१२ मंसिर २०८१, बुधबार

बास्तोला सरको रोमान्टिक कथा

0

 

        सुशासन, विकास, समृद्धि र समाजवाद भन्ने शब्द आजभोलि नेपालको राजनीतिक बजारमा व्यापक किनबेच भैरहेका वस्तु हुन् । वैकल्पिक शक्ति, युवा नेतृत्व, क्रान्तिकारी पार्टी भन्दै वैकल्पिक राजनीतिको भाष्यमा विभिन्न पात्र र प्रवृत्तिको उदय र पतनको, उत्पादन पुनरउत्पादनको उपक्रम चलिरहेको छ। यस्तै क्रममा नेकपा बहुमत नामधारण गरेर, कम्युनिस्ट, क्रान्ति र समाजवादको गीत गाउँदै उत्थान भएका एक जना पात्रको नाम हो बास्तोला सर ।
   आफू विद्वान बनेर अरुलाई अज्ञानी देखाउन जस्तोसुकै शब्द पनि प्रगोग गर्न क्षमता राख्ने क्रान्तिकारी  विद्वानलाई “सर”नै भनेर सम्बोधन गर्न उचित लाग्यो ।कुराको धेरै बान्की मिलाउनु केही छैन ।अब सिधै विषय प्रवेश गरौं ।
        एक, नेपाल कम्युनिस्ट पार्टीको, आठौं केन्द्रिय समितिको १२ औं बैठकमा बास्तोला सरले पार्टी एकाएक विघटन हुनसक्छ भनेर प्रस्तुत भएपछि हामी निकै गम्भीर भएका थियौं । नेपालको कम्युनिस्ट आन्दोलन र एकीकृत जनक्रान्तिलाई जनतासँग कसरी जोड्ने भन्ने बहसलाई बास्तोला सरहरुको प्रस्तुतिले विषयान्तर गरिदियो  । जनतासँग अलगावमा पनि नपर्ने, संसदवादी भुलभुलैयाबाट पनि बच्नु पर्ने, एकीकृत जनक्रान्तिको अन्तर्वस्तु ग्रहण गरेर क्रान्ति अगाडि बढाउनै पर्ने, पार्टी केन्द्रीय समितिको अहम जिम्मेवारीको बीच महासचिव विप्लवको वान टु वान छलफल पछि केन्द्रीय समितिमा भएको सर्वसहमत निर्णयको बारेमा सबैलाई जानकारी नै छ । बैठकको बहसमा क्रान्तिकारीहरुको विचारधारात्मक र भावनात्मक घर्षणले फुटवादीहरुलाई किनाराकृत गरिदिएको तथ्य जगजाहेर छ। सजातीय कम्युनिस्टहरुको बीचमा भएको बहस र छलफललाई पार्टी विभाजन गर्ने आधार प्रस्तुत गर्ने बिजातीय तत्वको प्रचारबाजी (बहुमत) आज पानीको फोका जस्तै बिलाउँदै गएको छ। निकट भविष्यमै कतिलाई  किरण र केहीलाइ प्रचण्डले, पत्याएर सहभोजमा बोलाए छन् भने छुट्टै मनिटर बनिरहनु पर्ने झन्झबाट पनि बास्तोला सरलाई मुक्ति मिल्ने नै छ।
     दुई, नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशन  पार्टीको आफ्नै पौरखले निर्मित भव्य सभाहलमा आजको विकसित समाजका अन्तरविरोध हल गर्न, भविष्यमूखी बाटो तय गर्दै  असाेज/कार्तिक महिनामा सम्पन्न भएको छ। नेकपाले मङ्सिर ४ गतेको दलाल पुजिवादी संसदीय व्यवस्थाको चुनाव अस्विकार गरेको छ। जनताले राजनीतिमा नयाँ  विकल्प खोज्दै गर्दा, नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादी राजनैतिक प्रणालीको उज्यालो विकल्प  प्रस्तुत गर्दै नेपाली कम्युनिस्ट आन्दोलनको अविछिन्न क्रान्तिकारी उत्तराधिकारीको रुपमा आफुलाई उभ्याएको छ।
