१० मंसिर २०८१, सोमबार

समकालीन क्रान्तिकारी आन्दोलनलाई कसरी संगठित गर्ने ?

0

श्रमिक जनताको मुक्ति र स्वाधीनताको द्योतक हो नेपाल कम्युनिष्ट पार्टी। विश्व साम्राज्यवाद र नेपालको दलाल संसदीय व्यवस्थालाई उखेलेर वैज्ञानिक समाजवाद स्थापना गर्ने महाअभियानमा जुटेको छ यो । परिवर्तित विश्व राजनीतिक परिवेश, अतिकेन्द्रित पूँजीवाद, अत्याधुनिक सैन्य शक्ति र प्रविधि, छलाङमय सूचना संचारको विस्तार, ब्रम्हाण्ड कब्जा गर्ने होडबाजी आदि घटनाक्रमहरुले पैदा गरेको चुनौती र संभावनालाई मिहीन विश्लेषण गर्दै पार्टीले आफ्नो कार्यदिशा विकास गरेको छ।

विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक बनेको वर्तमान स्थितीमा नेपालमा जनयुद्धको असफलता पछि पनि पुनः नयाँ शिराबाट क्रान्ति पुनर्गठन हुनु र दलाल सत्ताको चुनौतीको रूपमा नेपाल कम्युनिष्ट पार्टी रहनु गौरवको विषय हो। नेपालको कम्युनिष्ट जनमत र आन्दोलन साम्राज्यवादीहरू कै टाउको दुखाईको विषय बनिरहेको छ जसका कारण कम्युनिष्ट पार्टी र आन्दोलनलाई धरासायी बनाउन साम्राज्यवादीहरू ठूला-ठूला षड्‌यन्त्रहरू गर्दछन।

ती षड्‌यन्त्रहरुलाई नेतृत्वले चिर्न नसक्दा आन्दोलनमा उभार आउने र षड्‌यन्त्रमा घेरिंदा क्रान्ति र आन्दोलन नै क्षतविक्षत बनेका छना विचारधारात्मक रूपमा संशोधनवाद‌लाई पराजित गर्न नसक्नु र साम्राज्यवादी षड्‌यन्त्रलाई पराजित गर्न नसक्नु नै नेपाली कम्युनिष्ट आन्दोलनको प्रमुख चुनौती देखिएको छ। मार्क्सवाद-लेनिनवाद-माओवादलाई नेपालको विशेषता र वदलिएको विश्व परिवेश अनुसार विकास गर्दै क्रान्तिलाई अगाडि नवढाउँदा यो वा त्यो रूपमा क्रान्ति अपेक्षाकृत वढेको छैन र कम्युनिष्ट सत्ता स्थापना हुन सकेन।

यही कुरालाई वैज्ञानिक विश्लेषण गरेर नै हाम्रो पार्टीले एकीकृत जनक्रान्तिको विचार संश्लेषण गरेको हो। यसले पार्टीलाई संशोधनवादबाट टाढा राख्दै वैज्ञानिक समाजवादी सत्ता स्थापनाको बाटोमा निरन्तर अघि वढाईरहेको छ। हामी त्यो क्रान्तिको यात्रीहरू हुनुको नाताले आफ्नो कार्यक्षेत्रमा दृढ आत्मविश्वासका साथ काम गरिरहेका छौं । हामीले क्रान्तिलाई बढी भन्दा बढी योगदान गर्न र परिणाम हासिल गर्नका लागि निम्न लिखित कुराहरुमा ध्यान दिँदा उपयुक्त हुन्छ भन्ने आसयका साथ यो लेख तयार गरिएको
छ।

पार्टीको विचारमा स्पष्टता

वस्तुत: पार्टी भनेको विचार हो। हामी क्रान्ति सम्पन्न गर्न चाहन्छौं। क्रान्ति गर्ने पार्टीको विचार के हो भन्ने वारेमा हामी लाई सर्वप्रथम स्पष्टताको खाँचो पर्दछ। विचारमा स्पष्टता नभएसम्म हामी सक्रिय वनेर काम गर्न सक्तैनौं। वैचारिक स्पष्टताको अभाव नै निष्क्रियताको प्रमुख कारण हो। मानिसले मुखले जति नै वुझेको छु भनेर घमण्ड गरेपनि वास्तविक रूपमा विचारमा स्पष्ट नभएसम्म उसले क्रान्तिको काममा समर्पण भावले लाग्न सक्तैन।

