१५ फाल्गुन २०८०, मंगलवार

बुद्धिजीवीको निर्माण

0

बुद्धिजीवीहरू समाजका स्वतन्त्र र स्वविवेकी समूह हुन् कि हरेक सामाजिक समूहका आ-आफ्ना खालका विशिष्ट बुद्धिजीवीहरू हुन्छन् ? बद्धिजीवीहरूको अलग्गै वर्गहरू बन्ने ऐतिहासिक निर्माण प्रक्रियाले अहिलेसम्म विभिन्न स्वरूपहरू लिएको हुँदा यो प्रश्नको उत्तर सहज छैन । यस आइपुग्दा सन्दर्भमा यी दुईवटा स्वरूपहरू महत्त्वपूर्ण छन् :

१. आर्थिक उत्पादनको आधारभूत कार्यमा संलग्न भई अस्तित्वमा आउँदा हरेक सामाजिक समूहमा एकसाथ विभिन्न तप्काका बुद्धिजीवीहरूको निर्माण हुन्छ। यही बुद्धिजीवी निर्माणप्रक्रियाले सो समूहका आर्थिक, सामाजिक, राजनीतिक गतिविधिहरूलाई एकरूपता दिनुका साथै सो समूहलाई भूमिका बोध पनि गराउँछ । पुँजीपति उद्यमीले आफूसँगै औद्योगिक प्राविधिकहरू, राजनीतिक अर्थशास्त्रका विशेषज्ञहरू, नयाँ संस्कृति र न्यायव्यवस्थाका सञ्चालकहरू निर्माण गर्दछ।

उद्यमी आफैँ नै सामाजिक विकासको उच्चस्तरीय प्रतिनिधि हो किनभने ऊसँग निर्देशन दिने क्षमता र प्राविधिक अर्थात् बौद्धिक क्षमता हुन्छ । उद्यमीको प्राविधिक क्षमता भनेको आफ्ना केही काम र गतिविधिहरू सञ्चालन गर्ने कुरामा मात्र सीमित नभई आर्थिक उत्पादनलगायत अन्य क्षेत्रहरूसँग पनि सम्बन्धित हुन्छ। उसले जनसमुदायको सङ्गठनकर्ताको भूमिका पूरा गर्नुपर्छ : उसले आफ्नो व्यापारका लागि लगानीकर्ताहरूको र उत्पादित वस्तुहरू विक्रीका लागि उपभोक्ताको विश्वास जित्नुपर्छ । त्यसैले उसले विश्वासको व्यवस्थापन गर्दछ ।

सबै पुँजीपतिले नभए पनि विशिष्ट वर्गका एलिट पुँजीपतिहरूले सामान्यतः सेवाहरूको जटिल संरचनादेखि राज्यको संयन्त्रसम्म सबै तहमा समाजलाई सङ्गठित गर्छन्। किनभने आफ्नो वर्गीय विस्तारका लागि उनीहरूले उपयुक्त वातावरण बनाउनु आवश्यक हुन्छ । अर्को शब्दमा, आफ्नो व्यापार क्षेत्रभन्दा बाहिर पनि सामाजिक सम्बन्धहरूको व्यवस्थापन गर्नुपर्ने हुँदा उनीहरूले आफ्ना विश्वासपात्रका रूपमा काम गर्ने सहायकहरू छनोट गर्न सक्नुपर्दछ ।

उनीहरूका सहायकहरू भनेका विशिष्टीकृत जागिरेहरू हुन् । कुरा स्पष्ट देखिन्छ,हरेक नयाँ वर्गले समाजमा आफ्नो विकास हुँदा आफूसँगै अङ्गसंहित अर्गानिक बुद्धिजीवी बनाउँछ । नयाँ वर्गले महत्त्व दिने नयाँ सामाजिक व्यवस्थाका निश्चित केही पक्षहरूलाई विशिष्टीकृत गराउने अङ्गहरू नै अर्गानिक बुद्धिजीवीहरू हुन् ।त्यसपछिको सामन्तीभूस्वामीको पनि विशेष खाले प्राविधिक, सैन्य क्षमता हुन्थ्यो । जब कुलीन तन्त्रले प्राविधिक सैन्य क्षमतामाथिको एकाधिकार गुमायो, सामन्तवादको सङ्कट पनि सुरु भयो ।

