२ बैशाख २०८१, आईतवार

द्वन्दवादको प्रवर्ग: अनिवार्यता र आकस्मिकता

0

अनिवार्यता र आकस्मिकता भनेको के हो ?

अनिवार्यता र आकस्मिकता भनेको के हो भन्ने कुरा राम्ररी बुझ्न सबभन्दा पहिले त निम्नलिखित प्रश्नको जवाफ पाउनु आवश्यक हुन्छ । के निश्चित अवस्थाहरूमा सबै घटनाहरू अनिवार्य हुन्छन् ? के सबै घटनाहरू यी अवस्थाहरूमा अर्को तरिकाले नभईकन त्यसैगरी नै घट्नु अनिवार्य हुन्छ ?

कुनै वनस्पतिको बीउ भुईमा रोपियो भने र मलजल र प्रकाश पुग्यो भने त्यो उम्रेर आउँछ भन्ने कुरा सबैलाई थाहा छ । तर मुसलधारे पानी पर्यो भने त्यो बिरुवा मर्दछ । के त यी दुवै घटना अर्थात् बीउबाट बिरुवा उम्रनु र बिरूवा मर्नु अनिवार्य छन् ?

अवश्य पनि यी दुवै घटना अनिवार्य छैनन् । दैनिक अनुभवबाट के थाहा पाइन्छ भने निश्चित् अवस्था अर्थात् चाहिने मात्रामा मलजल र न्यानो पाइयो भने बीउबाट बिरूवा अनिवार्य हुनजान्छ । यो वनस्पतिको स्वाभाविक चरित्र हो । तर वर्षा हुन पनि सक्दछ, नहुन पनि सक्दछ । वर्षाले बिरूवालाई नष्ट पनि गर्न सक्दछ वा केही मात्रै बिगार्न पनि सक्दछ । बिरूवाको चरित्रअनुसार वृष्टि हुने होइन र यस स्थितिमा वृष्टि अनिवार्य होइन ।

ती घटनाहरूलाई जुन निश्चित् अवस्थामा अनिवार्य रूपले घट्छन् अनिवार्यता भनिन्छ । (माथिको उदाहरणमा बीउबाट बिरुवा उम्रनु अनिवार्यता हो) । दिन बितेपछि अनिवार्य रूपले रात पर्दछ । एकपछि अर्को वर्ष सुरु हुन्छ । पूँजीवादी व्यवस्थामा मजदूरवर्गको साम्यवादी आन्दोलनको उत्पत्ति तथा वृद्धि अनिवार्य हुन्छ । मजदूरवर्गको जीवनका अवस्थाहरू, समाजमा उसको स्थिति, इतिहासले उसको सामुन्ने राखेको लक्ष्यले नै साम्यवादी आन्दोलनलाई जन्माउँछन् ।

विकासशील घटनाको सारतत्व वा आन्तरिक चरित्रबाट नै अनिवार्यताको उत्पत्ति हुन्छ । त्यो निश्चित् घटनाको निम्ति स्थायी र स्थिर हुन्छ ।

अनिवार्यताको विपरीत आकस्मिकता (माथिको उदाहरणमा वृष्टिबाट बिरूवा नष्ट हुनु) अवश्यम्भावी हुँदैन । निश्चित् अवस्थामा त्यो घट्न पनि सक्छ, नघट्न पनि सक्छ । त्यो त्यसै किसिमबाट अथवा अर्कै किसिमबाट पनि सम्पन्न हुन सक्दछ । निश्चित् वस्तुको चरित्रबाट नै आकस्मिकताको उत्पत्ति हुँदैन । त्यो अस्थिर र क्षणिक हुन्छ । परन्तु आकस्मिकता पनि अकारण भने हुँदैन । त्यसको कारण चाहिं स्वयम् वस्तुमा नभईकन त्यसबाट बाहिर अर्थात् बाह्य अवस्थाहरू र परिस्थितिहरूमा निहित रहन्छ ।

