
भरतपुर महानगरपालिका वडा नं.२७ निवासी ७० वर्षीय मंगरा महतो, जो विगत केही वर्षदेखि शारीरिक अशक्तताका कारण चल्न असमर्थ छन्, उनलाई नेकपा निकट युवा संगठन भरतपुर महानगरका उपाध्यक्ष सन्तोष सीको पहलमा ह्विलचेयर प्रदान गरिएको छ ।
आर्थिक अवस्था समेत कमजोर रहेको अवस्थामा उनको जीवन केही सहज बनोस् भन्ने उद्देश्यले युवा संगठनका उपाध्यक्ष सन्तोष सी, महिला संगठन भरतपुर महानगर अध्यक्ष सरस्वती सी र किसान संगठन भरतपुर महानगर अध्यक्ष पूर्ण सीको उपस्थितिमा उक्त सहयोग कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा बोल्दै किसान संगठन अध्यक्ष पूर्ण सीले भने, “हामी जनताको सुख-दुःखमा साथ दिन प्रतिबद्ध छौं। सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण आजको यो कार्य हो । हामी कम्युनिस्टहरू जनताको सेवक हौं र सदैव सेवामा समर्पित रहन्छौं ।”
युवा संगठनका उपाध्यक्ष सन्तोष सीले यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए । कार्यक्रममा स्थानीयवासीहरूको समेत उपस्थिति रहेको थियो ।