विचारको गहिराई नवुझनु नै क्रियाशील केही समय रहेपनि उ दिगो रूपमा अघि वढ्न सक्तैन। वैचारिक अस्पष्टताले निस्क्रियता, पलायनता र विभिन्न प्रकारका विचलन “‘हरु देखा पर्दछन् । विचारलाई जुनतहको गहिराईमा गर्न सक्यो | उसले व्यवहारमा उही तहको लगाव देखाउने संभावना रहन्छ । यस अर्थमा हामीले एकीकृत जनक्रान्तिको विचारलाई गहन अध्ययन गरेपछि मात्रै पार्टीले अपेक्षा गरे वमोजिम पार्टी कामलाई सन्चालन गर्न सक्छौं । विचारमा स्पष्टता पार्टी नेता कार्यकर्ताको पहिलो र अनिवार्य शर्त हो।

अन्तरविरोधको पहिचान

हामी जुन भूगोल वा क्षेत्रमा पार्टी काम गर्छौ त्यो भूगोल वा क्षेत्रको सामाजिक, आर्थिक, राजनैतिक अन्तरविरोध के हो भन्ने वारेमा सुक्ष्म रुपले अध्ययन अनुसन्धान गर्नु आवश्यक हुन्छ। त्यहाँको रीति, परम्परा, संस्कार, संस्कृति, इतिहास, भाषा, मनोविज्ञान र जनताका सम्बन्धहरुलाई केलाउनु पर्दछ। त्यसैगरी क्रान्तिकारी पार्टीको निम्ति जनताको स्थिती, वर्गवैरीको स्थिती, जनआकांक्षा, समस्याहरुको वारेमा ज्ञान हुनुपर्दछ।

जनताको चेतनास्तरलाई ख्याल गर्दै पार्टीले योजना बनाउनु पर्छ र कार्यान्वयनमा लैजानु पर्दछ। जनताहरू वर्गीय, जातिय, लैंगिक समस्यावाट जति नै उत्पिडीत भए पनि राजनैतिक चेतना र विचारको अभावका कारण पार्टीमा संगठित भएका हुँदैनन् र हुन चाहँदैनन्। जनचाहनालाई केन्द्रमा राखेर अन्तरविरोधकोपहिचान गर्न हामी सक्षम हुन्छौ भने पार्टी निर्माण हुने संभावनाका ढोकाहरू पनि खुल्दै जाने छन्। संगठन निर्माणमा असफल हुँदा उल्टै हामी निराश र हतोत्साही वन्ने खतरा रहन्छ।

योजना निर्माण –

पार्टी निर्माण र कान्ति सन्चालनका लागि अर्को महत्वपूर्ण विषय योजना निर्माण पनि हो। हाम्रो पार्टीका प्रत्येक सदस्यहरु योजना निर्माणमा दक्ष वन्नुपर्छ, कुशल योजनाकार बन्नुपर्छ। विना योजना काम गर्दा परिणाम निस्कँदैन। योजनाले हामीलाई निर्धारित लक्ष्यमा पुग्न मद्दत गर्छ साथै सफलता -असफलताको मापन गर्न सिकाउँछ। समिक्षाले हामीलाई ज्ञानको विकसित चरणमा लैजान्छ। योजनाका विभिन्न पाटाहरू हुन्छन् ।

योजना बनाउँदा समयावधि, लक्ष्य, जनशक्ति, आर्थिक पक्षहरूको उचित संयोजनको आवश्यकता हुन्छ। योजना निर्माणमा अभ्यस्त भएपछि एउटा सदस्य गुणात्मक रुपया परिपक्व नेता वा कमाण्डरको रुपमा विकसित हुँदै जान्छ। पार्टीको विचार सही र वैज्ञानिक हुँदैमा मात्रै पार्टी निर्माण गर्न सकिँदैन, त्यसको निम्ति सही योजना हुनु पनि उत्तिकै आवश्यकता हुन्छ। विरोधी शक्तिको योजनालाई आफ्नो योजनाले परास्त गरेपछि पार्टीको विचारको अब्वलता सावित हुन्छ जसको परिणाम जनताहरू हाम्रो पार्टीमा गोलबद्ध हुन्छन् र जनतामा क्रान्तिप्रतिको विश्वास बढ्छ ।

