६ बैशाख २०८१, बिहीबार

अथक यात्राको प्रतिबिम्ब : ‘सपनाका यात्री’

0

                                                                          कृति समीक्षा

सपनामै जिउँछ जीवन
सपनामै रम्छ जीवन ।
मानव जीवनको सौन्दर्यबोध अभिव्यक्त गर्ने एउटा कालजयी गीतको अंश हो यो । यसै गीतको शिर्षकबाट गीतिसङग्रहको न्वारान भएको छ ।
गीतिसङ्ग्रह सपनाका यात्री बजारमा आएको छ । जनप्रचार तथा प्रकाशन प्रा. लि. द्वारा प्रकाशित यो गीतिसङ्ग्रह नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यसमेत रहेका लोकप्रिय जनवादी गायक, गीतकार तथा सङ्गीतकार चिरन पुन ‘मिलन’ को पुस्तकाकारको रुपमा आएको दोस्रो कृति हो । यसअघि उनको पहिलो पुस्तक एकीकृत जनक्रान्तिका आधारहरु (लेखसङ्ग्रह २०७३) प्रकाशित भइसकेको छ । सपनाका यात्री क्रान्तिकारी गीतहरुको सङ्ग्रह हो ।
लोकप्रिय जनवादी गायक, गीतकार तथा सङ्गीतकार चिरन पुन ‘मिलन’ जनसांस्कृतिक आन्दोलनका बहुप्रतिभाशाली योद्धा हुन् । क्रान्तिकारी गीत लेखन, सङ्गीत तथा गायनको क्षेत्रमा उनी निरन्तर साधनारत छन् । रक्तिम परिवारदेखि एकीकृत जनक्रान्तिको प्रक्रियासम्म उनको अनवरत योगदान महत्वपूर्ण रहेको छ । हालसम्म मिलनका ७ वटा क्रान्तिकारी गीति एल्बम प्रकाशित छन् ।
लौ आयो रातो खबर (२०७२), चमचम गर्ने खुकुरी (२०७४), क्रान्तिकारी रातो झण्डा (२०७५), सपनाका यात्री (२०७७), प्रतिबन्ध (२०७८), साम्यवाद (२०७९) र मेरे देश (२०७९) मिलनका गीति एल्बमहरु हुन् । यस अतिरिक्त उनका फुटकर गीतहरु रक्तिम परिवार भाग १० (२०५३), भाग ११ (२०५४) लालदस्ता (२०६३), मुक्ति आन्दोलन (२०६४) र आवाज (भाग ४) मा समावेश छन् ।
समाजवादी यथार्थवादी कला साहित्यमा अनवरत साधना उनको विशेषता बनेको छ । यसकासाथै क्रान्तिकारी आन्दोलनले सुम्पिएको राजनीतिक र साङ्गठनिक जिम्मेवारीमा पनि उनी क्रियाशील रहदै आएका छन् । ठोकेरै भन्न सकिन्छ, उनका सम्पूर्ण कृति र कर्मले उनलाई राष्ट्र र श्रमिक बर्गको मुक्तियात्रामा इमानदार सारथीको रुपमा उभ्याएका छन् ।
प्रस्तुत सङ्ग्रहमा जम्मा १ सय २९ गीतहरु सङ्ग्रहित छन् । यस सङ्ग्रहका सबै गीतहरु चिरन पुन ‘मिलन’द्वारा सङ्गीतबद्ध रहेका छन भने अधिकांश गीतहरु उनकै रचनामा रहेका छन् । रचना समयको हिसाबले यस सङ्ग्रहका गीतहरु २०४९ देखि २०७९ सम्मका छन् । सङगीतकार तथा गीतकार मिलनले गीतिसङ्ग्रहमा विभिन्न गीतकारका २४ वटा गीतहरु समेत सङ्गीतबद्ध गरी यस सङ्ग्रहमा समावेश गरेका छन् । जसमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव रचित ४ वटा गीत रहेका छन् । र, गीतिसङ्ग्रहको नाम पनि विप्लवरचित गीत सपनाका यात्रीबाट लिइएको छ ।
यस गीतिसङ्ग्रहमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सी, स्थायी समिति सदस्य सन्तोष सी, भरत सी, पोलिटब्युरो सदस्य आधार सी, केन्द्रीय सदस्य प्रेम सीका गीतहरु समावेश छन् । त्यसैगरी नेता धर्मेन्द्र वास्तोला, दीपक चलाउने, ओम पुन, हरि नेपाली, कृष्णहरि भट्ट, विजयराज प्यासी र नारायण दङ्गालका गीतहरु यस सङ्ग्रहमा समावेश गरिएका छन् ।
यस अतिरिक्त प्रस्तुत सङ्ग्रहमा केही गीति समीक्षा पनि समावेश छन् । युग बदल्ने ‘सपनाका यात्रीहरु’ शिर्षकमा विप्लवरचित गीतमाथि प्रगतिवादी लेखक तथा साहित्यकार खेम थपलियाको गीति समीक्षा रहेको छ । त्यसैगरी विप्लवरचित गीतमाथि क्रान्तिभित्रको सुख चिनाउने एक ऊर्जाशील गीत ‘भोग्नलाई त’ शिर्षकमा र प्रेम रचित गीतमाथि व्यवस्था बदल्न अभिप्रेरित गर्ने गीत ‘चुनाव’ शिर्षकमा रक्तिम परिवारका अध्यक्ष नारायण शर्माका गीति समीक्षा रहेका छन् ।
यस सङ्ग्रहका गीतहरुको आयाम फराकिलो छ । गीतहरुले देश बोलेका छन्, देशको परिवेश बोलेका छन् । र, परिवेशले बदलेको भेष बोलेका छन् । गीतहरुले जनताको जीवन बोलेका छन् । जीवनको दर्शन बोलेका छन् । र, दर्शनको मन बोलेका छन् । गीतहरुले कुशासनका विरुद्धको बाचा बोलेका छन् । उन्नत सभ्यताको आशा बोलेका छन् । र, सुन्दर भविष्यको अभिलाषा बोलेका छन् ।
महासचिव विप्लव सीको गहन मन्तव्य रहेको यो गीतिसङ्ग्रहमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, जनवादी गीतकार तथा सङगीतकार माधव प्रधान, जीवन शर्मा र मणि थापाका शुभकामना राखिएको छ । मिलनकृत यो कृति सङग्रनीय रहेको छ ।

कृतिः सपनाका यात्री
पृष्ठः १७६
मूल्यः रु. २५०÷–
२०८०÷०१÷१५
वानेश्वर, काठमाडौ

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।