११ श्रावण २०८१, शनिबार

शिक्षाको क्रान्तिकरण: विलियम हिल्टन

0

त्यतिखेर विश्वविद्यालयको जीवनको स्थायी स्वरूप हुन गएको प्रचार टोलीले शैक्षिक क्रान्तिको नेतृत्व गरिरहेको थियो । आ-आफ्ना कार्य थलाहरूमा फर्केपछि कर्मचारीगणका सदस्यहरू बडो उत्साहसाथ त्यस क्रान्तिमा डुबुल्की मार्न थाले र उनीहरूलाई आफ्ना जीवनले नयाँ अर्थ ग्रहण गरिरहेको थाहा भयो । त्यस आन्दोलनलाई संरचनागत स्वरूप दिने उद्देश्यले प्रचार टोलीले प्रत्येक विभागमा एक-एकवटा शैक्षिक रूपान्तरण समूह गठन गर्न सघायो । स्थानीय कारखानाहरूसँगको सम्पर्क-सूत्र तिनताका परिकल्पना गरिएको रूपान्तरण कार्यको सबैभन्दा महत्त्वपूर्ण तत्त्व भएको हुनाले सिङहुआसँग स्थायी सम्बन्ध गाँसेका प्रत्येक कारखानामा पनि शैक्षिक रूपान्तरण समूहहरू गठन गरिए । यी शैक्षिक रूपान्तरण समूहहरूले भर्ना प्रणालीदेखि लिएर पाठ्यक्रम र पाठ्यपुस्तकसमेतको क्रमबद्धरूपबाट मूल्याङ्कन गरी हरेक कुराको पुनर्निर्माण गर्ने कार्य शुरू गरे ।

शिक्षाको क्षेत्रमा भर्नासम्बन्धी नीति सायद सबैभन्दा महत्त्वपूर्ण एउटा मुद्दा थियो । अहिले आएर आखिरमा माओ त्से-तुङका निर्देशहरूलाई गम्भीररूपमा लिएर सबैतिर लागु गर्ने क्रम शुरू भएको हुँदा मजदुर, किसान र सिपाहीहरूलाई विद्यार्थीसम्बन्धी हरेक निकायको मुटुका रूपमा स्वीकार गरिएको थियो तर व्यवहारमा चाहिं अध्ययन गर्न चाहने लाखौंलाख सुयोग्य तरुणहरूलाई छाडेर विश्वविद्यालयमा भित्र्याइएका केही तरुणहरूलाई मात्र • कसरी रोज्ने होला ? पुरानो परीक्षा प्रणालीले सहरिया पुँजीजीवी र पेशेवर • समूहहरूलाई काखी च्याप्ने कुरा व्यवहारबाट प्रमाणित भएको हुँदा त्यसलाई त्यति धेरै वादविवाद नगरीकनै खारेज गरियो तर परन्तुमा अर्को कुन पद्धति • प्रमाणित होला त ? विद्यार्थीहरू माध्यमिक विद्यालयहरूबाट रोज्ने होला कि कार्यशाला र कम्युनहरूबाट रोज्ने होला ?

उपयुक्तमाध्यमिक विद्यालयका स्नातकहरू लगत्तै उच्च शिक्षा अध्ययन गर्न जानुको सट्टा उनीहरूमध्ये सबै नै कारखानाहरूमा, ग्रामीण ब्रिगेडमा वा सेनामा काम गर्न जानेछन् र कोही पनि यस कुराको अपवाद हुनेछैन भनी राष्ट्रिय स्तरमा निर्णय भयो । त्यसपछि पाँचवटा मापदण्डको आधारमा विश्वविद्यालयमा प्रवेश पाउने तरूणहरूको छनोट गरिने भयो :
१. काममा र दैनिक जीवनमा उनीहरूले माओ त्से तुङ विचारधारालाई कत्तिको राम्ररी अध्ययन गरे र लागु गरे ?
२. उनीहरूका जनसमूहहरूसितका सम्बन्धहरूको स्तर ।
३. माध्यमिक विद्यालयमा उनीहरूको रेकर्ड ।
४. कम्तीमा पनि तीन वर्षका व्यावहारिक कामहरूको सिलसिलामा उनीहरूको कामको रेकर्ड ।
५. उनीहरूको उमेर त्यस्तै बीस वर्षको हुनुपर्ने । (तीन वर्ष काम गर्नुपर्ने भएपछि उमेर त्यसभन्दा कम हुन सम्भव नै थिएन । उमेर त्यसभन्दा निकै बढी भएमा त्यो अध्ययनमा बाधक हुनसक्थ्यो ।)

अन्तिम बुँदालाई कडाइका साथ पालना गरिएन । अलि पाको उमेर भएका विशेष समूहका मजदुर र किसानहरूलाई विशेष पाठ्यक्रम अध्ययन गर्नका निम्ति बेलाबेला छनोट गर्ने गरियो । सन् १९७० मा सिङह्वामा अध्ययन गर्नको निम्ति रोजिएको पहिलो श्रेणीमा दश वर्षभन्दा लामो समयको व्यावहारिक अनुभव भएका ४०० भन्दा धेरै मजदुर थिए । तिनीहरूमध्ये धेरैले माध्यमिक विद्यालयको मुख देख्न नपाएका भए पनि आफ्नो कामधन्दामा भने तिनीहरू पारङ्गत भएका थिए । तिनीहरूको पढाइ मुख्यतया आफ्ना प्राविधिक क्षेत्रहरूमा भएका सबैभन्दा नयाँ विकासहरूमा केन्द्रित हुन्थ्यो । अनि त्यस पढाइको अवधि एक वर्षदेखि डेढ वर्षसम्मको मात्र हुन्थ्यो ।

