
बेनी । म्याग्दीमा दर्जनभन्दा बढी युवा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार म्याग्दीको जिल्ला सदरमुकाम बेनीमा सम्पन्न पार्टीको विस्तारित बैठकमार्फत उनीहरू पार्टीमा समावेश भएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य एवम् गण्डकी प्रदेशका इन्चार्ज उमा सीले युवाहरुलाई पार्टीमा प्रवेश गराउदै वर्तमान नेपालको सबैभन्दा गम्भीर समस्या शैक्षिक बेरोजगारी रहेको बताइन् । समाजमा हालसम्म पनि विभेद र असमानता विद्यमान रहेको भन्दै त्यसको समाधान समाजवाद मात्र हुने बताइन् । नेता उमाले प्रतिगामी शक्तिहरूले राजतन्त्र फर्काउने नाममा चलाइरहेको अभियानप्रति चेतावनी दिँदै त्यो कदापि सफल नहुने दाबी गरिन् । “यथास्थितिमा टिकिरहन सकिन्न, मुलुकको रूपान्तरणका जरुरी छ त्यसको लागि युवाहरूले अगुवाई गर्नुपर्छ,” उनले भनिन् ।
कार्यक्रममा नेकपा पिबिएम तथा जिल्ला इन्चार्ज राजन सीले पार्टीमा प्रवेश गर्ने नयाँ युवाहरूलाई स्वागत गर्दै मुलुकको आमूल परिवर्तनका लागि जनताको विश्वास जित्दै काम गर्नुपर्ने बताए । पार्टी अनुशासनमा रही समाज र वर्गको हितमा काम गर्न युवाहरुलाई अनुरोध गरे ।
पार्टीले युवाहरुलाई सम्बोधन गर्ने र युवाहरुलाई अग्रसर गराउने आशासहित युवाहरु पार्टीमा प्रवेश गरेको नवप्रवेशी सविन परियारले प्रतिबद्धता मन्तव्य राखेका थिए ।
नेकपाको जिल्ला कार्यालय बेनीमा भएको कार्यक्रममा सविन परियारको नेतृत्वमा दर्जनौ युवाहरु पार्टी प्रवेश गरेका थिए । कार्यक्रम पार्टीका केन्द्रीय सल्लाहकार ध्रुवलाल सीको अध्यक्षता र जिल्ला सेक्रेटरी गोविन्द सीको सन्चालनमा सम्पन्न भएको थियो ।