८ बैशाख २०८१, शनिबार

स्वतन्त्र प्रेस र पत्रकारिताबारे कार्लमार्क्सको विचार

0

प्रशियाली निरङ्कुश शासनको विरुद्ध मार्क्सको सङ्घर्ष प्रेसको विरुद्ध लगाइएको सेन्सरसिपमाथि हमलाबाट सुरु भयो । १८४२ को सुरुमा उहाँ प्रेसस्वतन्त्रताको वकालत गरेर नयाँ प्रशियाली सेन्सरसिप निर्देशबारे टिप्पणी र प्रेसस्वतन्त्रताबारे वादविवाद शीर्षकमा दुईटा लेख लेख्नुभयो । त्यसरी सेन्सरसिपको विरुद्ध प्रेसस्वतन्त्रताको पक्ष लिएर
उहाँले निरङ्कुश राजतन्त्रको विरुद्ध पहिलो खुल्ला सङ्ग्रामको थालनी गर्नुभयो । राजनैतिक सङ्घर्षमा लिइएको उक्त प्रस्थानबिन्दु उचित नै थियो, किनभने अक्सर गरेर प्रेसस्वतन्त्रतालाई सामान्य राजनैतिक स्वतन्त्रताको एक प्रमुख सूचक र मापदण्ड मानिन्छ र मार्क्सको विचारमा प्रेसस्वतन्त्रताको अभावले अन्य सबै स्वतन्त्रताहरूलाई भ्रमपूर्ण बनाइदिन्छ ।

उक्त लेखहरूमा उहाँले “सेन्सरसीप निर्देशन” मा रहेका आकर्षक शब्द-जालको खोक्रोपन र “दैवी प्राधिकार” द्वारा प्रदत्त कथित स्वतन्त्रताहरूको अर्थहीनतालाई उदाङ्ग पार्नु भयो । पुँजीवादी उदारपन्थीहरूबाट प्रशंसित सो “निर्देशन”को उदार पाखण्डीपनको निर्मम रूपले पर्दाफास गरी कुन कुरो स्पष्ट देखाइयो भने सो “निर्देशन” पूरै जनविरोधी र प्रतिक्रियावादी छ । त्यसको पोल खोल्दै उहाँले लेख्नुभयो : “लेखक सबभन्दा डरलाग्दो आतङ्कवादको सिकार हुन पुगेको छ र आसङ्काको कानुनी प्राधिकारको अधिनस्त रहन गएको छ। झुकावविरुद्धका कानुनहरू, कुनै वस्तुंगत मापदण्ड विनाका कानुनहरू आतङ्कवादका कानुन हुन् ….. कर्ताको कामलाई होइन, बरु उसको मनको ढाँचालाई आफ्नो मुख्य कसी जुन कानुनले बनाउँछ, त्यो कानुनहीनताको लागि सकारात्मक स्वीकृति मात्र हो ।”

उक्त “निर्देशन” ले दैनिक प्रेसलाई तत्काल त्यसले पाइआएको अधिकारबाट समेत बञ्चित गरेको तथ्यको उल्लेख गर्दै उहाँले कुन कुरो देखाउनु भयो भने त्यसले प्रेसलाई त्यस्तो “विचरा सञ्चो पाञ्जा जस्तै” बनाएको छ, “जसबाट अदालती डाक्टरले उसकै आँखाको सामु सबै खाना खोसेर लिएको हुन्छ, जसले गर्दा सञ्चो पञ्जाको पेट गडबड नहोस् र ऊ ड्यूकले लादेको कर्तव्य पूरा गर्न नसक्ने नबनोस् ।” उक्त सेन्सरसिप विद्यमान जनविरोधी शासन-व्यवस्थाको उपज रहेको बताउँदै उहाँले लेख्नुभयो : यस्तो समाजमा, जसमा एउटा निकायले आफ राजकीय विवेक र राजकीय नैतिकताको एकमात्र मालिक रहेको कल्पना गर्छ, यस्तो शासनमा, जसले सिद्धान्ततः जनताको विरोध गर्छ र त्यसैले आफ्नो राज्यविरोधी मनोस्थितिलाई सामान्य, स्वाभाविक मनोस्थिति ठान्दछ, त्यसमा नै एउटा गुटको खराब विवेकले झुकावविरुद्धका कानुनहरू, प्रतिशोधका कानुनहरू, मनोस्थितिविरुद्धका कानुनहरू बनाउँछ ।” सो “सेन्सरसीप निर्देशन” को विश्लेषणात्मक भण्डाफोर गरिसकेपछि लेखको अन्तमा उहाँले यस्तो निष्कर्ष निकाल्नुभयो: “सेन्सरसिपको वास्तविक, आमूल उपचार त्यसको उन्मूलन हुनेछ, किनभने उक्त कानुनी व्यवस्था आफै नै एउटा खराब व्यवस्था हो र कानुनी व्यवस्था मानिसहरूभन्दा बढी शक्तिशाली
हुन्छ।” (२८)

