९ श्रावण २०८१, बिहीबार

के होभण्डारखाल पर्व ? यो कसरी भएको थियो?

0

 

कोतको पटाङ्गिनीमा घटेको नरसंहारको सम्पूर्ण विवरण राजा श्री ५ राजेन्द्रविक्रम शाहकहाँ मोटामोटी रूपमा रातमै पुगिसकेको थियो । आफ्ना आज्ञाकारी एवम् हितचिन्तक भाइभारदारसँगको अप्रत्याशित वियोगले गर्दा शोक तथा चिन्ताले यिनी रातभर छटपटाइरहेका थिए । यत्तिकैमा बिहानको उज्यालो भयो । यतिन्जेलसम्म महारानी राज्यलक्ष्मी पनि कोतको सिसमहलबाट राजभवन फर्किसकेकी थिइन् । तर अझै राजा श्री ५ राजेन्द्रविक्रम शाहसँग यिनको भेट हुन सकेको थिएन ।

यसैले हत्याकाण्डको वास्तविक कारण के हो र किन, कसरी यति धेरै भाइभारदार अकारण एकैसाथ मारिए ? राजा श्री ५ राजेन्द्रविक्रम शाहले ठीकठीक थाहा पाउन सकेका थिएनन् ।
बिहान उज्यालो भएको केही समयपछि जनरल जङ्गबहादुर कुँवर पनि मानौं युद्धका विजेता महान् सेनापतिका रूपमा राजाको दर्शन गर्न भनी रोबरबाफका साथ त्यहीँ उपस्थित हुन आइपुगे । महारानीका तर्फबाट यिनले कमान्डर इनचिफको पदभार अनौपचारिक रूपमै भए पनि कोतको पटाङ्गिनीमा रातमै प्राप्त गरेका थिए ।

यिनी यसरी सजधजका साथ अप्रत्याशित रूपमा आफ्नो सामुमा उपस्थित हुन आइपुग्दा राजा श्री ५ राजेन्द्रविक्रम शाह यिनीदेखि झसङ्ग हुनु स्वाभाविकै थियो । “यिनकै योजनाअनुसार कोतमा भाइभारदारहरूको अनपेक्षित जमघट गराइएको हो” भन्नेसम्म त राजा श्री ५ राजेन्द्रविक्रम शाहले रातैमा कोतको पटाङ्गिनीमै थाहा पाएका थिए ।
“हत्याकाण्डमा यिनको नै प्रमुख हात रहेको र यिनको रायसल्लाह एवम् सहयोगअनुसार महारानी राज्यलक्ष्मीदेवीका तर्फबाट हत्याकाण्ड मच्चाइएको हुनुपर्छ” भन्ने पनि यिनले अनुमान लगाएका थिए । यसैले कमान्डर इनचिफको पोसाकमा अप्रत्याशित रूपमा यिनलाई आफ्नो अगाडि उपस्थित हुन आइपुगेको पाउँदा क्रोधले उत्तेजित हुँदै राजा श्री ५ राजेन्द्रविक्रम शाहले जनरल जङ्गबहादुर कुँवरसँग कडाइका साथ प्रश्न गरे, “कसको हुकुमले यतिका भाइभारदारको यसरी एकै पटक संहार भएको हो ? यिनीहरूले के बिराएका थिए ?”

आफ्ना प्रतिस्पर्धी सम्पूर्ण सशक्त भाइभारदारको अवसान भइसकेको, महारानी राज्यलक्ष्मीको आफूप्रति पूर्ण समर्थन रहेको र पर्याप्त सैनिक आफ्नो तैनाथीमा रहेकाले जनरल जङ्गबहादुर कुँवर पनि यतिन्जेलसम्म राजा श्री ५ राजेन्द्रविक्रम शाहसँग पनि कुनै हालतमा नलत्रने मनस्थितिमा थिए । यसैले राजाको उपर्युक्त प्रश्नमा यिनले उपेक्षाभावले सहजै उत्तर दिए, “सरकारबाट जसलाई आफूमा रहेको सम्पूर्ण हालिमुहाली राज्याधिकार औपचारिक रूपमा सुम्पिबक्सेको छ, मौसुफ महारानीकै हुकुमअनुसार यी कामकारबाही भएका हुन्, यसमा मेरो कुनै पनि दोष छैन ।”
जनरल जङ्गबहादुर कुँवरको यस किसिमको कडिकडाउ एवम् निर्भीक उत्तर सुनेर राजा श्री ५ राजेन्द्रविक्रम शाह उच्च आवेशमा आए र त्यतिखेरै महारानी राज्यलक्ष्मीदेवीको खोपीतर्फ हान्निए । आफ्ना अत्यन्त प्रिय पात्र जनरल गगनसिंह भण्डारीको अकल्पित रूपमा भएको हत्याबाट उत्पन्न महारानीको क्रोध अझैसम्म पनि शान्त भएको थिएन । जनरल जङ्गबहादुर कुँवरका कुटीका चालहरूलाई यिनले अझैसम्म बुझ्न सकेकी थिइनन् ।

महारानी राज्यलक्ष्मीदेवीकहाँ पुगेर पनि राजा श्री ५ राजेन्द्रविक्रम शाहले उही प्रश्न दोहोऱ्याए । राजाको प्रश्न सुनेर उत्तेजित हुँदै भावावेशमा आएर महारानी राज्यलक्ष्मीदेवीले उत्तर दिइन्, “अहिलेसम्म त के नै पो भएको छ र ? नजर हुँदै गइबक्सेला, अझै केके पो हुनेछ !”