अर्कोतिर नवौं महाधिवेशनले आजको  गतिशील समाजभित्र रहेका अन्तरविरोधका जराजरा खोतलेर नयाँ संश्लेषण गरेपछि बास्तोला सरको बर्बराहट झन् बढेको छ । कपिलवस्तु महाधिवेशनले समाज, सस्कृति र अर्थराजनीतिका विभिन्न  क्षेत्रमा नयाँ अवधारणा विकास गरेपछि, विप्लव र एकीकृत जनक्रान्तिका विरुद्ध लामालामा निबन्ध लेख्नु, गालिगलौज गर्नु, कुन्ठा पोख्नु, रोइकराइ गर्नु, चर्चका पास्चरले झै प्रवचन भट्याउदै कुत उठाएर हिड्नु बास्तोला सरहरुको दैनिकी बनेको छ । बास्तोला सरहरुको `एकीकृत जनयुद्ध´र समाजवादी क्रान्तिको मुख्य कार्यभार  एकीकृत जनक्रान्ति र विप्लवका विरुद्ध गाली वर्षाउनु रहेको छ। रातोखबरमा गालिगलौज `निबन्ध´ प्रकाशन गर्न बास्तोला सरलाई  भ्याइनभ्याई छ। गालिगलौजका दुरगन्धित  निबन्धले रातोखबर रङ्ग्याइएको छ।

तीन, समसामयिक दुनियाँका अप्ठ्यारा हल गर्ने विचार र मुद्दा निर्माण गर्न नसक्दा क्रान्तिकारी पार्टी हरुमा पनि विभाजन आउन सक्छन्, पुराना पार्टी विघटन हुन्छन्, नयाँ पार्टी बन्छन् । पुरानोको विघटन र नयाँको सङ्घटन निरन्तर चल्ने प्रक्रिया नै हो तर पुरानोको निषेधम नयाँ जन्म हुनुपर्छ,नयाँले पुरानोलाई प्रतिस्थापन गर्न सकेको हुनुपर्छ । अर्कालाई गालिगलौज गरेर आफू क्रान्तिकारी बन्ने परम्परागत भाष्य आज काम लाग्ने वाला छैन ।तथ्य र विज्ञानमा विश्वास गर्ने आजको दुनियाँलाई गालिगलौजको बालमतलब छैन। क्रान्तिकारी हुन त क्रान्तिकारी विचार र नयाँ राजनीतिक संस्कृतिको जन्म गराउन सक्नु पर्छ। सनातनी विचारको वितण्डावादी मनिटर बनेका बास्तोला सरले कमरेड विप्लवलाई सरापेर आफू क्रान्तिकारी छु भन्नुको कुनै तुक छैन। आफू क्रान्तिकारी देखिन अरुलाई गालिगलौज गर्दै बजाइने क्रान्तिका नक्कली गीत व्याट्री ब्याकप सकिएपछि आफै बन्द हुन्छन् नै । तथापि यस्ता प्रलाप र कुतर्कको पनि समय मिलेसम्म जानकारी लिनु पर्दछ ।
         जस्तो की धर्मेन्द्र सर, हाक साप्ताहिकमा अन्तर्वार्ता दिदै भन्नुहुन्छ,- “मिस्टर चन्दमा दार्शनिक रूपले सारसङ्ग्रहवाद, राजनीतिक दृष्टिले संसदीय संशोधनवाद, सङ्गठनात्मक दृष्टिले निषेधात्मक अधिभूतवाद, सङ्घर्षका दृष्टिले आत्मसुरक्षावाद र आर्थिक दृष्टिले जुझारु अर्थवाद देखापरे । यसप्रकारका समस्याहरूको स्रोत विप्लवमा देखिएको निम्न पुँजीवादी रोमान्टिसिज्म (स्वच्छन्दतावाद) थियो । यो तथ्य उनको सोचाई र व्यवहारबाट पुष्टि भएपछि हामीले उनको गुटलाई हटाएर (बहुमत) पुनर्गठित गरेको हो”। अब केहि तथ्यगत विषयमा प्रवेश गरौं-
       एक, बास्तोला सरहरु राष्ट्रपतिको नारामा, काठमाडौँको प्रदुषणले सक्रमित भएर कुहिरोको काग बनेपछि नेकपाका महासचिव विप्लवलाई सारसंग्रहवादीको आरोप लगाउनु अनौठो विषय भएन ।माक्सवादी विज्ञानलाई धर्मशास्त्र झै अपरिवर्तनीय जड वस्तु बनाउने, जडसुत्रवादी दर्शनको सहारा लिएर अरुलाइ केहि नबुझेका अज्ञानी देख्ने बास्तोला सरको ट्वारट्वारलाई क्रान्तिकारी माक्र्सवाद मानिदिनु पर्ने हो र !