हुन त उक्त लेखहरूमा मार्क्सले प्रतिक्रियावादी राज्ययन्त्रलाई ध्वस्त पार्नुपर्ने खाँचोको वकालत गर्नु भएन र पछि मात्र उक्त धारणालाई उहाँले प्रतिपादित गर्नुभयो। तर, सेन्सरसिप व्यवस्था नै खतम पार्नुपर्ने कुरोको जोडदार रूपमा वकालत गरेर उहाँ उक्त धारणाको निकट पुग्नुभयो । सेन्सरसिपबाट प्रतिबन्धित भएकोले उक्त लेख जर्मनीमा छापिएन र १८४३ मा मात्र स्वीजरल्याण्डमा छापियो ।

जनवरी १८४२ मा कोलेग्नेमा एक प्रतिपक्षी पत्रिकाको रूपमा प्रकाशित राइनिश जाइटुङ्ग (Rheinische Zeitung) मा मार्क्सले मई १९४२ देखि मार्च १९४३ सम्म काम गर्नुभयो। उहाँमा अन्तर्निहित क्रान्तिकारी क्षमता र उहाँको तीक्ष्ण कलमले सो पत्रिकामार्फत आफूलाई व्यक्त गर्ने अवसर पायो र त्यसबाट उहाँका क्रान्तिकारी-जनवादी विचार तथा धारणाहरू मुखरित भए । आफ्नो सशक्त कलमको मद्दतबाट उहाँले तत्कालीन प्रशिया र अन्य जर्मन राज्यहरूमा विद्यमान सामाजिक, आर्थिक र राजनैतिक थिचोमिचोको विरुद्ध सङ्घर्ष चलाउनुभयो। सो पत्रिकामा उहाँको कामबाट उहाँको राजनैतिक विश्वास तथा दृष्टिकोण बढी स्पष्ट भयो र उहाँ एक सच्चा क्रान्तिकारी जनतन्त्रवादीको रूपमा देखिनुका साथै उक्त पत्रिका क्रान्तिकारी जनवादको मुखपत्रमा फेरियो । पत्रिकाको सम्पादन-कार्यमा उहाँको सङ्लग्नताले पत्रिकाको रूप नै फेरिदियो र साथै उहाँमा रहेका सङ्गठनात्मक क्षमता तथा दक्षता, विशाल काम गर्ने सामर्थ्य, साहित्यिक तथा सशक्त अभिव्यक्तिको गुणलाई खुलस्त पार्यो ।

मार्क्सको सक्रियताको नतिजास्वरूप, उक्त पत्रिकाको लोकप्रियता र बिक्री सङ्ख्यामा बृद्धि भयो र त्यसले प्रतिपक्षी पत्रकारिताको क्षेत्रमा एउटा विशेष स्थान हाँसिल गयो । राइनिश जाइटुङ्गमा मार्क्सको पत्रकारितामा सक्रियता उहाँको विश्व-दृष्टिकोणको विकासमा एक महत्त्वपूर्ण अग्रगति, महत्त्वपूर्ण उहाँको वैचारिक विकासले कम्युनिज्म र भौतिकवादतर्फ फड्को मारिसकेको थिएन, तर हेगेलको आदर्शवादी धारणाको परिधिलाई नाघेर सो विकास अधि बढिरहेको स्पष्ट सङ्केतहरू देखिए । सो अखबारमा प्रकाशित उहाँका लेखहरूमा हामी आदर्शवादबाट भौतिकवादतर्फ र क्रान्तिकारी जनवादबाट कम्युनिज्मतर्फ मार्क्सको संक्रमणका चिन्हहरू देख्छौं ।