युवराज सुरेन्द्रविक्रम शाहलाई प्रदान गरिएको विशेषाधिकार फिर्ता नगराइएकोमा महारानी राज्यलक्ष्मीदेवी राजा श्री ५ राजेन्द्रविक्रम शाहदेखि क्षुब्ध थिइन् र ‘ददा’ गगनसिंह भण्डारीको हत्यामा राजा तथा यिनका पक्षधर भाइभारदारकै हात हुनुपर्छ भन्ने आशङ्का थियो ।

आफ्नी महारानीको यस किसिमको रूखो वचनले गर्दा राजा श्री ५ राजेन्द्रविक्रम शाह क्रोध तथा चिन्ताले गर्दा अझै व्याकुल भए । वास्तवमा यतिन्जेलसम्म राजारानी दुवैका निम्ति गम्भीर सङ्कटका काला बादल मडारिन थालेका थिए । दुवैलाई एकअर्काको हार्दिक सहयोगको नितान्त खाँचो थियो । तर महारानी राज्यलक्ष्मीदेवी भने निजी स्वार्थमा अन्धी थिइन् । आफ्नै महारानीको तिरस्कारपूर्ण वचनलाई राजा श्री ५ राजेन्द्रविक्रम शाहले सहन सकेनन् ।

अब परिवर्तित परिस्थितिमा राजा श्री ५ राजेन्द्रविक्रम शाहका अगाडि जनरल जङ्गबहादुर कुँवर तथा यिनका भाइहरूसँग कसरी मुकाबिला गर्ने ? भन्ने जटिल प्रश्न पनि सजिलै उपस्थित हुन आइपुगेको थियो र भविष्य अन्धकारमय देखिन थालेको थियो । रायसल्लाह गर्ने उपयुक्त व्यक्ति यति बेला कोही पनि थिएनन् । यसैले अन्य कुनै उपाय नदेखी ३४ वर्षका नवयुवक राजा श्री ५ राजेन्द्रविक्रम शाह “अब मैले यहाँ बसेर कुनै काम छैन । म काशीवास जान्छु” भनी अप्रत्याशित रूपमा उतिखेरै राजभवनबाट बाहिरिए । यसै क्रममा आफ्ना विश्वस्त सरदार भवानीसेसिंह खत्रीलाई समेत साथमा लिई यिनी तत्कालै पाटन बुङमतीतर्फ तर्किए ।
महारानी राज्यलक्ष्मीदेवी भने अझै जनरल जङ्गबहादुर कुँवरमाथि पूर्ण विश्वस्त थिइन् । “यिनैको सहयोगद्वारा युवराज सुरेन्द्रविक्रम शाह तथा यिनका भाइ राजकुमार उपेन्द्रविक्रम शाह (माहिला साहेबज्यू)लाई पनि आफ्नो उन्नतिको मार्गबाट पन्छाएर आफ्ना छोरा राजकुमार रणेन्द्रविक्रम शाह (साहिँला साहेबज्यू) लाई राजा श्री ५ राजेन्द्रविक्रम शाहको उत्तराधिकारी एवम् युवराजका रूपमा स्थापित गर्न सकिन्छ र मौका परेमा राजाको रूपमै पनि प्रस्तुत गर्न सकिन्छ” भन्ने मीठो सपनालाई यिनले अझै पनि देखेकी थिइन् ।

चतुर स्वभाव भएका जनरल जङ्गबहादुर कुँवर भने पहिलेदेखि नै भित्रभित्रै जेठी महारानी साम्राज्यलक्ष्मीतर्फका युवराज सुरेन्द्रविक्रम शाह तथा राजकुमार उपेन्द्रविक्रम शाहको पक्षमा थिए ।महारानी राज्यलक्ष्मीदेवीलाई आश्वस्त पार्न यिनले महारानीको आदेशानुसार देखावटी रूपमा युवराज सुरेन्द्रविक्रम शाह तथा यिनका भाइ उपेन्द्रविक्रम शाहलाई पनि राजभवनभित्र कडाइका साथ नजरबन्दमा राखेको अभिनय गर्दै आएका थिए । तर यथार्थमा भने यिनीहरूलाई महारानी राज्यलक्ष्मीविरूद्ध आडभरोसा दिँदै आएका थिए । यसबाट “महारानी राज्यलक्ष्मीदेवीको क्रूर वक्रदृष्टिबाट बच्ने एक मात्र उपाय जनरल जङ्गबहादुर कुँवरको आश्रयमा रहनु नै हो, यिनी नै आफ्ना सच्चा हितचिन्तक हुन् । यिनको आश्रयमा रहेबाट नै आफ्नो कल्याण हुनेछ” भन्ने पूर्ण विश्वास युवराज सुरेन्द्रविक्रम शाह तथा यिनका भाइ राजकुमार उपन्द्रेविक्रम शाहमा पनि परिसकेको थियो ।