     वस्तुलाई बदल्दै, बदलिएको वस्तुलाई पनि रक्षा र विकास गर्न सक्नु पर्छ भन्ने संश्लेषण थवाङ महाधिवेशनमा सँगै बसेर गरेको हो नि अनि कपिलवस्तु महाधिवेशनले समाज विज्ञान र प्रकृति विज्ञानमा आएको अभुतपूर्व फेरबदललाई गहण विश्लेषण गर्दै संश्लेषण गरेको अनिश्चय, रक्षा र रुपान्तरणको दर्शन कसरी सारसग्रहवादी हुन्छ ? बास्तोला सरले भनेको एकीकृत जनयुद्ध, समाजवादी क्रान्तिको कार्यदिशा र कार्यकारी राष्ट्रपतिको मनचिन्ते कथा कसरी माक्र्सवाद हुन्छ?जनयुद्ध, आफै जनताको युद्ध हो, जनयुद्धमा एकीकृत थप्नु  पर्छ र ? दम भए र गर्ने नै भए जनयुद्ध लेख्नु नी । आजको नेपाल, अर्धसामन्ती अर्धउपनिवेशिक नभएर नवउपनिवेशिक र दलाल पुजिवादी भयो भनेर भट्याउदै हिड्ने तपाई पनि होईन र ? अनि माओले सिकाइदिएको दीर्घकालीन जनयुद्धलाई तोड्मोरोड गरेर एकीकृत भन्दिएर मात्र माक्र्सवादी भैइन्छ? कम्युनिस्टहरुले गर्ने  क्रान्तिको न्युनतम लक्ष्य वैज्ञानिक समाजवाद हो सर, कार्यकारी राष्ट्रपति होइन । यस्तो माक्र्सवादी शिक्षा कसले सिकायो ? सायद विदेशबाट आयातित कफीसँगै मिसिएर आएको भुमण्डलिकृत पुजिवादले सरलाई कलुषित गरेको पनि हुनसक्छ, दैनिक कफी लिनै पर्ने सरको बाध्यतामा कोहि खेलिरहेको हुनसक्छ ।
    महासचिव विप्लवसँग रिस उठेपछि आजको गतिशील दुनियाँका विरुद्ध नै आक्रोश पोख्ने तपाईंको दर्शन त झन् माछा र दूध मिसाएको खानै नमिल्ने खिचडी जस्तो भएन र सर ?  सुदर्शनशास्त्रले विकसित गरेको जडसुत्रीय सुन्यवाद, छ्दम संशोधनवाद, अवसरवाद, पाखन्डवादको संयोजक बनेर बकबक गर्ने तपाईंको दर्शनलाई के को उपमा दिने बास्तोला  सर ? नेकपाको नवौं महाधिवेशनले खुल्ला बहस गरेर संश्लेषण गरेको दस्तावेजलाई सारसंग्रहको डङ्गुरसँग तुलना गर्दा, पैसाको खोजिमा जापान पुग्न बाध्य तपाईंका छोराले समेत खिसेटिउरी गर्लान् भन्ने हेक्का पनि राख्नु भएनछ । हुन त वैज्ञानिक सिद्धान्त र राजनीतिक कार्यक्रमलाई राजनैतिक तर्क र तथ्यले खण्डन गर्न असम्भव हुने हुँदा अराजनीतिक गालिगलौजको सहारा लिनुभएको होला ।  विप्लवसँग झोक चलेकै आधारमा नेकपाको दस्तावेजलाई सारसंग्रहको ड्ङ्गुर भन्ने (ई-रातोखबर २०७९,१३ पुस बुधबार प्रकाशित लेखमा) तपाईंको मस्तिष्कमा बरु, कुन्ठा आग्रह पूर्वाग्रह, बितन्डा, सकिर्णता जडता र अपारदर्शीताको डङ्गुर जन्मिसकेछ क्यारे ।
