
हिजोआज नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी निरन्तर श्रममा व्यस्त हुनुहुन्छ । वैशाखको चर्को घाममा पनि उहाँ चुरे पहाडको फेदीमा बाँझो जमिनलाई खनजोत गरी अकबरे खुर्सानी लगाउने कार्यमा तल्लीन देखिनुहुन्छ ।
आजभोलि धेरै युवाहरू आफ्नो खेतबारी बाँझो राखेर विदेश पलायन भइरहेको अवस्थामा महासचिव विप्लव भने बाँझो जमिनलाई उर्वर बनाउन अथक प्रयास गरिरहनुभएको छ । उहाँ हरेक बिहान पाँच बजे उठेर सिधै खेतमा पुग्नुहुन्छ र दिउँसो करिब १२ बजेसम्म श्रम गर्नुहुन्छ । खाना र आरामपछि पुनः दिउँसो ३ बजेदेखि उहाँ श्रममा जुट्नुहुन्छ ।
महासचिव विप्लव आफैंले हलो जोत्ने, आली लगाउने, झार उखेल्ने, ट्र्याक्टर चलाउने, कुटो कोदालो गर्ने र ढुङ्गा फोड्ने जस्ता कार्यमा सक्रिय सहभागिता जनाउनुहुन्छ । उहाँ राजनीतिक कार्यसँगै आर्थिक उत्पादनलाई पनि अगाडि बढाएर मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानुपर्ने कुरामा जोड दिनुहुन्छ ।
केही समयअघि एक कार्यक्रममा उहाँले भनेका कुरा, “हामी गोरु झैँ जोतिन तयार छौँ,” आज व्यवहारिक रूपमै पुष्टि भएको छ । हाम्रो मुलुक अहिले आर्थिक अभावले गुज्रिएको छ र दैनिक हजारौं युवाहरू विदेशु पलायन भइरहेका छन् । यस्तो विषम परिस्थितिमा नेकपा महासचिव विप्लवले कृषि क्रान्तिमार्फत देशलाई आत्मनिर्भर बनाउने उदाहरणीय कार्य थाल्नुभएको छ ।
उहाँको यो कर्मठताले युवाहरूलाई स्वदेशमै श्रम गरेर आत्मनिर्भर बन्न प्रेरणा मिल्ने देखिन्छ । महासचिव विप्लवको यो कार्य साँच्चै नै प्रशंसनीय छ र यसले देशलाई सकारात्मक दिशामा डोऱ्याउन मद्दत पुग्ने आशा गर्न सकिन्छ ।