तर सामन्ती युग र शास्त्रीय युगमा बुद्धिजीवीको निर्माण कसरी भयो भन्ने कुरालाई अलगअलग रूपमा अध्ययन गर्नुपर्दछ : बुद्धिजीवीहरू कुन माध्यम र कस्तो तरिकाले निर्मित तथा विकसित भए भन्ने कुरा खोजी गर्नुपर्दछ ।
उत्पादनक्षेत्रमा आफ्नो अनिवार्यता कायम गरे पनि किसान समुदाय स्वयमले अर्गानिक बुद्धिजीवी विकसित गर्दैन, न त यो समूहले आफूलाई परम्परागत बुद्धिजीवीको कुनै तप्कासँग आत्मसात् गराउँछ । त्यसो भए पनि किसान समुदायबाटै अरू समूहका मानिसहरूले आफ्ना बुद्धिजीवीहरू विकसित गराउँछन्। परम्परागत बुद्धिजीवीहरूको ठूलो जमात किसान पृष्ठभूमिबाटैआएका छन्।

२. इतिहासमा पूववर्ती आर्थिक संरचनाबाट जन्मिएका र सोही संरचनाको विकासको अभिव्यक्तिका रूपमा देखा परेका अनिवार्य सामाजिक समूहहरूले यस्ता बुद्धिजीवीहरू पनि पाउँछन् जो पहिले नै अस्तित्वमा हुन्छन् । यस्ता बुद्धिजीवीहरूले राजनीतिक र समाजिक स्वरूपहरूमा जटिल र क्रान्तिकारी परिवर्तन हुँदा पनि विच्छिन्न नहुने ऐतिहासिक निरन्तरताको प्रतिनिधित्व गर्छन् ।यस प्रकारका बुद्धिजीवीहरूका एक उदाहरण हुन् धर्माचार्यहरू ।

जुन वेला एकाधिपत्य नै ऐतिहासिक कालखण्डको सामाजिक चरित्र थियो त्यस बखत दर्शनशास्त्र र विज्ञानका रूपमा लिइने धार्मिक विचारधारा, अनि विद्यालय, शिक्षा, नैतिकता, न्याय, दान, सत्कर्म आदिलगायतका विभिन्न महत्त्वपूर्ण सामाजिक सेवाहरूमा धर्माचार्यहरूले निकै लामो समय एकाधिपत्य जमाए। धर्माचार्यहरूलाई भूमिमा आश्रित कुलीन तन्त्रसँग अर्गानिक रूपमा अङ्गसंहित बुद्धिजीवीको समूहका रूपमा लिन सकिन्छ । कानुनी हैसियत अभिजात्य वर्ग बराबर नै हुने हुँदा यिनीहरूले सामन्ती हैसियतमै जमिनका भोगचलन गर्न सक्ने तथा सम्पत्तिसम्बन्धी अन्य राजकीय अधिकारहरू प्रयोग गर्न पाउने व्यवस्था थियो । समाजिक आधारमा त्यसो भए तापनि अधिरचना क्षेत्र अर्थात् सुपर स्ट्रक्चरमा उनीहरूको एकाधिकार सङ्घर्षद्वारा प्राप्त भएका हो र त्यस्ता अधिकारका सीमाहरू पनि थिए ।

यसैले गर्दा राजाको केन्द्रीय शक्ति बढ्दा निरङ्कुशताको हदसम्म बिस्तारमा सहयोगका लागि धर्माचार्यबाहेक अन्य विभिन्न स्वरूपहरूमा बुद्धिजीवीहरूका अरू समूहहरूको पनि जन्म भयो । त्यसो हुँदा विशेषाधिकार पाएका प्रकाशकहरू, विद्वान् तथा वैज्ञानिकहरू, सिद्धान्तकार तथा धर्माधिकारी बाहेकका दार्शनिकहरू आदिको समूह नोब्लेस द रोब’ को निर्माण भएको पाइन्छ । यस्ता समूहहरूको थप
अध्ययन आवश्यक छ ।

आफ्नो अविच्छिन्न ऐतिहासिक निरन्तरता र विशेष योग्यताका कारण परम्परागत बुद्धिजीवीहरूका विभिन्न समूहहरूले एस्प्रि द कोरर मार्फत आफूलाई स्वतन्त्र र स्वविवेकी प्रभावशाली सामाजिक समूहको रूपमा प्रस्तुत गरे । यस्तो आत्ममूल्याङ्कनले विचारधारात्मक र राजनीतिक क्षेत्रमा प्रभाव पारेकाले व्यापक परिणाम देखियो । सम्पूर्ण आदर्शवादी दर्शनलाई सजिलै यस्ता प्रकारका समाजिक बुद्धिजीवीसँग जोड्न सकिन्छ । उनीहरूका सामाजिक परिकल्पना युटोपिया हुन्छन् तथा उनीहरू स्वतन्त्र, स्वविवेकी, आफ्नै किसिमको चरित्र भएका हुन्छन् ।

