हामी किराँतीहरूलाई मुख्य गरी राई र लिम्बू भनेर दुई बथानमा छुट्टयाउने चलन छ । दुवै बथान मिसाएर किराँतीको एकै हुल बनाउँदा भने अधिराज्यका जातिहरूमध्ये सबैभन्दा ठूलो हूल हाम्रो हुन्छ । तर हामी किराँती एउटै समूहका हौं भन्ने कुरा त परै जाओस् हामी एकै सांस्कृतिक पृष्ठभूमिका हौं भन्नेसम्म पनि सबै राईको विचार हुँदैन । किनभने राईहरूमा अनेक ससाना अलगअलग भाषा बोल्ने अलगअलग चालचलन भएका धेरै बथान हुन्छन् ।
राई भन्ने खास गरी कुनै जातिको नाम भने होइन । यो त गाउँका ठालू वा मुखिया जनाउने शब्द मात्र हो । माझ किराँतमा धेरैजसो राईहरू आफूलाई जिमी वा जिमीनदार भन्ने गर्दछन्, तापनि राई शब्द बढी प्रचलनमा आउँदै छ । सुरुमा बाहुनलाई पण्डित, नेवारलाई साहुजी, राणा र ठकुरीलाई बाबुसाहेब, अरू छेत्रीलाई काजी, लिम्बू र थकालीलाई सुब्बा, तामाङ र हिमालीलाई लामा, मधेसका थारूलाई चौधरी, दमाईंलाई नगर्ची, सार्कीलाई मिजार, कामीलाई सुनार आदि शब्दले सम्मानपूर्वक सम्बोधन गरेजस्तै मात्र थियो ।
कालान्तरमा बिस्तारबिस्तार अब राई भन्नाले किराँतीको एक ठूलो समूहलाई बुझाउने चलन बसिसक्यो । अझ अर्का एक थरी याक्खा भन्ने किराँतीहरूलाई पनि राई भन्ने चलन बढ्दै गएको छ, नत्र धेरैजसो याक्खाहरूले आजसम्म पनि आफूलाई राई नभनेर देवान भन्ने गर्छन् । राईहरूका थरबाट उनीहरू परम्परादेखि बसिआएको गाउँ-ठाउँ छुट्टयाउन सकिन्छ । राई, लिम्बू र याक्खाबाहेक झापा जिल्लाको मेचे-बोडो र कोचे-राजवंशीहरूका पुर्खासमेत एकै हुन् भन्ने पनि धेरै राईहरूको विश्वास छ ।
राईहरू उहिले कताबाट आएका थिए भन्नेबारे थरीथरीका विचारहरू देखिएका छन् । तर यो विषय कसैलाई थाहा हुन सकेको छैन । त्यसको मतलब हो राईहरू थाहा पाएसम्म हजारौं वर्षदेखि यही नेपालका बासिन्दा रहेका छन् ।
रामायण, महाभारतजस्ता पुराणकथाहरूमा किराँतीको बहादुरी र पौरखहरूको उल्लेख भएको छ । काठमाडौँ उपत्यकामा लिच्छविभन्दा पनि पहिले किराँत राजा थिए । त्यसैले आजका नेवारमा किराँतीको वंश पनि मिसिएको हुनुपर्छ भन्ने नेपालको इतिहास जान्नेहरूमा बलियो विश्वास छ ।
उत्पत्तिको हिसाबले एउटै परिवारको र आपसमा सम्बन्धित भए तापनि एक खोलाको राईले बोलेको भाषा अर्को खोलाले बुझन नसक्ने खालको छ । त्यसो हुँदा बाध्य भएर नै उनीहरूले नेपाली राष्ट्रभाषाको प्रयोग गर्नुपर्छ । यस्ता खोलाखोलामा बाँडिएका राईहरूकाथर पनि अलग हुन्छन् ।
तीमध्ये केही यस्ता छन्- कुलुङ, फालिङ, तामाछाङ, खालिङ, थुलुङ, वाइङ, पेलमाङ, सोताङ, चामलिङ, साम्याङ, वान्तवा, रुमदाली, लोहरोङ, याम्फू, केत्रा, साम, अठाप्रे, चौरासिया आदि । यीमध्ये कतिपय थरहरू यिनीहरू बसेका ठाउँको नामसँग ठ्याक्कै मिल्छन् ।
संवत् २०४८ सालको जनगणनामा राई भाषा बोल्नेहरूको सङ्ख्या ५,२५,५५१ देखाइएको थियो । तीमध्ये धेरैजसो माझ किराँत अर्थात ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, खोटाङ, धनकुटा, सङ्खुवासभा, तेह्रथुम र उदयपुरमा देखिए । केहीले पूर्वी तराई सप्तरी, मोरङ र झापामा बसोबास गरेका देखिएको छ ।
