जनसमुदायलाई आन्दोलनमा आफैँ प्रशिक्षित हुन देऊ
यस महान् सर्वहारा सांस्कृतिक क्रान्तिमा एउटैमात्र विधि यो हो कि जनसमुदायले आफ्नो मुक्ति स्वयम् आफूले नै गर्नुपर्छ र उनीहरूको निम्ति काम गरिदिने कुनै पनि तरिका अपनाइनुहुन्न ।
जनसमुदायमा विश्वास गर, उनीहरूमाथि भर गर, उनीहरूको पहलको कदर गर । निर्भिक बन, समस्याहरूदेखि नडराऊ । अध्यक्ष माओले बारम्बार हामीलाई भन्नुभएको छ कि क्रान्ति त्यस्तो ज्यादै विशुद्ध, भद्र, संयमित, दयालु, नम्र, नियन्त्रित र उदार हुन सक्दैन । आम जनसमुदायलाई यस महान् क्रान्तिकारी आन्दोलनमा आफै प्रशिक्षित हुन देऊ र ठीक र बेठीक कुरा तथा सही र गलत कार्यशैलीबीच फरक छुट्याउन देऊ । खुला छलफलका लागि ठूलाठूला अक्षरका पोष्टरहरू र ठूला बहसहरूको पूरापूर उपयोग गर ता कि आम जनसमुदायले सही विचारलाई स्पष्ट गर्न सकून् र गलत विचारको आलोचना गर्नुका साथै सबै भूत र राक्षसहरूको भण्डाफोर गर्न सकून् । यसप्रकार आम जनसमुदायले सङ्घर्षको दौरानमा आफ्नो राजनैतिक चेतना उठाउन सक्नेछन्, सही चीजलाई खराबबाट छुट्याउन सक्नेछन्, हामी र दुश्मनबीच स्पष्ट रेखाङ्कन गर्न सक्नेछन् ।
जनताबीचको अन्तरविरोधलाई सही ढङ्गले हल गर
जनताहरूबीचका अन्तर्विरोधहरू र हाम्रो तथा सत्रुहरूबीचका अन्तर्विरोधहरू जस्ता दुई भिन्नै प्रकृतिका अन्तर्विरोधहरू बीचमा स्पष्ट रूपमा फरक छुट्टयाइनुपर्दछ । जनताहरू बीचको अन्तर्विरोधलाई हाम्रो र सत्रुबीचको अन्तर्विरोध जस्तै रूपमा लिनु हुन्न र त्यस्तै हाम्रो र सत्रुबीचको अन्तर्विरोधहरूलाई पनि जनताहरूबीचका अन्तर्विरोधहरू जस्तै बनाइनु हुन्न ।
जनताहरूमा विभिन्न विचारहरू हुनु स्वाभाविकै हुन्छ । विभिन्न विचारहरूबीच प्रतिस्पर्धा हुनु अनिवार्य, आवश्यक र लाभदायक नै हुन्छ । स्वभाविक र खुल्ला बहसको माध्यमबाट जनसमुदायले जुन कुरा सही हो त्यसलाई स्वीकार्ने छन्, जुन गलत हो त्यसलाई सच्याउनेछन् र विस्तारैविस्तारै सहमतिमा पुग्नेछन् । बहसमा प्रयोग गरिने तरिका तथ्यहरू पेश गर्ने, तर्क गर्ने र तर्कहरूद्वारा अरुलाई मनाउने हुनुपर्दछ । भिन्नमत राख्ने अल्पमतपक्षलाई बलप्रयोगद्वारा आत्मसमर्पण गराउने तरिकालाई छुट दिनै सकिन्न। अल्पमतलाई संरक्षण गरिनुपर्दछ । किनभने कहिलेकाहीं सत्यकुरा अल्पमतमा रहेको हुन्छ । यद्यपि अल्पमत गलत नै किन नहोस् उनीहरूलाई आफ्नो तर्क पेश गर्ने र आफ्नो विचारलाई सुरक्षित राख्ने अवसर दिनुपर्दछ ।
