१३ बैशाख २०८१, बिहीबार

कुमारी आमा र सपनाहरु : केवल विनवि

0

जातीय पिरामिडको पिंधमा
पुर्खादेखि पिल्सिएकी
छुतहरुकी अछुत
अछुतहरुकी अछुत
म हुँ डिक्रा बदिनि ।
साहेब !
घुँगुरामा अल्किएको हुनुपर्छ सायद
जस्केलोमा भेटिएको हुनुपर्छ सायद
फर्काउन आएकी छु तिम्रो

मेरो यौवनमा रङ्गिएको इँजार
के फर्काउन सक्छौ र तिमी
मेरो वर्षौं लुटिएको स्वाभिमान ?
तिम्रो बस्तीले
छोरीहरु अन्माउँदै गर्दा
मेरो बस्तीले
जन्माइरहेको
हुन्छ
मजसै कुमारी आमाहरु
कोरलिरहेको हुन्छ
कुमारी आमाका सपनाहरु
र हुर्काईरहेको हुन्छ
आँचलमा अबोध शिशुहरू ।

साहेब !
के फुलाउन सक्छौ र तिमी
ती शिशुका सपनाका सुनगाभाहरु ?
अझै पनि सुरक्षित होलान्
मेरा लाम्टाहरूमा
सल्बलाएका तिम्रा हस्तरेखा
र रुँदै होलान्
डिम्बका डिलमा उभिएर
पिल्स पिएर मात्तिएका
बैंसालु तिम्रा शुक्रकीटहरू
साहेब !
मादलुको घिन्ताङ्‌सँगै
सुस्ताएका मेरा पैतालाहरु
यौनको घामसँगै
अस्ताएका मेरा सपनाहरु
अझै दूर क्षितिजमा
पर्सिरहेकाछन् नयाँ बिहानी
साहेब !
के रङ्गाउन सक्छौ र तिमी
नभरिँदै पुछिएको मेरो सिउँदो ?
के फर्काउन सक्छौ र तिमी
वर्षौं लुटिएको मेरो स्वाभिमान ?

(यादहरुको स‌ङ्ग्रहालय )


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।