बुद्धिजीवी शब्दले सङ्केत गर्ने व्यक्तिहरूको व्यापकता कति छ बुद्धिजीवीका पाइने विविधता र अलगअलग गतिविधिलाई कुनै एक मापदण्डले हेर्न सकिन्छ ? र अरू सामाजिक समूहका गतिविधिबाट उनीहरूको गतिविधिको फरक छुट्याउन सकिन्छ ? मलाई लाग्छ बुद्धिजीवीका गतिविधिलाई आधार मानी बुद्धिजीवीको अन्तर स्वभाव परिभाषित गर्ने प्रचलित मापदण्ड त्रुटिपूर्ण छ । उनीहरूको चरित्र वा स्वभाव खासमा सम्बन्धहरूको व्यवस्थाको समुच्च हो जसमा उनीहरूका गतिविधिहरू सञ्चालित हुन्छन् ।

मजदुर वा सर्वहाराको स्वभावको परिभाषा उनीहरूले गर्ने शारीरिक काम वा औजारले गर्ने कामले भन्दा पनि उनीहरूको विशिष्ट सामाजिक सम्बन्ध र कामको विशिष्ट परिवेशले निर्धारण गर्दछ । शारीरिक श्रम गर्ने भएका कारण पहिचानका रूपमा श्रमिक भनिए पनि उनीहरू खालि शारीरिक श्रम गर्दैनन् । टेलरले उनीहरूलाई प्रशिक्षित छापामार भनेर उपमा दिएका छन् : जति तल्लो तहको वा शारीरिक प्रकृतिको भए पनि कुनै पनि शारीरिक काममा न्यूनतम मात्रामै भए पनि बौद्धिक योग्यता हुन्छ र यसैलाई बुद्धिजीवीको निम्नतम सिर्जनात्मक गतिविधिका रूपमा लिन सकिन्छ ।

हामीले देखिसकेका छौं, उद्यमीले पनि आफ्नो कामको प्रकृतिका आधारमा बौद्धिक खालका भनिने निश्चित केही योग्यताहरू लिएको वा पाएको हुनुपर्छ । ती योग्यताले समाजमा उसको क्रियात्मक भूमिका बनाउँदैनन्, तर पनि तिनीहरूले उसका सामान्य सामाजिक सम्बन्धहरूदेखि उद्योगभित्रका क्रियाकलापलाई चित्रित गर्दछन् ।मानिसले समाजमा बुद्धिजीवीकै गतिविधि गर्छन् भन्ने छैन ।
त्यसो हुँदा सबै मानिसहरू बुद्धिजीवी हुन् भन्न सकिन्छ तर सबैमानिसले समाजमा बुद्धिजीवीकै गतिविधि गर्छन् भन्ने छैन ।

कसैले बुद्धिजीवी र गैरबुद्धिजीवीबीच फरक के भन्ने छुट्टयाउन खोज्छ भने उसले बुद्धिजीवीको तत्कालीन सामाजिक गतिविधिका आधारमा निश्चित पेसागत समूहको अस्तित्वलाई सङ्केत गरिरहेको छ अर्थात् कुनै पेसाहरूमा गतिविधिहरू बौद्धिकतापट्टि वा कुनैमा मांशपेशी तथा नसानाडी प्रयोगका पट्टि झुकेका हुन्छन् भन्ने कुरा सङ्केत गरिरहेको छ । तर हामीले बुद्धिजीवीका बारेमा कुरा गरे पनि गैरद्धिजीवीका बारेमा कुरा गर्न सक्तैनौँ किनकि त्यसो भए तापनि बौद्धिक मस्तिष्कको गतिविधि मांशपेशीय नसानाडीको गतिविधिवीचको सम्बन्ध फरकफरक हुन्छ र कतापट्टि झुकाव छ भन्ने कुरामा मात्राको अन्तर हुन्छ।

कुनै पनि मानवीय कार्यमा बौद्धिक सहभागिता सदैव हुने गर्छ । होमो फॅबरलाई होमो सेपिएन्सबाट अलग गर्न सकिँदैन । हरेक व्यक्ति, अन्ततः उसको पेसागत गतिविधि वाहिर कुनै न कुनै किसिमको बौद्धिक गतिविधिमा संलग्न हुन्छ त्यसैले ऊ दार्शनिक, कलाकार, रुचिवान् व्यक्तिका रूपमा संसारबारे कुनै न कुनै खास खालको धारणा बोकेर बस्छ, ऊसँग नैतिक व्यवहारवारे सचेत विचार हुन्छ । त्यसैले संसारलाई बुझ्न वा यसमा परिवर्तन गर्न अर्थात् नयाँ विचार ल्याउन उसको भूमिका रहन्छ ।

