भनिन्छ, क्रान्तिकालको एक दिन शान्तिकालको एक वर्ष बराबर हुन्छ, अनि क्रान्तिकालका लागि सय वर्षमा नघटेका घटनाहरू एकै वर्षमा घट्छन् । अझ भनौँ, शान्तिकालमा कहिल्यै कल्पना नगरेका कुराहरू क्रान्तिकालमा सहजै देख्न र सुन्न पाइन्छ । चैत १७ गते राती गोरखाको प्रतिक्रियावादी जेलका ६ जना क्रान्तिकारी महिलाहरू सुरुङ खनेर सकुशल मुक्त हुन सकेको घटना क्रान्तिकालका केही त्यस्ता बिरलाकोटीका घटनाहरूमध्येको एक हो, जसले पुस्तौँपुस्तामा नेपाली क्रान्तिहरूलाई मात्र होइन, विश्वभरिकै क्रान्तिकारीहरूलाई प्रेरणा र हौसला दिइरहनेछ ।
बहादुर महिला कमरेडहरू उमा भुजेल, रीता विक, एञ्जिला विक, सञ्जु अर्याल, कमला नहर्की र मीना मरहट्ठा प्रतिक्रियावादीहरूको बन्दीगृहको पर्खाल र भाडाका पहरेहरूलाई छलेर जसरी सुरुङमार्गबाट सकुशल मुक्त हुनुभयो र क्रान्तिकारी पङ्क्तिमा सामेल हुनुभयो, त्यसले उहाँहरूको व्यक्तिगत साहस र इच्छाशक्ति, विवेक र गरिमाको यथेष्ट परिचय दिएको छ ।
क्रान्तिकारीहरूलाई कसैको जेल र गोलघरले रोक्न सक्दैन, बरु उनीहरूजस्तै प्रतिकूलतालाई पनि अनुकूलतामा बदल्ने सामर्थ्य राख्दछन् भन्ने कुराको यथेष्ट पुष्टि यो घटनाले गरेको छ । हो, झापाकालमा पनि सीपी मैनालीलगायत केही बन्दीहरू, जेलबाट सुरुङ खनेर मुक्त भएका हुन् तर त्यति बेलाको झापाकालको प्रारम्भिक राजनीतिक चेतना र अहिलेको माओवादी आन्दोलनको उच्च राजनीतिक चेतनाको ठूलो अन्तर एकातिर छ भने अहिले त उत्पीडित बस्तीका पनि सबभन्दा उत्पीडित महिला बन्दीहरूले यो क्रान्तिकारी किर्तीमान खडा गरेका छन् ।
त्यस अर्थमा यो नेपाली इतिहासको त आफ्ना खालको सर्वथा नयाँ र उच्चकोटिको घटना हुँदै हो र सम्भवतः यो विश्वकै यस प्रकारको बिरलाकोटीको घटना हो, त्यसैले ती नेपाल आमाका होनहार छोरीहरूलाई हाम्रो सतशः क्रान्तिकारी अभिनन्दन र लाल सलाम !