क्रान्ति वर्तमान संसदीय व्यवस्था विरुद्धको समग्र योजना हो जसलाई केन्द्रिय समितीले नेतृत्व गरिरहेको छ। श्रमिक वर्गले आफ्नो योजना क्रान्तिमा अभिव्यक्त गरेको हुन्छ भने राज्यको सम्पूर्ण योजना क्रान्तिलाई ध्वस्त गर्नुमा निहीत हुन्छ। दलाल राज्यसत्ता, साम्राज्यवादीहरूले तत्कालीन, दीर्घकालीन योजना अनुसार हामीमाथि विभिन्न क्षेत्र (राजनीतिक, आर्थिक, धार्मिक, सूचना- संचार, सैनिक र विभिन्न प्रोपोगाण्डा) वाट हमला गरिरहेको हुन्छन्।

दर्शन, विचारधारा, सिद्धन्त र वौद्धिक क्षेत्रवाट समेत हमला भइरहेको हुन्छ। त्यसैले पार्टी कामलाई व्यवस्थित गर्न र परिणाम हासिल गर्न हामीले यी सबै पक्षलाई सुक्ष्म अध्ययन गर्दै क्रान्तिको लक्ष्यमा पुग्न योजना बनाई काम गर्न सक्षम बन्नुपर्दछ।

कुटनीतिक संघर्ष –

क्रान्तिमा संघर्षका विभिन्न रूपहरूलाई प्रयोग गर्नु पर्दछ। साम्राज्यवादी, दलाल पूँजीवादी सत्ता वा सरकारले पनि विभिन्न तरिकाबाट हाम्रो क्रान्ति र क्रान्तिकारी नेतृत्वमाथि आक्रमण गर्दछन्। राजनैतिक, फौजी, आर्थिक र वैचारिक संघर्ष जस्तै क्रान्तिमा कुटनीतिक संघर्षको महत्व छ। संघर्षका खास खास चरणमा त झन्‌ कुटनीतिक कामको विशिष्ट आवश्यकता पर्दछ।

एकीकृत जनक्रान्तिले “साम्राज्यवादी हमलाका विरुद्ध बहुआयामिक संघर्षका मोर्चाहरु खोल्नु पर्छ ” भन्ने मान्यतालाई अगाडि सारेको छ। त्यसैले हामीले आफ्नो कार्यक्षेत्रमा पार्टीको विचारलाई कार्यान्वयन गर्दा कुटनीतिक संघर्षको मोर्चालाई पनि प्रयोग गर्नुपर्छ । विरोधीहरूले गर्ने चौतर्फी हमलालाई पराजित गरेर मात्रै वैज्ञानिक समाजवाद स्थापना गर्न सकिन्छ भन्ने कुरा हामीले वुझ्नु पर्नेहुन्छ।

पार्टी संगठन‌लाई वृद्धि गर्दै जानका लागि भूगोल, पार्टी संगठनको आन्तरिक स्थिती, विरोधी शक्तिको वस्तुवादी आकलन सहित कतिपय मुद्दामा विरोधी संग तालमेल गर्ने, पार्टीको शक्ति वृद्धि गर्न सन्तुलन कायम गर्ने, मुख्य दुश्मनका विरुद्ध मोर्चा कस्ने नीति अख्तियार गर्नु आवश्यक हुन्छ। दुश्मन भित्रको अन्तरविरोध, फुट, अकर्मण्यता, असफलता र संकटको अध्ययन गर्ने र त्यसको फाइदा उठाउँदै आफ्नो पंक्तिमा उच्च मनोवल कायम गर्ने जस्ता काममा सफलता हासिल गर्नु पर्दछ, प्रयास गर्नु पर्दछ।