भौतिक र सामाजिक संसारको नियमित परिवर्तन गर्न र संसारको नयाँ बुझाइ विकसित गर्नका लागि बुद्धिजीवीको नयाँ तह निर्माण गर्दा आइपर्ने समस्या बौद्धिक गतिविधिको आलोचनात्मक विकासलाई हेर्दा स्पष्ट हुन्छ । वुद्धिजीवीको नयाँ तह निर्माण गर्दा मानिसहरूको विकास गर्नु, मांशपेशी र नसानाडीको नयाँ सन्तुलन खोज्नु, त्यसलाई सुनिश्चित गर्नु, त्यसका लागि व्यावहारिक गतिविधि सञ्चालन गर्नुलाई मुख्य आधार बनाइन्छ। साहित्यकार, कलाकार, दार्शनिकवाट सामान्यतः बुद्धिजीवी भनेर बुझिने परम्परागत बुद्धिजीवीको निर्माण भएको हुन्छ । त्यसैले पत्रकारहरूले पनि बेलाबखत आफूहरू साहित्यकार, दार्शनिक, कलाकार भएको र खासमा असली बुद्धिजीवी भएको दावी गर्छन् । आधुनिक संसारमा प्राविधिक शिक्षा ( जुन औद्योगिक श्रमको प्रारम्भिक र अकुशल रूप हो) ले पनि नयाँ वुद्धिजीवीको आधार सिर्जना गरेको थियो ।

यसैलाई लिएर ओर्डिने ओवो नामको साप्ताहिक पत्रिकाले नयाँ खालको बौद्धिकताको निर्माण गर्ने र त्यसको नयाँ अवधारणा बनाउने कोसिस यस्ता खालका अवधारणाहरूमा जीवनका आकाङ्क्षाका वास्तविक रूपहरू लुकेका हुन्छन् । नयाँ खालको बुद्धिजीवी हुनका लागि खालि वाक्कला जानेर हँदैन, यो खालि बाहिरी आवरण हो जसले भावना तथाआवेगलाई क्षणिक रूपमा हल्लाउन सक्छन् । नयाँ बुद्धिजीवीले खासमा स्थायी कार्यकर्ता बन्नुपर्छ, खालि सामान्य भाषणवाज भएर हुँदैन । साथै उसले गणितीय हिसाबले पनि श्रेष्ठ बन्दै, पहिले प्रविधि कामको अनि विज्ञानको अनि त्यसपछि इतिहासको मानवीय बुझाइसम्म पुग्नुपर्छ, नत्र उसको विशिष्ट भूमिका त हुन्छ तर समाजलाई दिशा दिने अर्थात् विशेषज्ञ तथा राजनीतिको भूमिका हुदैन । त्यसैले ऐतिहासिक रूपमा बुद्धिजीवीका गतिविधिलाई वर्गीकृत गर्न सकिन्छ ।

बुद्धिजीवीहरू सामाजिक समूहहरूसँग गासिएका हुन्छन् । तर अझ । समाजको प्रभुत्वशाली समूहसँग उनीहरूको विस्तारित र जटिल किसिमको सम्बन्ध हुन्छ । कुनै पनि नयाँ समूह प्रभुत्वशाली बन्दै गइरहेको बेला परम्परागत बुद्धिजीवीहरूलाई विचारधारात्मक रूपमा आफूमा विलीन गराउनु र विजय पाउनु सङ्घर्षको चरित्र हो । तर यसरी अघि बढिरहेको समूहले एकैसाथ आफ्ना अङ्गसंहित अर्गानिक बुद्धिजीवीको पनि विकास गर्न सक्यो भने यो विलयन र विजय तीव्र र प्रभावकारी हुन्छ,मध्ययुग पछिको संसारमा शैक्षिक गतिविधि र संस्थाहरूको बृहत् विकास हुनु नै बौद्धिक गतिविधि र समूहहरूले पाएको महत्त्वका परिसूचकहरू हुन्। हरेक व्यक्तिको बौद्धिकताको विस्तार तथा गहिराइका लागि गरिएका प्रयासहरूसँगै विशिष्टीकरणलाई सूक्ष्म तथा बहुल बनाउँदै लगियो । यो सबै तहका शिक्षमा लागू भयो । तथाकथित उच्च संस्कृतिलाई बढावा दिनका लागि विज्ञान र प्रविधिको क्षेत्रमा पनि यो प्रवृत्ति हावी भयो ।