मानिसहरूलाई छनोट गर्ने वास्तविक प्रक्रियाअन्तर्गत तलका चरणहरू पर्थे : (१) विश्वविद्यालमा अध्ययन गर्न चाख भएका मानिसहरूले दरखास्त दिन्थे । (२) जनसमूहहरूले अर्थात् उनीहरूकै तहका मानिसहरूले दरखास्त दिने सबैका विषयमा छलफल गरी सर्वोत्तम ठहरिनेलाई छनोट गर्थे । (३) उत्पादन वा सैनिक एकाइका नेताहरूले जनसमूहको रायसल्लाह लिएर छनोट गरिएका नामहरूमा छाँटकाँट वा थपथाप गरी नामावलीलाई अनुमोदन गर्थे । (४) विद्यालयका अधिकारीहरू वा यस सन्दर्भमा सिन्ह्वा विश्वविद्यालयका काडरहरूले छानिएका मानिसहरूलाई न्यायोचित सीमाभित्र रहेर स्वीकार वा अस्वीकार गर्ने अधिकार पाएका अधिकारीहरू समक्ष त्यस सूचीको छानबिन गरी अन्तिम निर्णय गराउँथे ।

किसानको पृष्ठभूमि भएकी कियाङसी निवासी तरूण महिला लिउ ए-चिआयोले भनिन्, “यस प्रणालीअन्तर्गत राजनीतिक दृष्टिले असल र स्पष्ट उद्देश्य भएका तरूणहरूलाई छनोट गरिन्छ । यसरी छनोट गरिने मानिसहरू यसअघि निजी कारणबाट प्रेरित भई आउने विद्यार्थीहरूजस्ता हुँदैनन् । त्यस्ता रहेछन् नै भने पनि उनीहरूले सबैभन्दा पहिले क्रान्तिकारी विचारधारा ग्रहण गरी आत्म-रूपान्तरणको प्रक्रियाबाट गुज्रिएको हुनुपर्छ अथवा उनीहरूले यहाँ आएर आफ्नो चरित्र बदल्न सक्छन् ।”

विद्यार्थीहरू क्याम्पसमा आइपुगेपछि उनीहरूलाई सेनाका एकाइहरूको जस्तो संरचना भएका सङ्गठनात्मक एकाइहरूमा सामेल गराइन्छ । कुनै पनि विशेष क्षेत्रका विद्यार्थीहरूलाई एउटा कम्पनीका रूपमा सङ्गठित गरिन्छ । त्यसपछि हरेक कम्पनीलाई प्लाटुनमा विभाजन गरिन्छ र ती प्लाटुनहरूलाई पैंतालिस जना जतिको कक्षामा विभाजन गरिन्छ । अनि यी कक्षाहरूलाई दश वा बाह्र जनाका स्क्वाड वा अध्ययन समूहहरूमा बाँडिन्छ । यी आपसी सहयोग अध्ययन समूह हुन् । यी समूहमा हरेक विद्यार्थीले अर्को विद्यार्थीलाई सहयोग गर्छ । यस परिपाटीको उद्देश्य कोही पनि पछि नपरोस् र मानवीय दृष्टिले सम्भव होउन्जेलसम्म सबै जना विषयमा पारङ्गत होऊन् भन्ने हो । लिउ सुए-चिआयोले भनिन्, “हामीले आफ्ना काधमा आफ्ना परिवारका मानिसहरूका आशाहरूको जिम्मा लिएका छौं । हाम्रो लक्ष्य एउटै छ, त्यसकारण हामीले कुनै पनि बन्धुलाई पछि पर्न दिन मिल्दैन । क्रान्तिका निम्ति कठोर सङ्घर्ष गर्नु भनेको व्यक्तिगत सङ्घर्षभन्दा फरक कुरा हो ।”

यसरी प्रवेश पाउने कम्पनी, प्लाटुन र कक्षाहरूले कक्षा कोठाबाट आफ्नो थाल्नुको सट्टा उनीहरू आफ्नो अध्ययनको क्षेत्रसँग सबैभन्दा बढी सम्बन्धित हुने कारखानामा गएर निकै महिनासम्म काम गर्छन् । ढलाइ कार्यकी विद्यार्थी लिउ सुए चिआयोले पहिला साढे चार महिना सिङवाको ढलाइ गर्ने कार्यशालामा बिताएकी थिइन् । उनले त्यहा हरेक आधारभूत काम सिक्दै समय बिताइन् र भट्टी तथा यन्त्रहरूका सामुन्ने मजदुरहरूले सिक्ने गरेका र प्रायःजसो मजदुरहरूले नै सिकाउने गरेका कक्षाहरूमा सिकिन् । यन्त्र सञ्चालन हुने सिङ्गो प्रक्रियासित परिचित भइसकेर मात्रै विद्यार्थीहरू थप गहन सैद्धान्तिक अध्ययनका लागि क्याम्पस फर्किन्छन् । उनीहरूले त्यसपछि पनि हरेक हप्ता अढाई दिन विश्वविद्यालयको ढलाइको कार्यशालामा काम गर्छन् र उनीहरू बीचबीचमा कक्षाहरूमा सामेल हुन्छन् ।

