९ जेष्ठ २०८१, बुधबार

सी जातिको अवधारणा

0

आरम्भ
नेपाल बहुजाति, भाषा र संस्कृति भएको देश हो । यहाँ सातवटा राष्ट्रिय विशेषता र पाँच भन्दा धेरै क्षेत्रीय स्तरका आन्तरिक राष्ट्रहरु रहेका छन् । नेपालको केन्द्रीय सत्तामा हरेक राष्ट्रको समान अधिकार र दायित्व छ । वैज्ञानिक समाजवादले हरेक जातिलाई पूर्ण समानताको अधिकार सुनिश्चित गर्नु पर्दछ । राज्यको कुनै विशेष धर्म हुनुहुँदैन । राज्यभित्र धर्म मान्ने र नमान्ने व्यक्तिको स्वतन्त्र अधिकार हुनुपर्दछ । जातीय समानता, स्वतन्त्रता र एकतालाई सुनिश्चित गर्नका लागि “समाजवादी संघीयता”को राज्यप्रणाली लागू गर्नु उपयुक्त र आवश्यक देखिन्छ ।

नेपाल कम्युनिष्ट पार्टीको हालै सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनले पार्टीको जिल्ला तह देखि माथिका सबै नेता, कार्यकर्ताले आफ्नो नामको पछाडि लेखिने जातिगत ‘थर’ को स्थानमा ‘सी’ (कम्युनिष्ट वा साम्यवादी) लेख्ने र यस बारे पार्टी सदस्यहरुको बिचमा बहस गर्ने निर्णय गरेको छ । यसको उद्देश्य एकदिन विद्दमान नेपाली समाजमा रहेका सयौं जातिलाई एउटै सी जातिमा रुपान्तरण गर्ने . रहेको छ ।

साथै, अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन अन्तर्गत जातीय सवालमा पनि यसलाई बहसको रुपमा अघि बढाइने छ । यसबारे अहिले व्यापक चांसो र बहस भैरहेको छ । सी जातिको अर्थ, महत्व र अवधारणा बारे यस अवधारणा पत्रमा संक्षिप्तमा चर्चा गर्ने प्रयास गरिएको छ ।

जाति  र जातबारे

(क) जातिको अर्थ र परिभाषा

नेपालमा जातप्रथा भएका कारणले जात, जाति र जनजातिलाई एउटै अर्थमा बुझ्ने गरिएको पाइन्छ । जात, जाति र जनजाति फरक कुरा हो । हिन्दु धर्म अन्तर्गत निर्मित वर्णव्यवस्था अनुसारका विभेदकारी कथित उच्च र निम्न सोपानक्रमका उपजाति र मानव समुदायलाई ‘जात’ भनिन्छ भने ऐतिहासिक रुपले विकसित भिन्न भाषा, भूगोल, अर्थव्यवस्था, मनोविज्ञान भएको स्थिर जनसमुदाय ‘जाति’ हो ।

सामान्यतया हिन्दु वर्णव्यवस्था भित्र नपर्ने, सामूहिक जीवन पद्धति एवं मातृसत्तात्मक समाजका केही अवशेषहरु विद्यमान रहेको, हालसम्म पनि पिछडिएको अवस्थामा रहेका र राष्ट्रको रुपमा विकास नभएका आदमि मानव जातिलाई ‘जनजाति’ भनिन्छ । नेपालको सन्दर्भमा जनजाति लाई आदिवासी (indigenous), जातीय समूह (ethnic group) वा उत्पीडित राष्ट्रियता(nationalities) पदावली प्रयोग हुँदै आएको छ । जात (caste) शब्द पुर्तगाली र स्पेनिश शब्द कास्टा(casta) बाट लिइएको हो जसको अर्थ जातीय समूह (race) वा वंश (descent) हुन्छ र यसको प्रयोग पहिलो पटक १५ औं शताब्दीमा हिन्दु समाज अन्तर्गत विभिन्न सामाजिक समूहलाई व्यवस्थित गर्नका लागि गरिएको थियो ।

जात (caste), जाति (nation) र जनजाति(nationalities) को कुरा गर्दा नश्ल (race), कबिला (tribe), जनजाति (ethnic group), आदिवासी (indigenous), . र जात(caste) को प्रसंग आउँछ । हामी यहाँ यी सबै पदावलीको विषयमा चर्चा गर्दैनौं तर जात र जातिको बारेमा भने संक्षिप्तमा चर्चा गर्नेछौं । स्तालिनका अनुसार, जाति भनेको एउटा साझा भाषा, इलाका, आर्थिक जीवन र साझा संस्कृतिमा अभिव्यक्त हुने मनोवैज्ञानिक स्वरुपको आधारमा निर्मित एक ऐतिहासिकरुपले स्थापित र स्थिर जन-जनसमुदाय हो ।

नेपाली समाज स्तालिनले परिभाषित गरेको जाति (nation) को तहमा पूर्णरुपले विकसित भैसकेको छैन् । अझ यहाँ हिन्दु धर्मको आधारमा शोषण र विभेदका लागि निर्माण गरिएको वर्णव्यवस्था र कृत्रिम जात भारतबाट आयात गरेर थोपरिएको छ ।

(ख) मानवशास्त्रीय तथा समाजशास्त्रीय दृष्टिकोण

जीव लगायत सम्पूर्ण संसारको श्रृष्टि अलौकिक शक्ति मानिने कथित ‘ईश्वर’ ले गरेको हो भन्ने आध्यात्मवादी तथा धर्मशास्त्रीहरुको मान्यता विपरित जीव वैज्ञानिक चार्ल्स डार्विनको क्रमविकास सिद्धान्त (theory of evolution) ले यही प्रकृतिमा प्राकृतिक प्रक्रियाद्धारा नै सरल तथा निम्न स्तरको जीव अर्थात अमिवाबाट विकसित भएर यी सम्पूर्ण उत्कृष्ट जीवहरुको उत्पत्ति भएको हो भन्ने कुरा वैज्ञानिक तथ्यको आधारमा सिद्ध गरिदियो ।

