७ बैशाख २०८१, शुक्रबार

जनयुद्धलाई आतङ्कवादी घटना बनाउने साम्राज्यवादी षड्यन्त्र स्वीकार्य छैन

0

महासचिव कमरेड, देश आर्थिक राजनैतिक अस्थिरता र संकटबाट गुज्रिरहेको सर्वत्र महसुस छ । यसको निकास के होला ?

राज्य सत्ता र व्यवस्थाको परिवर्तन नै उत्तम निकास हो । अर्थात् दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको समाप्ती र वैज्ञानिक समाजवादी सत्ताको प्राप्ति यसको निकास हो ।
सही हो, देशमा आर्थिक राजनैतिक संकट गहिरिदो छ । यसको कारण जनता होइन, दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको असफलता हो भन्नेमा पनि धेरैको सहमति छ । किनकि यो व्यवस्थाले आत्मनिर्भर अर्थउत्पादन गर्न सकेन । भएको पुँजीको संरक्षण पनि हुन सकेन । पुँजीको वितरण र उपभोग पनि सही छैन । जसको कारण देशमा पुँजीको उत्पादन नै छैन, भएको पनि केही दलालहरूको कब्जामा परेको छ । विभिन्न नाममा विदेशतिर पलायन छ । त्यसैगरी संसदीय व्यवस्था र संसद्लाई दलाल वर्गले देश बेच्ने थलो बनाएका छन् भने दलहरू विदेशीका सेवकमा पतन भएका छन् । यसको समाधान भनेको यो व्यवस्थाको परिवर्तन र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना हो ।

केही मान्छे र पार्टीले व्यवस्था होइन अवस्था फेर्नु पर्छ भनेको पनि सुनिन्छ । यो भनेको मुठ्ठीभर दलाल पुँजीपति वर्गलाई अझ पोस्ने, देशभित्र छिराउने, संरक्षण गर्ने, जनतालाई दलाल संसदीय व्यवस्था वरिपरि घुमाउने षड्यन्त्र हो । अर्को अर्थमा देशलाई नयाँ रूपका दलालहरूले शासन गर्ने खेल मात्र हो । समस्या गरिबीको होइन, गरिब बन्न बाध्य पार्ने दलाल पुँजीवादी सत्ताको हो । समाधान वैज्ञानिक समाजवाद हो जसले पूँजीलाई मुट्ठीभरको हातबाट मुक्त गरेर आम श्रमिक जनताको हातमा सारिदिन्छ ।

प्रचण्डसहित जनयुद्धका पृष्ठभूमि भएका सबै पूर्वमाओवादीहरूको मोर्चालाई कम्युनिस्ट ओन्दोलनको विजातीयकरण ठान्ने विचार र चिन्तालाई यहाँको जवाफ के हुन सक्ला ?

यो केही स्वभाविक, केही षड्यन्त्रपूर्ण प्रचार हो । पहिलो, चिन्तासहितको प्रतिक्रिया हो; दोस्रो आतङ्कित र पूर्वाग्रही मानसिकता । पहिलो खालको चिन्तामा सकारात्मक अपेक्षा झल्किए पनि राजनैतिक संघर्षको तीव्रतालाई यो चिन्ताले पकड्न सकेको छैन । हामीले प्रष्ट भनेका छौं कि भूमाण्डलीकृत अमेरिकी साम्राज्यवाद, भारतीय साम्राज्यवाद र कैयौँ पुँजीवादी प्रतिक्रियावादी तत्वहरूको खेल १० वर्षे महान् जनयुद्धलाई नेपाली श्रमिक वर्गीय विद्रोहबाट एउटा आतङ्कवादी घटनामा पतन गराउने र विद्रोही नेता कार्यकर्तालाई अपराधि बनाउने चलिरहेको छ । यसलाई कदापी स्वीकार गर्न सकिंदैन । अर्को, जनयुद्धलाई दानवीकरण गराएर आउने महान् वैज्ञानिक समाजवादी, एकीकृत जनक्रान्तिलाई रोक्ने षड्यन्त्र गरिदैछ । यस्तो प्रतिक्रान्तिकारी एवं प्रतिक्रियावादी षड्यन्त्रलाई कदापि स्वीकार गर्न सकिंदैन । हामीले यसै सन्दर्भमा प्रतिवाद गरेका हौं ।