छैठौँ वर्षमा प्रवेश गरेको नेपाली जनयुद्धका थुप्रै विशेषताको चर्चा-परिचर्चा यति बेला भइरहेको छ । खासगरी नेकपा (माओवादी) को हालै सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले नेपाली क्रान्तिको अनुभवले जन्माएका विकास शृङ्खलालाई प्रचण्डपथको रूपमा संश्लेषित गर्ने ऐतिहासिक निर्णय गरेपछि यसका विशेषताहरूलाई केलाउने प्रयास विभिन्न कोणबाट भइरहेको छ ।
ती विभिन्न विशेषताहरूको कान्छी औँलामा गन्नुपर्ने विशेषता नेपाली महिलाको क्रान्तिमा अभूतपूर्व रूपमा संलग्नता हो, यसको गुणात्मक उचाइ यो गोरखा जेलब्रेकको घटना भन्दा कुनै अत्युक्ति हुनेछैन । साँच्चै नै नेपाली महिला लैङ्गिकका साथसाथै, वर्गीय, जातीय, क्षेत्रीयलगायत शोषणका सबै पहाडले एक त थिचिएका छन् र उनीहरू समाजका सबभन्दा उत्पीडित समुदाय हुन् भन्ने कुरा दिनको घामझैँ छर्लङ्ग छ ।
त्यस्तो समाजका सबभन्दा उत्पीडित समूहले जेलभित्रबाट स्वतन्त्र रूपमा गरेको यो विद्रोह त्यसैले विशेष ऐतिहासिक महत्वको छ र यसलाई सबैले नयाँ उचाइ र गहनताका साथ ग्रहण गर्नु जरुरी छ । हाम्रो पार्टीको केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष क. प्रचण्डले यसको अभिवादन गर्नुले पनि यसको पुष्टि गर्दछ । त्यसबाट यो विद्रोह क्रान्तिकारी महिला बन्दीहरूको मात्र विद्रोह नभएर सम्पूर्ण शोषित- उत्पीडित जनसमुदायको विद्रोहको प्रतीक बन्न पुगेको छ । यसबाट सबै क्रान्तिकारीहरूले प्रेरणा लिनुपर्दछ ।
जेल वास्तवमा क्रान्तिकारीहरूको निम्ति एउटा अर्को भिन्न मोर्चा मात्रै हो । त्यसैले गोञ्जालोले आफ्नो जेल जीवनलाई एउटा ” बाटोको घुम्ती” मात्र भन्नुभएको थियो । हाम्रो जनयुद्धमा पनि जेल परेका, हिरासतमा थुनिएका वा बेपत्ता पारेर राखिएका हजारौं योद्धाहरूले आफ्नो नयाँ जीवनलाई एउटा नयाँ युद्ध मोर्चाको अर्थमा ग्रहण गर्दै आइरहनुभएको छ ।
दुश्मनको कब्जामा परेका कमरेडहरूको यस्तो साहस र विद्रोहभावले युद्धमैदानमा अरू हजारौँ कमरेडहरूलाई अझै त्याग, बलिदानका साथै मरिमेट्ने प्रेरणा दिने गरेको छ । अपवादस्वरूप एकाध दिनेश शर्माहरूले कायरता प्रदर्शन गरे पनि धेरैले महान् साहस तथा त्यागको प्रदर्शन गरेका छन् र त्यसमा हाम्रो पार्टीले गौरव गर्दै आएको छ ।
गोरखा जेलको यो घटनाले सबै बन्दीहरूलाई त्यो उच्च भावनाको सर्वोच्च अभिव्यक्ति दिएको छ र हाम्रा बन्दीहरू हाम्रो सम्मानको आकाश छुने उचाइमा पुगेका छन् । केही समय पहिले दिनेश शर्माले हाम्रो गौरवशाली पार्टीको छविमा लगाउन प्रयास गरेको कालो टीकालाई यी वीरङ्गनाहरूको कदमले पूरै मेटाइदिएको मात्र छैन; दिनेश शर्माहरू वास्तवमा एउटा अपवाद मात्र थिए भन्ने पुष्टि गरिदिएको छ ।
समाजले ‘अबला’ भन्दै आएका महिला बन्दीहरूको यो साहसिक कदमले नेपाली महिलाहरूको ‘दुर्गा’ र ‘काली’ को पौराणिक छविलाई एक पटक सामुन्ने ल्याइदिएको छ नै तर योभन्दा पनि बढी यसले नालापानी र किल्ला काँगडालाई नेपाली नारीहरूको लडाकु बहादुर ऐतिहासिक छविलाई पुनर्स्थापित गरिदिएको छ ।