पाठ्यक्रमलाई यन्त्रको कार्यशालाको व्यावहारिक अनुभवसित गाँस्ने यस तरिकाका लागि विश्वविद्यालय र उद्योगको बीचमा ज्यादै जटिल सम्पर्क-सूत्रको प्रबन्ध मिलाउनु जरूरी हुन्छ । “पहिले सिङवालाई पर्खालले घेरेको थियो तर अहिले भने त्यो पर्खाल छैन ।” वास्तवमा हामी त्यहाँ छँदाखेरि नजिकैको कम्युनका किसानहरू क्याम्पसको सबैभन्दा नयाँ खण्डको दक्षिण र पूर्वमा ढुङ्गा र इँटाको पर्खाल बनाउँदै थिए । त्यो पर्खाल क्याम्पसको उत्तरी र पश्चिमी खण्डलाई घेर्ने पुरानो पर्खालसँग जोडिन्थ्यो । त्यसो गर्दा पूरै क्याम्पस केही अग्लो भौतिक पर्खालले घेरिन आउँथ्यो तर पुरानो विश्वविद्यालयलाई निश्चितरूपले अलग्याउने सांस्कृतिक पर्खाललाई अनेकौ तरिकाले भेदन गरिएको थियो । नयाँ विश्वविद्यालय त्यसको जगको जोगाउ गर्ने आठ फिटको ठोस पर्खालको सेरोफेरोभित्र कुनै हालतमा पनि सीमित हुने कुरा थिएन ।
I
अहिले विश्वविद्यालयका अनेकौ कारखानाहरूसँग स्थायी सम्पर्क गाँसिएको छ । विद्यार्थीहरू मात्र ती कारखानामा काम गर्न र अध्ययन गर्न जाने नभई मजदुरहरू पनि क्याम्पसमा आएर सिकाउने र अध्ययन गर्ने काम गर्छन् । यन्त्रको कार्यशालामा उठ्ने समस्याहरूलाई तिनको समाधान खोज्न क्याम्पसमा ल्याइन्छ भने क्याम्पसमा उठ्ने समस्याहरूलाई तिनको समाधान खोज्न उता कारखानामा लगिन्छ । ती दुवै ठाउँमा अनुसन्धान गरिन्छ ।

विश्वविद्यालका सारा विभागहरू साँच्ची नै धेरथोर स्थायीरूपले काम गर्ने थलोमा परिणत भएका छन् । सन् १९७१ को गृष्म याममा जल आरक्षण विभागले बन्दुकका घोडी, यन्त्रका बाहिरी भाग र बन्दुकका नाल होनानको पहेंलो नदीको सान मेन बाँधको निर्माणस्थलमा सायो भने सिभिल इन्जिनियरिङ विभागले चाहिं पेकिङमा रहेका ‘पूर्व रातो छ’ भन्ने तेल प्रशोधन कारखाना, आम यन्त्र कारखाना नं. १ र प्रमुख इस्पात कारखाना गरी तीनवटा कारखाना पेकिङमा सायो ।

यो ठाउँ सार्ने कामको पनि दोहोरो प्रक्रिया थियो । कतिपय विभागहरूलाई क्याम्पसबाट उपयुक्त कारखानाहरू र निर्माणस्थलहरूमा राख्नका निम्ति सारियो भने मुख्यमुख्य कारखानाका मजदुरहरू त्यहाँका पसलहरू छाडेर औद्योगिक एकाइहरू खोल्नका निम्ति क्याम्पसमा आए । ती औद्योगिक एकाइहरूमा नयाँ उपजहरूबारे अनुसन्धान गर्नुको साथसाथै सम्भव भएको बेला गेडागुडीको उत्पादन गर्ने काम पनि गरिन्थ्यो ।

अध्ययनलाई वास्तविक उत्पादनसित गाँस्ने क्रममा स्थिर कक्षा कोठाहरूको पढाइ र अलचिलो पाठ्यक्रमको विषयवस्तुलाई सञ्चालन गर्न असम्भव नै नभए पनि कठिन भने भयो । अनि खास दिनको खाँचोअनुसार व्याख्यान र प्रयोगशालाको समय लम्बिने वा छोटिने क्रम चल्यो । वास्तविक समस्याहरू नै पाठ्क्रमको गुदी कुरा बन्न पुगे अनि पाठ्क्रमहरू कुनै साना र कुनै ठूला हुनाले तिनलाई दिइने समय पनि घटीबढी भयो । यस प्रणालीले विगतका सबै औपचारिकताहरूलाई छिन्नभिन्न पारी त्यसको सट्टा ज्यादै जिउँदो वातावरण निर्माण गरिदियो । त्यस वातावरणमा सिद्धान्त र व्यवहार काँधमा काँध मिलाएर एकसाथ अघि बढे अनि विभागहरू र विद्यार्थीहरू बृहत्तर पेकिङका उत्पादनसम्बन्धी समस्याहरूमा समानरूपले र गहिरो गरी सरिक भए ।

