१२ पुष २०८१, शुक्रबार

च्याङ चिङको जीवनी

0

च्याङ चिङको जन्म सन् १९१० मा चीनको सानतुङ प्रान्तमा भएको थियो । उनको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो । उनका बाबु माटाका भाँडाहरु बनाउने काम गर्थे । उनका बाबु निकै रिसाहा स्वभावका थिए । पैसा कमाउन नसक्दा उनलाई निकै रिस उठ्ने गथ्र्यो । परिवारका सदस्यलाई कुटेर रिस शान्त बनाउँथे । च्याङको परिवारले निकै दिन भोकभाकै पनि बस्नुपरेको थियो ।

त्यति धेरै कमजोर आर्थिक अवस्था हुँदाहुँदै पनि उनलाई स्कुल जाने अबसर मिलेको थियो । यसबाट उनी निकै खुसी देखिन्थिन् । त्यतिखेर स्कुलमा कन्फ्युसियसको नैतिकताको पाठ एकोहोरो रुपमा पढाइन्थ्यो उनले आँखैअगाडि श्रमिकहरुलाई धनी र ठूला भनाउँदाहरुले बेस्कन पिटेको देखेकी थिइन् । त्यसो त उनी पनि त्यही वर्गकी थिइन् । त्यसकारणले पनि स्कुलमा घोकाइने कन्फ्युसियसको नैतिकता उनलाई मन पर्दैनथ्यो । मन लाग्दा नलाग्दै पनि उनले प्राथमिक तहसम्मको शिक्षा पूरा गरेरै छाडिन् । जब उनी १५ वर्षकी भइन्, एकाएक उनको रुचि नाटकतिर गयो । त्यसैले उनी नाट्यशालामा भर्ना भइन् । उनी नाट्य समूहबाटै गाउँगाउँ पुगी सडकनाटक देखाउने काम गर्न थालिन् ।

सन् १९३१ मा च्याङ वामपन्थी नाटककारहरुको समूहमा आवद्ध भइन् । त्यतिखेर केही समय उनले विश्वविद्यालयको पुस्तकालयमा काम गर्ने मौका पाइन् । त्यस समयमा चीनमा जापान, जर्मनीजस्ता देशले कब्जा जमाइरहेका थिए । बिदेशी हस्तक्षेपका कारण चीनमा धेरै नकारात्मक समस्याहरु देखिएका थिए । च्याङ बाह्य हस्तक्षेपका कारण देखिएका समस्याहरुको खुलेरै विरोध गर्थिन् । विरोधका लागि उनले केही साथीहरुसँग मिलेर ‘समुद्री किनारी नाट्यसमूह’ खोलिन् । चेतनामूलक नाटक देखाउन उनी गाउँगाउँसम्म पुग्न थालिन् । उनले देखाउने नाटकमा सजिलो र सबैले बुझ्ने गरी बिदेशी हस्तक्षेपको बिरोध गरिएको हुन्थ्यो । उनले उक्त नाट्यसमूहमार्फत धेरै नाटकहरु देखाइन्, समसामयिक र जल्दाबल्दा विषयहरु उठाइन्, जसले गर्दा त्यो नाट्यसमूह छोटो समयमै निकै चर्चित भयो ।

सन् १९३३ तिर उनी चीनकै साङघाइ महानगरमा काम गर्न थालिन् । त्यहाँ पनि उनले नाटकसँग सम्बन्धित कामहरु गरिन् । त्यो शहरमा पनि उनले बिदेशीको ठाडो हस्तक्षेपको बिरोध गरिएका नाटकमा अभिनय गरिन् । यसरी उनी वामपन्थीहरुको बिचारसँगसँगै हिँडिरहेकी थिइन् । महिलाहरुमा सचेतना भर्न पनि उनको महत्वपूर्ण भूमिका रहन्थ्यो । महिलाहरुका लागि खुलेको रात्री पाठशालमा उनले केही समय पढाउने पनि काम गरिन् । एकदिन त्यहाँ रहेका कलकारखानामा काम गर्ने मजदुरहरुसँग कुराकानी गर्दै थिइन् । मजदुरका पक्षमा बोल्ने उनी त्यहीँबाटै पक्राउ परिन् । जेलमुक्त भएपछि उनले लु सुन प्रतिष्ठानले सञ्चालन गरेको साहित्य र कलामा पनि आबद्ध भइन् । त्यहाँ काम गर्दागर्दै चीनका प्रसिद्ध कम्युनिस्ट नेता माओसँग उनको भेट भयो ।