अजैविकबाट जैविक, जैविकबाट सजीव र सजीवबाट सचेत चेतनशील) हुने प्राकृतिक नियम र प्रक्रिया अन्तर्गत कमविकासको सिद्धान्त अनुसार आजको सचेत मानव पनि असभ्य जंगली अवस्थाबाट विकसित भएर सभ्य मानव बनेको हो र यो क्रमशः थप विकसित हुँदै जानेछ । आनुवंशिकी (genetic) वैज्ञानिक परीक्षण अनुसार सबै मानिस आनुवंशिक रुपमा ९९.९ प्रतिशत समान छन् । बाँकि ०.१ प्रतिशत फरक पनि मानिसमा विद्यमान विभिन्न रोगका कारण भएको मानिन्छ।

जीवमण्डल (biosphere) मा अन्य धेरै जीवित प्राणीमध्ये एउटा हो मानव । मानव सभ्यताको इतिहास र विकास खोतल्दै जाँदा हामी अफ्रिकी समाजमा पुग्नुपर्ने हुन्छ जहाँबाट मानव जातिको शुरुवात भएको मानिन्छ । जव मानिसहरु ढुंङ्गे युगबाट विकसित हुँदै आए र सभ्य समाजको निर्माण हुने क्रममा गोत्र, जात-जाति र थर भन्दा पनि पहिले आफ्नो पुख्र्यौली मानव कुन हो, त्यो रक्तखलकका मानिसको झुण्ड को-को हो । समाज विकासक्रममा यसको खोज भएको हो । आफ्ना वंशजं विस्तार भएपछि आफ्ना पुर्वज र तिनका सन्तती पहिचान हुँदै त्यसको एकवद्धता भएको हो ।

मानव समाजको विकासक्रम हेर्दा धेरै लामो समय खर्च भएको छ । यति लामो समयमा मानव विकासकम भएतापनि सभ्य समाजको निर्धारण हेर्ने हो भने दस हजार वर्ष भन्दा माथि छैन् । यो धर्म शास्त्र र वैज्ञानिक अध्ययन तथा अनुसन्धान बाट पनि पुष्टि भएको छ । मानवहरु लगभग २ लाख वर्ष पहिले वर्तमान अफ्रिकामा उत्पत्ति भएका थिए भन्ने कुरा अहिले सम्मका विभिन्न पुरातात्विक खोज तथा अनुसन्धानले पुष्टि गरेका छन् । इतिहासविद युवल नोह हरारीका अनुसार आधुनिक मानव ‘होमो सेपिएन्स’ को सबैभन्दा सम्भावित पूर्वज ‘होमो इरेक्टस’ हो ।

पछि महाद्वीपीय गठनसँगै मानवहरु विभिन्न भौगोलिक महाद्धीपहरुमा बसाई सरे । अनुहार र रंगमा भिन्नता जलवायुअनुकूल परिणाम हो । अनुहार र रंगको आधारमा मानव प्रजातिहरु मुख्यतः ३, क) श्वेत अथवा काकेशायड प्रजाति, ख) पीत अथवा मङ्गोलायड प्रजाति र ग) काला अथवा नीग्रोयड प्रजाति रहेका छन् । जीव वैज्ञानिक र पुरातात्विक खोज र अनुसन्धानले आज के कुराको पुष्टि गरिसक्यो भने विभिन्न भूगोल, जाति, भाषा र संस्कृतिमा फैलिएको आधुनिक मानव जाति होमो सेपिएन्सको पुर्खा एउटै हो र यसको उत्पत्ति सर्वप्रथम अफ्रिकामा भएको थियो ।

प्राकृतिक परिवर्तन र मानवीय आवश्यकताले उनीहरु संसारभरि फैलिएर बसाई सराई गरे र जलवायूअनुकूल अनुहार र रंगको भिन्नता देखा पर्यो। भूगोल विशेष र मानव-सामाजिक आवश्यकताले भाषा र संस्कृतिको विकास भयो । बिश्वमा आज मुख्यतः दश भाषा परिवार र सोही अनुसारका संस्कृति रहेका छन् ।

मानव सभ्यताको प्रारम्भमा न जाति(nationality), न वर्ग, न राज्य नै थियो । समाजशास्त्रीय दृष्टिबाट हेर्दा शुरुवातमा मानिस, व्यक्ति र कबिला (झुण्ड) थियो । निजी सम्पत्ति र वर्गको विकास पश्चात दास युगबाट सामन्तवादी युगमा संक्रमण हुने क्रममा राष्ट्र र राज्यको विकास भयो । परिवार(गोत्र), वंश(कुल), कबिला(जनजाति), जाति हुँदै राष्ट्रको निर्माण भयो । युरोपको विभिन्न क्षेत्रमा चलेको ३० वर्ष लामो युद्ध रोक्न सन् १६४८ मा वेष्टफलिया(जर्मनी) शान्ति सम्झौता भयो । सो सम्झौताले साझा भाषा, भूगोल, मनोविज्ञान र अर्थतन्त्र भएको मानव समुदायलाई राष्ट्र भन्ने र त्यस्तो राष्ट्रले आफ्नै भू-राजनीतिक सीमा र बाह्य देशहरुद्वारा मान्यता प्राप्त गर्दछ भने त्यो ‘राज्य’ हो भन्ने परिभाषा गरयो ।