       दुई, राजनीतिक रुपले संसदीय संशोधनवादी भनेर विप्लवलाई गालिगलौज गर्दैगर्दा स्थानीय चुनावताका पुलिसले दमन गर्न खोजेपछि चुनाव बहिष्कारको कुनै नीति र कार्यक्रम छैन भनेर वक्तव्य निकालेको यति छिटै बिर्सिसक्नु भयो र ? हुन त डेमेन्सिया भएको पनि हुन सक्छ। अनि नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ४ को संसदीय चुनावका विरुद्ध सशक्त खारेज अभियान चलाउदा सर निर्वाचन अवज्ञाको कुरा गर्दै कार्यकारी राष्ट्रपतिको अवसरवादी/पुजीवादी नारा लगाएर दिन कटाउदै बसेको कुरामा कोहि अनविज्ञ छन् र?  दलाल पुजीवाद संसदीय व्यवस्थाको चुनावलाई बहिष्कार गरौं, भन्न समेत नसक्ने हुतिहाराले नेपाल कम्युनिस्ट पार्टीलाई संसदीय सशोधनवादी देख्नु `साउनमा आँखा फुटेको´ गोरुले सधैँ हरियो देखे जस्तै हो सर।
     तीन, संगठनात्मक ढंगले निषेधात्मक अधिभुतवाद भन्ने तपाईले ९ जना केन्द्रिय सदस्यलाई पछि लगाएर महासचिवलाई कार्वाही गरेको वक्तव्यबाजी गर्नु जस्तो निषेधात्मक अधिभुतवादी काम के हुन सक्छ ? यस्तो कामलाई पार्टी संगठनमा अराजकता र बितन्डा भनिन्छ । सर जस्तो क्रान्तिकारी विद्वानलाई जानकारी नहुने कुरै भएन । प्रचण्डले भित्तामा पुर्याएका सुदर्शनलाई विप्लवले सबै मिलेर क्रान्ति गरौं भनेर पार्टीमा भित्र्याउदा बास्तोला सरले विरोध गर्दा पनि सुदर्शनलाई नेता बनाउने र बास्तोला सरले नै पार्टी निर्णयका विरुद्ध वक्तव्यबाजी गरेर रमिता देखाउँदासम्म पनि एकताको पहल गरिरहने महासचिव विप्लव निषेधात्मक अधिभुतवादी ? पार्टीले उदारतापूर्वक रुपान्तरणको  अवसर दिदा समेत आफ्ना कमजोरी ढाकछोप गर्न भएनभएका शब्दको थुप्रो लगाएर गालिगलौज गर्दै भाग्ने तपाईहरु  नै निषेधात्मक अधिभुतवादी, फुटवादी र वितण्डावादी हो । अरुले कार्वाही गरौं भनेर जोड गर्दा पनि  नगरौं बरु रुपान्तरण र एकतालाई बचाऔँ भन्ने महासचिव विप्लवलाई  निषेधात्मक अधिभुतवादीको आरोप लगाउदा पत्याइदिनु पर्ने ? ६१ सदस्यीय केन्द्रिय समितिमा ५१ जना केन्द्रिय सदस्य र आम पार्टी पङ्तिको विश्वास र समर्थन प्राप्त  महासचिव विप्लवलाई  कार्वाही गरियो भनेर  हावादारी बकबास गर्ने चाहिँ के वादी नि ? छलफलको लागि एकमहिना पनि कुर्न नसक्ने, पार्टीमा आफ्ना फरकमतलाई लिखित रुपमा दर्ज गर्ने हुति समेत नराख्ने, आफ्नो पायक पर्दासम्म विप्लव र एकीकृत जनक्रान्तिको अनेकौं बान्की मिलाएर ब्याख्या गर्ने, आफ्नो स्वार्थ प्रतिकुल हुने भएपछि एकैपटक टाउकोमा घन बजार्ने सरहरुको प्रवृत्तिलाई चीनका लिन प्याओसँग तुलना गर्दा किन जिब्रो टोक्नु पर्यो र ?