अनिवार्यता र आकस्मिकताको द्वन्द्ववाद

अनिवार्यता र आकस्मिकताको बीचमा द्वन्द्वात्मक अन्योन्य सम्बन्ध हुन्छ । एउटै . घटना पनि एकै समयमा अनिवार्य र आकस्मिक हुन सक्दछ, अनि एउटा सन्दर्भमा अनिवार्य र अर्को सन्दर्भमा आकस्मिक पनि हुन सकदछ । वृष्टि हुनुचाहिं बिरूवा मनुको सन्दर्भमा आकस्मिक हो । परन्तु वृष्टि हुनु पनि निश्चित् वायुमण्डलीय अवस्थाको अनिवार्य परिणाम हो । यसको कारण के हो भने वृष्टि हुने इलाकाको आकाशमा निश्चित् अवस्थामा उत्पन्न ।
नभईकन वृष्टि हुँदैन ।

द्वन्द्ववादका पक्षसमर्थकहरूको विपरीत अधिभौतिकवादीहरू अनिवार्यता र आकस्मिकताको पारस्परिक सम्बन्धलाई नकार्दछन् । उनीहरूमध्ये एक थरिले केवल अनिवार्यतालाई मात्र स्वीकार्दछन् र विकासक्रममा हरप्रकारका आकस्मिकतालाई इन्कार गर्दछन् र यनीहरूको दृष्टिकोणअनुसार सबै कुरा अवश्यम्भावी रूपमा अनिवार्यतावश नै सम्पन्न हुन्छ । त्यसैकारणले मानिस केही गर्न असमर्थ हुन्छ, उसले घटनाहरूको अवश्यम्भावी, अनिवार्य क्रमलाई निष्क्रियतापूर्वक प्रतीक्षा मात्रै गर्नुपर्ने हुन्छ । अर्काथरिले चाहिं आकस्मिकतालाई मात्र स्वीकार्दछन् । वास्तवमा यो विज्ञानलाई इन्कार गर्नु हो । यसको अर्थ हुनजान्छ मानिस पहिलेबाटै घटनाक्रमको अनुमान गर्न र त्यसमाथि नियन्त्रण राख्न असमर्थ हुन्छ ।

अनिवार्यता र आकस्मिकता एक अर्कोमा बदलिन सक्दछन् । कुनै अवस्थामा जुन कुरो आकिस्मक हुन्छ त्यही अर्को परिवर्तित अवस्थामा अनिवार्य बन्न सक्दछ अथवा यसको ठीक उल्टो पनि हुन सकदछ । उदाहरणको रूपमा भन्ने हो भने आदिम समाजमा वस्तु विनिमयको चरित्र आकस्मिक थियो । त्यसबेला कुनै जनसमुदायले जे जति कुरा उत्पादन गर्दथ्यो सामान्यतया सब उत्पादित वस्तु त्यसै समुदायले उपभोग गर्दथ्यो । व्यक्तिगत स्वामित्वको उत्पत्ति र विकासको साथसाथै वस्तु विनिमय पनि बढ्दै गयो । अनि पूँजीवादी
व्यवस्थामा त यो वस्तुगत अनिवार्यतामा नै परिणत भयो ।

अनिवार्यता र आकस्मिकता एक अर्कोबाट अलग अर्थात् “विशुद्ध” रूपमा विद्यमान रहँदैनन् । कुनै प्रक्रियामा अनिवार्यताले विकासको प्रमुख दिशा र प्रवृत्तिको रूपमा काम गरिरहेको हुन्छ, तर यस प्रक्रियाले असंख्य आकस्मिकताहरूको माझबाट आफ्नो बाटो बनाउँछ । आकस्मिकता अनिवार्यताको अनुपूरक हुन्छ । आकस्मिकता अनिवार्यताको अभिव्यक्तिको रूपमा देखापर्दछ । आकस्मिकताको पछाडि सदैव नै वस्तुगत अनिवार्यता र नियमितता लुकिराखेको हुन्छ । सामाजिक विकासमा पनि आकस्मिकताले अनिवार्यताको
अभिव्यक्तिको रूपमा काम गरेको हुन्छ ।