यही समयदेखि राष्ट्र-राज्य (nation-state) को अस्तित्व स्विकारियो र त्यस्तो राष्ट्र-राज्यले औपचारिकरुपमा सार्वभौमसत्ताको हैसियत प्राप्त गर्छ भन्ने मान्यता पनि स्थापित भयो । प्रथम बिश्वयुद्ध पछि सन् १९१८ मा भर्सेल्लस(फान्स)मा भएको सम्झौता पश्चात गठन गरिएको लिग अफ नेसन्स र दोश्रो बिश्वयुद्ध पश्चात सन् १९४७ मा पेरिस(फ्रान्स)मा भएको शान्ति सम्झौता पछि गठन भएको संयुक्त राष्ट्रसंघले पनि राष्ट्र-राज्य सम्बन्धी यही मान्यतालाई थप पुष्टि र स्थापित गरे । राष्ट्र र राज्य, दुई भिन्न अवधारणा भएतापनि अहिले यिनीहरुलाई सामान्यतया पर्यायवाचीको रुपमा प्रयोग गरिन्छ ।

मालेमावाद र जातीय सवाल

मार्क्सका अनुसार मानवजातिको विकासमा निश्चित रुपमा कुनै वस्तुगत कारणले काम गरेको छ र त्यो कारण उत्पादन सम्बन्ध तथा श्रमविभाजन(भारतको सन्दर्भमा वर्णविभाजन) हो भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । मुख्यतः जर्मन विचारधारा माथिको आलोचना, कम्युष्टि घोषणात्र र पुँजी खण्ड-१ मा उहाँले जाति बारे आफ्ना धारणा राख्नु भएको छ । जर्मन विचारधाराको आलोचना गर्ने क्रममा मार्क्सले भारत र इजिप्तमा कायम जात प्रथा बारे भन्नुभयो “भारत र इजिप्त. अन्तर्गत त्यहाँको धर्म र राज्यमा जात व्यवस्था कायम गर्ने श्रमविभाजनको भद्दा स्वरुप रहेसम्म यो भद्दा सामाजिक स्वरुप निर्माण गर्ने जातव्यवस्था शक्तिशाली छ भन्ने कुरा इतिहासकारहरुलाई बिश्वास लाग्नेछ ।” यसको अर्थ श्रमविभाजनले जात प्रथा विकास गर्यो कि जात प्रथाले श्रमविभाजन भन्ने प्रश्न जन्माउँछ ।

मार्क्सका अनुसार पहिला श्रमविभाजन भयो अनि त्यस पछि जातगत पेशा र कालान्तरमा आएर त्यही पेशाको आधारमा जात निर्माण भयो । त्यसैलाई जात व्यवस्थामा परिणत गरियो । संसारमा मानव समाज विकासको कममा कुनै न कुनै प्रकारको श्रमविभाजन भएको पाईन्छ । तर, हिन्दु समाज रहेको दक्षिण एशिया त्यसमा पनि विशेषतः भारत र नेपालमा मात्रै छुवाछूत प्रथा हुनुको कारण हिन्दु धर्मको आडमा राज्यले नै विधान र कानून बनाएर लागू गर्यो र यस कुप्रथालाई अहिले सम्म टिकाईराखेको छ ।

प्रत्येक युगहरु जस्तै दास, सामन्ती युगका खराब नराम्रा कुराहरुलाई पनि राज्यले आफ्नो हितमा भएपछि नयाँ राज्यमा पनि अंगिकार गरि संरक्षण गरिराखेको छ । त्यसमध्यमा जातव्यवस्था, यसले पैदा गर्ने विभेद र छुवाछूत पनि पर्दछ । यसले के कुराको पुष्टि गर्छ भने विद्यमान दलाल पुँजीवादी संसदीय राज्यव्यवस्था रहेसम्म जातीय विभेद र छुवाछूत प्रथाको पूर्ण अन्त्य असम्भव छ ।

जातीय र राष्ट्रियताको प्रश्न माथि रुसी कान्तिकालमा मुख्यतः ४ कोणबाट बहस भएको पाईन्छ । १) लेनिनको जातिहरुलाई प्रदान गरिने ‘आत्मनिर्णयको अधिकार सहितको संघीय संरचना २) रोजा लग्जेम्बर्गको जाति ‘विलुप्ति’ को सिद्धान्त, ३) अष्ट्रियान मार्क्सवादी र बुन्दहरुको क्षेत्रीय र जातिगत ‘स्वशासन’ लगायत ‘विशेष अधिकार’को सिद्धान्त र अन्य रुसी समाजवादी पार्टीहरुको ‘संघीय प्रणाली’ को अवधारणा ।

मार्क्सले जातीय सवालबारे चर्चा गर्दै भन्नु भयो “जुन अनुपातमा एक जातिद्धारा अर्को जातिको शोषणको अन्त्य हुन्छ, त्यही अनुपातमा एक जातिप्रति अर्को जातिको शत्रुताको पनि अन्त्य हुन्छ ।” माओले जातीय सवाल अन्तिम विश्लेषणमा वर्गीय सवाल नै भएको व्याख्या गर्दै ९४ प्रतिशत हान जातिको बाहुल्यता रहेको चीनमा करिव ६ प्रतिशत  जनसंख्या भएका विभिन्न  अल्पसंख्यक जनजातीहरुलाई २० प्रतिशत राजनीतिक प्रतिनिधित्वको  बिशेष अधिकार प्रदान गरेर तथा करिव ३ सय जनसंख्या रहेको अल्पसंख्यक हेचे जनजातिलाई बिशेष संरक्षणको व्यवस्था सहित अन्य समग्र क्षेत्रमा विशेष अधिकार प्रदान गर्नुभयो ।

सन् १९१७ को कान्ति पश्चात रुसमा लेनिनले जातीय सवाललाई आत्मनिर्णयको अधिकार प्रदान गरेर हल गर्नुभयो । जातीय सवाललाई हल गर्ने सन्दर्भमा विभिन्न क्षेत्र र देशको सापेक्षतामा भिन्न विधि र तरिका अपनाउन जरुरी छ । साथै, यस सम्बन्धमा अहिलेसम्म विकास र प्रयोग भएका मार्क्सवादी सिद्धान्तमा थप विकास पनि जरुरी देखिन्छ ।