उक्त अखबारमा प्रकाशित मार्क्सका लेखहरूमा तत्कालीन जर्मनीको यथार्थताको बडो गहन तथा सुसङ्गत ढङ्गले आलोचना गरियो र त्यसको सामु रहेका विभिन्न समस्याहरूबारे नयाँ दृष्टिकोणबाट चर्चा गरियो। राइन प्रान्तको संसदमा चलेको प्रेसस्वतन्त्रतासम्बन्धी विवादलाई लिएर लेखेको आफ्नो एउटा लेखमा उहाँले प्रेस स्वतन्त्रता र विभिन्न वर्ग-स्वार्थमाझको प्रत्यक्ष सम्बन्धलाई देखाउँदै कुन कुरा खुलस्त पार्नुभयो भने प्रत्येक वर्ग वास्तवमा आफ्नै स्वतन्त्रताको वकालत गर्ने गर्छ। प्रेससम्बन्धी पुँजीवादी स्वतन्त्रता वास्तविक स्वतन्त्रता नभएको तथ्यलाई फ्रान्सेली उदाहरणबाट स्पष्ट पार्दै उहाँले भन्नुभयो: “फ्रान्सेली प्रेस अति स्वतन्त्र छैन, त्यो यथेष्ट स्वतन्त्र छैन ।

उक्त प्रेस बौद्धिक सेन्सरसिपको अधीनस्थ छ । त्यो भौतिक रूपले क्रियाशील हुनाको खास कारण के भने त्यसलाई त्यसको उचित क्षेत्रबाट निकालेर ठूलो व्यापारिक कारोबारको क्षेत्रभित्र लगिएको छ ।” (२९) मार्क्सले कुन कुरामा जोड दिनुभयो भने “प्रेसको प्राथमिक स्वतन्त्रता व्यापार नबन्नुमा रहन्छ”, किनभने व्यापारमा पतन भएको प्रेस कुनै हालतमा पनि स्वतन्त्र हुन सक्दैन । उहाँले लेख्नुभयो : “अवश्य पनि, लेखकले बाँच्न र लेख्न सक्नका लागि कमाउनुपर्छ, तर उसले कमाउनका लागि बाँच्ने र लेख्ने कदापि गर्नुहुन्न ।” फेरि, “लेखकले आफ्नो कृतिलाई साधनको रूपमा बिलकूल हेर्दैन, उसको कृति उसको आफ्नै लागि र अरुको लागि कतिसम्म कम साधन रहन्छ भने आवश्यक परेमा उसले त्यसको अस्तित्त्वको लागि आफ्नै अस्तित्त्वको बलि चढाउँछ।” (३०)

उक्त धारणा उहाँको सम्पूर्ण लेखन-कार्यमा र वैज्ञानिक सत्यको खोजकार्यमा एउटा मूलमन्त्र रह्यो । उहाँको सम्पूर्ण क्रियाकलाप उक्त मन्त्रको एक उत्कृष्ट तथा चहकिलो प्रतिमूर्ति रह्यो । उहाँले बाँच्न र कमाउनका लागि कहिल्यै लेख्नुभएन, बरु सत्यको अनुसन्धान र सत्यको लागि आफनो निजी र पारिवारिक सुखको बलि चढाउनुभयो ।
प्रेसस्वतन्त्रताबारे वादविवाद शीर्षकको उक्त लेखमा मार्क्सले पुँजीवादी समाजको पैसाको सम्बन्धअन्तर्गत भौतिक सेन्सरसिपको व्यवस्थामा प्रेसस्वतन्त्रताको सीमिततालाई खुलस्त पार्नुभयो । तर, प्राचीन ग्रीक दार्शनिक हेरोदोतसको एउटा भनाइ उद्धृत गरेर, प्राप्त स्वतन्त्रतालाई शस्त्रको बलले सुरक्षित गर्नुपर्ने खाँचोमा उहाँले जोड दिनुभयो ।