अनिवार्यता र आकस्मिकताको भावको महत्त्व

वैज्ञानिक तथा व्यावहारिक क्रियाकलपामा अनिवार्यता र आकस्मिकताको वस्तुगत द्वन्द्वात्मकतालाई ध्यानमा राख्नु ज्यादै महत्त्वपूर्ण हुन्छ । बाहिर देखापर्ने असंख्य आकस्मिक घटनाहरू र सम्बन्धहरूको माझबाट आन्तरिक तथा अनिवार्य सम्बन्धहरू पत्ता लगाउनु नै विज्ञानको कार्य हो । नियमहरू अर्थात् वस्तुगत अनिवार्यताको ज्ञानबाट मानिसले कृति तथा सामाजिक जीवनका अनगिन्ती घटनाहरूलाई आफ्नो हितानुकूल नियन्त्रणमा राख्न सक्दछ । सर्वप्रथम त अनिवार्यताको ज्ञान प्राप्त गर्नु नै जुनसुकै विज्ञानको पनि लक्ष्य हो ।
यसप्रकारले सामाजिक विकासको वस्तुगत अनिवार्यतालाई बुझ्नु र यसरी बुझिएको अनिवार्यताको आधारमा श्रमिक मानिसहरूको हितार्थ सामाजिक व्यवस्थामा परिवर्तन विज्ञानको कार्य हो ।

आकस्मिकता अनिवार्यताको अभिव्यक्तिको रूप हो, त्यसै कारणले विज्ञानले आकस्मिकताको पनि उपेक्षा गर्न सक्दैन । आकस्मिकताहरू हुन्छन् र तिनले घटनाक्रममा प्रभाव पार्दछन्, तसर्थ विकासमा आकस्मिकताहरूको भूमिकालाई पनि विज्ञानले ध्यानमा राख्नु आवश्यक हुन्छ । विज्ञानले अहितकर आकस्मिकताहरूको प्रभावबाट मानिसको रक्षा गर्नुपर्दछ ।

विभिन्न ऐतिहासिक अवस्थामा अनिवार्यता रआकस्मिकताको अन्योन्य सम्बन्ध एकै किसिमले देखापर्दैन । पूँजीवादी स्वामित्वको आधिपत्य नै पूँजीवादी व्यवस्थामा अनिवार्यताको स्वस्फूर्त क्रियाको कारण हो । त्यहाँ मूल्यको नियम, उत्पादनमा अराजकता र प्रतिस्पर्धाको नियमले अनगिन्ती आकस्मिकताहरको बीचबाट आफ्नो बाटो सफा गर्दछन् । तसर्थ, पूँजीवादी व्यवस्थामा मानिसहरू सामाजिक जीवनको योजनाबद्ध नेतृत्व गर्ने सम्भावनाबाट वञ्चित हुन्छन् । मानिसहरू यी अनियन्त्रित शक्तिहरूको हातका निर्जीव खेलौना बन्दछन् । बजारको अराजकता नै पूँजीवादी उत्पादनको आवश्यक नियन्त्रक बनेको हुन्छ । परन्तु यस नियन्त्रकले पनि बजारमा मूल्यको अनगिन्ती हेरफेरको माझमा मात्र काम गर्दछ । माग पूर्तिका त्यत्तिकै आकस्मिक परिवर्तनमा बजारको मूल्य निर्भर रहन जान्छ । पूँजीवादी व्यवस्थामा श्रमशक्तिको वितरण पनि आकस्मिक रूपमा नै सम्पन्न हुन्छ । यी सब कारणले गर्दा मजदूरहरूको बीचमा भविष्यप्रति अनिश्चितताको भावना व्याप्त भएको हुन्छ । कुनै पनि बेला मजदूरले आफ्नो काम गुमाउन सक्दछ र ऊ आफ्नो अस्तित्वको निम्ति चाहिने साधनहरूबाट वञ्चित हुन सक्दछ । पूँजीवादी व्यवस्थामा खास गरीकन निम्न र मध्यम खालका व्यवसायीहरूमा समेत यस्तै अनिश्चितताको भावना व्याप्त रहन्छ । आफूभन्दा सबल व्यवसायीहरूसितको प्रतिस्पर्धामा टिक्न नसकेर जुनसुकै बेलामा पनि यस्ता व्यवसायीहरूको टाट उल्टिन सक्दछ ।