थर र गोत्र सम्बन्धमा

प्रशिद्ध समाजशास्त्री लुइस मोर्गनले आफ्नो ‘आदिम समाज’ नामक पुस्तकमा कविला युगमा सामूहिक परिवारमा बस्ने निश्चित एउटै हजुरआमाका सन्तानलाई एउटा गोत्रभित्रका मानिसहरुका रुपमा उल्लेख गरेका छन् । अर्थात गोत्र भन्नाले एउटै हजुर आमाका सन्ततिहरुको मानव झुण्ड हो । मातृप्रधान समाज रहेको त्यतिबेला बाबुको पहिचान आवश्यक नभइसकेकाले हजुरआमाका सन्तानलाई मानिएको हो, किनकि आमा मात्र निश्चित पहिचान हुने अवस्था थियो । मातृसत्ताको अन्त्य पश्चात पितृसत्तात्मक युगको अवशेषको रुपमा रहेको ऋषिको नामको गोत्र प्रथा हिन्दु धर्म अन्तर्गत समाजमा कायम रहेको छ ।

यस्तै सामाजिक विकास कममा रक्त शुद्धिकरणलाई निर्धारण गर्नको लागि गोत्र र जात कायम राखिएको तर्क गरिन्छ । तर मानव समाजको विकास सँगै बसाई सराई, अन्तर्जातीय विवाह र विविध जातीय एवं साँस्कृतिक अन्तर्घुलनका कारण आज संसारमा कुनै पनि रक्त शुद्ध जाति वा संस्कृतिछैन् एवं सबै जाति र संस्कृति वर्णसंकर (hybrid) हुन पुगेका छन् ।

आजभन्दा करिव सात निश्चित व्यक्तिको पारिवारिक परिचय दिनको लागि नामको पछाडि प्रयोग गरिने शब्दलाई ‘थर’ भनिन्छ । हजार वर्ष पहिले मातृप्रधान समाजको अस्तित्वलाई बलात समाप्त गरेर पितृसत्तात्मक समाजको प्रादुर्भावसँगै वंश र थर् एकपुस्ताबाट अर्को पुस्तामा पुरुषको नामथरबाट जाने कमको विकास भयो । अन्य थुप्रै कारण मध्य थर निर्माण मुख्यतः व्यक्तिको उद्भव स्थान, पेशा, पद, जातिगत परिचय आदि बाट रहने गरेको पाइन्छ । जस्तै, दुल्लुबाट दुलाल, भण्डारणको काम गर्ने भण्डारी, सुब्बा पदधारी सुब्बा र क्षेत्री जातिको क्षेत्री आदि ।

केही भिन्नता भएपनि संसारभरि यही प्रचलन कायम छ । संसारमा समयानुकुल थर राख्ने चलनमा फेरबदल हुँदैआएको छ । व्यक्तिले चाहे अनुसारको थर लेख्ने, अंडको आधारमा थर लेख्ने वा थरै नलेख्ने सबै अभ्यासहरु रहेका छन् । पुख्र्यौली सम्पत्ति दिने चलनबाट भएको देखिन्छ । नेपालमा पनि जातीय पहिचान अनुसारको थर लेख्न अनिवार्य बनाउनुको पछाडि वास्तवमा गोत्र र थर राख्न अनिवार्य गर्ने चलनको शुरुवात निजी सम्पत्तिको उत्पत्ति र सन्ततिलाई मूलतः जमिन र श्रमविभाजनले काम गरेको छ किनकि विगतमा यहाँ जातको आधारमा जमिन वा सम्पत्ति राख्न पाइने र पेशा गर्नु पर्ने व्यवस्था र कानून थियो ।

वि.सं. २०४६ अघि नेपालमा उत्पीडित श्रमिक समुदायलाई थर लेख्न नदिएर थर को सट्टा उनीहरुको जात लेख्न बाध्य पारिन्थ्यो र यो कम आंशिक रुपमा अहिले पनि जारी छ ।

नेपालमा राज्य र जात-जाति

नेपालमा धेरै प्रकारका जाति तथा भाषिक समुदाय छन् । नेपाली समाज खस-आर्य, अष्ट्रो-द्रविड, मङ्गोल, मुस्लिम र उत्पीडित श्रमिक समुदाय मिलेर बनेको छ । विसं. १९१० मा जङ्गबहादुर राणाले जारी गरेको मुलुकी ऐनले नेपालका सबै जातिलाई निश्चित तहगत कानुनी व्यवस्थामा रहने गरी किटान गरेको छ । उनीहरुले पाउने राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकार पनि तहगत रुपमा निर्धारण गरिदिएको छ । यो ऐनले तागाधारी अर्थात जनै लगाउने ब्राह्मण र क्षेत्रीलाई समाजको सबैभन्दा माथिल्लो तहमा राख्यो ।

त्यसपछि मासिन्या र नमासिन्या मतवाली जसमा जनजातिहरु पर्दछन् जसलाई दुई तहमा विभाजन गरियो, नमासिन्या मतवाली जस अन्तर्गत मगर, गुरुङ्ग, राई, लिम्बु र सुनुवार लाई राखियो भने मासिन्या मतवाली भित्र बाँकि रहेका तामाङ, थारु, भोटे आदि पर्दछन् । मासिन्या मतवालीलाई दास बनाउन पाइने भनेर यो ऐनले परिभाषित गर्यो । सो ऐनले समाजको तल्ला तहमा अछुत समुदायलाई राख्यो, जसलाई पछि ‘दलित’ नामाकरण गरियो । यो समुदायलाई पनि दुई तहमा वर्गीकरण गरियो पानी चल्ने (छोई छिटो हाल्नु नपर्ने) र पानी नचल्ने (छोइछिटो हाल्नुपर्ने) । छोइछिटो हाल्नुपर्ने जातका त व्यक्तिलाई समेत छुन नमिल्ने भनी कानुनमा लेखियो ।

