१३ बैशाख २०८१, बिहीबार

छानबिन गर्ने हो भने सबै नेता पालैपालो जेल जान्छन् : विप्लव

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भ्रष्टाचार देशमा समस्याको रूपमा रहेको बताएका छन् । आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा बहस कार्यक्रममा बोल्दै महासचिव विप्लवले देशका भ्रष्टाचारको समस्या रहेको बताएका हुन् ।  उनले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको बताए ।

उनले पार्टी सम्बद्ध ट्रेड युनियन वा सङ्गठनका नेताहरू पनि पैसा कमाउने अभिलाषासहित नेतृत्वमा आउन चाहने गरेको बताए ।  महासचिव विप्लवले भ्रष्टाचारको छानबिन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाने बताए ।

‘०६४/०६५ पछि म के देख्छु भने हरेक सङ्गठनको दृष्टिकोण भनेको आर्थिकमा गएर जोडियो । विद्यार्थी सङ्गठनको नेता अध्यक्ष बन्ने भनेको काठमाडौंमा घर हाल्न पाउने हो भनेको जस्तो बन्न गयो । जो अहिले भर्खर लोकसेवाबाट कुनै अफिसरमा नाम निकाल्यो भने पनि उसले भर्खर काठमाडौँमा घरको सपना देख्दैन । भविष्यमा चाहिँ देख्छ । तर अहिले नेपालका प्रायजसो ट्रेड युनियनहरू या सङ्गठनमा नेता बन्नु भनेको पैसा कमाउनु हो भन्ने टाइपको बन्यो । त्यो विद्यार्थीहरूको दोष होइन पार्टीको दोष हो’ उनले भने, ‘विद्यार्थीहरूले त सिक्ने हो । नकारात्मक पनि सिक्ने हो । सकारात्मक पनि सिक्ने हो । सकारात्मक सिकेर बलिदानीतिर गएको भए त्यसरी नै विद्यार्थीहरू तयार हुन्थे । मैले आरोप लगाएको होइन नेपालका मान्छेहरू यदि छानबिन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाँदैनन् ? सबै जान्छन् नि पालोपालो ।’

भ्रष्टाचारमा लिप्त हुनुमा पार्टीकै दोष भएको बताए । उनले भने, ‘अहिले यहाँ सबैलाई अर्ब भन्दा कमको चार्ज छैन नि । अहिले सरकारमा भएका हुन् या बाहिर बसेका हुन् । त्यो साँचो कुरा हो । नेपालको समस्या भनेको भ्रष्टाचारकै समस्या हो । भ्रष्टाचारको समस्या भनेको राजनीतिक परिवर्तन भएन भन्ने हो । खोइ त परिवर्तन ? यथार्थ राजनीतिक परिवर्तन भनेको त आर्थिक परिवर्तन हो । मन्त्री हुने, सांसद हुने त्यहाँ मात्रै झुत्ती खेलिरहेको छ मान्छेले । त्यो परिवर्तन नै होइन ।’

अहिले राजनीतिक क्षेत्रमा भ्रष्टिकरण सुरु भएपछि त्यसले सबैतिर हानेको उनले बताए । ‘अहिले विद्यार्थी सङ्गठनमा पनि त्यो पसेको साँचो हो । कुनै पार्टीको अध्यक्ष निस्किएर आफ्नो विद्यार्थीलाई भन्न सक्छ तिमी भ्रष्टाचार नगर भनेर ? कहीँ प्रशिक्षण सुन्नुभएको छ तपाईँहरूले कुनै नेताले दिएको छ भ्रष्टाचार नगर भनेर अहिले ? कसैले दिन सक्दैन’ महासचिव विप्लवले भने, ‘बरु अर्कोलाई आरोप लगाएर आफू फुत्किने दाउ मात्रै खोज्छ । यो नेपालको राजनीतिक आन्दोलनको सबभन्दा विडम्बना हो ।’

उनले राजनीतिक क्षेत्रमा भ्रष्टिकरण हुनुले अन्य सबै क्षेत्रमा असर परेको बताए । आफ्नो पार्टी र सङ्गठनहरूमा भ्रष्टाचार नभएको दाबी गर्दै उनले शिक्षालाई उत्पादनसँग जोडेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।