माओले सोही प्रतिष्ठानमा कम्युनिस्ट पार्टीको अवधारणा राख्थे । च्याङ त्यसलाई बडो चाखका साथ सुन्ने गर्थिन् । माओसँगको सम्पर्कबाटै देशको राजनीतिक अवस्थाबारे उनले धेरै कुरा थाहा पाइन् । कला र साहित्यमार्फत् माटो र जनतालाई सचेत बनाउँदै हिँड्ने उनमा राजनीतितिर चासो बढ्न थाल्यो । त्यसकै सिलसिलामा उनले ६ महिने सैनिक तालिम पनि लिइन्, साथै लेनिनवादका बारेका गम्भीर अध्ययन पनि गरिन् । उनी माओको मन पर्ने बिद्यार्थी थिइन् । त्यसैले उनीहरु बीचको मित्रता अत्यन्तै गहिरो हुन पुग्यो ।

माओ र चियाङ चिङ एकसाथ

एउटै बिचार र उद्देश्य बोकेर हिँड्ने माओ र च्याङबीच सन् १९३९ मा विवाह सम्पन्न भयो । विवाहपछि च्याङले माओलाई सहयोग गर्न थालिन् । उनी माओकी निजी सचिव भएर काम गर्न थालिन् । कला, साहित्य र राजनीतिलाई पनि बुझेकी उनले यी तीनवटै क्षेत्रमा निरन्तरता दिइन् । उनले जापानीहरुको सीमा अतिक्रमणको विषयलाई लिएर नाटकमा सबैभन्दा सशक्त रुपमा उठाएकी थिइन् । त्यसका अग्रगामीहरुले उनको कामलाई निकै प्रशंसा गरे ।

चीनको येनान भन्ने ठाउँ कम्युनिस्ट पार्टीको केन्द्रका रुपमा परिचित थियो । अधिकांश कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता त्यहीँ बसेर काम गर्थे । त्यो थाहा पाएर तत्कालीन प्रतिगमनकारी राजनेताहरुले येनानमा रहेका कम्युनिस्टहरुलाई सिध्याउने योजना बनाए । नभन्दै सन् १९४७ को मार्च महिनामा येनानमा सरकारी सेनाले आक्रमण गर्यो । नेता माओ र उनका सहयात्रीहरु येनान छाडेर अन्यत्रै जान बाध्य भए । येनान छाडेर पनि माओले चिनिया कम्युनिस्ट पार्टीलाई बलियो बनाउन धेरै जनसमूहहरुलाई भेला गराउँथे ।

चीनमा सन् १९४९ अक्टोबरमा माओको नेतृत्वमा चिनीया कम्युनिस्ट पार्टीले कोमिन्टाङ पार्टीका नेता च्याङ काइ सेकको नेतृत्वमा रहेको प्रतिकृयावादी सत्तालाई सशस्त्र युद्धद्वारा परास्त गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्यो । क्रान्ति सम्पन्न भएको दुई दशक नबित्दै माओले साँस्कृतिक क्रान्तिको आवश्यकता महसुस गरी योजना बनाउने काम गरे । त्यस क्रान्तिमा मुख्य भूमिका नेतृ च्याङले खेलिन् । सन् १९६६ देखि ‘हेड क्वार्टरमा बमवर्षा गर’ भन्ने मूल नाराका साथ साँस्कृतिक क्रान्तिको थालनी भयो । त्यो नाराले चिनिया कम्युनिस्ट पार्टी भित्रका पुँजीवादीहरुको मन हल्लाइदियो ।