साँचो हो, वर्तमान समयमा पूँजीवादी मुलुकहरूमा आर्थिक विकासको राजकीय एकाधिकारी नियन्त्रण तथा योजनाले व्यापक रूप लिंदैछ । तर योजना प्रणाली एकाधिकारी औद्योगिक संस्थाहरूको सीमाबाट बाहिर जाँदैन । अझ त्यसमाथि यस्तो योजनाले बजारमा हुने अराजकता हटाउन सक्दैन र समष्टिमा हेर्ने हो भने यही पूँजीवादी उत्पादनको प्रमुख नियन्त्रक पनि हो ।

पूँजीवादी बजारको अराजकताले विशेषतः विकासोन्मुख मुलुकहरूमा कृषि मजदूरहरूमाथि कडा प्रहार गर्दछ । यी मुलुकहरूमा कृषि क्षेत्रमा काम गर्ने श्रमिकहरू शारीरिक रूपमा नै नष्ट हुने स्थितिमा छन्, उनीहरू सधैं भोका रहन्छन्, उनीहरूको टाट उल्टिरहेको हुन्छ र दरिद्रताको मारमा परेका हुन्छन् । अझ त्यसमाथि कृषि उत्पादनको विशेषताले गर्दा त जुन प्रकृतिसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ, त्यहाँ प्रकृतिमा व्याप्त आकस्मिकताहरू विशेष ध्वंसात्मक रूपमा प्रकट हुन्छन् । प्राकृतिक प्रकोपहरू (खडेरी, बाढी, आँधीबेरी आदि) धेरैजस्ता विकासोन्मुख मुलुकहरूमा राष्ट्रिय विपदको रूपमा आइपर्छन्, लाखौँलाख मानिसहरूको मृत्यु हुन्छ, करोडौं गाईवस्तुको नाश हुन्छ । यी सब कुरा आकस्मिक होइनन्।

पूँजीवादी व्यवस्थाले यस विपदबाट बचाउन नसक्ने मात्र होइन, वास्तवमा यी विपदहरूको कारण पनि यही व्यवस्था हो र यसैले यी विपदहरूलाई चर्काउँदछ पनि ।

समाजवादी व्यवस्थामा मात्रै आकस्मिकताको ध्वंसात्मक लीलाको अन्त्य हुन्छ ।समाजवादी व्यवस्थामा कृषि उत्पादनको योजनाबद्ध निरन्तर वृद्धि हुन्छ र कृषि व्यवस्थामा लागेका सब श्रमिकहरूको जीवनस्तरमा वृद्धि हुन्छ ।

यस्तो विकासले जनव्यापी, राष्ट्रव्यापी कार्यभारको रूप लिएको हुन्छ र यस कार्यभारको समाधानमा अर्थतन्त्रका अन्य क्षेत्रहरू, विज्ञानका विभिन्न क्षेत्रहरू लागेका हुन्छन् ।
कृषि व्यवसायप्रतिको यस्तै दृष्टिकोणले गर्दा यस व्यवस्थाका व्यापक सम्भावनाहरूलाई • जनताको सेवामा लगाउन सकियो, सोभियत संघको विशाल भू-भागमा फैलिएको धर्ती र बाँझो जमिनको रूपान्तरण गर्न सकियो, १ करोड ६० लाख हेक्टर जमिनको सिंचाइ गर्ने ? १ करोड ५२ लाख हेक्टर जमिन सुकाउने काम हुन सक्यो ।