दोस्रो, चिन्ता राखे जस्तो गरे पनि पुँजीवादी र दलाल पुँजीपति तत्वहरूमा आतङ्क पनि छ । यदि सबै जनयुद्ध लडेका नेता-कार्यकर्ता र जनता पुनः एकतावद्ध भएर दलाल पुँजीपति वर्गको विरूद्ध लड्न उठे भने या वैज्ञानिक समाजवादको निम्ति अगाडि बढिहाले भने षड्यन्त्रपूर्ण रूपले कब्जा गरेको सत्ता फेरी धरमाउने छ भन्ने आतङ्क उनीहरूमा छ । हामीले इतिहासको रक्षा गर्नुपर्छ र उज्यालो भविष्यतिर पाइला बढाउनु पर्छ; सब चीज ठीक हुन्छ ।

नेकपासहित ४ वटा क्रान्तिकारी कम्युनिस्ट पार्टीको बिचमा भएको समाजवादी- देशभक्त मोर्चाको औचित्य के हो ?

क्रान्तिकारी शक्तिको बललाई एकीकृत गर्नु, जनताका दैनिक
समस्याका विरूद्ध संयुक्त रूपले संघर्ष गर्नु, देशमा दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न चाहने जनताको चाहनाको संस्थागत प्रतिनिधित्व गर्नु, वैज्ञानिक समाजवादका लागि संघर्ष गर्नु, देशको स्वाधीनता स्थापना गर्न पहल गर्नु र २१औं शताब्दिमा नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नुमा यसको सशक्त औचित्य छ ।

माओवादी केन्द्रसहितको कार्यगत एकता र समाजवादी- देशभक्त मोर्चाबिचको भिन्नता के हो ?

माओवादी केन्द्रसहित ९ वाम पार्टीहरूबिचको सहकार्य बढी कार्यगत एकताको नीति र मान्यतामा आधारित छ । यद्यपि, हाम्रो जोड यो कार्यगत एकतालाई दलाल पुँजीवादी सत्ता विरूद्धको संघर्षसम्म लैजाउँ भन्ने छ । तर चार पार्टीबिचको मोर्चा दीर्घकालीक चरित्रको छ ।

पहिलो मोर्चाको सम्बन्ध जनता र देशका हितमा मुद्दा मिल्दासम्मको सहकार्य हो भने चार पार्टीबिचको मोर्चा वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने लक्ष्यसहितका लागि सहकार्य हो । पहिलो, तत्कालीक मुद्दामा सहकार्य गर्दै अगाडि बढ्नेमा महत्वको छ भने दोस्रो दीर्घकालीक महत्वको छ ।

राजनैतिक अस्थिरता र आर्थिक संकटले देश झन प्रतिगमनतिर जाने, विदशी हस्तक्षेप बढ़ने र अर्थव्यवस्था टाट पल्टिने चिन्ता भइरहेको छ । तपाईहरू आन्दोलनरत पनि हुनुहुन्छ, तपाईहरूले कम्युनिस्ट र देशभक्त जनतालाई दिशानिर्देश कसरी गर्नुहुन्छ ?

