
अनिल सी
पत्रकार मनऋषि धितालकृत डायरीहरु ‘जनयुद्धका डायरी’ ७ कृतिहरु एकसाथ प्रकाशित भएका छन् । तिनै ७ वटा डायरीहरुको समालोचना कृति लेखक–समालोचक खेम थपलियाद्वारा हालै लिखित कृति हो– ‘जनयुद्धका डायरी समालोचना’ ।
‘जनयुद्धका डायरी’ लेखक धितालले प्राध्यापकीय मापदण्ड बाहिर निस्केर डायरी लेखन गरेका छन् । तथापि यो कृति डायरी वा दैनिकी नै हो । जहाँ निजत्व छायाँमा परेको छ र सामूहिक प्रश्न, समय र परिस्थिति प्रभावशाली बन्न गएको छ । डायरी लेखनको शास्त्रीय मूल्य बाहिर फैलिएर डायरी लेखिएको हुनाले थपलियाकृत समालोचना कृति पनि प्राध्यापकीय समालोचना विधिशास्त्रभन्दा बाहिर निस्केर प्रस्तुत गरिएको छ । त्यसो नगरिकन कृतिको यथार्थ प्रकट गर्न र समयप्रति न्याय गर्न सम्भव थिएन ।
‘जनयुद्धका डायरी समालोचना’ कृतिको विषयमा संक्षिप्त चर्चा बुँदागत रुपमा गरौं –
क) साहित्य–कलाको ऐतिहासिकता – मान्छेले प्राचीनकालदेखि नै प्रकृतिका रहस्यहरुप्रति जिज्ञासा उठायो । प्रश्न ग¥यो र आफ्नो अनुकूलताको लागि प्रयत्न ग¥यो । जीवन निर्वाहको काम र सुरक्षाको कामबाट फूर्सद पाएपछि (दासयुगसम्म आइपुग्दा) कल्पनाको उडान भयो । कल्पनाहरुले दर्शनशास्त्रको विकास ग¥यो । दर्शनले प्रविधि वा विज्ञानको आधार निर्माण ग¥यो । त्यसरी भन्न सकिन्छ– साहित्य र कला मानव सभ्यताको जननी हो ।
प्राचीन युनान तथा ग्रीक साहित्य–कला नभएको हुन्थ्यो भने युनानी दर्शनको विकास सम्भव थिएन । युनानको दर्शन हुन्थेन भने आधुनिक युरोपको दर्शन हुने थिएन । आधुनिक युरोपको दर्शन हुन्थेन भने आधुनिक युरोपले विकास गरेको विज्ञान–प्रविधि पनि सम्भव थिएन । वैज्ञानिक हकिंग्सले यो दर्शन–साहित्य–विज्ञान र प्रविधिको द्वन्द्वात्मक सम्बन्धलाई बुझेका थिए । त्यसैले उनले दर्शन र विज्ञानलाई जोड्न अपिल गरेथे । पूर्वीय सभ्यता र बाँकी विश्वको लागिसमेत यो कुरा त्यत्तिकै सत्य हो ।
ख) नेतृत्वदायी भूमिका – राजनीति कि साहित्य – राजनीति र साहित्य विचारधारात्मक सङ्घर्षका फरक–फरक मोर्चा वा साधन हुन् । समाजमा कहिले राजनीतिले र कहिले काहीं साहित्य–कलाले विचारधारात्मक सङ्घर्षको नेतृत्व गर्दछन् । समालोचक थपलियाले साहित्य–कलाले सधैं नै राजनीतिलाई बाटो देखाउँछ भनेका छन् । तर यो सापेक्ष विषय हो । निरपेक्ष विषय हुँदै होइन । जनयुद्धको समयमा राजनीतिले साहित्य–कलाको नेतृत्व गरेको थियो । सरकार–माओवादीबिच विस्तृत शान्ति सम्झौता भएपछि राजनीतिक अकास धूमिल भयो । राजनीति, दलका नेता र त्यसको नेतृत्वप्रति अविश्वास पैदाभएको छ । लेखक–कलाकारहरु निराश छन् । यस्तो बेला कवि–कलाकार वा साहित्यकारले मोर्चा सम्हाल्न आवश्यक छ । आज राजनीतिक क्षेत्रबाट पनि विभिन्न क्षेत्र र कोणबाट प्रयासहरु भइरहेका छन् । तर त्यो मूल प्रवृत्ति बनिसकेको छैन । यस्तो बेला सौन्दर्यात्मक मूल्यको प्रयोग गरेर समाजको अग्रगामी दिशाको नेतृत्व गर्नुपर्छ । राजनीति बौरिन थालेपछि साहित्य–कला फेरि पृष्ठभागमा धकेलिन्छ वा त्यसले सङ्घर्षको सेवक वा सहयोगी बन्दछ ।