शिक्षालय एउटा माध्यम हो जहाँबाट विभिन्न स्तरका बुद्धिजीवीहरूको विकास गरिन्छ । विभिन्न राज्यमा हुने बौद्धिक गतिविधिलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्न त्यहाँका विशिष्टीकरण गराउने शिक्षालयहरूको सङ्ख्या स्तरको अध्ययन गर्न सकिन्छ : जति धेरै विषयगत क्षेत्रमा फैलिएको शिक्षा छ र तलदेखि माथिसम्ममा जति शैक्षिक तहहरू छन् तिनीहरूले सांस्कृतिक जटिलता, सभ्यताको तह र त्यस राज्यको विकासलाई जनाउँछन्। औद्योगिक प्रविधिको क्षेत्रहरू राज्यहरूको तुलना गर्ने मापदण्ड हुन् : कुनै राज्यको औद्योगिकीकण कसरी मूल्याङ्कन गर्न सकिन्छ भने यसले यन्त्र उत्पादन गर्ने यन्त्रहरू नै बनाउन कति सक्षम छ, अनि यी दुवै यन्त्र बनाउँदा कति सही तरिकाले बनाउँछन् । वैज्ञानिक प्रयोगशाला निर्माण गर्ने, उपकरण निर्माण र विकास गर्ने, तिनीहरूको परीक्षण र प्रयोगमा ध्यान दिने र क्षमता विकास गर्ने देशलाई औद्योगिक प्राविधिक हिसाबमा सबल र उच्चतम सभ्यतास्तर भएको देश मान्न सकिन्छ ।

बुद्धिजीवीको तयारी उदाहरणअनुसार हेर्न सकिन्छ । उच्च संस्कृति भएका मुलुकमा विद्यालय र शैक्षिक संस्था (प्राविधिक) लाई समावेश गर्न सकिन्छ । तर पनि मात्रालाई
गुणबाट अलग गरी हेर्न सकिँदैन । तर यिनीहरू समाजको सम्पूर्ण रङबाट प्रभावि उत्पादनका क्षेत्रको जति सोझो सम्बन्ध अरू आधारभूत समूहसँग हुन्छ जटिल समाजिक अधिरचनाको क्षेत्रमा गरिने गतिविधिका प्रमुख कर्ता हुन् ।
हुन्छन् र विभिन्न स्तरमा रहेका बुद्धिजीवीको अर्गानिक योग्यता मापन गर्न सम्भव हुनुपर्दछ ।

यसका लागि आधारभूत समूहसँग उनीहरूको सम्बन्धको कुन तहमा छ, उनीहरूले अधिरचनामा कस्तो भूमिका खेल्छन् त्यो कुरा हेर्नुपर्दछ तथा अधिरचनालाई आधारदेखि हेर्न सकिने गरी पुछारदेखि टुप्पासम्म (बटम टु टप) तह छुट्याउनुपर्दछ । यहाँ हामी अधिरचनाको दुई तह छुट्याउन सक्छौँ : एउटालाई हामी नागरिक समाज भन्न सक्छौं जुन निजी भनेर भनिने संयन्त्रहरूबाट बनेको समुच्चय हो भने अर्को हो राजनीतिक समाज वा राज्य । यी दुई तहले एकअर्कासँग सम्वन्धित भई काम गर्दछन् त्यो काम हो एकातर्फ प्रभुत्वशाली समूहको नायकत्व वा हेजेमोनी लाई समाजभर अभ्यास गर्नु र अर्कातर्फ प्रत्यक्ष हैकम वा राज्य वा न्यायिक सरकारको आदेश मान्न लगाउनु । यी कार्यहरू संयोजनकारी र साङ्गठनिक हुन्छन्।

वर्चस्वशाली समूहका प्रतिनिधिका रूपमा बुद्धिजीवीहरूले सामाजिक नायकत्व गर्ने र राजनीतिक सरकारका तल्लो तहका गतिविधिहरू सञ्चालन गर्ने गर्दछन् । ती गतिविधिहरू हुन् :