तर बिस्तारै राईहरू अधिराज्यको पश्चिमी भागतर्फ पनि पुग्न थालेका छन् । तराईको औलो उन्मूलन, जङ्गल फँडानी र पूर्व-पश्चिम राजमार्गले बाटो खुलाएपछि राईहरू अधिराज्यका अरू परिश्रमी कृषक तथा व्यापारी नेपालीहरूसँग छ्यासमिस गरेर बस्न थालेका छन् । दार्जीलिङ, कालिम्पोङ र सिक्किमतिर पनि धेरै गएका छन् ।
गाउँघरमा राईहरू मकै र कोदोबारीका बीचमा छरिएका फाटफुट फूल फूलेजस्तो देखिने ढुङ्गा र माटोले बनेका ससाना घरमा बस्छन् । असोज- कात्तिकमा बारीको डिलमा लालुपाते र चुवा फुलेर पाखा पखेरा ढकमक्क हुँदा त बयानै गरिनसक्नुका राम्रा देखिन्छन् यी गाउँ-घरहरू । पूर्व र दक्षिण पाखामा एउटाएउटा गरी दुई ढोका हालेर बनाइएका दुईतले घरहरूले गाउँ सबै ढाकेका हुन्छन् । अरूण नदीको माथिल्लो भागको दायाँबायाँ किनारमा चाहिँ घरको तल्लो भागमा टाँड बनाएर टाँडको मुनि सुँगुर, कुखुरा र बाच्छाबाच्छी पाल्छन् अनि टाँडमाथि बाँस, निगाला, चोया र काठले मानिस बस्ने ठाउँ बनाइएको हुन्छ ।
घरमा खर र चित्राको छाना हाल्ने चलन छ । अरू भेगका धनीहरूको जस्तो सिलोटको छानो हाल्ने चलन अरूण नदीको सिरानतिर छैन । यहाँका सर्वसाधारण राईहरू र त्यहाँ बस्न पुगेका बाहुन-छेत्रीका एक-दुई धुरी घरमा तामा-पित्तलका एक-दुईओटा पकाउने भाँडा र पानी खाने अमखरा, गिलासबाहेक धेरै सामान देखिँदैन । पानी बोक्ने माटाको एक-दुईओटा गाग्रा र चोयाको अन्न हाल्ने टोकरी हुन्छ । कसैकसैसँग त पानी बोक्ने माटाको गाग्रोसमेत नभएर बाँसका ढुङ्ग्रोमा पानी ओसार्ने चलन छ ।
यस्तो ढुङ्ग्रोलाई यहाँ धिरी भन्ने गर्छन् । डोकामा पानीको गाग्री र डोकाको बीटमा वरिपरि बाहिरपट्टि दुई- तीनओटा पानीका धिरी झुन्ड्याएर खोलाबाट गाउँतिर उकालो लागेका आइमाईहरूलाई हेर्दा तिनीहरूको अति कठिन तथा दरिद्र जीवनको सोझै अड्कल गर्न सकिन्छ ।तर उनीहरूको स्वाभिमानले गर्दा उनीहरू आफ्नो दरिद्रता देखाउँदैनन् ।
राईहरूको मुख्य पेसा खेती हो तापनि धेरै राई ठिटाहरू भारतीय र ब्रिटिस सेनामा भर्ती जान्छन् । गाउँघरको आवश्यकता पूरा गर्न केही धान, धेरै मकै, कोदो, अलिअलि गहुँ, दाल अनि तिहुन-तर्कारीका लागि बोडी, सिमी, मास, आलु खेती गरी बिहान-बेलुकीको छाक र जाँडरक्सी खानसमेत अन्नले पुऱ्याए तापनि बाहिरबाट किनेर ल्याउन पर्ने मालताल, नुन, मसला, लुगा आदिको आवश्यकता पूरा गर्न धेरै राईहरू विदेशी सेनाका भर्तीकेन्द्र धाएका हुन्छन् ।
यसरी विदेशकै सेवामा खर्च हुने युवाशक्तिलाई आफ्नै देशभित्र काममा लगाउने उपाय हाम्रा पुर्खाहरूको पालादेखि विचार भइदिएको भए आजको माझ किराँत यति पिछडिएको र अविकसित रहिरहने थिएन होला । यहाँ अन्न मात्र राम्रो उब्जने होइन, सुन्तला, केरा, अम्बा, रूखकटहर आदि फलफूल पनि प्रशस्त मात्रामा फल्छन् । अनि लेकपाखामा भएको चरनबाट गाई, भैंसी, भेडा, बाख्रा पनि धेरै पालिन्छन् । तिनबाट दूध, दही, घिउ, अनि मासु पाइन्छ ।
त्यसैले निकै बलिया, हट्टाकट्टा र रातापीरा हुन्छन् राईहरू । त्यसैले त उनीहरूलाई फौजमा भर्ती गर्न विदेशी शक्तिहरू छोपाछोप गर्छन् । खोलाको बगरदेखि लेकसम्म ढुङ्गाको पर्खाल चिनेर परिश्रमपूर्वक खेतमा कान्ला बनाइ खेती गरेको देख्दा यिनीहरूको बुद्धि, अक्कल र लगनको सहनी नगरी रहन को सक्दो हो ?