जब कुनै बहस चल्छ त्यसलाई तर्कहरूद्वारा सञ्चालन गरिनुपर्दछ जबर्जस्ती वा बल प्रयोग गर्ने तरिकाले हैन । बहसको क्रममा हरेक क्रान्तिकारीहरू आफ्नो निम्ति आफैले सोच्न निपूर्ण हुनुपर्दछ र निर्भीकतापूर्वक सोंच्ने, निर्भीकतापूर्वक बोल्ने र निर्भीकतापूर्वक काम गर्ने कम्युनिष्ट भावनाको विकास गर्नुपर्दछ । क्रान्तिकारी कमरेडहरूको आम दिशा एउटै भएकोले क्रान्तिकारी एकतालाई सुदृढ पार्नको लागि गौणपक्षलाई लिएर अन्तहीन विवादमा फस्नु हुन्न ।
क्रान्तिकारी जनसमुदायलाई प्रतिक्रान्तिकारी भनेर बदनाम गराउनेहरुको विरूद्ध लड
सांस्कृतिक क्रान्तिका केही स्कुलहरू, इकाइहरू र कार्यदलहरूमा केही जिम्मेवार व्यक्तिहरूले ठूला-ठूला अक्षरका भित्ते पोष्टर टाँसेर उनीहरूको आलोचना गर्ने जनसमुदायको विरुद्ध प्रत्याक्रमण गर्ने गरेका छन्। ती व्यक्तिहरूले यस्ता नाराहरूसम्म पनि अघि सारेका छन् कि इकाइ वा कार्यदलका नेताहरूको विरुद्धमा जानुको अर्थ हुन्छ पार्टीको केन्द्रीय समितिको विरुद्धमा जानु, पार्टी केन्द्रीय समितिको विरुद्धमा जानुको अर्थ हुन्छ पार्टी र समाजवादको विरुद्धमा उभिनु र अन्ततः यसको अर्थ हुन्छ, प्रतिक्रान्तिकारी हुनु। यस तरिकाबाट यो अनिवार्य हुन्छ।
कि तिनीहरूको मुक्का केही सच्चा क्रान्तिकारी कार्यकर्ताहरूमाथि बज्रन पुग्नेछ, यो दृष्टिकोणसम्बन्धी गल्ती हो र यसलाई छुट दिन बिल्कुलै सकिन्न । केही मानिसहरू गम्भीर विचारधारात्मक गल्तीहरूबाट ग्रसित छन्, त्यस्ता मानिसहरू खास गरिकन पार्टीविरोधी तथा समाजवादविरोधी दक्षिणपन्थीहरू उनीहरूले जनआन्दोलनको क्रममा भएका सामान्य कमीकमजोरीलाई टिपेर त्यसको फइदा उठाउँदै अफवाह र फोस्रो कुरा फैलाउने र असन्तुष्टी सिर्जना गर्ने काममा जुट्छन्, अनि जानीबुझीकन केही जनसमुदायलाई ‘प्रतिक्रान्तिकारी’को रूपमा कलङ्कित गर्न कोशिश गरिरहेका छन् । यस्ता ‘पकेटमारहरू’ देखि एकदमै होशियार रहन र उनीहरूका करतुतहरूको ठीक समयमा नै भण्डाफोर गर्न नितान्त आवश्यक छ ।
आन्दोलनको दौरानमा केही अपराधहरू जस्तो हत्या, आगजनी, विषादीको प्रयोग, तोडफोड तथा राज्यको गोप्य सूचनाको चोरी आदिको स्पष्ट प्रमाणहरू भएका सक्रिया प्रतिक्रान्तिकारीहरूको हकमा बाहेक, जसलाई कानुनअनुसार कारवाही चलाउनुपर्ने हुन्छ, आन्दोलनमा उठेका समस्याका कारणले विश्वविद्यालय, महाविद्यालय, निम्नमाध्यमिक विद्यालय र प्राथमिक विद्यालयका विद्यार्थीहरूका खिलाफ कुनै कारवाही गरिनुहुन्न ।
आन्दोलनलाई मुख्य लक्ष्यबाट वर्गेलिनदेखि बचाउन जनसमुदाय तथा विद्यार्थीहरूलाई कुनै न कुनै बहानामा एकआपसमा भिडन्त गर्न उक्साउने प्रवृत्तिको पूर्ण निशेध गरिनुपर्छ। प्रमाणित भइसकेका दक्षिणपन्थीहरूलाई पनि उनीहरू प्रत्येकको मुद्दाको प्रकृतिअनुसार आन्दोलनको पछिल्लो चरणमा नै कारवाही गरिनुपर्दछ ।