१. प्रभुत्वशाली आधारभूत समूहले सामाजिक जीवनमा लादेको मार्गलाई ठूलो जन सङ्ख्याले स्वतःस्फूर्त रूपमा स्वीकृति दिएको हुन्छ। यो सहमति ऐतिहासिक रूपमा बन्दछ र यसको फलस्वरूप प्राप्त प्रतिष्ठा र त्यसले दिने आत्मविश्वासका कारणले गर्दा वर्चस्वशाली समूहले उत्पादन क्षेत्रमा आफ्नो स्थान तथा भूमिका पाएको हुन्छ
२. राज्य भनेको दमनकारी सत्ताको उपकरण हो । जुन समूहल आफूलाई सक्रिय वा निष्क्रिय भई स्वीकृति दिँदैन त्यस्ता समूहलाई राज्यले कानुनी रूपमा अनुशासन लगाउँछ । स्वतःस्फूर्त स्वीकृति विफल हुने क्षणमा आदेश र निर्देशनको सङ्कट आउन सक्ने अनुमान गरी यस्ता दमनकारी उपकरण बनेका हुन्छन् ।

यसरी यो समस्यालाई हेर्दा बुद्धिजीवी भन्ने अवधारणाको निकै बृहत् यसको जातिगत पूर्वअवधारणाहरूसँग अन्तर्विरोध हुन्छ ।प्रजातान्त्रिक कर्मचारी व्यवस्थाले ठूलो सङ्ख्यामा यस्ता गतिविधिहरू सिर्जना आधुनिक संसारमा बुद्धिजीवी भन्ने समूहको अभूतपूर्व विस्तार भएको गरेको छ जुन उत्पादनको सामाजिक अनिवार्यताका हिसाबले आवश्यक छैन । तर मख्य वर्चस्वशाली समूहहरूले भने त्यसलाई राजनीतिक आवश्यकता ठान्दछन्। लौरियाले यसलाई अनुत्पादक मजदुर भनी व्याख्या गरे- तर प्रश्न के उठ्छ भने कुन किसिमको उत्पादन पद्धति र कसका लागि अनुत्पादक ? यो विचार आंशिक रूपमा उचितै छ किनभने यस समूहले राज्यको आयको ठूलो हिस्सा पदीय जिम्मेवारी लिएका कारणले उपभोग गर्न पाउँछन् ।

वर्तमान समयमा बद्धिजीवीहरूको मापदण्ड व्यक्तिगत योग्यता तथा मनोवैज्ञानिक आधारमा निर्धारित गरिएको छ । अरू जनसमूह निर्माणका मापदण्ड पनि छन् जस्तै प्रतिस्पर्धाका । यसले पेसा, बेरोजगारी, विद्यालयमा अति उत्पादन र बसाइँसराइ जस्ता कुराको व्यवस्थापनका लागि सङ्गठन निर्माण गर्दछ ।

सहरिया र ग्रामीण बुद्धिजीवीहरूमा फरक

सहरिया बुद्धिजीवीहरू उद्योग र त्यसको सम्पत्तिसँग हुर्किएका हुन्छन् । उनीहरूको तुलना तल्लो दर्जाका सैन्य अधिकारीसँग गर्न सकिन्छ अर्थात् निर्माण योजनाका लागि उनीहरूसँग स्वायत्त स्वविवेकी अधिकार हुदैन । उनीहरूको काम हो, पहिलो उद्यमी र कार्यशील समुदायबीचको सम्बन्ध प्रस्ट्याउने तथा दोस्रो, कामका प्रारम्भिक चरण नियन्त्रण गर्ने उद्यम कर्मचारीले बनाएको उत्पादन योजनालाई तत्काल कार्यान्वयन गराउन तयारी गराउने । समग्रमा सहरी बुद्धिजीवीहरू स्तरीकृत हुन्छन् र उच्च तहका सहरी बुद्धिजीवीहरू औद्योगिक क्षेत्रका कर्मचारी जस्तै हुन्छन् ।

ग्रामीण बुद्धिजीवीहरू प्रायशः परम्परागत हुन्छन् अर्थात् यिनीहरू ग्रामीण समाजिक जनसमुदायसँग सम्बन्धित हुन्छन् तथा ससाना सहरमा बस्न र पुजीवादी व्यवस्थाको रफ्तारले विकसित गरिनसकेका निम्न बुर्जुवाहरूसँग सम्बन्धित हुन्छन् । यस्ता बुद्धिजीवीले किसान जनसमुदायलाई स्थानीय र राज्यका प्रशासन- वकिल, लेखनदासका सम्पर्कमा ल्याउँछन् । यही कारणले उनीहरूको राजनीतिक सामाजिक भूमिका हुन्छ किनभने पेसागत मध्यस्थता राजनीतिबाट अलग हुँदैन । त्यसबाहेक ग्रामीण क्षेत्रका बुद्धिजीवीहरू (पुरोहित, वकिल, लेखनदास, शिक्षक, डाक्टर आदि) को औसत जीवनस्तर अरू किसानको भन्दा उच्च वा कम्तीमा पनि उनीहरूको भन्दा अलि फरक हुन्छ ।