अन्न, सागपात र फलफूलको खेतीबाहेक राईहरू बगरको न्यानो ठाउँमा कपास खेती पनि गर्छन् । यही कपासको धागो कातेर बुनेको लुगा र वनको अल्लोपाटबाट झिकेको खस्रो धागोबाट भाङ्ग्रा बनाएर लत्ता कपडाको आवश्यकता पूरा गर्दछन् । राई केटीहरू घाँटीमा राता नक्कली मुगा र चाँदीको मोहरका माला अनि चोलाको तुनामा बाँसको बिनायो र फुर्के धागो झुन्ड्याएर आफूलाई सिँगार्दछन् ।
थकाई मार्दा होस् वा गोठाला जाँदा होस् जुनसुकै बेला बजाउने बिनायोको रिउँरिउँ आवाजले खोलाको गर्जन र जङ्गलको सुसाहटमाथि सङ्गीतको ताल थपेर वातावरणलाई झनै रमाइलो बनाइदिन्छ । आइमाई, लोग्नेमानिस सबैका लागि नभई नहुने हतियार खुकुरी सबैले भिरेकै हुन्छन् । खुकुरीको छापको बासामा वा कपडाको थैलीमा सँगालेर राखेको झुलोलाई दर्शनढुङ्गा र उलिनिको जुधाईबाट निकालिएको चकमकमा झोसेर आगो सल्काउँछन् । आफ्नै बारीमा उमारेको सुर्ती धूलो बेरेर बनाएको चुरोट खाने कुनाकुना र खोलाको सिरानतिर बस्ने राईहरूलाई कुलो-चकमकले धेरै काम दिन्छ ।
तर सहरबजारका छेउछाउमाबस्नेहरू भने चुरोटको बट्टा नै किनेर खल्ती र खोकिलामा हाल्दछन् । त्यसका साथै कोहीकोही त सलाईका बट्टा पनि किन्दछन् ।
पहाडी भीर, पाखा र खोलाका बेसीहरूमा गरिने खेतीले नपुगेर माझ किराँतमा बस्ने यी परिश्रमी राईहरू जङ्गलका बीचमा भस्मे बनाएर एक-दुई बाली लगाइहाल्छन् । यस्तो भस्मे खोरियामा एक-दुई वर्ष कमाइ गरेपछि केही वर्ष झार उम्रन दिई बाँझो पल्टिसकेपछि मात्र फेरि डढेलो लगाएर खेती लगाउने चलन छ।
यहाँको सबै जग्गा केही वर्षअघिसम्म राईको किपट थियो । यहाँका किपटिया राईबाहेक अरू ठाउँबाट बस्न आएका राई हुन् वा अरू जोसुकै जातका हुन् तिनलाई रैती भन्ने चलन थियो। किपटिया राईहरूले जग्गाको नापअनुसारको तिरो नतिरी सबैले बराबरी घरधुरीको तिरो तिर्ने चलन थियो । त्यसले गर्दा थोरै जग्गा हुने किपटियालाई मर्का परेको थियो । त्यसैले धेरैजसो राईहरू किपट खारेज गराउन खुसी थिए ।
धेरैजसोको आफैँले खनजोत गरी आफैँले बाली लगाउने जग्गा थोरै हुने हुनाले धनी भन्न हुने राईहरू एक-दुई मात्र हुन्छन्। तर ठाउँअनुसार जीवन कठिन भए पनि साँच्चिकै गरिब पनि हुँदैनन् । गाउँघरमा दु:खमेलो गरी सबैसरह एकपेट खाएर हाँसी-खुसी रहने खालका नै धेरै हुन्छन् । बर्सात्का बेला खेतीपातीको काम पनि धेरै हुन्छन् र बाढी-पहिरोले गर्दा एक ठाउँबाट अर्को ठाउँ जान पनि गाह्रो हुन्छ ।
त्यसैले बर्सात्मा उनीहरू कतै डुल्दैनन् तर हिउँदमा खेतको काम नभएका बेला धेरै राईहरू बराबर धरान, विराटनगर, राजविराज, लाहान, जनकपुर, जलेश्वर आदि पूर्वी तराईका सहरहरूमा पुग्ने गर्दछन् । लाहुरे भएर नजाने अथवा कतै नोकरी गरी पैसा आम्दानी गर्न नसक्नेहरू आफूले उब्जाएका चीजबीज यिनै बजारमा लगी बिक्री गरी त्यसबाट आएको पैसाले किनमेल गर्ने गर्छन् ।