जाति व्यवस्था नै नभएको मुस्लिम समुदायलाई पनि अछुत भनेर किटान गरियो । कुनैपनि सामन्ती समाजको मुख्य सम्पत्ति भनेको जमिन नै हुन्थ्यो । विर्ताको रुपमा जमिन बाँड्ने प्रचलनमा यो ऐनले फेरबदल ल्याई मतवाली र अछुतलाई जमिनबाट वञ्चित गरि त्यसलाई राणा, शाह र उनका नजिक रहेका तागाधारीमा सीमित गरियो । हिन्दु वर्णव्यवस्था अन्तर्गत पेशा र सामाजिक हैसियतको आधारमा ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र भित्र पनि तहगत जात निर्माण गरियो र यसलाई कानुनी आधारमा राज्यले स्थापित र संरक्षण गर्यो ।

यसबाट ब्राह्मण र क्षेत्रीमा पनि उँच-निच र विभेदको परिपाटी कायम भयो । राज्यसत्ताको वरिपरि रहेका बाहेकका ब्राह्मण-क्षेत्री पनि उत्पीडनमा परे र त्यो अद्यावधि कायम छ । नेपालमा जात प्रथालाई समाजमा राज्यद्धारा नै स्थापित गर्ने काम विशेषगरी लिच्छिवी (सन् ४००-७५०), जयस्थिति मल्ल (सन् १३५४-१३९४, गोर्खाका राम शाह (वि.सं. शाह(वि.सं. १६६३-१६९०) र . जंगबहादुर(वि.सं.१९०३-१९१३) मार्फत भएको पाइन्छ । यहाँ थुप्रै राजनीतिक फेरबदल भएतापनि सामाजिक र साँस्कृतिक परम्परागत रुढीवादी ढाँचामा धेरै फेरबदल भएको छैन् । देश धर्मनिरपेक्ष घोषित भएपनि र विभिन्न कानूनहरु निर्माण गरिए पनि व्यवहारमा भने धर्म र परम्पराको नाममा हिन्दु वर्णव्यवस्था र वि.सं. १९१० को मुलुकी ऐनमा आधारित जातगत मूल्य र मान्यता नै अहिलेसम्म नेपाली समाजमा कायम छ ।

श्रमिक समुदाय

अहिलेसम्म वर्णव्यवस्थामा आधारित जात व्यवस्था भित्र सबैभन्दा पिंधमा पारिएको वर्गीय रुपमा श्रमजीवी, सांस्कृतिक रुपमा बेहिष्कृत र पानी अचल समेत बनाइएका जातहरुको साझा परिचयका रुपमा ‘दलित’ शब्द प्रयोग हुँदै आएको हो । दलित कुनै एउटा जात(caste) वा जाति (nation) नभएर ती पानी अचल बनाइएका जातहरुको राजनीतिक, आर्थिक र सांस्कृतिक अवस्था हो । दलित शब्दको प्रयोग पहिलो पटक भारत महाराष्ट्रका समाज सुधारक ज्योतिबा फुलेले गरेको मानिन्छ जो यो समुदायको नभएर अर्कै समुदायको हुनुहुन्थ्यो ।

नेपालमा विसं. २०२४ सालमा पहिलो पटक दलित नामनै उल्लेख गरेर “नेपाल राष्ट्रिय दलित जनविकास परिषद” गठन भएको थियो । पछि विसं. २०२९ सालमा यो कथित अछूत समुदायकै साझा परिचयका रुपमा दलित शब्द प्रयोग गरिएको थियो । डा. भिमराव अम्बेडकरले अछूत, अप्रेस्ड र दलित आदि प्रायः सबै शब्दको प्रयोग गरेका छन् । सन् ७० को दशकमा भारतमा चलेको “दलित प्यान्थर मुभमेण्ट” ले दलित शब्दलाई बढी प्रचार र स्थापित गर्न सहयोग पुरयायो ।

अहिले तीन कोण बाट दलित शब्द हटाउने कुरा उठिरहेको छ । एक, नकारात्मक कोण बाट जसले दलित एकता भाँड्ने मनसाय सहित यो शब्द हटाउने र दलित समुदायलाई शक्तिहीन बनाउन चाहन्छ । दुई, ज्ञानको कमजोरीका कारण । उनीहरु आफूले आफैँलाई किन दलित भन्ने, दलित भनिरहँदासम्म त दलित अवस्था रहिरहने भयो भन्ने सोच्छन् । र तीन, कुनै पनि वस्तु वा शब्द समयानुकूल फेरिन्छ र फेरिनुपर्छ भन्ने सकारात्मक दृष्टिकोण । यो तेश्रो दृष्टिकोणले समयको माग र बदलिदो परिस्थिति अनुसार कुनै पनि नाम फेरबदल गर्दै जानुपर्छ भन्ने सोच र मान्यता राख्छ ।

कुनै पनि विषयवस्तु आफैमा गतिशील र परिवर्तनशील हुन्छ । जुन कुरा पहिला ठीक थियो त्यो अहिले नहुन सक्छ । जुन पहिला ठीक थिएन, अहिले पनि उस्तै रहेको नहुनसक्छ । दलित शब्द कुनै समयमा ठीक थियो तर आजको परिवर्तित समयमा यसले दलितको एउटा पाटोलाई मात्र सम्बोधन गरेको छ । यो समुदाय उत्पीडित र असंगठित रहेको अवस्थामा दलित समुदायको उत्पीडनको पाटोलाई सम्बोधन गर्ने सन्दर्भमा ‘दलित’ पदावली सही र सान्दर्भिक थियो । तर आजको विकसित परिस्थितिमा यो समुदायको परिभाषा अलि फराकिलो ढंगले गर्नुपर्ने आवश्यकता भएको छ ।