परिणाम स्वरूप किसानहरूले आफ्नो जीवन अवस्थाबाट निस्कन वा सुधार गर्न उनीहरूलाई आफ्नो सामाजिक मोडेलको रूपमा आकाङ्क्षासहित हेर्न थाल्दछन् ।किसानले सधैँ सोच्छ कि कम्तीमा एउटा छोरो बुद्धिजीवी बनोस् (अझ मुख्यतः पुरोहित बनोस्), त्यसपछि आफू भद्र प्रतिष्ठित व्यक्ति बनी समाजमा परिवारको सम्मान माथि उठने अनि अरू कुलीन घरानाकासँगको सम्बन्धले आफ्नो आर्थिक जीवन सुधारिने कुरा हुन सक्छ ।

किसानको बुद्धिजीवीप्रतिको यस्तो मूल्याङ्कन दोहोरो र विरोधाभासी देखिन्छ। उसले बुद्धिजीवीको र सामान्यतः प्रशासकको समाजिक पदलाई सम्मान तथा भर्त्सना दुवै गर्छ । त्यो सम्मानमा सहज स्वाभाविक ईर्ष्या र आवेगात्मक रिस मिसिएको हुन्छ। ठोस रूपमा विचार नगरी, अध्ययन नगरी, बुद्धिजीवीको प्रभावपूर्ण मातहतमा रहेका किसानको गहिराइमा अध्ययन नगर्ने हो भने किसानको सामूहिक जीवन र उनीहरूको विकासमा उत्पन्न भएका कीटाणु सडाइबारे थाहा हुदैन । किसान जनसमूहको कुनै पनि सर्वाङ्गीण विकासमा एक तहसम्म बुद्धिजीवीहरूको गतिविधिले ठूलो भूमिका खेलेको हुन्छ ।

सहरी बुद्धिजीवीको परिस्थिति अर्कै हो । कारखानाका प्राविधिकहरूले मजदुर जनसमुदायमाथि राजनीतिक गतिविधि गर्दैनन् (वा यो चरण कम्तीमा पनि अर्को चरणभित्र दबेको छ) । कुनै बेला त उल्टो हुन्छ, मजदुर जनसमुदायले आफ्नो अर्गानिक बुद्धिजीवीमाथि र प्राविधिकमाथि राजनीतिक प्रभाव पार्दछ ।

यस सन्दर्भमा मुख्य कुरा के हो भने हरेक आधारभूत सामाजिक समूहमा हुने अर्गानिक बुद्धिजीवी र परम्परागत बुद्धिजीवीबीचको भेद । ऐतिहासिक अध्ययन गर्नका लागि यही बिन्दुबाट सम्पूर्ण समस्या र प्रश्नहरू निस्कन्छन्।
सबभन्दा रोचक समस्या हो यस किसिमको दृष्टिकोणबाट अध्ययन गर्दा बुद्धिजीवीको कुरा आधुनिक राजनीतिक दलसँग र तिनीहरूको उत्पत्ति, विकास, तथा स्वरूप कस्तो बन्छ भन्ने कुरासँग जोडिन्छ।

बुद्धिजीवीसम्बन्धी समस्या र राजनीतिक दलको सम्बन्ध के छ ? पहिले केही फरक छुट्याओं-
१. कतिपय समाजिक समूहका लागि दल भनेकै आफ्ना अगानिक बुद्धिजीवी समूहलाई सीधै राजनीतिक, दार्शनिक र उत्पादनक्षेत्रमा विकसित गराउने विशेष तरिका हो । सामाजिक समूहको जुन अवस्था र चरित्र छ, निर्माण र जीवन तथा विकास छ, त्यही आधारमा यी बुद्धिजीवीहरू आफ्नै तरिकाले बनेका हुन्छन् र उनीहरू अर्को तरिकाले बन्ने कुरै हुँदैन ।
२. सबै समूहका लागि राजनीतिक दल भनेका यस्ता संयन्त्र हुन्। जसले राज्यका बृहत्तर र संश्लेषित राजनीतिक समाजका गतिविधिलाई नागरिक समाजमा सञ्चालन गर्दछन । अर्को शब्दमा दलहरूले निश्चित समूह अर्थात् प्रभुत्वशाली समूहका अगानिक बुद्धिजीवीलाई परम्परागत बुद्धिजीवीसंग जोड्ने काम गर्दछन् । राजनीतिक दलहरूले यो भूमिका आफ्नो आधारभूत गतिविधिको सीमाभित्र बसेर गर्दछन् र त्यस्तो गतिविधि भनेको आफ्ना सङ्घटक अङ्गहरूको विकास गर्नु हो अर्थात् यो कार्य भनेको योग्य राजनीतिक, बुद्धिजीवी, नेतृत्वकर्ता, सङ्गठकका रूपमा दलहरूले राजनीतिक तथा नागरिक समाजको आर्गानिक विकासका लागि गर्ने गतिविधि र कार्यहरू हुन् र सङ्गठन गरिने घटकहरू आर्थिक समूहका रूपमा उत्पन्न भई विकसित भइरहेका समाजिक समूहका तत्त्वहरू हुन् ।