प्रशियाली गभर्नर हाइडार्नलाई स्पार्टाबासी स्पार्थेपास र बुलिसले दिएको निम्न जवाफलाई हेरोदोतसबाट उहाँले उद्धृत गर्नुभयो “दास हुनुको अर्थ के हो भन्ने तपाईलाई थाहा छ, तर तपाईंले स्वतन्त्रताको चाख कहिल्यै लिनु भएको छैन, जसले गर्दा त्यो मीठो छ कि छैन भन्ने तपाईलाई थाहा होस्, किनभने यदि तपाईले त्यसको स्वाद चाख्नु भएको भए, हामीलाई भाला लिएर मात्र होइन, बञ्चरो लिएर पनि लड्न सल्लाह दिनुहुने थियो।” सो लेखमा उहाँले प्रेसस्वतन्त्रताप्रति भिन्नाभिन्नै वर्गहरूका भिन्नाभिन्नै दृष्टिकोणहरूलाई देखाउँदै त्यसबाट एउटा महत्त्वपूर्ण निष्कर्ष निकाल्नुभयो । सो निष्कर्षबारे भनिएको छ, “उहाँको निष्कर्षमा एउटा क्रान्तिकारी धारणा व्यक्तिएको छ : जनताको प्रेसमात्र साँच्चिकै स्वतन्त्र हुन सक्छ, र त्यसको मुख्य उद्देश्य जनतालाई हातमा हतियार लिएर स्वतन्त्रताको रक्षाको लागि जगाउनु हो।”

काठको चोरीसम्बन्धी कानुनबारे विवाद शीर्षकको आफ्नो अर्को लेखमा मार्क्सले राइन प्रान्तीय संसदको प्रतिक्रियावादी वर्गरूप र सो संसद बनमालिकहरूको स्वार्थरक्षक रहेको तथ्यलाई स्पष्ट पार्नुभयो । उहाँले लेख्नुभयो: “राज्यको बनौट, वैयक्तिक प्रशासकीय अधिकारीहरूको उद्देश्य, सारा कुरा नियन्त्रणबाट बाहिर हुनै पर्छ, जसले गर्दा हर चीज बनमालिकको साधनमा पतन हुन्छ र उसको स्वार्थले सम्पूर्ण यन्त्रको सञ्चालन गर्ने आत्माको रूपमा काम गर्छ । राज्यका सारा निकायहरू त्यस्ता कान, आँखा, हात, खुट्टा बन्छन्, जसको मद्दतबाट बनमालिकको स्वार्थले सुन्छ, हेर्छ, मूल्याङ्कन गर्छ, रक्षा गर्छ, विस्तार गर्छ र अघि बढ्छ।” उपरोक्त भनाइमा राज्य-यन्त्र तथा त्यसको नीति र निजी मालिकत्वको स्वार्थबीच रहेको घनिष्ठ सम्बन्धलाई देखाइएको छ र त्यसमा हामी राज्यसम्बन्धी मार्क्सवादी धारणाको प्रारम्भिक रूप पाउँछौं ।

उक्त लेखमा मार्क्सले प्रशियाली राज्य निजी सम्पत्ति र सम्पतिवानहरूको स्वार्थको दास रहेको र उक्त राज्यको नीति र आम जनताको हितमाझ निरन्तर अन्तर्विरोध रहेको तथ्यलाई स्पष्ट पार्दै राजनैतिक, आर्थिक तथा सामाजिक दृष्टिले अधिकारविहीन सर्वसाधारणहरूको पक्षमा खुल्ला रूपमा वकालत गर्नुभयो। मोसेलस्थित संवाददाताको न्यायोचितता शीर्षकको आफ्नो लेखमा उहाँले सर्वसाधारण जनताको दुःखको मूल कारण कुनै व्यक्ति वा व्यक्ति-समूहको गल्ती नभएर परिस्थिति रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो: “अवस्थासित सम्बन्धित कुनै परिस्थितिको अध्ययन गर्दा मानिसहरू परिस्थितिको वस्तुगत स्वरूपलाई सजिलैसित वेवास्ता गर्ने र सम्बन्धित व्यक्तिहरूको इच्छाबाट सबै कुरोको व्याख्या गर्ने गर्छन्।