हामी भित्रक फुट, असफलता दुश्मनको निम्ति स्वभाविक विजय र उनीहरु भित्रको फुट, असफलता हाम्रो स्वभाविक विजय हुन पुग्दछ । सामान्य जनतालाई यस्ता विषयहरूको ज्ञान कम हुने हुँदा पार्टीले सुक्ष्म तरीकाले कुटनीतिक कार्यमार्फत जनतालाई उत्साहित पार्दै परिचालन गर्ने प्रयास हामीले गर्नु पर्छ। आधुनिक राजनीतिक क्षेत्र र क्रान्तिमा कुटनीतिक कार्यको महत्वलाई नजर अन्दाज गर्न सकिँदैन। एकीकृत जनक्रान्ति मानव इतिहासको उच्चतम संश्लेषण र प्रयोग भएको विचार भएकोले हामीले कार्यनीतिक कार्यलाई पनि क्रान्तिको अधिकतम हितमा प्रयोग गर्न
दक्ष वन्दै जानु पर्दछ।

कलाको प्रयोग –

पार्टी सङगठन निर्माण गर्ने कार्य निकै चुनौतीपूर्ण कार्य हो। प्रत्येक व्यक्तिमा एउटा न एउटा क्षमता रहेको हुन्छ। प्रत्येक व्यक्तिको गुणलाई चिन्न सक्ने र क्षमतालाई वृद्धि गर्ने सक्ने, परिचालन गर्न सक्ने नेता कार्यकर्ताले नै कान्तिलाई नेतृत्व गर्न सक्छ । अथक प्रयास, तत्परता, अध्ययन, प्रतिवद्धता र लामो अनुभववाट मात्रै नेतृत्वको विकास हुन्छ। हामीले नेतृत्वमा विकास गर्नका लागि पनि सङगठन गर्ने कलाको विकास गर्नु आवश्यक हुन्छ।

जनतालाई संगठनको संरचनामा परिचालन गर्ने खुवी नै कला हो। उनीहरुलाई पार्टीको विचारमा विश्वस्त तुल्याउन सक्नु, व्यवहारमा जनताको मन जित्दै जाने कुरा हामीले कति कलात्मक तरीकाले काम फत्ते गर्छौं भन्ने कुरामा अधिकतम रुपमा निर्भर रहन्छ । जनतालाई सरल भाषा, मिजासिलो बोली, स्पष्ट विचार, विश्वसनीय व्यवहार प्रदर्शन गर्न हामी सफल हुन्छौ भने हाम्रो पार्टीप्रति जनताको आकर्षण वृद्धि हुँदै जान्छ। विरोधीलाई तर्क र तथ्यद्वारा परास्त गर्नु पर्छ भने मित्र, सहयोद्धालाई छलफल वहस अनि रुपान्तरणको विधिद्वारा गोलवद्ध गर्नु पर्दछ।

कला भनेको यस्तो चीज हो जसले कुरुपलाई सुन्दर बनाइदिन्छ, अँध्यारोलाई उज्यालो बनाइदिन्छ, पराजयलाई पुनः विजय मा वदल्दिन सक्छ । पार्टीको नीति सही हँदाहुँदै पनि हामी सदस्यहरू जनताको हेराईमा टर्रो भयौँ भने, संकास्पद बन्यौँ भने हामीसँग जनता टाढिने खतरा हुन्छ। जनताको आँखाको नानी वढनलाई हामी जनताका दक्ष कलाकारको रुपमा स्थापित वनेर क्रान्तिलाई नेतृत्व गर्नु पर्छ। विद्रोह, क्रान्ति र युद्धमा कलाको अतुलनीय भूमिका हुन्छ।

विचारलाई विज्ञान र विज्ञानमा कलाको संयाजेनले क्रान्ति नयाँ उभारसहित अघि वढ्छा विचार, विज्ञान, कला र वन्दुकको एकीकृत श्रृंखला एकीकृत जनक्रान्ति हो। जनआन्दोलन, जनविद्रोह, जनयुद्धर विश्वमा विगतदेखि वर्तमानसम्म चलेको संघर्षको नयाँ संश्लेषण नै हाम्रो कान्ति हो। जब आन्दोलन र क्रान्तिमा कलाको संयोजन गरिन्छ त्यो ओजपूर्ण र गौरवपूर्ण वस्तुमा बदलिन्छ, मृत्युलाई पनि जित्ने साहस पैदा हुन्छ।

