काठमाडौं । प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटारमा बसेको आठ कम्युनिष्ट पार्टीको बैठकले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने गतिविधिहरुको प्रतिवाद गर्ने निर्णय गरेको छ ।मङ्गलवार बिहान प्रधानमन्त्री निवासमा भएको आठ कम्युनिस्ट पार्टीका नेताहरूको बैठक पछि जारी संयुक्त प्रेस विज्ञप्ती मार्फत यस्तो जानकारी गरिएको छ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका प्रवक्ता प्रकाण्ड सी , नेकपा (क्रान्तिकारी माओवादी) का सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (बहुमत) का नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहूती), नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी लगायतका नेता सहभागी भएका थिए ।
उक्त बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाका लागि तत्काल पहल गर्न सरकारसँग जोडदार माग गरेको छ भने शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्न एकमत हुने निर्णय समेत गरेको छ ।