हुन पनि युवराज सुरेन्द्रविक्रम शाहलाई आफ्नो अनुकूल बनाई यिनैलाई राजसिंहासनमा विराजमान गराएर आफू नेपाल अधिराज्यको निष्कण्टक अधिनायक बन्न सकिन्छ” भन्ने सपना यतिन्जेलसम्म जनरल जङ्गबहादुर कुँवरले देख्न थालेका थिए । यसैअनुसार भर्खरै मात्र यिनले कोतको पटाङ्गिनीमा यत्रो बीभत्स हत्याकाण्ड मच्चाएका थिए । तर महारानी राज्यलक्ष्मीदेवीले भने आफ्नो नारीसुलभ चपलता र स्वार्थले गर्दा यिनको यस किसिमको मनोभाव पहिचान गर्न सकेकी थिइनन् । युवराज सुरेन्द्रविक्रम शाह तथा यिनका भाइ राजकुमार उपेन्द्रविक्रम शाहलाई नजरबन्दमा राखिदिएबाट यिनी जनरल जङ्गबहादुर कुँवरदेखि प्रसन्न थिइन् ।

उता राजा श्री ५ राजेन्द्रविक्रम शाह भने आफ्नै रानी तथा युवराजबीच राजनीतिक खिचातानीमा च्यापिई पहिलेदेखि नै किंकर्तव्यविमूढ थिए । कुनै कुरामा पनि दृढनिश्चय गरी निर्णय गर्न नै यिनमा रहेको ठूलो मानसिक कमजोरी देखिन्छ । यिनको नसक्नु यसै कमजोरी तथा महारानी राज्यलक्ष्मीको अत्यधिक उच्छृङ्खलताले गर्दा अहिले कोतका पटाङ्गिनीमा यत्रो हत्याकाण्ड मच्चिएको थियो । अब यस हत्याकाण्डपछि त जनरल जङ्गबहादुर कुँवर पनि यिनका निम्ति ठूलो खतराका रूपमा उपस्थित हुन आइपुगेका थिए ।

यसैले “महारानी राज्यलक्ष्मीको अनियन्त्रित प्रशासनको अन्त्य गराई जनरल जङ्गबहादुर कुँवरलाई पनि आफ्नो नियन्त्रणमा राखेर अधिराज्यको शासनभार कसरी सफलतापूर्वक सञ्चालन गर्न सकिन्छ ?” भन्नेमा यतिखेर यिनको मनमा तीव्र अन्तर्द्वन्द्व चलेको थियो । आवेशमा आएर काशीवास जान भनी पाटन बुङ्मतीतर्फ लागेका यिनी त्यहाँ नपुगी टुँडिखेलमा बसेर सरदार भवानीसिंह खत्रीसँग सम्भवतः यसै विषयमा आवश्यक सरसल्लाह गरिरहेका थिए । जनरल जङ्गबहादुर कुँवरलाई भने यतिखेर एउटा उपयुक्त बहाना मात्र चाहिएको थियो । आफ्ना गुप्तचरबाट प्राप्त यो खबर यिनले बढाइचढाई गरी महारानी राज्यलक्ष्मीदेवीकहाँ पुऱ्याइदिए । यसले गर्दा महारानी राज्यलक्ष्मीदेवी रिसले आगो भइन् । हुन पनि यतिन्जेलसम्म यिनी राम्रैसँग पथभ्रष्ट भइसकेकी थिइन् । क्रोधले व्याकुल भएर यिनले “सरदार भवानीसिंह खत्रीको तत्कालै हत्या गरी त्यसको टाउको तुरून्तै मेरो सामुमा दाखिला गराउनू भनी निर्दयतापूर्वक हुकुम दिइन् ।

जनरल महारानीको हुकुम तथा जङ्गबहादुर कुँवरको निर्देशनअनुसार कलाधर नामक जनरल जङ्गबहादुर कुँवरका एक जना विश्वस्त सुवेदारले रातमा सुतिरहेका निरपराध सरदार भवानीसिंह खत्रीको अप्रत्याशित रूपमा हत्या गन्यो । शरीरबाट छुट्याई चुहुँदो रगत भएको यिनको टाउको भोलिपल्ट बिहान सबेरै राजभवनमा महारानी राज्यलक्ष्मीको हजुरमा दाखिला गरिदियो । आफ्नै आँखाअगाडिआफ्ना निरपराध भारदारको अमानुषिक हत्या हुँदा पनि राजा श्री ५ राजेन्द्रविक्रम शाहले प्रतिकार गर्न सकेनन्, टुलुटुलु हेर्न विवश भए ।