आफ्नो रोटी सेक्न क्रान्तिकारी मनोविज्ञानको ब्ल्याक मेलिङ गर्दै कतिपय अवस्थामा पार्टीको संगठनात्मक सेटिङ र जिम्मेवारीमा चित्त नबुझ्दा तुष पालेर बसेका, पद र जिम्मेवारी नपाएर ठुस्सिएका र पार्टी अनुशासन भङ्ग गरेकाहरुको गठजोड बनाएर पार्टी सन्चालन गर्ने जुक्ति बास्तोला सरहरुले विकास गरेको एकीकृत जनयुद्धको संगठनात्मक अवधारणा नबुझ्ने को होला !
         चार, नेकपाका महासचिव विप्लवले संसदीय चुनाव सशक्त खारेजीको अपिल गर्दैगर्दा बास्तोला सरको `एकीकृत जनयुद्ध´त चुनाव अवज्ञाको खास्टो ओढेर कार्यकारी राष्ट्रपतिको हावादारी गफमा दिनभर काठमाडौँका गल्लितिर “लखर लखर  साँझ परे फल्याट्मा  मस्तराम”सरहरुको यस्तो  दैनिकीमा बेखबर को छ र? अनि आत्मसुरक्षावादी तपाईं कि विप्लव ?
       पाँच, निबन्ध र प्रवचनहरुमा बास्तोला सरले आर्थिक कुरा पनि जोड्दै महासचिव विप्लवलाई जुझारु अर्थवादीको आरोप लगाउने गर्नु भएको छ। राजनीतिक पार्टी, तिनका नेता कार्यकर्ता मगन्ते र परनिर्भर बनेर गरिने कुनै पनि प्रकारको राजनीति दोहनको अर्को उपक्रम मात्र बन्दछ। त्यसैले अब चन्दा उठाएर मात्र पार्टी, तिनका नेता र कार्यकर्ताको गुजारा चलाउने धन्दा बन्द गर्नुपर्छ । अनि मात्र देशलाई दलालतन्त्रबाट मुक्त गर्न सकिन्छ । विदेशीसँग भिग मागेर ल्याएको पैसाले देशको विकास र समृद्धि सम्भव छैन । विप्रेषणले भरथेक गरेको अर्थतन्त्र दिगो हुँदैन भन्दै स्वाधिनताको लागि उत्पादन र क्रान्तिसँगै अगाडि बढाउने पार्टी र नेता जुझारु अर्थवादी? आफुले गरेको अपचलन र अपारदर्शी खेलोमेलो ढाकछोप गर्न अनेकौं प्रपन्च गर्ने बास्तोला सरहरु पारदर्शी ? पार्टी कोषमा जम्मा भएको पैसा र श्रमबाट पार्टीको आफ्नै जमिन, भवन संग्रालय बनाउन दिनरात खट्ने नेता र पार्टी  अपारदर्शी ? । स्वामित्वको प्रश्नलाई व्यवहारिक र वैज्ञानिक  बनाउन एकीकृत आर्थिक स्वामित्वको समाजवादी अवधारणा विकास गर्ने पार्टी र नेता जुझारु अर्थवादी ?अनि हातमा परेको पैसा सबै ल्वामलुम पार्न मरिहत्ते गर्ने  सरहरु समाजवादी?
अब चाहिँ सन्दर्भ अनुसार आफ्नो पायक पर्ने गरि शब्द समायोजन गरेर गालीगलौजमा प्रतिस्पर्धा गर्नु भन्दा आफुले तय गरेको बाटोमा अघि बढ्नु सहि हुन्छ । गतिशील  समयको प्रवाहले सहि र गलत पुष्टि गरिहाल्छ ।
अन्तमा,
पाका कम्युनिस्ट नेता किरण र सन्तबहादुर नेपाली कमरेडहरुले तपाईंहरुको आचरण प्रदर्शन गर्ने फोरम उपलब्ध गराउनु भएछ । किरण कमरेडहरुसँग तपाईंहरुको सहकार्य दिगो बनोस् फेरि किरण कमरेडलाई पनि भएभरका गाली गर्दै पुस्पकमल दाहालको दैलोमा नपुग्नु होला । जडसुत्रीय सुन्यवादी सोच र वितण्डावादी आचरण परित्याग गर्नुस्, सच्चा कम्युनिस्टहरु बीचको एकता र  सहकार्यलाई मृत बनाउन कसैले सक्दैन । बास्तोला सरहरुलाई शुभकामना !
२९ पौष २०७९

      


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।