१६ बैशाख २०८२, मंगलवार

पूर्ण पौडेलको स्मरणमा `बेपत्ता पारिएका २३ वर्ष´ विषयक कार्यक्रम सम्पन्न

0

पोखरा/ अखिल नेपाल विद्यार्थी युनियन (क्रान्तिकारी) का तत्कालीन महासचिव पूर्ण पौडेललाई बेपत्ता पारिएको २३ औं वर्षको सन्दर्भमा अन्तर्कृया सम्पन्न भएको छ । पूर्ण पौडेल प्रतिष्ठानले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले महान सहिद पौडेलको क्रान्तिकारी स्वभाव, निष्ठा र लक्ष्यप्रतिको इमानदारीता जस्ता गुणहरु अनुकरणीय रहेको स्मरण गर्दै बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक गर्ने काममा राज्य गैरजिम्मेवार र उदासिन रहेको आरोप लगाए ।

बेपत्ता परिवार समाजका अध्यक्ष एवम् बरिष्ठ अधिवक्ता एकराज भण्डारीले पूर्ण पौडेल जुझारु र अत्यन्तै प्रतिभावान लिडर भएको भन्दै बेपत्ता योद्धा सार्वजनिक गर्ने विषय राजनीतिक विषय भएकोले यसबारे राज्य र सरकार गम्भीर हुनुपर्नेमा उल्टै  सरकार उदासिन मात्र होइन उक्त बिषयलाई  टुङ्ग्याउन  नचाहेको बताए । उनले संविधानमा बेपत्ता योद्धाको स्थिति सार्वजनिक गर्ने र पीडितलाई न्याय दिनेदेखि दोषीलाई कारबाही गर्ने प्रावधान भएको तर त्यसको  कार्यान्वन नभएको र नहुने स्थिति रहेको तर्क गर्दै अब राजनीतिक दलहरूले दलाल पुँजीवादको विकल्पमा समाजवादको कार्यान्वयनलाई अघि बढाउनु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले आफू २०५१ सालमा पृथ्वी नारायण क्याम्पसमा स्ववियु सभापति हुँदा सहकार्य भएको स्मरण गर्दै पूर्ण पौडेल अत्यन्तै हिम्मतिलो विद्यार्थी नेता भएको बताए । मन्तव्यको क्रममा उनले  संकटकालमा आफू एमाले भएपनि जनयुद्धमा सहयोग गरेको उल्लेख गर्दै अब सबै कम्युनिस्टहरु एक ठाउँमा आएर सामाजिक परिवर्तनको यात्रा अघि बढाउनुपर्ने बताए ।

माओवादी केन्द्रका कास्की इन्चार्ज नेत्रनाथ अधिकारी (हिमाल) ले  धौलागिरी र कास्कीमा रहँदा पूर्णसँग लामो सहकार्य गरेको, कास्कीमा पूर्ण, विजय ढकाल लगायत नेता भएको भए माओवादी आन्दोलन धेरै माथि पुग्ने भन्दै सहिद बेपत्ताको सपना पूरा गर्न सबै इमानदार हुनुपर्ने बताए ।

त्यस्तै नेकपा पोलिट ब्युरो सदस्य राजन सीले आफूले पूर्ण पौडेलसङ्ग गरेको सहकार्यलाई सम्झदै विगतमा उनले  विद्यार्थी मात्र होईन सेना र युवाको समेत गरी समग्र भूमिका खेलेको भन्दै अहिले प्रतिगमनकारीहरु सल्बलाउन खोजेको स्थितिमा पश्चगमन होइन अग्रगमनको पक्षमा सबै एक ठाउँमा उभिनु पर्ने बेला आएको बताए ।

त्यस्तै सहिद परिवार तथा वामपंथी नेता शिव खनालले २०४६/०४७  देखि नै आफूले पूर्ण र उनको परिवारसंग सहकार्य गरेको भन्दै जनयुद्ध सुरु हुनुअघि र जनयुद्ध माथि उठाउनेमा उनीहरुको महत्वपूर्ण भूमिका भएको बताए ।

सहिद विजय ढकालकी बहिनी सृजना ढकालले पूर्ण दाइ र विजय दाई एकदम मिल्ने साथी भएको, उनीहरु घर आउँदा पटकपटक भेटघाट भएको र आन्दोलनमा समेत सँगै होमिएको स्मरण गर्दै भावुक भएर मन्तव्य राखेकी थिइन् ।
बेपत्ता योद्धा पूर्ण पौडेलकी जीवनसाथी एवम् नेकपा पोलिट ब्युरो सदस्य साबित्रा सी (आस्था) ले  २०५० सालमा पिएन क्याम्पसबाट पूर्णसङ्ग सहकार्यको यात्रा सुरु भएको, क्रान्तिकारी आन्दोलन र वैचारिक राजनीतिक उदेश्यको आधारमा आफूहरुबिच प्रेम र विवाह भएको स्मरण गर्दै भावुक भएकी थिइन् ।मन्तव्यको क्रममा उनले पूर्ण पौडेल अत्यन्तै दु:ख र अफ्ठ्यारो स्थितिमा पनि पार्टी र क्रान्तिप्रति सधै समर्पित, सरल, इमानदार, साहसी र  बहुप्रतिभाशाली रहेको भन्दै  सहिद र बेपत्ता परिवारको सपना पूरा गर्न निरन्तर यात्रामा अघि बढिरहेको बताइन् ।

कार्यक्रममा पूर्ण पौडेलका स्कुल, क्याम्पसका सहपाठी, धौलागिरी, गण्डकी  र विद्यार्थी महासचिव हुँदा सहकार्य गरेका राजनीतिकर्मीहरुले विभिन्न कालखण्डमा काम गर्दाको अनुभूति राख्दै परिचर्चा गरेका थिए भने कार्यक्रममा पूर्णसँग जनयुद्धमा सहकार्य गर्नुहुने राम विवसले `तिमी नहुँदा´ भन्ने शीर्षकको कविता प्रस्तुत गरेका थिए ।

माओवादी आन्दोलनमा सहभागी नेताकार्यकर्ता, पौडेलकी आमा मोती माया लगायत परिवार तथा आफन्तजनको  बाक्लो उपस्तिथि भएको उक्त कार्यक्रमको अध्यक्षता  प्रतिष्ठानका अध्यक्ष केदार पौडेलले गरेका थिए भने बेपत्ता योद्धा चमनलाल बरालकी छोरी संगिता बरालले मन्तव्यद्वारा स्वागत गरेको कार्यक्रमको सञ्चालन पूर्ण पौडेलकी बहिनी, नेकपा (माओवादी केन्द्र) नेता तेजकुमारी पौडेलले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।