दलित समुदाय उत्पीडित त हो नै यसका साथै यसको अर्कै गौरवमय र ऐतिहासिक परिचय, पहिचान र अर्थ पनि छ । दलितभित्रका विज्ञान प्रविधिमा काम गर्ने कामी, प्रविधिका काम गर्ने चमार, सार्की, दमाई लगायत वैज्ञानिक प्राविधिक छन् । त्यसैगरी, संगीतका क्षेत्रमा काम गर्ने गन्धर्व, वादी, दमाई लगायत सर्जक जातिहरु छन् । बस्तीमा चौकीदारी गर्ने परम्परागत पेशाका दुशाध, खेतीयोग्य भूमिको निर्माण गर्ने मुसहर जो सेवा र उत्पादन कार्यसँग सम्बन्धित छन् ।

त्यस्तै, डोम, हलखोर, च्यामे, पोडे जस्ता जात छन् जो मूलतः सेवा क्षेत्रमा आवद्ध छन् । सारमा भन्नु पर्दा दलित समुदाय भनेका वैज्ञानिक, प्राविधिक, स्वास्थ्य प्राविधिक, औषधी शास्त्री आदि हुन् । यस अर्थमा भन्नु पर्दा वर्णव्यवस्थामा आधारित हिन्दु समाजका वास्तविक बहुसंख्यक श्रमिक भनेका शुद्र र दलित हुन । उपर्युक्त कुराबाट यो निश्कर्ष निकाल्न सकिन्छ कि यो समुदाय समाजको सबैभन्दा गौरवशाली श्रमिक मानव समुदाय हो । यसर्थ अब यो समुदायलाई उत्पीडनमा परेको, हेपिएका, थिचिएका तथा विभेद र छुवाछूतमा परेको समुदायको रुपमा मात्रै नामाकरण गर्दा अपुरो हुन जान्छ ।

अब यो समुदायले आफ्नो ऐतिहासिक श्रमजीवि पहिचान, वैज्ञानिक, सर्जक, संसारको निर्माता, राज्यको एउटा हिस्सेदार र सञ्चालकको रुपमा आफ्नो पहिचान र नाम स्थापित गर्न सक्नुपर्छ ।

मूलतः चार कारणले यो समुदायको नामाकरण नयाँ ढंगले गर्न जरुरी छ । एक, अहिलेको विकसित वस्तुस्थिति र यो समुदायको चाहना र मनोविज्ञानलाई सम्बोधन गर्न वा विशेषगरी युवायुवतीको माग । दुई, यो जाति नभएर उत्पीडित समुदाय हो, राजनीतिक, आर्थिक र सामाजिक-सांस्कृतिक अवस्था हो, यो पहिचानको मुद्दा नभएका कारण । तीन, यो समुदायको पहिचान उत्पीडित र हेपिएको र केही नजान्ने मात्र होइन, बरु यो त संसारको निर्माता, सर्जक, वैज्ञानिक तथा श्रमिक समुदाय हो । र चार, यो समुदाय एक्लैले अलग-थलग भएर यो समस्या समाधान हुँदैन । यसका लागि सम्पूर्ण उत्पीडित वर्ग, जाति, जनजाति र समुदाय नयाँ तरिकाले एकताबद्ध र अन्तरघुलित भएर अघि बढ्न आवश्यक छ । तसर्थ, यस समुदायलाई ‘श्रमिक समुदाय’ भन्नु उपयुक्त देखिन्छ ।

जातीय सवाल अल्पकालका लागि पहिचान र अस्तित्वको सवाल भएता पनि दिर्घकालमा यो अन्तरघुलन र रुपान्तरण र विकासको मुद्दा हो । वर्णव्यवस्थामा आधारित रहेर प्रारम्भमा शूद्र, अछूत हुँदै हाल आएर दलित समुदायको रुपमा परिचित उत्पीडित श्रमिक समुदायको पूर्ण मुक्ति वर्णव्यवस्थामा आधारित जातव्यवस्थाको उन्मूलन र निजी स्वामित्वको अन्त्य र समुदाय वा राज्यको सामूहिक स्वामित्वको निर्माणसँग सम्बन्धित छ ।

तसर्थ, विद्यमान राज्यव्यवस्था परिवर्तन, आर्थिक प्रणाली परिवर्तन सहितको समृद्धि, श्रमिक समादायका मानिसको शिक्षा र समग्र नेतृत्व विकास, सामाजिक-सांस्कृतिक रुपान्तरण र अन्तरघुलन, जनचेतनामूलक अभियान र संवैधानिक कानुनी उपचार यो समस्याको सही समाधान हो ।

सामाजिक-सांस्कृतिक रुपान्तरणको विषय मुख्यतः दुईवटा प्रक्रियाबाट अघि बढाउनु पर्दछ । पहिलो, जनताको तहमा, श्रमिक समुदाय पहाड अन्तरगत खस-आर्यसँग, मधेसका अष्ट्रो-द्रविडसँग र नेवाःभित्र यो आफ्नो वास्तविक थर र गोत्रमा अन्तरघुलित हुनु पर्दछ । दोश्रो, ‘चेतना’ को तहमा, अन्तरघुलित खस-आर्य, अष्ट्रो-द्रविड र नेवाःलगायत अन्य जनजाति पनि पुरानै पहिचान र अस्तित्वमा सदासर्वदा रहनु प्रकृति, मानव समाज विकासको नियम विपरित हुन्छ । समग्रमा सबै जातिहरु नयाँ मानवजातिमा रुपान्तरित हुन तयार हुनुपर्दछ ।