तर यस्ता अवस्थाहरू छन् जसले व्यक्तिहरू र ‘वैयक्तिक अधिकारीहरूको कार्यलाई निर्धारित गर्छन् र जुन उनीहरूबाट त्यत्तिकै स्वतन्त्र छन्, जति सास फेर्ने तरिका स्वतन्त्र छ । यदि सुरुदेखि नै हामीले यस वस्तुगत दृष्टिकोणलाई अप्नायौं भने हामीले एउटा पक्षमा वा अर्को पक्षमा असल वा खराब इच्छा रहेको अनुमान गर्नेछैनौं, बरु हामीले पहिले हेर्दा व्यक्तिहरू क्रियाशील रहेको देखिने ठाउँमा परिस्थितिको प्रभावलाई देख्नेछौं।” यहाँ मार्क्सको संकेत कुन तथ्यतर्फ थियो भने आम जनता गरीब र दुःखी हुनाको मूलभूत कारण तत्कालीन प्रशियाली वस्तुस्थिति र प्रशियाली निरङ्कुश शासनव्यवस्था थियो । सामन्ती व्यवस्थाअन्तर्गत ठूला-ठूला जमीन्दारहरूको हितमा आमजनतालाई थिच्ने, लुट्ने र कामदारहरूलाई पशुको स्थितिमा परिणत गर्ने गरेको तथ्यलाई औँल्याउँदै उहाँले लेख्नुभयो: “प्राकृतिक पशु अधिराज्यमा ज्यामी महुरीहरूले भाले माहुरीहरूलाई मार्छन्, तर बौद्धिक पशु अधिराज्यमा भाले माहुरीहरूले ज्यामी माहुरीहरूलाई मार्छन, स्पष्ट रूपले काममा जोतेर मार्छन् ।”

राइनिश जाइटुङ्गमा मार्क्सको कार्यकालमा बर्लिनमा एड्गार बावर र कास्पर समितिको नेतृत्वमा युवा हेगेलपन्थीहरूको एउटा जमात देखा पयो, जो आफूलाई “स्वतन्त्र” (The Free) भन्दथे । उक्त जमात स्थितिको जथाभावी व्याख्या गर्ने, कम्युनिज्मबारे ठूल ठूला कुरा गर्ने, सबैको विरोध गर्ने तर आफूले कुनै सकारात्मक कुरा राख्न नसक्ने खालको थियो । आफूलाई बडो क्रान्तिकारी, सच्चा कम्युनिष्ट र मानवजातिका मुक्तिदाता घोषणा गर्दै बडो घमण्ड गर्दै हिँड्ने उक्त जमातलाई मार्क्सले “स्वतन्त्रताका वीरहरू” र “केही बर्लिन बकम्फुसेहरू”को संज्ञा दिनु भई उनीहरूप्रति कठोर आलोचनात्मक नीति लिनुभयो र कुन कुरामा जोड दिनुभयो भने तिनीहरूको काम-कुरा र तरिकाले जनवादी आन्दोलनको निम्ति कुनै फाइदा गर्दैन, बरु नोक्सानमात्र गर्दछ ।