यस हृदयविदारक घटनाबाट राजा श्री ५ राजेन्द्रविक्रम शाह अझै आहत तथा विह्वल भए । अब के गर्ने ? यिनलाई कुनै उपाय सुझ्न सकिरहेको थिएन । यिनी बिलखबन्दमा परिरहेका थिए । यसै परिस्थितिमा आफ्ना भाइ कर्नेल रणोद्दीपसिंह कुँवरलाई लिन पठाई जनरल जङ्गबहादुर कुँवरले यिनलाई राजभवनमा फिराए (आश्विन २ गते बुधबार) ।
कोतको पटाङ्गिनीमा भएको नरसंहारको तेस्रो दिन महारानी राज्यलक्ष्मीबाटै जनरल जङ्गबहादुर कुँवरले कमान्डर इनचिफको पदभार औपचारिक रूपमै प्राप्त गरे । यिनलाई प्राइम मिनिस्टरको पदमा नियुक्त गरिएको औपचारिक घोषणा पनि यसै दिन गरियो । यसै दिन टुँडिखेलमा भएको सैनिक परेडमा यिनले प्राइम मिनिस्टर तथा कमान्डर इनचिफ पदको औपचारिक सम्मानसलामी पनि ग्रहण गरे । यसमा मौन सहमति जनाउन राजा श्री ५ राजेन्द्रविक्रम शाह विवश थिए ।

राजा श्री ५ राजेन्द्रविक्रम शाह तथा रानी राज्यलक्ष्मीदेवी दुवैलाई सर्वसाधारण नागरिकका दृष्टिबाट गिराउने र आफू भने राजसक्त तथा इमानदार व्यक्तिका रूपमा देखापर्ने अभियान जनरल जङ्गबहादुर कुँवरले कोतको पटाङ्गिनीमा भएको हत्याकाण्डको दिनदेखि नै सुरू गरिसकेका थिए । यसै अभियानअन्तर्गत हत्याकाण्डसम्बन्धी सम्पूर्ण कामकारबाही यिनले महारानी राज्यलक्ष्मीलाई अग्रसर गराई यिनैको आदेशानुसार सञ्चालन गर्दै आएका थिए । राजा श्री ५ राजेन्द्रविक्रम शाह तथा रानी राज्यलक्ष्मीदेवी दुवैलाई क्रमिक रूपमा नियन्त्रण गर्ने र युवराज सुरेन्द्रविक्रम शाहलाई आश्वस्त पार्दै रहने अभियान पनि यिनले साथसाथै चालू राखेका थिए । मतिभ्रम भएकी महारानी राज्यक्ष्मीदेवीले । भने यिनको यस किसिमको रहस्यमय योजनाको गन्धसम्म पनि पाउन सकेकी थिइनन् ।

“जनरल जङ्गबहादुर कुँवर मेरा आफ्नै हितचिन्तक तथा आज्ञाकारी व्यक्ति हुन्, यिनका तर्फबाट आफ्नो अहित हुने काम हुन सक्दैन” भन्नेमा यिनी आफै पनि विश्वस्त थिइन् ।
यतिन्जेलसम्म यस वर्षको दसैँ पर्वको चाड नजिकै आइसकेको थियो । र अर्कातिर सधैंझैँ कर्मचारीहरूको वार्षिक पजनीको याम पनि ठीक यसै बेला थियो । यसैले महारानी राज्यलक्ष्मीलाई नै अग्रसर तुल्याई यिनकै सहयोगद्वारा जनरल जङ्गबहादुर कुँवरले यस वर्षको वार्षिक पजनीको काम पनि आफ्नो योजना तथा कार्यक्रमअनुसार नै सफलतापूर्वक सम्पन्न गराए । थुप्रै भाइभारदारको भर्खरै मात्र हत्या भएको र निकै भाइभारदार पदच्युत भएकाले खान्की तथा दरबन्दीहरूको कुनै कमी थिएन । यस पजनीमा आफ्ना भाइहरूका साथै आफ्ना अन्य विश्वस्त व्यक्तिको पनि एकएक तहमाथिको पदमा पदोन्नति गराउन यिनी सफल रहे । यसबाट यिनी पहिलेभन्दा अझै शक्तिशाली बन्न आए । अधिराज्यभरका सम्पूर्ण सैनिक पूरापूर आफ्नो नियन्त्रणमा आइसकेका र आफ्ना प्रतिस्पर्धीहरूको भने प्रायः दमन भइसकेकाले अब यिनी राजारानी दुवैलाई कुनै हालतमा पनि नपुछ्ने मनस्थितिमा थिए ।

