
काठमाडौ /दुई करोड मागेको अडियो बाहिरिएपछि निलम्बनमा परेका सांसद ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले उनलाई कारबाही गर्दै निर्वाचन आयोगमा पेस गरिएको समानुपातिक बन्दसूचीको क्रमअनुसार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गर्दै श्रेष्ठ लाई हटाउने निर्णय गरेको गरेको हो ।
अनुशासन तथा आचरण समितिको छानबिन प्रतिवेदन र केन्द्रीय समितिको बैठकमा श्रेष्ठले दिएको स्पष्टीकरणका आधारमा कारबाही गर्नुपर्ने प्रशस्त प्रमाण भेटिएपछि पार्टी विधानको धारा ५६ उपधारा ४ बमोजिम यस्तो निर्णय गरिएको रास्वपाका सभापति रवि लामिछानेले बताए ।
२६ चैतमा सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न दुई करोड रकम माग गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले तत्काल छानबिन गरी प्रतिवेदन पेस गर्न पार्टीको अनुशासन समितिलाई तीन दिनको समय दिएको थियो । समितिले श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।