उहाँले तिनीहरूका “शब्दहरूको मुसलधारा” र बकम्फुसे कुरालाई राइनिश जाइटुङमा ठाउँ दिन इन्कार गर्नुभयो र सो अखबारलाई नियन्त्रणमा राख्ने तिनीहरूको योजनालाई विफल पारिदिनुभयो । १८४२, नवेम्बर ३० तारिखमा अर्नोल्ड रुजलाई लेखेको एउटा पत्रमा उहाँ उक्त जमातका लेखहरूलाई “स्वतन्त्रता’ का केही बेकम्मा सिर्जना”को संज्ञा दिनुभयो र भन्नुभयो: “मैले उनीहरूबाट अस्पष्ट तर्कना, तडकभडकयुक्त वाक्यांशहरूको प्रयोग र आत्मसन्तुष्ट आत्मपूजा कम मात्रामा होस् र निश्चितता, वास्तविक स्थितिप्रति ध्यान र पोख्त ज्ञान बढी मात्रामा होस् भनेर माग गरेँ। मैले के भनेँ भने म कम्युनिष्ट र समाजवादी सिद्धान्तहरूलाई त्यस्तै एउटा नयाँ विश्वदृष्टिकोणलाई अमहत्त्वपूर्ण नाटकीय आलोचनाभित्र घुसाउने कुरालाई अनुपयुक्त र साँच्चिकै अनैतिकसमेत ठान्छु र छलफल नै गर्नुपर्छ भने म कम्युनिज्मबारे बिल्कलै भिन्नै र अधिक पूर्ण छलफलको अपेक्षा गर्दछु ।” उक्त जमातले मार्क्सले गरेको आलोचना र दिएको सल्लाहप्रति • बिल्कूल बेवास्ता गर्यो र त्यससित उहाँको सम्बन्धबिच्छेद भयो । सो बिच्छेद वास्तवमा सैद्धान्तिक तथा राजनैतिक दृष्टिबाट युवा हेगेलपन्थीहरूसित उहाँको पूरै सम्बन्धबिच्छेदको थालनी थियो ।

त्यसरी, राइनिश जाइटङ्गमा प्रकाशित लेखहरूमा मार्क्सले सामन्तवर्ग र सामन्ती राजतन्त्रात्मक शासन-व्यवस्थाको पर्दाफास गर्नुभयो र त्यसको विरुद्ध जनवादी अधिकारहरूका लागि बडो जोडदार र सशक्त रूपमा आवाज उठाउनु भयो । त्यस्तै, सङ्कीर्ण पुँजीवादी उदारतावाद र सुधारवादी पुँजीवादी कार्यनीतिको विरुद्ध जनक्रान्तिकारी कार्यनीतिको खाँचोमा जोड दिनुभयो र खोको उपदेश दिँदै हिँड्ने प्रावृति, गँवार पाखण्डीपन, बकम्पफुसे क्रान्तिकारीहरूको घमण्ड र फाँइफुट्टी, आत्म-प्रशंसा र आत्म-विज्ञापन गर्दै हिँड्ने मूर्खताको पनि दृढ रूपमा विरोध गर्नुभयो ।

मार्क्सको तीव्र सक्रियता तथा प्रत्यत्नको फलस्वरूप राइनिशा जाइटुङ्ग एक साँच्चिकै क्रान्तिकारी मञ्च बन्यो । त्यसले गर्दा त्यसले एकातिर आम लोकप्रियता प्राप्त गर्यो भने अर्कोतिर आफ्नो क्रान्तिकारी दृष्टिकोणको कारण सामन्ती शोषकहरू, पुँजीवादी उदारपन्थीहरू र सुधारवादीहरूमा ठूलो भय पैदा गर्यो । प्रशियाली शासनव्यवस्थाको लागि ठूलो खतरा ठानेर सरकारी अधिकारीहरूले त्यसलाई द्वैध सेन्सरसिपको अधिनस्थ राखे, अर्थात् साधारण रूपले सेन्सर गरिसकेपछि त्यसको सेन्सर फेरि अर्को बरिष्ठ अधिकारीबाट गरिने भयो । अर्कोतिर, अखबारका हिस्सेदारहरूले अखबारले शासन-व्यवस्थाप्रतिको क्रान्तिकारी नीतिलाई छाडेर “नरम’ नीति लेऊन् भन्ने माग गर्न थाले। त्यसरी उक्त अखबारले दिन-रात सेन्सरसिपका अति भयानक यातनाहरू, मंत्रालयका पत्रहरू, केन्द्रीय सरकारको प्रतिनिधिका गुनासाहरू, प्रान्तीय संसदमा आरोपहरू, हिस्सेदारहरूको कचकच आदि बेहोर्नुपर्यो। त्यसो हुँदाहुँदै पनि मार्क्स अखबार बन्द गराउने सरकारी योजनालाई सफल हुन नदिन आफ्नो पदमा रहिरहनुभयो ।