सी जातिको अवधारणा

मार्क्सवादले सबैखाले शोषण र विभेदको अन्त्यका लागि वर्गविहीन, जातिविहीन र अन्ततः राज्यविहीन समाजको परिकल्पना गरेको छ । संसारमा अहिले विद्यमान जातिको स्थानमा अन्तराष्ट्रिय नयाँ मानव जाति निर्माणको अवधारणा अघि सारेको छ । सामूहिकतामा निरन्तर गतिशील र रुपान्तरण भइरहनु नै कुनै पनि वस्तु, समाज र विज्ञानको नियम हो । सबै जाति पुरानो पहिचान र अस्तित्वबाट माथि उठेर नयाँ अन्तर्राष्ट्रिय मानव जातिमा विकास वा परिवर्तन हुनुपर्दछ । र त्यसको साझा आधार श्रम र सामूहिकता हुन सक्छ । श्रम गर्ने र सामूहिकताको जीवन बाँच्ने मानवहरुको नयाँ मानव जाति ।

कम्युनिष्टहरुले रणनीतिक रुपमा राज्यको विलुपीकरणको कुरा गरे पनि कार्यनीतिक रुपमा कम्युनिष्ट राज्यसत्ता निर्माणको कुरा गरे जस्तै रणनीतिक रुपमा सबैखाले जाति उन्मूलनको कुरा गर्दा कार्यनीतिक रुपमा नयाँ कम्युनिष्ट मानव जाति निर्माण गर्ने वस्तुवादी, वैज्ञानिक र अपरिहार्य हुन आउँछ । लेनिन र रोजा लक्जेम्बर्ग बीचको बहस पनि विषयलाई रणनीति र कार्यनीतिमा कुरा बुझ्नेमा थियो ।
संसारमा मानव जातिलाई विभाजित र विखण्डित गर्ने मूल आधार अर्थसम्बन्ध र त्यसबाट सृजित वर्ग विभाजन हो जसलाई वर्गीय राज्यसत्ताले संरक्षण गरिराखेको हुन्छ । तर मानव समाजलाई वर्गले मात्र होईन सामन्तवादी जात प्रथाले पनि विभाजित गरेको छ ।

जात-जाति बिचको अन्तरविरोधमा मूलतः वर्गीय राज्यसत्ता र आर्थिक स्वामित्वको प्रभाव रहेको छ तर हजारौं वर्ष देखि चलिआएको जात व्यवस्था र सामाजिक परम्पराका कारणले मानव जातिलाई साँस्कृतिक एवं मनोवैज्ञानिक रुपमा पनि विभाजित गरेको छ । जात व्यवस्था सामन्तवादको उपज हो भने यो पुँजीवादको संरक्षणमा टिकिराखेको छ । जात व्यवस्थाको सम्बन्ध निश्चय पनि सामन्ती एवं पुँजीवादी सत्ता र राजनैतिक व्यवस्था सँग छ तर जात प्रथाले समाजलाई यसरी गाँजिसकेको छ कि केवल सत्ता र व्यवस्थाको परिवर्तन गरेर या कानूनमा समानता लेखेर मात्र हजारौं वर्षदेखिका विभेद र विभाजन समाधान हुँदैनन् ।

पुराना जात-जातिहरु विचको अन्तरविरोध उनीहरु बिच समानता पैदा गर्न खोजेर पुग्दैन र नयाँ जातिको आधार सृजना गर्न आवश्यक छ । अझ दक्षिण एशिया र नेपालजस्ता हिन्दु वर्ण व्यवस्थाले बाँधेको समाजमा राजनैतिक परिवर्तनबाट मात्र जात व्यवस्थाको उन्मूलन सम्भव छैन् । एकिकृत जनकान्ति मार्फत दलाल पुँजीवादको अन्त्य गर्दै समाजवादी सांस्कृतिक कान्ति मार्फत वैज्ञानिक समाजवादको स्थापनासँगै पुरानो जातिलाई रुपान्तरण र विकास गरि वैज्ञानिक समाजवादी जातिको स्थापना उपयुक्त र अपरिहार्य देखिन्छ ।

सी जातिको अवधारणा दास युग, सामन्ती युग, पुँजीवादी युग, हजारौं वर्ष देखिको जात व्यवस्था र जात विभाजनको कम भङ्ग हो । पुराना जातहरुलाई रुपान्तरण गरि नयाँ जातिको विकास गर्न हो । माओको दार्शनिक भाषामा भन्दा पुराना जातिहरुको नयाँ जातिमा संश्लेषण हो । यो आफैमा युगान्तकारी कदम र नयाँ मानव सभ्यताको आरम्भ पनि हो। सी जातिको विकासले स्वभावतः नयाँ समाजको रचना गर्नेछ । यसले सी जातिको दृष्टिकोण, अर्थसम्बन्ध, सभ्यता, संस्कार र संस्कृति सृजना गर्नेछ ।

ती सारभूत रुपमा साम्यवादकै विशेषता हुनेछन् । यद्यपि यसले विषयहरुलाई यति सुसंगठित, सृजनात्मक र रचनात्मक बनाउने छ र मानव जातिले नयाँ आधारमा नयाँ एकता एवं समानता प्राप्त गर्नेछ ।
सी जातिको बिश्व साम्यवादी समाजव्यवस्था हुनेछ, त्यसको पहिलो चरणमा संक्रमणकालीन राज्यव्यवस्था को रुपमा वैज्ञानिक समाजवादी व्यवस्था रहने छ । यस जातिको आफनै “वैज्ञानिक समाजवादी अर्थप्रणाली” हुनेछ जो श्रम र सामुहिकतामा आधारित राष्ट्रिय आर्त्मनिभरतामा आधारित हुनेछ ।