जीवन कठिन भए तापनि राई ठिटाठिटीहरू स्वतन्त्रताको उपभोग गरी रसिक र रमाइलो जीवन बिताउँछन् । परम्पराअनुसार ठिटाठिटी आफैँले रोजेर माया बसाली बिहे गर्ने चलनलाई छाडेर हिजोआज बिस्तारै आफूलाई सम्पन्न र देखे – सुनेका ठान्ने राईहरू बन्दोबस्त मिलाई सानैमा आफ्ना छोराछोरीको बिहे गर्ने गर्दछन् । ठिटाठिटीको मायाको सम्बन्धमा केही गरी केटीले पेट बोकिहाली भने उही केटाले बिहे गर्छ । कारणवश बिहे हुन सकेन भने सुत्केरी खर्च भनेर पेट बोकाउने केटाले केही रकम तिर्नुपर्छ ।
विधवा भाउजू सुमर्ने चलन नेपालका अरू धेरै जातमा भएजस्तै यिनीहरूमा पनि चलिआएको हो ।सङ्गत र आसपासको प्रभावका कारण केही राईहरू हिन्दू धर्मको प्रभावमा आएका छन् । केही उत्तरको लामा-धर्मबाट पनि प्रभावित छन् । तर धेरैजसो माझ किराँतका राईहरू राईहरू आफ्नै प्रकारको पुरानो धर्म मान्दछन् । हिमालयका देवता जाल्पादेवी, सातकन्या आदिको पूजा गर्छन् र उहिलेका पुर्खा भनेर सिकता खौ बूढी, बाल्मे बूढी, कुलुङ बूढी, माङ्तेवा बूढी, मोलु सिकारी आदि जिउँदै अन्तर्ध्यान भएका देवतालाई चाडबाडमा खानेकुरो चढाउँछन् ।
आकाशमा राति देखिने आकाश-गङ्गा भन्ने तारासमूहलाई सप्तकोशीको छाया भनेर पूजा गर्छन् । नयाँ अन्न खानुभन्दा अघि न्वागी गरी देवतालाई चढाउँछन् । प्रत्येकजसो राईका घरमा खामाङ भन्ने देवतालाई माटाको सानो हाँडीमा घरको एउटा कुनामा राखेका हुन्छन् । सिकारमा र अरू काममा पनि सीप बढाइदिने देवता हो भनेर सिकार मारिल्याएको बेला पहिले यिनैलाई चढाउँदछन् । भूमिपूजा, होम आदि गर्छन् । खटिरा नआओस् भनेर लिकवा माङ भन्ने अर्को पूजा गर्छन् । केटाकेटीको स्वास्थ्य असल होस् तथा अङ्गभङ्ग भएका केटाकेटी नजन्मून् भनेर नागी भन्ने पूजा गर्छन् ।
यी पूजा गराउने राईका पुरोहितलाई ङोपा भन्दछन् । ङोपाले पूजामा कुखुरा र कुनै पूजामा राँगाको बलि दिन्छन् । ङोपाहरू राईका पुरोहित मात्र नभई बिरामीलाई निको पार्न भूतप्रेत र दैत्यलाई मनाउने, मन्छाउनेजस्ता धामीकाम पनि गर्छन् ।
सबै राईले मुर्दा खाल्डो खनेर गाड्छन् । कुलुङ् र खालिङ्हरूले आफ्नै घरछेउको बारीमा मुर्दा गाड्छन् र एक महिनासम्म खाना चढाएर चिहान पाल्ने गर्छन्। मरेको मानिसको सम्पत्ति खाने छोराछोरी वा जोसुकै हकदारले मर्नेको नाउँमा ढुङ्गाको चौतारो र बटुवाले आराम गर्ने काठको फलैँचा बनाउँछन्, चौतारामा पीपलको रूख सार्छन् ।
त्यस्तो बेला नाता-कुटुम्ब सबै बोलाएर राँगाको मासु, भात र जाँडको भोज खुवाइ पितृका लागि सुख र बाँच्नका लागि धर्म बटुल्ने चलन छ ।
(सबै जातको फुलबारी : पृ५-१० , २०१०)