कार्यकर्ताहरुको सवाल
मोटामोटी रूपमा कार्यकर्ताहरूलाई चार समूहमा विभाजन गर्न सकिन्छ
क) असल,
(ख) तुलनात्मक रूपले असल,
(ग) गम्भीर गल्ती गरेका तर पार्टीविरोधी तथा समाजवादविरोधी दक्षिणपन्थी भइनसकेका,
(घ) सानो सङ्ख्यामा रहेको पार्टीविरोधी तथा समाजवाद विरोधी दक्षिणपन्थीहरू
सामान्य परिस्थितिमा अघिल्ला दुई समूहहरू (असल तथा तुलनात्मक असल) अत्याधिक सङ्ख्यामा हुन्छ ।
पार्टीविरोधी तथा समाजवादविरोधी दक्षिणपन्थीहरूलाई पूर्णरूपमा नङ्ग्याइनुपर्छ, खण्डन गरिनुपर्छ, सत्ताच्यूत गरिनुपर्छ, र उनीहरूलाई पूरै बदनाम गरेर उनीहरूको प्रभावलाई समाप्त पारिनुपर्छ, तर साथसाथै उनीहरूलाई सुधने मौका दिइनुपर्दछ ।
शैक्षिक सुधार
यस महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अति महत्त्वपूर्ण कार्य पुरानो शैक्षिक प्रणाली तथा पढाइका पुराना सिद्धान्त र तरिकाहरूलाई बदल्नु हो। हाम्रा स्कूलहरूमा बुर्जुवा बुद्धिजीवीहरूको आधिपत्य रहने प्रक्रियालाई यस महान् सांस्कृतिक क्रान्तिको समयमा आमूलरूपमा परिवर्तन गरिनुपर्दछ । हरेक किसिमका स्कूलमा हामीले कमरेड माओत्सेतुङद्वारा प्रतिपादित गरिएको नीति- शिक्षाले सर्वहारावर्गको राजनीतिलाई सेवा गर्नुपर्ने तथा शिक्षा उत्पादनमूलक श्रमसँग जोडिनुपर्ने- लाई कडाइपूर्वक लागू गर्नुपर्दछ ताकि कुनै पनि मानिसले शिक्षा प्राप्त गरेपछि नैतिक, वौद्धिक र शारीरिक विकास गर्न सक्षम बनोस् र यसका साथसाथै सर्वहाराचेतना र संस्कृतिले लैस भएको श्रमिक बन्न सकोस् ।
स्कुलको शिक्षणअवधि कम गरिनुपर्छ । पाठ्यवस्तुहरू थोरै तर राम्रो बनाइनुपर्छ । पाठ्यसामाग्रीहरू पूरै बदल्नुपर्छ । केही सवालहरूमा जटिल विषयवस्तुलाई सरल बनाएर सुरु गरिनुपर्छ यद्यपि विद्यार्थीहरूको मुख्य काम अध्ययन गर्नु हो तापनि उनीहरूले अन्य कुराहरू पनि सिक्नुपर्दछ । आफ्नो पढाइको अलवा उनीहरूले औधोगिक कार्य, खेतीपातीको कार्य तथा फौजी मामलासम्बन्धी कुराहरू पनि सिक्नुपर्दछ, र जब सांस्कृतिक क्रान्तिजस्ता सङ्घर्षका उभारहरू देखा पर्दछन्। बुर्जुवाहरूलाई आलोचना गर्न त्यस्ता सङ्घर्षहरूमा भाग लिने गर्नुपर्दछ ।
छापाहरुमा नाम किटेर आलोचना गर्ने सवाल
सांस्कृतिक क्रान्तिको जनआन्दोलनको दौरानमा बुर्जुवा एवं सामन्ती विचारधाराको तीव्र आलोचना गर्नुको साथसाथै सर्वहारा विश्वदृष्टिकोण एवं मार्क्सवाद-लेनिनवाद-माओत्सेतुङका विचारको व्यापक प्रचारप्रसारमा राम्रो तालमेल मिलाउनुपर्दछ ।