यत्तिकैमा दिन बित्दै गए । यसबीचमा महारानीराज्यलक्ष्मीदेवी आफ्ना सौतेनी छोराहरू युवराज सुरेन्द्रविक्रम शाह तथा राजकुमार उपेन्द्रविक्रम शाहको यथाशीघ्र दमनका निम्ति अहोरात्र दत्तचित्त थिइन् । अधिराज्यमा आफ्नो प्रभाव तथा पकड पनि पूर्ण रूपमा सुदृढ भइनसकेकाले जनरल जङ्गबहादुर कुँवर पनि महारानीको प्रस्तावमा सकारात्मकझैँ हुँदै आएका थिए । “राजा श्री ५ राजेन्द्रविक्रम शाहलाई समेत सहमत गराउनुपर्ने, सर्वसाधारण नागरिकको अपवादबाट पनि बच्नुपर्ने र अन्य आवश्यक व्यवस्था पनि मिलाउनुपर्ने तर्क दिँदै यिनले महारानी राज्यलक्ष्मीदेवीलाई धैर्यपूर्वक प्रतीक्षा गर्दै रहन आग्रह गर्दै आए थिए । जनरल जङ्गबहादुर कुँवरको शक्ति दिनप्रतिदिन सुदृढ हुँदै आएको तर आफ्नो आग्रहलाई भने यिनले उपेक्षा गर्दै आएको अनुभव गरी महारानी राज्यलक्ष्मीदेवीको धैर्य भने टुट्दै आएको थियो ।

यसै अवस्थामा एक दिन यिनले आफ्ना छोरा राजकुमार रणेन्द्रविक्रम शाहलाई राजको उत्तराधिकारी बनाउने आफ्नो भित्री मनोकाङ्क्षा फेरि पनि जनरल जङ्गबहादुर कुँवरसमक्ष प्रकट गरिदिइन । तर यस पटक पनि जनरल जङ्गबहादुर कुँवरले महारानीले गरेको यस आग्रहलाई त्यत्तिकै टारिदिए । “राजाको मानसिक कमजोरीले गर्दा मात्र महारानी राज्यलक्ष्मीका फूर्तिफार्ती बढेका हुन्, वास्तवमा सैनिक तथा अधिराज्यका सर्वसाधारण नागरिक पनि सबै राजा श्री ५ राजेन्द्रविक्रम शाह तथा महारानी राज्यलक्ष्मीका कामकारबाहीदेखि आजित छन् । यसैले राजारानी दुवैबाट अब आफ्ना निम्ति कुनै खतरा छैन” भन्ने तथ्यलाई यिनले राम्रैसँग थाहा पाइसकेका थिए ।

“जनरल जङ्गबहादुर कुँवरको हातबाट आफ्ना मनोकाङ्क्षाअनुसारका काम कुनै हालतमा पनि सम्पन्न हुन सक्दैनन्” भन्ने वस्तुतथ्यको बोध बिस्तारै महारानी राज्यलक्ष्मीदेवीलाई पनि हुन थाल्यो । यसैले जनरल जङ्गबहादुर कुँवरप्रति विश्वस्त रही केही समयअघिदेखि आफूबाट भए गरिएका कामकारबाहीका कारण यिनी पश्चात्तापले गर्दा ग्रस्त रहन थालिन् । यसैले आफ्नो मनोकाङ्क्षालाई नै तिलाञ्जलि दिई अब यिनी जनरल जङ्गबहादुर कुँवरको दमन गर्ने गुप्त योजनातर्फ भित्रभित्रै अग्रसर भइन् ।

तर अफसोस ! आफूलाई सहयोग गर्ने र आफू तथा आफ्नो परिवारप्रति बफादार प्रायः सबैजसो भाइभारदारलाई यिनले पनि यतिन्जेलसम्म गुमाइसकेकी थिइन् । अधिकांश भाइभारदार मारिइसकेका थिए र बचेका पनि अधिराज्यबाट पलायित थिए । यसैले बचेखुचेका केही विश्वस्त भारदारलाई साथमा लिई यिनी यस गुप्त अभियानमा लागिन् । राजा श्री ५ राजेन्द्रविक्रम शाह पनि यिनले तयार गरेको यस गुप्त योजनामा सहभागी हुन सहमत भए ।