राज्यले त्यही राज्यको फराकिलो परिवेशमा यी गतिविधि गर्दछ भने राजनीतिक दलले यस काममा आफ्नो भूमिका पूर्ण तथा अङ्गसंहित अर्गानिक रूपमा गर्न सक्छ । कुनै सामाजिक समूह राजनीतिक दलमा सामेल हुनासाथ त्यो बुद्धिजीवी समूहको अर्गानिक बुद्धिजीवी बन्दछ र त्यही समूहसँग नजिकको सम्बन्ध राख्दछ । यस्तो कुरा राज्यको जीवनसँग गाँसिएको बुद्धिजीवीहरूवाट सीमित रूपमा हुन सक्छ वा हुँदै हुँदैन । यस्तो अवस्थामा बुद्धिजीवीले आफूलाई नै राज्य सम्झने भ्रम हुन सक्छ । यो विश्वासमा सामुहिक विशालता हुन्छ, यसले महत्त्वपूर्ण परिणामहरू ल्याउँछ । तर वास्तविक राज्य अर्थात् आधारभूत आर्थिक समूहका लागि यस्तो कुराले नराम्रा अनुभव र जटिलता ल्याउँछ ।

सामान्यतः हेर्दा राजनीतिक दलका सम्पूर्ण सदस्यहरू बुद्धिजीवी नै हुन्छन् भन्नु आफैँमा एउटा हास्यास्पद कुरा हो । तर चिन्तन गर्ने हो भने योभन्दा सटीक कुरा अर्को छैन । उनीहरूको तह छुट्याउनुपर्छ त्यो भिन्नै कुरा हो । । कुनै दलसँग धेरै वा थोरै सङ्ख्यामा उच्चस्तरका वा निम्नस्तरका बुद्धिजीवी हुन सक्छन् तर यो महत्त्वपूर्ण कुरा होइन । मुख्य कुरा भूमिकाको हो, जुन निर्देशनात्मक र सङ्गठनात्मक हुन्छ तथा जुन शैक्षिक र बौद्धिक कुरा हो । व्यापारीले व्यापारको लागि, उद्यमीले कम खर्चमा उत्पादनका लागि र किसानले खेतीका नयाँ तरिका सिक्नका लागि दलसँग आबद्ध भएको हुँदैन यद्यपि उनीहरूले आआफ्ना कुरामा दलभित्र पनि केही सन्तुष्टि पाउन सक्छन् ।

यी उद्देश्यहरूका लागि निश्चित सीमासम्म पेसागत संलग्नता जरुरी हुन्छ जसले गर्दा व्यापारी उद्योगपति र किसानका आर्थिक, साङ्गठनिक गतिविधिहरू अघि बढ्छन् । राजनीतिक दलमा आर्थिक सामाजिक समूह आफ्नो ऐतिहासिक विकासको क्षणबाट अघि बढ्छ र उनीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चरित्रको गतिविधिका कर्ताहरू बन्दछन् । राजनीतिक दलको यो भूमिका अझ प्रस्ट हेर्नका लागि ठोस ऐतिहासिक विश्लेषणमा अर्गानिक र परम्परागत दुवै समूहका बुद्धिजीवीहरूको विकास विभिन्न प्रकारका राष्ट्रिय इतिहासहरूमा कसरी भयो र ती मुलुकमा विभिन्न समूहहरूको विकास कसरी मया, ती समूहले आर्थिक गतिविधिमा कसरी मुख्य भूमिका खेल्छन् भन्ने अध्ययन गर्नुपर्दछ ।
(अनु.: पुष्पराज आचार्य )


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।