१८४३ जनवरी २५ तारिखमा रुजलाई लेखेको पत्रमा उहाँले भन्नुभयो राइनिश जाइटुङ्गलाई दबाइनुमा में राजनैतिक चेतनाको निश्चित अग्रगति देख्छु, र त्यसैले थिएँ । स्वतन्त्रताकै लागि भए पनि दासको काम गर्नु नराम्रो कुरा हो । लठ्ठी म राजीनामा गर्दैछ । अर्को कुरा के भने त्यस्तो वातावरणमा म निस्सासिन थालेको लिएर लड्नुको साटो घोचपेच गरेर लड्नु खराब कुरो हो । पाखण्डीपन, मूर्खता, अशिष्ट मनपरीपन, र हाम्रो शीर-निहुराइ तथा काटकुट गराइ, स्थिति-परिवर्तन
र शब्दमा नचाहिंदो कचकच देखेर म थाकिसकेको छ।”
१८४३ जनवरी १९ तारिखमा सरकारले अप्रिल १ तारिखदेखि राइनिश जाइदुङ्गमाथि प्रतिबन्ध लगाउने घोषणा गर्यो। मार्च १८ तारिखमा त्यसको सम्पादक पदबाट मार्क्सले राजिनामा दिनुभयो। अखबारमा लगानी गरेका उदारपन्थी पूँजीपतिहरू त्यसलाई पहिलो रूपमा चलाउन चाहेनन्। अप्रिल १ तारिखमा त्यसमाथि प्रतिबन्ध लगाइयो र तब त्यसको प्रकाशन बन्द भयो ।

राइनिश जाइट्ङ्गको प्रकाशनमाथि प्रतिबन्ध लागेपछि मार्क्सलाई अब जर्मनीमा रहेर क्रान्तिकारी विचारहरूको प्रचार-प्रसार गर्न असंभव छ भन्ने लाग्यो। रुजलाई लेखेको माथि उल्लेखित पत्रमा उहाँले के भन्नु भयो भने जर्मनीमा उहाँ केही पनि गर्न सक्नुहुन्न, किनभने त्यहाँ मानिसले आफ्नो कीर्ते रूप बनाउनुपर्छ । त्यसबेलासम्म उहाँ निरङ्कुश राजतन्त्रका कट्टर विरोधी, उदार-राजतन्त्रवादी पुँजीवादी प्रवृतिका विरोधी र त्यस्तै सुधारवादी उदारतावादको विरुद्ध सम्झौताहीन क्रान्तिकारी जनवादका समर्थक र क्रान्तिकारी जनवादी आन्दोलनका एक प्रमुख व्यक्तित्वको रूपमा परिचित भइसक्नुभएको थियो । त्यसले गर्दा प्रशियाली प्रहरी र कठोर सेन्सरसिपको निगरानीमा जर्मन भूमिमा रहेर क्रान्तिकारी गतिविधिमा लाग्न उहाँको लागि एक प्रकारले असम्भव भएको थियो । तसर्थ उहाँले जर्मनी छाड्ने निर्णय गर्नुभयो ।