खास गरेर क्याम्पसस्थलका कार्यशालाहरूले अध्ययनको व्यापकतालाई सीमित तुल्याउन सक्थे किनभने जे-जस्ता उपजहरू तयार पारे पनि हरेक कारखानाले संसारका वैज्ञानिक तथा इन्जिनियरिङसम्बन्धी समस्याको एउटा सानो खण्डलाई मात्र सम्हाल्न सक्थ्यो । अझ त्यसमाथि, कारखाना बनाइसकेपछि कक्षाहरूमा गरिने काम झन् थोरै हुन्थ्यो । अब कक्षाहरूले गर्ने काम उपकरण बनाउनु नभएर खालि कारखाना चलाउनु मात्र हुन्थ्यो ।

क्याम्पसका कार्यशालाहरूलाई व्यवहारको निम्ति पहिलो पाइलो चाल्ने थलोका रूपमा मात्र प्रयोग गरिने कुरा मलाई बताइयो । उदाहरणका लागि, क्याम्पसको गाडी कारखानामा मुख्यतया ट्रकका बडीहरूका टुटेफुटेका ठाउँमा वेल्डिङ गर्ने काम मात्र गरिन्थ्यो । त्यस काममा पारङ्गत भएपछि विद्यार्थीहरू अरू सबै मुख्य प्रकारका वेल्डिङहरूबारे बुझ्न क्याम्पस बाहिर टाढाटाढा जान्थे । गेडागुडीहरू उत्पादन गर्ने नियमित कामको हकमा त्यसमा खतरा ज्यादै थोरै थियो किनभने नयाँ उपज र नयाँ यन्त्रहरूको उत्पादन गर्ने कामको अगुवा नै क्याम्पसमा आधारित यी कार्यशालाहरूका मुख्य अभिभाराहरू थिए । ती कार्यशालाहरूमा सधैं ढाँचाहरू तयार पार्ने, औजारहरूलाई नयाँ साँचोमा ढाल्ने र नयाँको आविष्कार गर्ने काम हुन्थ्यो । ती काममा गरिने परीक्षणहरूबाट नयाँ समस्या आइलाग्थे र तिनले नयाँ समाधानहरू खोज्न कुत्कुत्याउँथे । कार्यशालाहरू पूरा भए भनेर कहिल्यै भन्न सकिन्नथ्यो । हरेक कक्षाले ती कार्यशालाहरूलाई आफ्नो खाँचोअनुसारको स्वरूपमा ढाल्थ्यो ।

यस्तो रचनात्मक र व्यावहारिक तरिकाले पाठ्यक्रमको कामको निर्धारण गर्नका लागि निकै नै चाँजोपाँजो मिलाउनु र सम्पर्कका थुप्रै नाकाहरू हुनु जरूरी त भइ नै हाल्थ्यो । शिक्षकले विचार र वस्तुहरूलाई लिएर जे जति काम गर्नुपर्थ्यो, झन्नैजसो मानिसहरूसँग पनि त्यति नै काम गर्नुपर्थ्यो । त्यो काम राम्ररी गर्नका निम्ति माओले भनेझैं ‘पियानो बजाउनु पर्थ्यो । भनाइको मतलब के हो भने एकैपटक दशैवटा औंला चलाएर एकसाथ थुप्रै समस्यालाई परिचालन गर्नु र सन्तुलन मिलाउनु पर्थ्यो। त्यो काम गर्न लचिलो र सिर्जनशील हुनुपर्थ्यो । उत्पादनको क्षेत्रमा के भइरहेको छ भन्ने कुराको जानकारी प्राप्त गरी त्यस जानकारीलाई कामको गतिलाई अघि बढाउने ढङ्गले सिद्धान्तसँग गाँस्नुपर्थ्यो । त्यहाँ पहिले नै तम्तयार भएको तरिकाको प्रयोग गरी पुरानै ढङ्गले समस्याको समाधान खोज्ने कुरै थिएन । हामीले जुन प्रोफेसरहरूसँग कुराकानी गर्यो, उनीहरूलाई यस्तो चुनौती मन परेको र उनीहरूले बडो उत्साहसाथ त्यस चुनौतीको सामना गरिरहेको छनक हामीले पायौ ।

विगत कालमा पाठ्यपुस्तकका लेखक भनेर नाम चलेका तुङ र चिएन व्यवहारको धरातलमा उभिएर आफ्ना सामग्रीहरूको पुनर्लेखन गरिरहेका थिए । तुङले भने, ‘पहिले त मलाई मेरा पुराना सामग्रीहरूमा यसो सानातिना हेरफेर गरे भइहाल्ला भन्ने लागेको थियो तर त्यो कुरा पूरापूर गलत रहेछ । आजको आवश्यकताको दृष्टिबाट हेर्दा ती पुराना पाठ्पुस्तकहरू त एकदमै अधुरा पो ठहरिए । मजदुर प्रचार टोली आउन्जेलसम्ममा विज्ञानको विकास र विज्ञानको पढाइसँग वर्गीय प्रश्नहरू मुछिएका होलान् भन्ने मलाई चेत भइसकेको थियो । विश्वदृष्टिकोणले ठूलो फरक पार्छ भन्ने त मलाई थाहा भएकै कुरा हो तर मेरो आफ्नै दृष्टिकोण भने अझै पनि धेरै हदसम्म पुँजीवादी भएकोले मैले अरू पाठ्यपुस्तक लेख्न मन गरिनँ । मलाई कस्तो लाग्यो भने “मैले पाठ्यपुस्तक लेखेर थप पुँजीवादी विष फैलाएँ भने त मलाई फेरि पनि अस्वीकार गरिनेछ ।”