पार्टीभित्र घुसेका खाँटी बुर्जुवा प्रतिनिधिहरू र केही विशिष्ट खालका प्रतिक्रियावादी बुर्जुवा विद्वान ‘अधिकारीवर्ग’को व्यवस्थित आलोचना गरिनुपर्दछ। त्यसअन्तर्गत दर्शन, इतिहास, राजनीतिक अर्थशास्त्र, शिक्षा, साहित्य र कलाका सिर्जना एवं सिद्धान्तहरू, प्राकृतिक विज्ञानका सिद्धान्तहरू र त्यस्तै अन्य कयौं क्षेत्रहरूमा मौजुद रहेका विभिन्न किसिमका प्रतिक्रियावादी दृष्टिकोणहरूको आलोचना गरिनुपर्दछ ।
छापाहरूमा कसैको नाम किटेर आलोचना गर्ने सवालमा सबभन्दा पहिला आलोचित हुने व्यक्ति कुन स्तरको हो त्यही स्तरको पार्टी समितिमा व्यापक छलफलपछि मात्र निर्णय गरिनुपर्छ । कुनैकुनैको सन्दर्भमा अनुमोदनको लागि माथिल्लो समितिमा पेश गरिनुपर्छ ।
.सहर र गाउँमा सांस्कृतिक क्रान्तिकारी आन्दोलनलाई समाजवादी शिक्षा आन्दोलनलाई समाजवादी शिक्षा आन्दोलनलाई समाजवादी शिक्षा आन्दोलनसँगै जोडेर लैजाने व्यवस्था मिलाउने सवाल
ठूला तथा मझौला सहरहरूका सांस्कृतिक एवं शैक्षिक इकाइहरू, पार्टी र सरकारका नेतृत्वदायी अङ्गहरू वर्तमान सर्वहारा सांस्कृतिक क्रान्तिका मुख्य केन्द्रविन्दुहरू हुन्।
महान् सर्वहारा सांस्कृतिक क्रान्तिले सहर र गाउँ दुवैमा समाजवादी शिक्षा आन्दोलनलाई समृद्धशाली बनाएको छ र यसलाई पहिलाको तुलनामा निकै उचाइमा उठाएको छ। यी दुई आन्दोलनलाई एकाकार बनाएर सञ्चालन गर्न बढीभन्दा बढी प्रयत्न गरिनुपर्दछ । विभिन्न क्षेत्रहरू एवं विभागहरूद्वारा विशिष्ट परिस्थितिहरूको ख्याल राख्दै यस कुरालाई व्यवस्थित गर्नुपर्छ ।
समाजवादी शिक्षा आन्दोलन, जुन अहिले गाउँ र सहरका उद्योग व्यवसायहरूमा अगाडि बढिरहेको छ, लाई गडबड गरिनुहुन्न । जहाँ सुरुका व्यवस्थाहरू ठीक छन् र आन्दोलन राम्रोसँग अघि बढिरहेको छ, त्यहाँ त्यही सुरुका व्यवस्थाहरूलाई नै निरन्तरता दिनुपर्दछ तर पनि ती सवालहरू जुन वर्तमान महान् सर्वहारा सांस्कृतिक क्रान्तिमा उठिरहेका छन्, तिनलाई उचित समयमा छलफलको लागि जनसमुदायसमक्ष राखिनुपर्दछ ता कि सर्वहारा विचारधारालाई तीव्र रूपमा फैलाउन र बुर्जुवा विचारधारालाई उन्मुलन गर्न सकियोस् ।
केही ठाउँहरूमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति समाजवादी शिक्षा आन्दोलनलाई थप गति प्रदान गर्न तथा राजनीति, विचारधारा, सङ्गठन एवं अर्थव्यवस्थाको क्षेत्रमा सुद्धिकरण गर्न केन्द्रविन्दुको रूपमा प्रयोग भइरहेको छ । जहाँ स्थानीय पार्टी समितिले त्यसो गर्नु उपयुक्त ठान्छ त्यहाँ त्यसो गर्न सकिन्छ ।