ठोस नेतृत्व, विचार र प्रणाली दिन नसक्दा प्रतिगमनको खतरा बढ्छ । साम्राज्यवादी हस्तक्षेप त हुन्छ नै र भइरहेको पनि छ । तर नेपालको राजनैतिक आन्दोलन र जनताको मूल प्रवृत्ति हेर्दा साम्राज्यवादी हस्तक्षेपको खतरा देखिए पनि प्रतिगमनको संभावना सजिलो छैन । किनकि आजको संकट क्रान्तिकारीहरूको संकट नभएर दलाल पुँजीवादी सत्ताको संकट हो । जनताले विगतको सामन्ती सत्ता राम्रो ठानेका कारणले आएको संकट नभई नयाँ जनवाद-वैज्ञानिक समाजवाद प्राप्त गर्ने चाहना पुरा हुन नपाउँदा आएको संकट हो । हाम्रा सामु वैज्ञानिक समाजवादको उज्ज्वल विकल्प प्रष्टै छ भने यही दलाल पुँजीवादमा अल्झिनु पर्ने या फर्कि ०४७को संविधानमा जाने सोच्नै हुँदैन । हामीले उज्यालो विकल्पलाई पकड्नु पर्छ, अँध्यारोतिर फर्किनु हुँदैन ।

महासचिव कमरेड, भरखरै ८ मार्च (अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस) मनाइएको छ । महिला मुक्तिको बाटो के हो ?
सारसङ्क्षेपमा भन्दा विद्रोह, पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना नै महिला मुक्तिको बाटो हो । व्यवहारिक बुझाईका लागि महिला मुक्तिको संघर्षलाई हामी दुई भागमा राखेर भन्न सक्छौं । एउटा महिलाहरूको दैनिक समस्यासँग जुध्ने र न्याय दिने संघर्ष हो भने अर्को पूर्ण अधिकारसहितको वैज्ञानिक समाजवादका लागि गरिने विद्रोह ।

हामीले महिलाहरूमाथि घटिरहेका अनेकौं उत्पीडन, शोषण र हिंसाका रूपहरू देखी-भोगी रहेका छौं। परिवार, समाज, संस्था, राजनीति, राज्य, देश-विदेश सबैतिर दैनिक उत्पीडन, शोषण र हिंसा भइरहेका छन् । बलात्कृत हुने, सम्पत्तिबाट बञ्चित गर्ने, कम तलब दिने, प्रलोभनमा यौन शोषण गर्ने, शोषण गरेर हत्या गर्ने, कोठीमा बेचिदिने जस्ता अनेकौँ उत्पीडन छन् । हामी यी समस्यासँग दिनदिनै संघर्ष गर्नुपर्छ । तर जतिनै गरे पनि पुँजीवादी दुनियाँ रहेसम्म महिलाहरूले पूर्णमुक्ति र अधिकार पाउने छैनन् । किनकि उत्पीडनको पहिलो कारण नै निजी सम्पत्ति र राज्य सत्ताको उत्पत्ति हो । जुन कारण उत्पीडनको मुख्य कारण हो त्यसलाई समाधान नगरेसम्म मुक्ति संभव हुँदैन ।

यहाँलाई हामी लेनिन र क्लाराजेट्किनबिच भएको अन्तिम छलफलको स्मरण गराउन चाहन्छौं । लेनिनले सोभियत संघमा महिला स्वतन्त्रताको पक्षमा धेरै काम भएका छन् । तर पुरूष र महिलाबिचमा ठूलो खाडल कायमै छ भन्नु भएको थियो । त्यसको कारण के होला ?

संभवतः लेनिनले औल्याउन खोज्नु भएको विषय सत्ताभित्र संरक्षित पुरूषवाद हो । समाजवाद आएपछि वर्ग सत्ता ढल्यो । वर्ग सत्ताबाट हुने उत्पीडन एक हदससम्म समाधान पनि भयो । महिलाले राजनैतिक, आर्थिक, शैक्षिक, साँस्कृतिक क्षेत्रमा समान अधिकार पनि प्राप्त गरे । तर पितृसत्ताको उत्पीडन भने बाँकिनै रह्यो । सायद लेनिनले यो देख्नुभयो ।
क्लारा जेट्किनको भनाइमा महिलाका अधिकारका विषयमा लेनिन र उनीबिच निकै रोचक, व्यापक र सूक्ष्म छलफल र बहसहरू भएका थिए ।