तर मजदुरहरूले भने, “हैन, तपाईंले लिउ शाओ – चीको नेतृत्वमा धुमधाम सक्रिय भएर औधी मिहिनेतसाथ लेख्नुभएको थियो नि, हामी सत्तामा आएपछि तपाईंले किन लेख्न छाड्नुभएको हो ?” मलाई त्यस प्रश्नको उत्तर दिन बडो गाह्रो पर्यो । मैले गल्ती गर्दै भए पनि लेख्दै जाने निधो गरें तर अचेल म समूहसँग मिलेर लेख्छु । हामी सबै जना सँगै बसेर छलफल गर्छौं । पहिले-पहिले छलफल गरियो नै भने पनि आखिरमा मेरो भनाइ नै सधैं सत्य ठहरिन्थ्यो तर अचेल भने मेरो राय धेरैमध्येको एउटा राय हुन आउँछ अनि मेरो राय प्रायः गलत ठहरिन्छ ।

अचेल हामी लेखाइमा तीनवटा सिद्धान्तको पालना गर्छौं :
१. माओ त्से तुङ विचारधाराको अध्ययन गरी त्यसलाई लागु गर । २. आफ्नो कामलाई मजदुर, किसान र सिपाहीको सेवामा लगाऊ । निजी महत्त्वाकांक्षाबाट काम थाल्ने नगर अनि स्वाँगे प्रदर्शन नगर । ३. वर्ग सङ्घर्ष, उत्पादन सङ्घर्ष र वैज्ञानिक प्रयोग गरी यी तीन महान् क्रान्तिकारी आन्दोलनको व्यवहारबाट काम थाल अनि हाम्रो आजको प्रविधिको विकासको स्तरलाई झल्काउने खालका सामग्रीहरू लेख । विगतका मेरो पाठ्यपुस्तकहरूले समयसँग मेल नखानु वा तिनमा विदेशी प्रविधिको चर्चा हुनु (हाम्रो निम्ति जे जे उपयोगी छ, त्यो त हामीले सिक्नैपर्छ भनेर माओ त्से-तुङले नै भन्नुभएको छ नि !) तिनमा रहेको मुख्य समस्या थिएन तर मुख्य समस्या त तिनले गलत नायकहरूको बखान गर्नु नै थियो ।

कुनै पाठ्यपुस्तकको लेखाजोखा गर्नु भनेको कुनै खेल वा उपन्यासको लेखाजोखा गर्नुजस्तै हो । यहाँ हामीले सोध्नैपर्ने पहिलो प्रश्न हो, “मुख्य पात्र को हो ? नायक को हो ?” मेरा पुस्तकहरूका मुख्य पात्रहरू निश्चय नै श्रमिक जनता नभएर विशेषज्ञहरू नै हुन् । म पहिले ‘उच्च कोटि को दिमाग भएका र त्यस्तो दिमागलाई महान् आविष्कारहरूको सिर्जना गर्ने काममा लगाउने वैज्ञानिकहरूको तारिफ र पूजा गर्थे । सचेतरूपबाट होस वा असचेतरूपबाट होस्, मेरो सिङ्गो पुस्तकमा परिचयदेखि लिएर सन्दर्भ सामग्रीहरूसम्म प्रतिभाशाली मानिसहरूको भूमिकामाथि जोड दिइएको हुन्थ्यो अनि पाठकले चाहिँ मेरो तारिफ गरिदिनु पर्थ्यो । साह्रै सानो उमेरमा नै मैले नामी हुने निधो गरेको थिएँ तर मैले आफूलाई विज्ञानको क्षेत्रका अरू ‘प्रतिभाहरूको काँटमा राखेको खण्डमा मात्र म नामी हुन सम्भव थियो । त्यसकारण मेरा रचनाहरूको एउटा पाटो यही हो, जसले तरूणहरूका दिमागलाई विषाक्त पारिदिन्छ । ती रचनाहरूमा श्रमिक जनताले संसारको सिर्जना गर्छन् भन्ने कुराको सङ्केत कतै पनि छैन ।

अर्को समस्या मेरा रचनाहरूमा रहेको आदर्शवादी आधार थियो । मैले वस्तुहरूलाई द्वन्द्वात्मक दृष्टिले गतिशील र अन्तर्सम्बन्धित वस्तुका रूपमा तथा असल र खराब, सकारात्मक र नकारात्मकजस्ता दुई पाटा भएका वस्तुका रूपमा विश्लेषण गरेको थिइनँ । मलाई कुनै वस्तु मन पर्यो भने म त्यसका खोटहरूको विश्लेषण नै नगरीकन आँखा चिम्लेर त्यसका राम्रैराम्रा कुराको मात्र चर्चा गर्थे । मैले एकपछि अर्को गर्दै थुप्रै नियम बनाएको थिएँ अनि ती सबै नियमले विद्यार्थीहरूलाई रूढिगत तरिकाले सोच्न सिकाउँथे ।
तेस्रो समस्या पाण्डित्य छाँट्ने मेरो तरिका थियो । पाठकहरू स्वयम्लाई वस्तुस्थितिको विश्लेषण गर्न समर्थ तुल्याउने गरी मुख्य तथ्यहरू र • नियमहरू नकेलाईकन म ज्ञानगुनका सारा कुराहरूको थुप्रो लगाउँथे । हाम्रा स्नातकहरूको यसो जाँच लिइहेर्दा हामी उनीहरूमा उत्पादनका वास्तविक समस्याहरूको हल गर्ने खास खुबी नभएको पत्ता लगाउँथ्यौं ।