यो एउटा ऐतिहासिक संयोग नै मान्नुपर्दछ कि गोरखा राज्य विस्तारको क्रममा उचाइमा पुगेर सुगौली सन्धिपछि चुँडिएको त्यो कडी अहिले फेरि नयाँ जनवादको नेपाल निर्माण गर्ने क्रममा गोरखाका महिलाहरूबाटै जोडिन पुगेको छ । ती ६ जना बहादुर महिला गोरखाका विभिन्न जनजातीय पृष्ठभूमिमा जन्मिएर एउटा सच्चा क्रान्तिकारी आदर्श र चिन्तनमा दीक्षित छन् र पहिलेको सामन्ती राज्यविस्तारका निम्ति होइन, बरु सम्पूर्ण मानववर्गको मुक्तिका निम्ति युद्धमार्गमा अग्रसर हुनु निश्चय नै ऐतिहासिक दृष्टिले एउटा सुखद् अनुभूतिको विकास हो र त्यो हामी सबैलाई हुनुपर्छ ।
यो कुनै क्षेत्र र जातिको मात्र गौरवको विषय नभएर सम्पूर्ण सर्वहारावर्ग, उत्पीडित जाति, क्षेत्र र लिङ्गको गौरवको विषय हो । हिजोसम्म पितृसत्तात्मक समाजले बुनेको बाबु र लोग्नेको मनुवादी जालो च्यातेर घरबाहिर निस्कन नसक्ने महिलाहरूले अहिले यो प्रतिक्रियावादी राज्यको अग्लो पर्खाल र बन्दुक नाघेर र छलेर मुक्त हुन सक्नु महिलाहरूको निश्चित विशेष गौरवको विषय हो नै ।
त्यो विशेष गौरवानुभूति गर्न अधिकांश हाम्रा महिला क्रान्तिकारीहरूले पाउनैपर्छ तर हाम्रो भनाई अब उहाँहरू त्यसमा मात्र सीमित भएर बस्नु हुन्न भन्ने हो । यो महान् अग्रगामी छलाङपछि हाम्रा महिलाहरूले ‘काली’ र ‘दुर्गा’ को पौराणिक छवि र नालापानीको ऐतिहासिक छविलाई पुनर्स्थापना गरेका मात्र होइनन् र मालेमावाद र प्रचण्डपथको अभेद्य हतियारले सुसज्जित वर्तमान युगका सबभन्दा क्रान्तिकारी लडाकाको रूपमा पनि आफूलाई स्थापित गरेका छन् ।
त्यसैले सबैखाले सङ्कीर्णता, क्षेत्रीयता, जातीयताभन्दा माथि उठेर महान् ऐतिहासिक परिणामबाट हामी सबैले प्रेरणा लिन सकौँ भन्ने हाम्रो विनम्र आग्रह हो ।
तत्कालीन दृष्टिले अर्को एउटा सुखद् कुरा के पनि हो भने ऐतिहासिक चैत २४ को जनविद्रोहको परम्परालाई कायम राख्दै त्यसलाई जनयुद्धसँग जोडेर अझै महान् उचाइमा पुऱ्याउने लक्ष्यका साथ आगामी चैत २४ गते हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी) को आह्वानमा सम्पन्न हुन गइरहेको ‘नेपाल बन्द’ को पूर्वसन्ध्यामा यो साहसिक जेलब्रेकको घटना भएको छ ।
आज देशी र विदेशी प्रतिक्रियावादीहरू चौतर्फी सङ्कटमा फस्दै गइरहेको र आफ्ना अन्तर्विरोधहरू समाधान गर्नुको सट्टा तिनको जालोमा झन् नराम्ररी कस्सिदै गइरहेको स्थितिमा गोरखाका बहादुर महिलाहरूको प्रतिक्रियावादीहरूको गलामा यसरी दहो झापड हान्नु सम्पूर्ण मुक्तिकामी र परिवर्तनकामी जनसमुदायका निमित्त निश्चय नै थप खुसी र गर्वको विषय भएको छ ।
चैत २४ को ‘नेपाल बन्द’ झनै सानदार ढङ्गले सफल हुन्छ भन्ने सुनिश्चित भएको छ ।निश्चय नै क्रान्तिको सगरमाथा अझैँ बढ्न बाँकी छ र हामी अहिले फेदीबाट उक्लेका छौँ, त्यसैले सफलतामा मात्तिने र असफलतामा आत्तिने दुर्गुणबाट हामी बच्नै पर्छ । तैपनि अन्तिम ठूलो विजय साना-साना विजयका प्रतीक भएकाले गर्व गरिनैपर्छ । त्यसैले हाम्रा ती गौरवशाली वीर महिलाहरूलाई फेरि एकपटक बधाई !
२०५७ चैत, २१