आफ्नो ज्यान समेतलाई जोखिममा राखेर च्याङले साँस्कृतिक क्रान्तिलाई अघि बढाइन् । उनी जनवादी संस्कृतिका पक्षपाती थिइन् । जनवादी संस्कृति निर्माणमा आम युवाहरुलाई लाग्न उनले ठाउँठाउँमा आयोजना गरिएका आमसभाहरुमा भाषण दिइन् र युवाशक्तिलाई हौसला दिइ नै रहिन् । एकअर्कालाई हरहिसाबले सहयोग गर्ने च्याङ र माओले एकपछि अर्को सफलता पाउँदै गए ।

सन् १९७६ मा माओको निधन भयो । माओको निधनपछि च्याङका बिरोधीहरुले उनीमाथि धेरै आरोपहरु लगाए । उनीहरुले ‘माओबिरोधी आइमाई’ भनेर च्याङको कुरा काट्न थाले । उनले त्यसको प्रतिवाद गरिन् । त्यही क्रममा उनी फेरि पक्राउ परिन् । च्याङलाई अनेक प्रकारका आरोपहरु लगाइए । एक हिसाबले माओको निधनपछि उनी बेसाहाराजस्तै भइन् । उनलाई मानसिक यातना दिन पटकपटक अदालत लाने काम भयो । तर, सानैदेखि सङ्घर्ष गर्दै आएकी उनले त्यस्ता आरोपहरुलाई ठाडै अस्वीकार गरिन् । उनले संशोधनवादीहरुको विरोधमा जेलबाटै धावा बोलिन् ।

उनको आवाजबाट डराउने संशोधनवादीहरुले उनलाई जेलमै राखिराखे । निर्दोष च्याङ जेल परेको कुरा विश्वभरि नै फैलियो । संसारभरिका श्रमिकवर्ग र समाजवादी आन्दोलनका अगुवाहरुले उनको शिघ्र रिहाइको माग गरे । संशोधनवादीहरुको अन्यायबिरुद्ध ठाउँठाउँमा विशाल जुलुसहरु निस्किए । तर पनि संशोधनवादीहरुले च्याङलाई जेलमुक्त गरेनन् ।

संशोधनवादीहरुको सरकारले च्याङलाई लामो समयसम्म जेलमा राखेर शारीरिक र मानसिक यातना दिई नै रह्यो । जेलमा कसैसँग पनि उनलाई भेट्न दिइएन । खाना र पानीसमेत खान नदिई उनलाई जेलमा राखिएको थियो । उनी एक्लै अन्तिम समयसम्म पनि त्यसको विपक्षमा बोलिरहिन् । उनले बिरोध गरेकाले जेलमै प्रहरीहरुले उनलाई कुट्नसम्म कुटे । पछि त उनलाई बोल्न पनि दिइएन । मुखमा पट्टी बाँधेर जेलको अँधेरो कोठामा उनलाई लडाइएको थियो । यसरी यातना दिएर च्याङलाई १५ वर्षसम्म जेलमा राखेपछि सन् १९९१ मा जेलभित्रै उनको हत्या भयो ।

एकजना महिलादेखि डराउने संशोधनवादीहरुले हत्या नभएर आत्महत्या भन्ने दुष्प्रचार गरे । तर, आत्महत्या भन्ने कुरालाई संसारले विश्वास गरेन । संसारले नै उनको हत्या भएको भन्दै आएको छ । हत्या हो कि आत्महत्या हो त्यसको पुष्टि अझै भएको छैन । जे भए पनि उनी संसारबाट बिदा भएर गइन् । तर, उनले चीनको ऐतिहासिक साँस्कृतिक र राजनीतिक आन्दोलमा पुर्याएको योगदानको जति कदर गरे पनि अपूर्ण नै हुनेछ ।

साभार : ‘संसार हल्लाउने संघर्षशील महिलाहरु’ पुस्तकबाट


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।