यस जातिका आफ्नै सभ्यता, संस्कार, संस्कृति र चाड-पर्वहरु रहनेछन् । समाजवादी संस्कृति सुस्पष्ट, ठोस, सरल र व्यवहारिक हुन्छ र हुनुपर्दछ । वैज्ञानिक जीवन पद्दति, अध्ययन एवं श्रमकार्य, निजी, पारिवारिक एवं सामाजिक कामहरु, राजनैतिक एवं संगठनात्मक कार्यहरु सबै समाजवादी संस्कृति भित्र पर्दछन् । विचारलाई भौतिकवादी एवं वैज्ञानिक बनाउनु, जीवनलाई अध्ययन र श्रममा जोइन, राजनैतिक कार्यलाई उत्पादन कार्यमा जोड्नु, निजी जीवनलाई सामाजिक जीवनसँग जोड्नु, पुरानो जातिलाई नयाँ सी जातिमा रुपान्तरण गर्न र पुराना संस्कृतिलाई नयाँ जनसंस्कृतिमा बदल्नु सांस्कृतिक कार्यका क्षेत्र हुन् ।

सी जाति अन्तरगत जन्म, विवाह, मृत्यु संस्कार-संस्कृति र चाड-पर्वहरु बारे केही प्रारम्भिक अवधारणा निम्नानुसार अघि सारिएको छ ।

(क) सी जातिले शिशु जन्मिदा खुशियालीमा बधाई दिने कार्यक्रम गर्ने, छ महिनामा सुस्वास्थ्य र शुभकामना प्रदान कार्यक्रम गर्नुपर्दछ
(ख) सी जातिमा विवाह गर्दा परिवार, इष्ट-मित्र र पार्टी पँक्ति भेला हुने, वर-वधुले एक-अर्कालाई माला लगाई दिने, जीवनभर सुख-दुखमा एक-अर्कालाई साथ दिने प्रतिबद्धता व्यक्त गर्ने, उपस्थित सबैले वर-वधुलाई अविरावरण सहित शुभकामना दिने र खुशियाली मनाउने ।
(ग) सी जातिका आफन्तको मृत्यु हुँदा पहिलो दिन शोक सभा आयोजना गर्ने, दोश्रो दिन त्रि-रोपन(फूल, फल, जडीबुटी रोपाई) गर्ने, तेश्रो दिन सहयोग वितरण कार्यक्रम गर्ने, चौथो दिन अक्षयकोष खडा गर्ने र पाँचौं दिन श्रद्धान्जली कार्यक्रम गर्ने गर्नुपर्दछ । सी जातिका सबै मृतक आफन्तहरुको सम्झनामा असोज २५ गते देशभरी नै विभिन्न रचनात्मक कार्यक्रम गरेर स्मृति सभा आयोजना गर्नु पर्दछ ।
(घ) सी जातिले पर्वको रुपम फागुन १ गते जनयुद्ध दिवस(फागुन १४-२१ शहिद सप्ताह), फागुन २४ गते(८ मार्च) अन्तराष्टिय श्रमिक महिला दिवस, बैशाख १८ गते मे दिवस, जेठ १ गते विद्यार्थी दिवस, जेठ ७ गते वेपत्ता योद्धा स्मृति दिवस विभिन्न रचनात्मक कार्यक्रम सहित मनाउनु पर्दछ ।

निश्कर्ष

मानवशास्त्रीय तथा समाजशास्त्रीय दृष्टिबाट हेर्दा आधुनिक मानव जाति न विगतमा यस्तो अवस्थामा थियो न भविष्यमा यही रुपमा रहने छ । निरन्र परिवर्तन भै रहनु वस्तु र समाजको नियम हो । वस्तु विकास र समाज विकासमा उभिएको अवरोध हटाई यसलाई तिव्रता दिने काम मात्र कान्तिले गर्ने हो । अलग-थलग रहनु प्रकृति र समाजको अस्तित्व र विकास विपरित कुरा हो । एक अर्कासंगको अन्तर्किया, अन्तर्घुलन र रुपान्तरणबाट नै मानव समाजले यहाँसम्म विकास गरेको हो ।

समाजवाद र साम्यवादले वस्तु र समाजको यही नियमलाई पक्डेको हुन्छ । उता, पुँजीवाद भनेको वस्तु र समाजलाई यथास्थितिमा फुटाएर आफ्नो स्वार्थ गर्ने पूरा विचार हो । आफ्नो यही फुटाएर राज गर्ने उद्देश्यलाई पूर्ति गर्नका लागि पुँजीवाद वर्ग र जातिलाई बचाई राख्न बाध्य छ ।

जातव्यवस्थाले पैदा गरेको विभेद र छुवाछूत समस्याको समाधान श्रमविभाजनमा रुपान्तरण अर्थात नयाँ र वैज्ञानिक ढङ्गले श्रमविभाजन गर्नु अर्थात उत्पादन सम्बन्धलाई बदल्नु हो । नेपाली समाजमा नामको पछाडि लगाउने थरले कुनै व्यक्ति विशेषको पेशागत जात-जाति लाई इंगित गर्ने भएकाले सबैले नयाँ थरमा रुपान्तरण हुने कुरा वैज्ञानिक र वस्तुवादी हुन्छ ।

यो जातीय अन्तर्घुलन, रुपान्तरण र विकासको एउटा विधि र प्रक्रिया हो । यो नयाँ मानव जाति निर्माणको बहसको शुरुवात हो । नवौं महाधिवेशनबाट हाम्रो पार्टीले नामको पछाडि कम्युष्टि (communist) को पहिलो अक्षरबाट ‘सी'(c) अर्थात साम्यवादी थर(surname) राख्ने निर्णय गरेको छ । मानवशास्त्रीय, समाजशास्त्रीय र दार्शनिक कोणबाट हेर्दा वर्तमान विकसित अवस्थामा यो निश्कर्ष निकाल्न सकिन्छ कि सी थर राख्नु नै अहिले वस्तुवादी, वैज्ञानिक र उपयुक्त छ ।
(२०७९ चैत्र २१ गते प्रज्ञाभवन कमलादी काठमाडौमा आयोजित बिचारगोष्टीमा  रामलाल सीद्वारा प्रस्तुत अवधारणा पत्र)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।