मैले आफ्नो पुस्तकमा ज्ञानगुनका कुरा पुग्दो मात्रामा नराखेको हुदा त्यसो भएको हो भनी म ठान्थे । मैले आफ्ना पाठ्यसामग्रीमा नपारिएका विषयहरूमा नै  मैले आफ्ना पाठ्यसामग्रीमा नपारिएका विषयहरूमा नै उनीहरूलाई समस्या पर्थ्यो, त्यसकारण म आफ्ना पुस्तकहरूलाई छोटा बनाउनुको सट्टा झन् लामा बनाउँथे तर वास्तविक समस्या त के थियो भने हामी हाम्रा विद्यार्थीहरूलाई सोचविचार गर्न सिकाउँदै सिकाउन्नथ्यौ ।

उदाहरणका लागि ट्रान्जिस्टरकै कुरा गरौं न । त्यसमा अनेक प्रकारका हजारौं सर्किटहरू हुन्छन् । तिनीहरूबारे एकएक गरी कुरा गर्दै जाने हो भने ती सबैलाई छिचोल्न दुई वर्ष लाग्न सक्छ अनि त्यसो गर्दा सूचना जाबोको त चाङ नै लाग्छ । यो पार नलाग्ने बाटो हो । हामीले यी सर्किटहरूसम्बन्धी जडी नियमहरूको सार खिच्नुपर्छ, जसले गर्दा हाम्रा विद्यार्थीहरूले व्यवहारमा आइलाग्ने हरेक प्रकारका सर्किटहरूबारे दख्खल प्राप्त गर्न सकून् । शिक्षकले वस्तुहरूलाई द्वन्द्ववादी तरिकाले नहेरी खालि कैंची र टालोको प्रयोग गरेर टालटोल गर्दै सूचनाको चाङ लगाउने हो भने उसले समस्याको हल गर्न सक्दैन ।हाम्रो छलफल यहाँनेर पुगेपछि लिउ मिङ-ई नाम गरेका सिङ्गवा विश्वविद्यालयको क्रान्तिकारी समितिको स्थायी समितिका इस्पात मजदुरले मुख फोर्दै भने, “वस्तुहरूको बयान गर्दा के-कस्ता उदाहरण दिइन्छ, त्यसबाट पनि कुरा बुझाइमा ठूलै फरक पर्छ ।”
|
हामीले कुरा गरिरहेका विशिष्ट प्रोफेसरप्रतिको लिउको दृष्टिकोण देखेर म छक्क परें । उनी कारखानाबाट भर्खरै मात्र विश्वविद्यालयमा आएका भए पनि उनले उमेर वा प्रतिष्ठाप्रति कत्ति पनि अदपकाइदाको लक्षण देखाएनन् । उनमा त्यहाँका अरू मानिसहरूसँग प्राविधिकरूपले र उनीहरूका शिक्षकसँग राजनीतिकरूपले आफू बराबर हुँ भन्ने स्पष्ट भावना झल्किन्थ्यो । ती पाका प्रोफेसरले मजदुर वर्गको सेवा सबैभन्दा राम्रोसँग कसरी गर्न सक्छन् र उनी आफ्नो नयाँ भूमिकाको विकास गर्न कसरी धैर्यसाथ काम गरिरहेका छन् भन्ने विषयमा उनको विचार एकदमै स्पष्ट थियो । तुङले आफ्ना पुराना पाठ्यपुस्तकका कमजोरीहरू खोतल्दै त्यो कामै नलाग्ने थियो भन्ने आशय प्रकट गरेपछि लिउले उनका कुरा काट्दै त्यो पुस्तक अझै निकै नै मूल्यवान् छ र त्यसले भविष्यमा त्योभन्दा निकै राम्रा पुस्तकहरू तयार पार्ने दिशातिर लम्किने पहिलो पाइलोका रूपमा सघाउ पुऱ्याउन सक्छ भनी कुरो स्पष्ट पारे । छलफल पढाउने तरिकातिर मोडिएपछि लिउले श्रमिक जनका अनुभवसँग सुहाउँदिला हुने गरी बुझाउन सकिने ठोस सुझावहरू अघि सारे ।