“जनरल गगनसिंह भण्डारीको हत्या जनरल जङ्गबहादुर कुँवरले नै गराएका हुन्” भन्ने कुरा यतिन्जेलसम्ममा घाम जस्तै छर्लङ्ग थियो । यसैले यिनका छोरा तथा बचेखुचेका राजाका पक्षका अन्य केही भारदार पनि यति बेला जनरल जङ्गबहादुर कुँवरदेखि निकै क्रुद्ध थिए। महारानी राज्यलक्ष्मीदेवीको डरले मात्र यिनीहरूले जनरल जङ्गबहादुर कुँवरविरूद्ध मुख फोर्न सकेका थिएनन् । पण्डित विजयराज पाँडेको पनि राजभवनभित्र धाकरबाफ छँदै थियो । राजभवनभित्रका गतिविधिलाई नियमित रूपमा निरीक्षण गर्दै रहने जिम्मेवारी दिई यिनी जनरल जङ्गबहादुर कुँवरद्वारा राजभनवमा विशेष रूपमा नियुक्त थिए । यस वास्तविकतालाई महारानी राज्यलक्ष्मीदेवीले यतिन्जेलसम्म पनि अनुभव गर्न सकेकी थिइनन् । जनरल जङ्गबहादुर कुँवरदेखि चिढिए पनि महारानीले यिनलाई भने अझै आफ्ना विश्वस्त व्यक्तिका रूपमा गणना गर्दै आएकी थिइन् ।

पण्डित विजयराज पाँडे भने आफ्नो अधिकांश समय राजभवनभित्र नै रहेर साखिलो हुँदै महारानी राज्यलक्ष्मीका मनोभाव र यिनको छटपटीलाई नजिकैबाट अध्ययन गर्दै र राजभवनभित्रका सम्पूर्ण गतिविधि एकएक गरी जनरल जङ्गबहादुर कुँवरलाई नियमित रूपमा सूचित पनि गर्दै आएका थिए । यसै स्थितिमा जनरल जङ्गबहादुर कुँवरलाई पक्रिई यिनलाई प्राइम मिनिस्टर तथा कमान्डर इनचिफबाट पदच्युत गरउने उपर्युक्त गुप्त योजना महारानी राज्यलक्ष्मीले तयार गरिरहेकी थिइन् ।

काजी वीरध्वज बस्नेत तथा कप्तान बजिरसिंह भण्डारी (जनरल गगनसिंह भण्डारीका छोरा) यस योजनाका निम्ति महारानीका मुख्य सहयोगी थिए । भनिन्छ, यति बेला काजी वीरध्वज बस्नेतलाई प्राइम मिनिस्टरको पदभार प्रदान गरिने आश्वासन प्राप्त भएको थियो । नवयुवक बजिरसिंह भण्डारी आफ्ना पिताको अकल्पित हत्याले गर्दा जनरल जङ्गबहादुर कुँवरदेखि यसै पनि क्रुद्ध थिए । यसमाथि यिनलाई पनि भविष्यका निम्ति महारानीका तर्फबाट पुरस्कारको राम्रै आश्वासन प्राप्त भएको थियो ।

दलमर्दन थापा पनि यस गुप्त अभियानमा सम्मिलित थिए । महारानीले आफ्नै अठोटले पण्डित विजयराज पाँडेलाई पनि आफ्नो यस नयाँ योजनामा सम्मिलित गराउने निर्णय गरिन् । यसैअनुसार यिनी यस गुप्त योजनामा सम्मिलित गराइए पनि । तर चतुर स्वभाव भएका पण्डित विजयराज पाँडेले भने जनरल जङ्गबहादुर कुँवरलाई महारानी राज्यलक्ष्मीको यस गुप्त योजनादेखि सचेत तथा सावधान पनि रहन तत्काल जानकारी गराइहाले ।

नभन्दै एक दिन जरूरी काम परेको बहाना गरी महारानी राज्यलक्ष्मीले अप्रत्याशित रूपमा जनरल जङ्गबहादुर कुँवरलाई “राजभवनमा तुरुन्तै आउनू’ भनी बोलाउन उठाइन् । यसै बेला यिनलाई बलपूर्वक पक्रने र प्राइम मिनिस्टर तथा कमान्डर इनचिफको पदबाट समेत मुक्त गराउने भन्ने महारानीको गुप्त योजना थियो डेढ वर्ष जति पहिले प्राइम मिनिस्टर एवम् कमान्डर इनचिफका रूपमा कार्यरत जनरल माथवरसिंह थापाको यसै गरी दमन गरिएको घटनालाई यिनले झलझली सम्झिरहेकी थिइन् । तर डेढ वर्षपहिलेको र अहिलेको राजनीतिक तथा सामाजिक परिस्थिति पनि एकदमै भिन्न थियो । जहाँ त्यति बेला मुख्तियार जनरल माथवरसिंह थापा प्रायः एक्ला व्यक्ति थिए, त्यहीँ नै अहिले जनरल जङ्गबहादुर कुँवरसँग परिआएमा मर्न तथा मार्न पनि सदा तम्तयार रहेका आफ्नै छ जना भाइ मौजुद थिए । सावधान भएर रहेका यिनका अन्य सहयोगीको पनि कमी थिएन । कम्पनी सरकारका अङ्ग्रेज पदाधिकारीहरूलाई पनि यिनले आफ्नो अनुकूल बनाइसकेका थिए । यस वास्तविकतालाई यतिखेर महारानी राज्यलक्ष्मीदेवीले पहिचान गर्न सकेकी थिइनन् । “जनरल जङ्गबहादुर कुँवरलाई पक्रनेबित्तिकै नेपाल अधिराज्यको राजशक्ति निर्बाध रूपमा सहजै आफ्नो हातमा आइहाल्नेछ” भन्ने महारानी राज्यलक्ष्मीदेवीले सम्झिरहेकी थिइन् ।