समाजवादी क्रान्तिकालमा श्रमिक महिलाहरूले जस्तो शक्ति र क्षमताको प्रदर्शन गरेका थिए । समाजवाद संचालनमा परिवार, प्रेम, यौन, विवाह, सम्पत्ति आदि विषयमा कैयौं कठिनाइ भोग्नु परेको बुझ्न सकिन्छ । जस्तो कि २१औं शताब्दिमा हामी सबैतिर (नेपालमा पनि) पुरूष र महिलाबिचमा बुझिने गरी यो समस्या देख्छौं ।

लेनिनले क्लारालाई भन्नुभएको रहेछ, “तेस्रो अन्तर्राष्ट्रियले महिला मुक्तिको प्रश्नमा सोधपत्र तयार गरोस् भन्ने अपेक्षा गरेको तर आयोग बनाएर झारा टार्ने काम भयो । त्यो अपुरो काम तिमीले गर्नुपर्छ ।” लेनिनले तेस्रो अन्तर्राष्ट्रियसँग अपेक्षा गरेको र क्लारालाई सुम्पेको त्यो दायित्व आजको महिला आन्दोलनले पनि गर्न नसकेको हो ?

महिलामा अन्तर्निहित क्षमता र महिलाले भोग्नु परेका राजनीति, परिवार, सम्पत्ति, प्रेम, विवाह र यौन जस्ता विषयमा लेनिनले अन्तराष्ट्रिय स्तरमा गहिरो र वैज्ञानिक निष्कर्ष निकाल्न चाहनुहुन्थ्यो । यसका लागि समाजवादी रूसमा आयोग बनाउने कार्य पनि भयो । तर काम औपचारिकतामै सीमित भयो, उचाइमा उठ्न सकेन । यसप्रति लेनिन असन्तुष्ट बनेको पाइन्छ । लेनिनले यस्तो कार्य अन्तर्राष्ट्रिय कम्युनिस्ट क्रान्ति र महिलाका विषयमा केन्द्रीत भएर जेट्किनले प्रस्ताव तयार गरून् भन्ने सुझाव दिनु भएको थियो ।
महिला अधिकारका क्षेत्रमा केही भएन भन्ने होइन । महिलाहरू २१औं शताब्दिमा निकै माथि आएका छन् । तर पनि पितृसत्तात्मक लिंगीय विभेद राज्य, परिवार र सम्पत्तिमा पर्याप्त देख्न सकिन्छ । शोषण र हिंसाको विषय पनि यसैसँग सम्बन्धित छन् । आशाको कुरा, महिला जागरण, संघर्ष र पुरुषको चेतना पनि माथि उठ्दै गएको छ । कम्युनिस्टहरूले राजनैतिक सत्ता, पितृसत्ता, साँस्कृतिक सत्ता जस्ता उत्पीडनकारी साधनसँग लड्ने दायित्वलाई सबैभन्दा अगाडि बसेर पुरा गर्नुपर्छ ।

रूस र चीनको समाजवादी सत्ताले पनि महिलालाई पूर्णमुक्ति दिन सकेन । उनीहरू अन्यामै रहिरहेको भन्ने नारीवादीहरूको आरोपलाई कसरी हेर्नुहुन्छ ?