लिउले भने, “विद्युतीय प्रतिरोधकै उदाहरण लिऊँ न । हामी यसलाई सिंचाइ गर्ने बाँधमा पानी घट्ने कुरासँग दाँज्न सक्छौं । जमाएको पोखरीबाट जति पानी बाँधमा बग्छ, साँच्ची नै खेतमा पुग्दा त्यो पानी घटेको हुन्छ भन्ने सबैलाई थाहा छ । तारमा बग्ने बिजुलीको कुरा पनि यस्तै हो । अथवा क्याल्कुलसको कुरा गरौं । इँटाहरू सीधा हुन्छन् तैपनि सीधा इँटाबाट गोला चिम्नीहरू बनाउन सकिन्छ । त्यस्ता चिम्नी बनाउँदा अनगन्ती ससाना सोझा लहरहरूबाट एउटा सलक्क परेको वृत्त बन्न पुग्छ । यो कुरा हरेक श्रमिकलाई थाहा छ । तपाईं वास्तविक व्यवहारमा भिज्नु भएपछि मानिसहरूका लागि अर्थपूर्ण हुने खालका उदाहरणहरू दिन सजिलो हुन्छ ।”
प्रोफेसर तुङले कुरा थप्दै भने, “तर यस्ता उदाहरण दिंदा पनि हामीले साँच्ची नै होसियार रहनुपर्छ किनभने दुईवटा उस्तैउस्तै चीजमा शतप्रतिशत एकनासेपना कहिल्यै पनि हुँदैन अनि कहिलेकाहीँ विद्यार्थीहरूले यस्ता कुरालाई एकदमै बोक्रे अर्थमा बुझिदिन्छन् । म प्रायःजसो क्यापासिटरलाई कपसित दाँज्ने गर्छु । जसरी ठूलो कपमा धेरै पानी अटाउँछ, त्यसैगरी क्यापासिटर जति लामो भयो, त्यसमा त्यति नै धेरै बिजुली अटाउँछ तर एकपटक मैले क्यापासिटरलाई कोल्टोतिर फर्काएर राख्दा त्यसबाट बिजुली नपोखियोस् भनेर मेरा एक जना विद्यार्थीले त्यसलाई मास्तिर फर्काए ।

“तसर्थ बुझ्नलाई स्पष्ट हुने र तिनका सीमाहरू पनि स्पष्ट हुने ठीक उदाहरणहरू फेला पार्न निकै कठिन छ । अब हामी पाटीमा चित्र मात्र बनाउने काम छाडेर पहिले वास्तविक चीजलाई क्रियात्मकरूपमा हेर्न थालेका छौं । यसरी हामी अध्यक्ष माओको इन्द्रियजन्य ज्ञान नै जग हो भन्ने सिद्धान्तबाट थाल्छौं । हामीले यसो गरेनौं भने मानिसहरूलाई ज्यादै अचम्मका विचारहरू हातलागी हुन सक्छन् । हामी पाटीमा ठूलठूला सर्किटहरूका चित्र बनाउँछौँ तर उनीहरूलाई भने ट्रान्जिस्टर साह्रै सानो हुनाले हातैमा पो बिलाउला कि जस्तो लाग्छ । त्यसकारण ट्रान्जिस्टरबाट शुरू गरी त्यसपछि कालोपाटीतिर लाग्नु बेस हुन्छ ।”

“यी सबै कुरा परीक्षणको चरणमा छन् र व्यवहार तथा अटुट परिमार्जनबाट मात्र सिकाउने नयाँ तरिकाहरू सही साबित हुन सक्छन् भन्ने कुरामा यस छलफलमा भाग लिने प्रोफेसरहरू, मजदुरहरू र जनमुक्ति सेनाका मानिसहरू सबैको एक मत भयो । उनीहरूले बनाएको नियम यस्तो थियो : पुराना कुराको आलोचनात्मक विश्लेषण गर, त्यसमा जे राम्रो छ त्यसलाई कायम राख र त्यसलाई वर्तमान समयका आवश्यकतासित सुहाउँदो हुने गरी रूपान्तर गर ।”
“यी सिद्धान्तहरू र पहिले नै चर्चा गरिएको माओ त्से तुङ विचारधारालाई लागु गर्ने सिद्धान्तहरू अनुसार चल्दै तुङले पाँचवटा नयाँ पाठ्यपुस्तक लेख्ने काममा सघाउ पुऱ्याए । तीमध्ये एउटा नियन्त्रण गर्न सकिने सिलिकोनलाई सुधार्ने कुरालाई लागु गर्ने विषयमा थियो भने तीनवटा पुस्तक ट्रान्जिस्टरको धड्कन र डिजिटल कम्प्युरको सर्किटबारे थिए । अनि अर्को एउटाचाहिं ट्रान्जिस्टर सर्किट तथा ट्रान्जिस्टर एम्प्लिफायरबारे थियो ।”

“यी पुस्तकको विषयवस्तु मैले पहिले लेख्ने गरेको कुनै पनि विषयवस्तुभन्दा बढी जटिल नभए पनि त्यत्तिकै जटिल भने अवश्य थियो । अनि त्यहाँ आउने विद्यार्थीहरूको गणित, भौतिक विज्ञान र विद्युत्सम्बन्धी ज्ञानको स्तर हामीले माग गर्ने गरेको स्तरसरह थिएन । त्यसो हुँदाहुँदै पनि अनुभवको सार खिचेर आधारभूत सिद्धान्तहरू बनाउँदै, राम्रा उदाहरणहरू खोज्दै र व्याख्याहरूको सरलीकरण गर्दै हामी पहिलेका भन्दा ठूला सफलताहरू हात पारिरहेका छौं । हामीसँग अर्को विकल्प छैन । प्रविधिले साधारण ट्रान्जिस्टरबाट एकीकृत सर्किट र एकीकृत सर्किटबाट बृहत् स्तरको एकीकृत सर्किट अनि त्यसबाट ठोस अवस्थाका सर्किटहरूतिर फड्को मारिरहेको छ । त्यसकारण हामीले प्रगतिको यस गति सँगसँगै अघि बढ्नुपरेको छ ।”

हामीले पौडी खेल्ने पोखरीतिर गइरहेका विद्यार्थीहरूका कपडाका जुत्ताको आवाज, कुराकानीको मधुरो स्वर र हाँसो सुन्यौं । परबाट पहिले नै पानीमा पसिसकेकाहरूका खल्बलीका स्वर आएर हाम्रा कानमा ठोक्किए । इस्पात मजदुर लिउले हामीलाई ताजा तातो चिया पस्किदिए । अनि विज्ञानको भविष्यसम्बन्धी छलफल चालु रह्यो ।मैले भनें, “विश्वविद्यालयको काम विद्यार्थीहरूलाई प्रविधिको आजको स्तरमा उकास्नु मात्र नभएर वैज्ञानिक ज्ञानलाई समुन्नत तुल्याउनु पनि हो । तपाईंहरूको नयाँ प्रणालीअन्तर्गत यो काम कसरी गरिदै छ ?”

