयौं निर्णयहरू लिइए जसमध्ये यी मुख्य थिएः १) शिविरको यात्रा प्रवन्ध समितिलाई सङ्घर्ष समितिको रूपमा बदल्ने । २) खालि सभा कचहरीसम्म सीमित नरहेर घर–घरमा गई साहुहरूले गरेका अन्याय–अत्याचारबारे बढी पत्ता लगाउने र किसानहरूलाई बढी जागृत पार्ने प्रयत्न गर्ने । ३ ) ती कामका लागि शिविरका युवकहरूलाई साना–साना टोलीहरूमा बाँडेर गाउँमा पठाउने । ४) प्रत्येक टोलीमा दुई प्रकारका साथीहरूलाई समवेश गर्ने– प्रचार गर्न सक्ने र लड्न सक्ने । ५) अन्य गाउँहरूबाट पनि थप साथीहरू बोलाउने र सम्भावित सबै प्रकारका सङ्घर्षका लागि तयारी गर्दै जाने । ६) प्रशासनिक हस्तक्षेपको सम्भावनामाथि ध्यान दिंदै आउने बाटोमा पाले–पहरा राख्ने व्यवस्था मिलाउने । त्यसअनुसार तुरुन्त कारवाई शुरु भयो ।
त्यसपछि कैयौं दिनसम्म सभा कचहरी चालु रहे । क्रमशः किसानहरूको जागृति बढ्दै गयो र झन्पछि झन् उनीहरू साहुहरूका विरुद्ध उठ्न थाले । किसानहरूमा जागृति र शिविरको गतिविधि बढ्नुका साथै साहुहरूको प्रतिरोधात्मक गतिविधि बढ्दै गयो । शुरुमा त्यो सङ्घर्ष खालि शिविर र साहुहरूका बिचको सङ्घर्षका रूपमा देखापरेको थियो । तर त्यो अब साहुहरू र किसानहरूका बिचको सङ्घर्षको रूपमा परिणत हुँदै गएको थियो । प्रत्येक दिन सभाहरूमा छलफलका दौरानमा साहुहरूको भण्डाफोर, शिविरका टोलीहरूद्वारा किसानहरूका बिचमा योजनावद्ध र सङ्गठित रूपले प्रचार कार्यका कारणले पहिलेको स्थितिमा धेरै परिवर्तन भइसकेको थियो । तर हाम्रो धेरै प्रयत्न र छलफलका बाबजूद साहुहरू अलिकति पनि किसानहरूका मागहरू पूरा गर्न तयार थिएनन्, जब कि अर्कातिर शिविर र किसानहरू पनि पछि हट्न तयार थिएनन् । त्यो अवस्थामा दुवै पक्षका बिच प्रत्यक्ष सङ्घर्ष अनिवार्य हुनगयो ।
क्रमशः ….
(स्रोत : झिल्को, पूर्णाङ्क १२, असोज २०४६)

जनपत्रिका मासिक १७ औँ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।