यो कुरा सही होइन । आजको महिला जागरण र अधिकार प्राप्तिमा सबैभन्दा ठूलो योगदान नै वैज्ञानिक समाजवादी विचार, सिद्धान्त, कम्युनिस्ट पार्टी र समाजवादी सत्ताको रहेको छ । केही पुरूषवादी समस्या पनि रहेका छन् तर पुरूषवाद मिसिएको पुँजीवादी अत्याचारका सामु ती नगन्य छन् । हाम्रो ध्यान भने ती तर्फ पनि गइरहेको छ ।
म केही तथ्य उल्लेख गर्न चाहन्छु | महिलालाई स्वतन्त्र नागरिकका रूपमा बुझ्ने चेतना विचार कसले दियो ? वैज्ञानिक समाजवादले । राजनैतिक संघर्षमा पुरूष समान सहभागि बन्ने र बनाउने चेत कसको हो ? वैज्ञानिक समाजवादको । समान श्रम, समान ज्यालाको विचार र चेत कसले दियो ? वैज्ञानिक समाजवादले । राजनैतिक अधिकार, सम्पत्ति र सत्तामा समान अधिकार सुनिश्चित वैज्ञानिक समाजवादले नै गरेको हो । शिक्षा, रोजगारी, विज्ञान जस्ता क्षेत्रमा वैज्ञानिक समाजवादले नै पहिलो पटक समान अवसर दिएको हो । वैज्ञानिक समाजवादले यी विषय सुनिश्चित गरिरहँदा सामन्तवादी र पुँजीवादीहरू पितृसत्ताको अन्धकारभित्र चक्कर मारिरहेका थिए । आजैको
कुरा गर्नुस न, भूमण्डीकृत पुँजीवाद र यसका भाइ-भारदारहरूले महिलालाई कसरी उपभोग्य मालको रूपमा भोग गरिरहेका छन्, कसरी एक दुई जनालाई देखाएर सारा महिलामाथि अमानवीय शासन गरिरहेका छन् छर्लङ्ग छैन र ? हो, समाजवाद भित्र पनि केही अपूर्णताहरू देखा परेका छन् । तर ती उपलब्धिको तुलनामा नगन्य छन् । यद्यपि तिनलाई समाधान गर्ने गरी २१औं सताब्दीको वैज्ञानिक समाजवादले काम गर्नेमा शंका नगरे हुन्छ ।

वर्गसत्ताको समस्या समाधान भएपछि पनि पितृसत्तासँग विजय प्राप्त गर्न महिलाले लड्नुपर्छ भन्ने सीमोन द बोउवरको भनाइप्रति यहाँको धारणा ?

एक तहमा सही हो। मातृसत्ता या महिला-पुरूषको समान हैसियतलाई दास, सामन्त र पुँजीवादी युगले टुटाएर पितृप्रधान समाजमा धकेलेपछि हजारौं वर्षदेखि लादिएको पितृसत्तालाई समाधान गर्ने सन्दर्भमा सही छ । तर पितृसत्ता पनि वर्गसत्ताकै अंग हो भन्ने सारतत्वलाई राम्रोसँग बुझ्नु पर्छ । केही नारीवादको हवाला दिने पुँजीवादीले पितृसत्ता र पुरूष एउटै हुन् भने जसरी व्याख्या गर्छन । तर पितृसत्ता र पुरूष एउटै होइनन् । पितृसत्ता उत्पीडनको साधन हो भने पुरूष सृजना र उन्मुक्तिको सहगामी, सहयात्री, सहयोद्ध हो । वर्ग संघर्ष र विचारधारात्मक संघर्षबाट बराल्नका लागि उनीहरूले उराल्ने पुरूषसँग विवाह नगर्ने, यौन सम्बन्ध नगर्ने भन्नेतिर लाग्नु हुँदैन ।
जनपत्रिका पहिलो अंक प्रकाशित हुँदैछ । हामी यहाँको सुझावको अपेक्षा गर्दछौं । यो मासिक कस्तो होस् र विचार तथा सूचना प्रवाहको क्षेत्रमा कस्तो भूमिका खेलोस् भन्ने सुझाव दिनुहुन्छ ?

वैज्ञानिक समाजवादी विचार भनेको पूँजीवादी अन्धकारलाई चिर्ने ज्योती हो । जनपत्रिकाले यो ज्योती बोकेर बस्ती-बस्तीमा पुग्ने लक्ष्य लिनुपर्छ । त्यसको सफलताको शुभकामना !

( नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीसँग जनपत्रिकाले लिएको अन्तरवार्ताको सम्पादित अंश)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।