आशाको सञ्चार गरौं

आज समाजमा दलाल पूँजीवादले निराशाको डरलाग्दो साम्राज्य खडा गर्ने प्रयास गरिरहेको छ। खासगरी युवा, विद्यार्थी, महिला, उद्योगी, व्यापारी वर्गमा निराशा व्याप्त छ। यो निराशाको मूल कारण दलाल संसदीय व्यवस्था हो भने दोश्रो कारण संसदीय राजनीतिक पार्टीहरुवाट साना शहर, साना शहरवाट ठूला शहर र ठूला शहरवाट विदेशका शहरमा युवा र मानिसहरु केन्द्रित भइरहेका छन् ।

युवाहरूको एक मात्र विकल्प वैदेशिक रोजगारी वन्न पुगेको छ। जनताको चुलोचौको नबल्ने स्थिती वनेको छ भने व्यापारव्यवसाय डुबिरहेका छन। बैंक, लघुवित्त, शहकारी लगायत वित्तिय संस्थाको उत्पीडनले जनताको जीवन उकुसमुकुस छ। घरव्यवहार चल्न संभव नदेखेपछि, जीवनको आश मरेपछि, भविष्य समाधानविनाको अन्धाकार देखेपछि जनतामा जीवनप्रति नै वितृष्णा र निराशा उत्पन्न भएको छ ।

एकजना पनि साधारण जनतालाई सरकार छ भन्ने अनुभूति छैन, पार्टीहरूले विश्वास गुमाएका छन् जुन पार्टीहरू भोट माग्न कै लागि मात्र घरघरमा आउँछन। संसदवादी पार्टीहरुको धोकाका कारण हाम्रो पार्टीलाई पनि आशंकाको नजरले जनताले हेरिरहेका छन्। तत्कालीन नेकपा माओवादी पार्टीको नेतृत्व प्रचण्डको गद्दारीका कारण पनि जनतामा क्रान्तिप्रति शंका उत्पन्न भएको छ। कारण जे भएपनि समाजमा डरलाग्दो निराशा र वितृष्णा पैदा भएको छ। त्यो वितृष्णाले मानिस मृत्युपथमा लम्किरहेका छन।

सारमा यो दलाल पूँजीवादले ल्याएको त्रासदीपूर्ण संकट हो। राज्यद्वारा सृजित यो संकटको समाधान क्रान्ति नै हो । दलाल राज्यले योजनावद श्रमिक जनतालाई शोषण गर्दै मुठ्ठीभर दलालहरूलाई पोष्ने काम गरेको छ। युवाहरुलाई विदेश पलायन हुन वाध्य पारेको छ। देशमा कुनै रोजगारीको अवसर प्रदान गरेको छैन। राज्यले परनिर्भर अर्थतन्त्रलाई वढावा दिएको छ जसका कारण देश कंगाल बनेको छ।

देश र समाजको यस्तो विकराल स्थितीलाई सचेततापूर्वक क्रान्तिकारीहरूले परिवर्तन गरेर मात्रै समाज प्रगतिको लयमा अघि बढ्नेछ। त्यसको लागि आत्मदह गर्ने, आत्महत्या गर्न बाध्य पार्ने दलाल सत्ताका विरुद्ध संगठित बनेर संघर्ष गर्दै क्रान्तिलाई सम्पन्न गर्नु हो। हाम्रो पार्टीले जनतालाई

बाँच्नका लागि प्रेरित गर्न बैंक, लघुवित्त, सहकारी लगायत संस्थाहरूले गरेको अत्याचारका विरुद्ध संघर्षको कार्यक्रम अघि सारेको छ। हामीले जनतालाई निराश बन्ने होईन शोषण र अत्याचारका विरुद्ध आन्दोलनमा परिचालन गर्न सृजनशील योजना बनाउनु पर्छ।