आफ्नो सामाजिक व्यवस्थाको उत्कृष्टता फलस्वरूप र आर्थिक सहयोग परिषदका सदस्य राष्ट्रहरूको मद्दतबाट केही समाजवादमुखी विकासोन्मुख राष्ट्रहरूले प्राकृतिक शक्तिमाथि नियन्त्रण राख्ने भव्य योजनाहरूको कार्यान्वयन सुरु गरेका छन् । उदाहरणार्थ प्रतिवर्ष २ लाख हेक्टर जमिन “हडप्ने” सहारा मरुभूमिबाट बालुवा सर्ने प्रक्रिया रोक्न अल्जेरियामा सन् १९७३ देखि १५ सय किलोमिटर लामो र २० किलोमटिर बाक्लो जङ्गलले घेर्ने काम हुँदैछ ।

समाजवादमा चाहिं यस व्यवस्थाको निम्ति स्वाभाविक नियमहरूको कार्यान्वयनले गर्दा मानिसहरूले ऐतिहासिक घटनाक्रमको पहिलेबाटै अनुमान लगाउने र जीवनका सबै क्षेत्रहरूमा आफ्नो गतिविधिलाई नियोजित गर्ने सम्भावना पाउँदछन् । त्यहाँ मानिसहरूको चेतनशील उद्देश्य क्रियाकलपाको माध्यमबाट सामाजिक अनिवार्यताले अभिव्यक्ति पाउँछ । सोभियत संघका आर्थिक विकास योजनाहरू सामाजिक विकासको वस्तुगत अनिवार्यताको
उचित उपयोगका उदाहरण हुन् ।

कम्युनिष्ट पार्टीको नेतृत्वमा सोभियत जनताको चेतनशील र योजनाबद्ध गतिविधिको फलस्वरूप यस समाजवादी मुलुकमा आकस्मिकताहरूको भूमिका निकै सीमित हुन गएको छ । परन्तु समाजवादी व्यवस्थामा पनि आकस्मिकताहरू विद्यमान हुन्छन् र कार्यरत रहन्छन् । अर्थतन्त्रमा यस्तो स्थिति पनि भेट्टाइन्छन् जुन बेला विभिन्न आकस्मिक कारणले गर्दा उद्योग अथवा कृषिव्यवस्थाका केही शाखाहरू पछि पर्दछन, केही औद्योगिक संस्थाहरूले योजनाको लक्ष्य पूरा गर्दैनन् । यसको परिणामस्वरूप जनअर्थतन्त्रको विकासमा केही असन्तुलन र असामन्जस्यता देखापर्दछ । कहिलेकाहीं खडेरी, बाढी, हिमप्रपात जस्ता मौसमका अनिश्चिततासित आकस्मिकता सम्बन्धित हुन्छ ।

कम्युनिष्ट पार्टी तथा सोभियत सरकारले समाजमा देखापरेका आकस्मिकताहरूको अहितकर प्रभावलाई यथाशक्य कम तुल्याउने प्रयास गर्दछन् । यसै उद्देश्यले योजनाको तर्जुमा र उत्पादनको संगठनमा सम्पूर्णता ल्याउने कार्य, वैज्ञानिक उपलब्धिहरूको प्रयोग गर्ने प्रक्रिया, व्यापक सरकारी बचत प्रणाली खडा गर्ने काम निरन्तर नै चलिरहेको हुन्छ ।

अनिवार्यता सदैव नै निश्चित् वस्तुगत अवस्थामा देखापर्दछ । परन्तु स्वयम् अवस्थाहरू चाहिं बदलिरहन्छन् । अनिवार्यता पनि यसैअनुरूप बदलिरहन्छ, विकसित हुँदै जान्छ । तर जुनसुकै नयाँ अनिवार्यता पनि बनिबनाउ र निर्धारित रूपमा उत्पन्न हुँदैन । सुरुमा यो सम्भावनामा मात्र विद्यमान रहन्छ र निर्धारित रूपमा उत्पन्न हुँदैन । राम्रो अवस्थाको सिर्जना भएपछि मात्र यो वास्तविकतामा परिणत हुन्छ ।
( भिक्टर आफानास्येभ:दर्शनशास्त्रको प्रारम्भिक ज्ञान)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।