
गोर्खा / २२ बर्ष अघि २०५७ साल चैत ७ गते तत्कालीन जनयुद्धको समयमा उमा भुजेल सहित ६ जना महिलाहरुले जेलब्रेक गरेको दिनको सन्दर्भमा आज जेलब्रेक दिवस धुमधाम र भव्यतापुर्वक मनाइएको छ।
संसारभरिका बिरलै घटनाको रूपमा मानिएको जेलब्रेक र क्रान्तिकारी महिलाहरुको साहस र सचेतताको सम्मान तथा स्मरणका लागि गोर्खा जेलव्रेकको दिनलाई नेपाल कम्युनिस्ट पार्टीले दिवसको रूपमा मनाएको हो।
नेपाल कम्युनिस्ट पार्टी गोर्खा जिल्ला समितिले आयोजना गरेको कार्यक्रमलाई नेकपा स्थायी समिति सदस्य अनिल शर्माले सम्बोधन गरेका थिए भने कार्यक्रममा जेलब्रेक योजनाकी मुख्य पात्र उमा भुजेल शिलु र कविता थापा ( रिता)लाई प्रमाणपत्र सहित अभिनन्दन र सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता अनिलले बिगतका बलिदानलाई बर्तमानका प्रतिरोध आन्दोलनसंग जोडनु पर्छ भन्ने हावर्ड फास्टको भनाईलाई उदृध गर्दै गोर्खा जेलब्रेक र आजको क्रान्तिको उच्चताको ब्याख्या गरेका थिए।
गोर्खा जेलब्रेक योजनाको मुख्य कमाण्डर तथा नेकपा स्थायी समिति सदस्य उमा भुजेल शिलुले आफुले तत्कालीन व्यक्तिगत जीवनलाई क्रान्ति र परिवर्तनका लागि समर्पण गरेको र त्यो सपना अझै पुरा नभएकोले आवश्यक परे वलिदान दिन तयार रहेको प्रतिबद्धता सहितको मन्तव्य राखेकी थिईन भने कार्यक्रममा नेकपा केन्द्रिय सदस्यहरु पाटन सी, उषा सी, नरेन्द्र सी लगाएतका नेताहरुले मन्तव्य राख्दै क्रान्तिको सपनालाई पुरा गरिछाड्ने धारणा राखेका थिए।
शुक्रबार गोर्खा जिल्लाको सदरमुकाम स्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा नेकपा तनहुँ इन्चार्ज निशान, रास्ट्रीय उध्योग बार्णिज्य महासंघका संयोजक योगेश बुढाथोकी , ट्रेड युनियन महासंघका श्याम सेन्चुरी, नेकपा नेता योगेश कुमाल लगायत स्थानीयहरुको सहभागिता भएको कार्यक्रमको अध्यक्षता कपिल भट्टले गरेका थिए भने कार्यक्रमको सञ्चालन गोर्खा सेक्रेटरी माया चेपाङले गरेको बताईएको छ।