जसले जनतालाई नयाँ जीवनको आश भरोस्, जिउने सपना देखोस र भ्रष्टाचारी, दलाल, कमिशन खोरहरुलाई लालआतंक सृजना होस। हाम्रो पार्टीले राज्य र दलालहरूद्वारा जनतामाथि थोपरिएको उत्पीडनको साम्राज्यलाई धंस गर्न सक्षम वन्नु पर्दछ । जनताको निराशालाई क्रान्तिको विचारले आशामा बदलौं ।

जोदाहा प्रवृत्तिको विकास

हाम्रो पार्टी आधारभूत रूपमा जनयुद्धकै सांगठनिक जगमा निर्माण भएको पार्टी हो।जनयुद्ध त्यस्तो युद्ध थियो जसले विश्व साम्राज्यवादको पुर्पुरोमा घन हान्न थालेको थियो । त्यतिवेलाको आर्थिक, राजनीतिक, सामाजिक, सैन्य, प्रविधि र आजको आर्थिक राजनीतिक सामाजिक, सैन्य, प्रविधिमा फेरवदल भएका छन । पार्टीले जनयुद्धमा संगठनको रूप सेना र संघर्षको रूप युद्ध वनाएको थियो। त्यो नीति तत्कालीन वस्तुस्थिती को सापेक्षतामा सही र वस्तुवादी थियो।

आज परिस्थिती बदलियो ।पार्टीले आफ्नो कार्यदिशालाई पनि नयाँ बनायो । हामीलाई पार्टी संगठन निर्माण गर्न, संघर्ष गर्न र आर्थिक परिचालन गर्न पार्टी केन्द्रले नीति, कार्यक्रम र योजना निर्माण गरेर कार्यान्वयनमा पठाएपनि अपेक्षाकृत सफलता हासिल भएको छैन। यसको गहिरो गरी अन्वेषण र अनुसन्धान गर्दा निष्कर्ष निकाल्न सकिन्छ कि जनयुद्धको कार्य- शैली, प्रयोग र मनोविज्ञान आज पनि पार्टी संगठनमा अधिकतम रूपमा लागु भईरहेको छ ।

जनयुद्धको कार्यदिशा र एकीकृत जनक्रान्तिको प्रयोगमा एकै खाले बुझाई हुँदा समस्याहरु देखिएका छन । आज हाम्रो पार्टी क्याडर वा नेताहरू एकीकृत जनक्रान्तिको मर्म र भावनालाई आत्मसात गर्न सक्ने हुनुपर्दछ। पार्टी केन्द्रले हाम्रा सदस्यहरु एकजना भएपनि चट्टानी अडान लिएर कार्यक्षेत्रमा उभिन सकुन् भन्ने माग गरेको छ।

पार्टी संगठनको योजनालाई दृढतापूर्वक लागु गर्ने सदस्यको माग गर्दछ। जिल्ला र केन्द्रको अधिकांश हाम्रो पंक्ति ०६३/०६४ सालतिरको तत्कालीन माओवादी पार्टीको मनोविज्ञानबाट उठ्न सकिरहेको छैन। पार्टी, सेना, जवस, मोर्चा, YCL को ठूलो पंक्ति देखेका हामी आजको पार्टी संगठनको अवस्था लाई हेर्दा, आर्थिक स्थितीलाई हेर्दा आफैं पछि हटे जस्तो, विचलित हुने जस्तो स्थिती रहेको छ।

यस खालको मनोविज्ञान र कार्यशैलीलाई पूर्ण रूपमा रुपान्तरण गरेर जानु पर्दछ। एकीकृत जनक्रान्ति जनयुद्धको कार्यदिशा नभएकोले त्यसै अनुरूपको कार्यशैली भएको जोदाहा नेता कार्यकर्ता निर्माणमा हामी डटेर लाग्नु पर्दछ। त्यस्तो संगठनले मात्रै एकीकृत क्रान्तिको नेतृत्व गर्न सक्दछ