दूधको साक्षी बिरालो भनेझैँ योजनाअनुसार जनरल जङ्गबहादुर कुँवरलाई राजभवनमा बोलाई ल्याउन भनी महारानी राज्यलक्ष्मीदेवीका तर्फबाट उनै पण्डित विजयराज पाँडे खटिए । यिनले राजभवनभित्रका सम्पूर्ण शङ्कास्पद गतिविधि जनरल जङ्गबहादुर कुँवर तथा यिनका भाइहरूलाई पनि पहिलेदेखि नै सुनाउँदै आएका थिए । बोलाउन भनी जनरल जङ्गबहादुर कुँवरको आवासमा पुगेका यिनले “महारानी राज्यलक्ष्मीको अहिलेको आमन्त्रण पनि गुप्त योजनाको नै एक अङ्ग हुन सक्छ” भनी जनरल जङ्गबहादुर कुँवरलाई तत्कालै सम्झाइदिए । जनरल जङ्गबहादुर कुँवर जस्ता चतुर तथा सचेत व्यक्ति मौकाको फाइदा उठाउनमा किन पो चुक्थे ? यिनले यस अवसरलाई आफ्नो प्राइम मिनिस्टर एवम् कमान्डर इनचिफ पदलाई पुस्ता दरपुस्ताका निम्ति निष्कण्टक पार्ने सुवर्ण अवसरका रूपमा वरण गर्ने निर्णय गरे ।

बोलावट भएअनुसार जनरल जङ्गबहादुर कुँवर आफ्ना भाइहरू एवम् अन्य आत्मीय सहयोगीहरूलाई समेत साथमा लिई शस्त्रसज्जित भएर दलबलसहित पूरा तयारीका साथ लगनटोलको बाटो भई राजभवनतिर लागेका थिए । यता बोलावटअनुसार समयमै राजभवनमा उपस्थिति हुन आइपुगेकाले “ताकिता गरी तुरून्तै बोलाई ल्याउनू” भनी राज्यलक्ष्मीले काजी वीरध्वज बस्नेतलाई नै उनको भवनतर्फ खटाइदिइन् । राजभवनभन्दा केही पर बाटामै वसन्तपुर दरबारभन्दा केही दक्षिणतर्फ अचेलको जोरगणेश मन्दिरको नजिकमा यिनको जनरल जङ्गबहादुर कुँवरका शस्त्रसज्जित दलबलसँग भेट भयो । जनरल जङ्गबहादुर कुँवरको कठोर आदेशअनुसार नवनियुक्त कप्तान रणमेहर अधिकारीले यिनलाई त्यहीँ बाटामै निर्दयतापूर्वक छप्काइदिए । पक्षका राज्यलक्ष्मीका केही अफिसर महारानी सैनिक राजभवनभित्रको भण्डारखालको बगैंचामा आफ्ना विपक्षीको आगमनको प्रतीक्षामा थिए । जनरल जङ्गबहादुर कुँवर तथा यिनका भाइहरू शस्त्रसज्जित सैनिक दलका साथ सरासर त्यहीँ आइहाले । महारानी राज्यलक्ष्मीदेवीका पक्षका शस्त्रसज्जित सैनिक पनि महारानीको हुकुमको प्रतीक्षामा थिए ।

जनरल जङ्गबहादुर कुँवर तथा यिनका भाइहरूको रौद्र रूपलाई देखी यिनीहरू झसङ्ग भए । त्यहाँ
एवम् पुग्नेबित्तिकै जनरल जङ्गबहादुर कुँवरले उर्दी सुनाउन लगाइहाले, “तिमीहरूमध्ये जजसले हाम्रो सामु आफ्ना हातहतियार समर्पण गर्नेछौ, त्यसत्यसले कैदमा मात्र बस्नुपर्नेछ । तर जजसले आआफ्ना साथमा रहेका हातहतियार सुम्पनेछैनौ, त्यसत्यसले तत्काल यहीं काटिनुपर्नेछ ।”