ग) कलामूल्य र वैचारिकी– साहित्यको सबलता र दूर्बलताको मापदण्ड धेरै कोणबाट गर्न सकिन्छ । त्यसमध्ये विचारधारात्मक पक्षधरता मुख्य हो । कसको लागि लेख्ने ? किन लेख्ने ? कसको सेवा गर्ने ? यो प्रमुख विषय हो । खेम थपलियाले मजदुर, किसान, श्रमिक र उत्पीडित मान्छेको पैरवी गरेका छन् । महान् जनयुद्धको विद्रुपिकरण चलिरहेको बेला उनले त्यसको प्रतिरोध गरेका छन् । दुई विश्व दृष्टिकोणबिचको सङ्घर्षमा थपलियाकृत ‘जनयुद्धका डायरी समालोचना’ले माक्र्सवादी विश्व दृष्टिकोणको पैरवी गरेको छ । भावनात्मक आवेगबाट, अन्ध–आस्थावादी सोचबाट पाठकलाई बाहिर निस्कन र वस्तुगत यथार्थमा उभिएर धारणा बनाउन प्रेरित गरेको छ ।
विचारधाराको पैरवी गर्ने क्रममा खेम थपलियाले समग्र जनयुद्ध र जनयुद्धको आलोकमा सृजित रचनाहरुको चित्राक्षर प्रस्तुत गरेका छन् । जसले जनयुद्धका प्रतिनिधि साहित्यको अध्ययन गर्न, विश्व दृष्टिकोण निर्माण गर्न सकिन्छ । जसको माध्यमले पाठकले भ्रमित चेतनाको दुष्चक्र झेल्नु पर्दैन । यसर्थ विचारधारात्मक मूल्यको दृष्टिले कृति निकै सफल देखिन्छ ।
घ) ज्ञानात्मक मूल्य र कृति – कला तथा कृतिहरु समयले आर्जन गरेका ज्ञानका ‘लकर’ हुन् । पुर्खाले अथाह बलिदान गरेर निर्माण गरेका ज्ञानका भण्डार कृतिहरु, कलाहरु हुन् । आज श्रुती परम्परामा समेटिएका ज्ञानका भण्डारहरु कला–कृतिका साधनमा व्यवस्थित गर्न सम्भव भएको छ । संसारमा वर्ग निरपेक्ष ज्ञानका विषयहरु अनेक छन् । इतिहास, भूगर्भ, प्रविधि, स्वास्थ्य, अनुसन्धान, सूचना प्रविधि ज्ञानका अथाह स्रोतहरुको पुस्तान्तरण कृतिले दिन सक्छन् । इतिहासको भ्रमपूर्ण व्याख्या र समाज विज्ञानको जनविरोधी भाष्य विरुद्ध यथार्थ ज्ञानको प्रस्तुतीकरण आजको चुनौति हो । ज्ञानका अनगिन्ति शाखाहरु रहेका छन् ।
त्यसमध्ये ‘जनयुद्धका डायरी समालोचना’ कृतिमा ऐतिहासिक भौतिकवादी ज्ञान सिद्धान्तको सशक्त प्रस्तुति भएको छ । जसको माध्यमबाट समाज विज्ञानको ज्ञान प्राप्तगर्न पाठकलाई सहज हुनेछ । त्यसरी ज्ञानात्मक मापदण्डको कोणबाट हेर्दा पनि कृति सबल देखिन्छ ।
ङ) सौन्दर्यात्मक मूल्य – कृतिको सबलता र निर्बलताको फैसला कृतिको सौन्दर्यात्मक मापदण्डमा तौलेर पनि हेर्ने गरिन्छ । कृतिले सपना देखाउन सक्यो कि सकेन ? मृत्यु सौन्दर्य होइन । सपना र जीवन सौन्दर्य हुन् । लेखकले पाठकलाई कता धकेल्यो ? समाज र देश तथा मानव जातिको लागि के ग¥यो ? विम्ब र प्रतीकको प्रयोगद्वारा विषयलाई सम्प्रेषणीय बनाउन सकिन्छ । विम्ब र प्रतीक सरलीकरण र सम्प्रेषणीयताको लागि अनिवार्य छ । ‘भावनाको पिङमा चचहुई गरेर आजका चुनौतिहरुको समाधान गर्न सकिन्न’ लेखकले विचारलाई पिङ विम्ब प्रयोग गरेर सम्प्रेषणीय बनाएका छन् । यो विम्ब हिन्दु धार्मिक ग्रन्थबाट पृथक लोकप्रिय विम्ब पनि हो । २०४८ सालको सामना परिवारको पहिलो गीति एल्बमको उद्घोषणमा उपर्युक्त विम्बलाई ‘आँशुका बाछिटाहरुले संसार कहिल्यै फेरिने छैन’ प्रयोग गरिएको थियो । तसर्थ सौन्दर्यात्मक मूल्यका दृष्टिले पनि कृतिलाई सबल मान्नुपर्छ । साहित्य–कलाको सृजनाको लागि साधना र कल्पनाको उडान भए पनि धेरैथोरै काम चल्ला, तर समालोचनाको लागि उच्च स्तरको चेतना, ज्ञान र अथाह साधना आवश्यक हुन्छ । यो कृतिले त्यो मूल्य चुक्ता गरेको छ ।
(२०८१ पुस ११ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादीको डबलीमा आयोजित ‘जनयुद्धका डायरी समालोचना’ लोकार्पण तथा परिचर्चा कार्यक्रममा अनिल सीद्वारा व्यक्त विचारको सम्पादित अंश)
जनपत्रिका मासिक १७ औँ अङ्क