हाम्रो पार्टीको नीति, कार्यक्रम र योजना सही छ। केन्द्रिय नेतृत्व पनि सही छ तर पनि पार्टी निर्माण जनताको स्तरमा पुग्न सकिरहेको छैन। यो समस्यालाई समाधान गर्न पार्टी नेता कार्यकर्ता संगठन निर्माणको काममा लगनशीलता पूर्वक लाग्नु पर्छ। संगठन चुड्‌किको भरमा वनिहाल्ने कुरा होइन । निरन्तर प्रयास पछि मात्रै हामीले संगठनहरु निर्माण गर्न सक्छौ।

जनयुद्धको सिपाही र अहिले पार्टी नेतृत्वमा (जिल्ला र केन्द्र) पुगेका कारण जनयुद्धकै जस्तो टीम, आर्थिक र जनता खोज्ने वानी हामीमा विद्यमान छ जसले हामीलाई लगनशील भएर लाग्ने कुरामा बाधा हालिदिएको छ। स्मरण गर्नु पर्ने सत्य कुरा चाहिँ के हो भन्ने जनयुद्ध उत्कर्षमा पुग्नु भन्दा अगाडि विभिन्न चरण पारगर्दै अघि वढेको हो र थियो। जनयुद्धको तयारीलाई अध्ययन गर्ने हो भने लामो श्रृंखलाहरू छन्।

त्यसको सापेक्षतामा हेर्ने हो भने हाम्रो पार्टी र नेतृत्वले क्रान्तिलाई छोटो समयमै स्थापित गरेको हो। इतिहासको गहन अध्ययन गरेर वर्तमानलाई ठिकसंग वुझ्ने हो भने मात्रै हामीले आफ्नो जिम्मेवारीलाई गर्वका साथ, लगनशीलताका साथ निभाउन सक्छौ। निरन्तर लगनशील र पार्टी काममा परिणाम निकाल्नको लागि आफूलाई कम्युनिष्ट आन्दोलन, सैद्धान्तिक ज्ञान, दर्शन र साहित्यलाई गहिरो अध्ययन गर्नु पर्दछ। मार्क्सवादी साहित्यले मानिसलाई सबै प्रकारका विचलन विरुद्ध लड्ने तागत पैदा गर्दछ ।

 क्रान्तिप्रतिको विश्वास र संकल्प

देश लिलाम हुने स्थितीमा छ भने जनता भयङ्कर संकटमा छन्। दलाल संसदीय व्यवस्थाको टिक्ने आधार एउटै मात्र छ, त्यो हो सैन्य शक्ति। जनतावाट नांगिएको यो व्यवस्था नयाँ पार्टी र पात्र फेरिदैमा सफल वन्दैन। हामीले नयाँ पार्टी र नयाँ पात्र मानिएकाहरुको स्थिती पनि देखिसक्यौ । जतावाट हालेपनि संसदीय व्यवस्थाको प्वाल टालिन सक्ने स्थितीमा छैन। दलाला संसदीय व्यवस्थाको कारण देश र जनता संकटमा छन।

वन्दुक मात्रै नहुन्थ्यो भने संसदीय व्यवस्था र दलाल संसदवादी दलहरूको जनताले छाला काटेर खरानी बनाउँथे। देशको यो अवस्था व्यवस्थाकै संकट हो र यसको समाधान पनि क्रान्ति नै हो जसवाट वैज्ञानिक समाजवाद स्थापना हुन्छ।अन्यथा वैशाखको खडेरी झैं यो सत्ता आगलागीको सन्निकट छ। हामीले दृढताकासाथ जोदाहा बनेर पार्टीले दिएको जिम्मेवारी पुरागर्ने हो भने क्रान्ति अवश्य जितिन्छ।

क्रान्तिप्रतिको विश्वास र क्रान्तिलाई पूरागर्न त्याग र वलिदानी भाव सहित संकल्प जरुरी छ। जराहरु, काटदै रुख ढालेकोजस्तो दलाल संसदीय व्यवस्थाका आधारहरू काट्दै हामी क्रान्तिलाई विजय गरी छाडने प्रण गरौं। देश र जनताको भविष्य उज्वल छ।क्रान्तिकारी अभिवादन!

( लेखक नेकपा केन्द्रिय सदस्य तथा उत्तर मेची कोशी ब्युरो इन्चार्ज हुन।)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।