त्यसबेला जर्मनीमा क्रान्तिको लागि परिस्थिति परिपक्व हुँदै थियो । प्रशियाली राज्यको जहाज मूर्खहरूले भरिभराउ रहेको कुराको उल्लेख गर्दै मार्क्सले १६४३ मार्चमा रुजलाई पठाएको पत्रमा लेख्नुभयो : “मूर्खहरूले भरिएको जहाजलाई शायद हावाको कृपामा केही समय यताउता चल्न दिन सकिएला, तर त्यसाई त्यसको भाग्य भोग्नतर्फ लगिनेछ, किनभने मूर्खहरूले सो कुरोमा विश्वास गर्दैनन्। त्यसको भाग्य भनेको आसन्न क्रान्ति हो ।” जर्मनीमा आसन्न क्रान्तिले उहाँको ध्यानलाई क्रान्तिको सवालतर्फ, क्रान्तिको स्वरूप, त्यसका कारणहरू, त्यसलाई अघि धकेल्ने प्रेरक शक्तिहरू, जस्ता महत्त्वपूर्ण सवालहरूतर्फ आकृष्ट गर्यो। त्यस बेलादेखिन् उहाँको सम्पूर्ण चिन्तन र क्रियाकलापको एउटा प्रमुख विशेषता तथा उद्देश्य क्रान्तिका मूल शक्तिहरू कुन हुन्, सामाजिक विकासप्रक्रियाको पछिल्तिर रहेका चालक शक्तिहरू के हुन्, समाजको क्रान्तिकारी परिवर्तनको लागि कस्ता उपाय र साधनहरूको प्रयोग गरिनुपर्छ, जस्ता आधारभूत महत्त्वका कराहरूको पहिचान गर्नु र त्यसलाई खुलस्त पार्नु रह्यो ।

पेरिस जानुअघि मार्क्सले केही महिना (१८४३ को मईदेखि अक्टोबरसम्म) कुजनैकमा बिताउनु भयो, जहाँ त्यसताका उहाँकी प्रेमिका जेनी वोन वेष्टफालेन आफनी आमासित रहेकी थिइन्। त्यसबेला उहाँका सामु अनेकौं घरेलु समस्याहरू रहेका थिए, र जेनीसित विवाह सम्पन्न नगरिकन जर्मनी छाड्ने इच्छा उहाँको थिएन। पारिवारिक समस्याको बारेमा १८४३ मार्च १३ तारिखमा रुजलाई लेखेको पत्रमा उहाँले जिकिर गर्दै भन्नुभयो: “अलि पनि भावुक नभईकन म तपाईलाई कुन कुराबाट विश्वस्त पार्न चाहन्छु भने म ज्यादै गम्भीर रूपले प्रेममा चुर्लुम्म डुबेको छु। हाम्रोबीचमा प्रेम भएको सात बर्ष भैसकेको छ, र मेरो निम्ति मेरी प्रेमिकाले ज्यादै भयानक सङ्घर्ष गरेकी छन्, जसले गर्दा तिनको स्वास्थ्य बिग्रने खतरा रहेको छ। तिनको सङ्घर्ष आंशिक रूपले आफ्ना ती धर्मभीरु अभिजातवर्गीय नातेदारहरूको विरुद्ध रह्यो, जसको लागि ‘स्वार्गको मालिक’ र ‘बर्लिनको सरकार’ समान रूपले पूजनीय रहेका छन्, र आंशिक रूपले मेरै परिवारको विरुद्ध रह्यो, जसमाथि केही पुरेतहरू र मेरा अरु सत्रुहरूले प्रभाव जमाएका छन् । त्यसैले बर्षौंदेखि मेरी प्रमिका र मैले अनावश्यक र हैरान बनाउने सङ्घर्षमा लाग्नु परेको छ ……

१८४३, जून १२ तारिखका दिन कार्लमार्क्स र जेनी वोन वेष्टफालेनको बीचमा विवाह अनुबन्धनमा सही छाप भयो र जून १९ तारिखमा क्रुजनैक नगरपालिकाको विवाह दर्ता अफिसमा दर्ता भयो। विवाहपछि केही महिना क्रुजनैक बिताएर उहाँ आफ्नी पत्नीका साथ अक्टोबरको आखिरीतिर जर्मन भूमि छाडी पेरिस जानु भयो। १८४३ सेप्टेम्बरमा रुजलाई पठाएको पत्रमा “यहाँ वातावरणले मानिसलाई अर्धदास बनाउँछ र जर्मनीमा म स्वतन्त्र गतिविधिको लागि कुनै क्षेत्र देख्दिन” भन्ने कुरो जनाएर त्यसमा उहाँले लेख्नु भयो :“त्यसैले, पेरिस र दर्शनको पुरानो विश्वविद्यालयतिर – यो दुर्भाग्यको सङ्केत नबनोस् – र नयाँ संसारको नयाँ राजधानीतिर ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।