यस उर्दीअनुसार जजसले आफ्ना हातहतियार भुइँमा राखेर तत्काल आत्मसमर्पण गरे, ती सबै केवल पक्रिए । आफ्ना हातहतियार सुम्पन आनाकानी गर्नेहरू भने प्रायः सबै त्यतिखेर, त्यहीँ काटिए । यस क्रममा २३ जना जति त्यहाँ काटिए । बाँकी कैद भए । कप्तान बजिरसिंह भण्डारी तथा दलमर्दन थापा भने कुनै जुक्तिले आफ्नो ज्यान जोगाई जनरल जङ्गबहादुर कुँवर तथा उनका भाइहरूको आतङ्कबाट बचेर यथाकथंञ्चित् मुगलानतर्फ पलायन भए ।
सफलताको मीठो सपनामा महारानी राज्यलक्ष्मीदेवीले यस दिनका सम्पूर्ण घटनाक्रमहरूलाई ध्यानपूर्वक नियालेर बसिरहेकी थिइन् । योजनामा सहभागी आफ्ना विश्वस्त भारदारहरू या त मारिएका अथवा भागेर र केही सैनिक भने पक्रिइसकेको समाचार पाएर यिनी अक्क न बक्कमा पर्न आइन् । यत्तिकैमा जनरल जङ्गबहादुर कुँवर आफ्ना दलबलसहित राजभवनभित्र दाखिल भए र यिनैको आदेशअनुसार महारानी राज्यलक्ष्मी तत्कालै कडाइका साथ नजरबन्दमा राखिइन् । अधिराज्यको सर्वाधिकारसम्पन्न राजा राजेन्द्रविक्रम शाह भने मूकदर्शक भएर यी सबै अकल्पित घटना हेरिरहन विवश थिए ।

जनरल जङ्गबहादुर कुँवरलाई महत्त्वपूर्ण सहयोग गरेको पुरस्कारस्वरूप बाचाबन्धनअनुसार यस घटनाको दुईचार दिनपछि जनरल जङ्गबहादुर कुँवरले राजा श्री ५ राजेन्द्रविक्रम शाहबाटै पण्डित विजयराज पाँडेलाई राजगुरू र यिनका दाजु तीर्थराज पाँडेलाई राजपुरोहितको सम्मानित पद पनि दिलाइदिए ।

महारानी राज्यलक्ष्मीको नजरबन्दीपछि राजा श्री ५ राजेन्द्रविक्रम शाहको बचेखुचेको साहस पनि गुम्यो र यस घटनाको दुईचार दिनपछि महारानी राज्यलक्ष्मीदेवीका साथ यिनी पनि काशीवास जानअग्रसर भए । यतिन्जेलसम्म यिनी जनरल जङ्गबहादुर कुँवरको पूरै नियन्त्रणमा परिसकेका थिए । यसले जनरल जङ्गबहादुर कुँवरको दबाबमा परी यिनले “अबउप्रान्त कम्पु पल्टन तथा भारदारहरू सबैले जनरल जङ्गबहादुर कुँवरले लगाएअह्राएअनुसार नै कामकाज गर्ने गर्नू, महारानी राज्यलक्ष्मीका साथ म पनि काशीवास जान्छु | महारानी राज्यलक्ष्मी तथा यिनका छोराहरूले फर्केर आउन खोजे उनीहरूलाई यहाँ आउन नदिनू, उनीहरूले कदाचित् दगा गरेमा उनीहरूलाई ठोकिदिए हुन्छ” भनी प्राइम मिनिस्टर जनरल जङ्गबहादुर कुँवरको नाममा अधिकारपत्र लेखिदिई त्यसमा बाध्यतापूर्वक आफ्नो राजकीय लालमोहरको छाप पनि लगाइदिए ।

यसको लगत्तै प्राइम मिनिस्टर जनरल जङ्गबहादुर कुँवरले फेरि पनि राजा श्री ५ राजेन्द्रविक्रम शाहकै नामबाट “म काशी जान्छु, म त्यहाँ कथंकदाचित् कैद भएमा तिमीले नै गद्दीमा बसी राज गर्नू, म नआए मेरो ४० वर्षको उमेर पूरा भएपछि तिमीले गद्दीमा बसे पनि हुन्छ” भन्ने युवराज सुरेन्द्रविक्रम शाहको नाममा जारी अर्को अधिकारपत्रमा पनि लालमोहर लगाइदिए ।

यसरी यस घटनापछि राजा श्री ५ राजेन्द्रविक्रम शाह तथा रानी राज्यलक्ष्मी पनि जनरल जङ्गबहादुर कुँवरको पूरै चङ्गुलमा पर्न पुगे । युवराज सुरेन्द्रविक्रम शाहलाई त यिनले पहिले नै आफ्ना हातको कठपुतलीका रूपमा स्थापित गराइसकेका थिए । यसरी सम्पूर्ण परिपञ्च पूरा भएपछि अब जनरल जङ्गबहादुर कुँवर नेपाल अधिराज्यको सर्वेसर्वा तथा निष्कण्टक अधिनायक हुन आइपुगे ।
विसं १९०३ कात्तिक १७ गते शनिबारका दिन हनुमानढोका राजभवनभित्रको भण्डारखाल बगैंचामा घटेको यो हिंसात्सक घटना नेपालको इतिहासमा ‘भण्डारखाल पर्व’का नामले परिचित छ ।

(बाबुराम आचार्य:अब यस्तो कहिल्यै नहोस् किताबबाट साभार
रचनाकाल : विसं २०१७ (अनुमानित)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।