मैले यो प्रश्न किन सोधेको थिएँ भने पश्चिमी जगत्‌मा साधारणतया के • कल्पना गरिन्छ भने अनुसन्धान गर्ने वैज्ञानिकहरू, नयाँ कुराको खोजी गर्ने साँच्चीका मानिसहरू त एक प्रकारका घरानियाँ मानिसहरू नै हुनुपर्छ । त्यस्ता मानिसहरूले विशेष वातावरणमा विशेष अवस्थाहरू अन्तर्गत कलिलै उमेरमा अर्थात् भनौं न उन्नाइस वर्षदेखि छब्बीस वर्षकै उमेरमा आफ्ना दिमागको प्रयोग गरी महत्त्वपूर्ण आविष्कारहरूका नयाँ ढोका खोलिदिन्छन् । यसरी सिर्जनशील वर्षहरूको समय छोटो हुने हुनाले यस्ता मानिसलाई उत्पादनशील श्रममा लाग्न, मजदुर र किसानहरूसँग व्यवहारमा एकाकार हुन वा अझ राजनीतिको अध्ययन गर्न अह्राउनु भनेको त फन्टुस कुरा पो हो । पश्चिमी जगत्‌मा कतै एकान्तमा एउटा त्यस्तो वातावरणको सिर्जना गरिन्छ, जसमा चतुर बुद्धि भएका तरुणहरूले ‘आदर्श’ वातावरणमा असाधारण उपलब्धि प्राप्त गर्ने कार्यमा एकअर्कालाई प्रेरित गर्छन् ।

सिङ्गह्ह्वाका वैज्ञानिकहरूले यीमध्ये कुनै पनि परिकल्पनालाई स्वीकार गरेनन्, न त मजदुर लिउले नै स्वीकार गरे । लिउले सबैलाई उछिन्दै मेरो प्रश्नको जवाफ दिए ।
लिउले भने, “सबै विद्यार्थी मजदुर, किसान र सिपाहीको पृष्ठभूमिबाट आएका हुन् । स्नातकको पढाइ पूरा गरेपछि उनीहरू आफ्ना खेतबारी, कारखाना वा सैनिक एकाइहरूमा गएर अनुसन्धानको कामलाई अटुटरूपले चालु राख्छन् । उनीहरूका ती अनुसन्धानहरू व्यावहारिक समस्याहरूसँग गाँसिएका हुन्छन् । अनुसन्धानको थलोमा ती समस्याहरूको हल निकाल्न नसकेको खण्डमा उनीहरूले त्यस्ता समस्याहरू यता विश्वविद्यालयतिर पठाइदिन्छन् । साथसाथै केही स्नातकहरूलाई पूर्णकालिकरूपले समस्या हल गर्नमा जुट्ने अनुसन्धान संस्थाहरूमा खटाइन्छ । त्यस्ता समस्याहरूमा प्रायःजसो आणविक विस्फोटकहरू वा रकेटहरूका लागि पदार्थहरू आदिजस्ता प्रतिरक्षासँग सम्बन्धित ज्वलन्त समस्याहरू पर्छन् । यस अनुसन्धानले विज्ञानका छेउकुनातिर पर्ने कुराहरूलाई पनि समेट्ने गर्छ तर ती कुरालाईपनि व्यावहारिक समस्याहरूसँग गाँसिन्छ ।”

समस्या जस्तोसुकै होस् वा सङ्गठन जुनसुकै होस्, मजदुर, प्राविधिकहरू (वैज्ञानिकहरू) र काडरहरू गरी तीन थरीको एकत्व हुने टोलीका आधारमा अनुसन्धान गरिन्छन् । आयोजनामा जुटेका सबै मानिसलाई यी टोलीहरूले समेट्छन् अनि हरेकले बोझिलो शारीरिक श्रमको साथसाथै छलफल र योजना निर्माणमा पनि भाग लिन्छन् । यस्ता तरिकाहरूले अनुसन्धानमा एकाध विद्यार्थी र सल्लाहकारहरूलाई मात्र सरिक नगराई जनसमूहलाई नै सरिक गराउँछन् ।
लुसियाले पेकिङको प्रशोधनशालाको समस्या एउटा प्रतिनिधिमूलक समस्या हो भनी औंल्याए । प्रदूषणका समस्याहरूलाई हल गर्न नसक्ने हो भने प्रशोधनशाला चालु रहिरहन सक्दैनथ्यो किनभने त्यसले वरिपरिको वातावरणमा एकदमै विनाशकारी असर पार्थ्यो ।

यस कुराले खेर जाने वस्तुलाई रूपान्तर गर्नको निमित्त एकदमै आधारभूत अनुसन्धानलाई झकझक्यायो । प्रदूषित पानीको प्रशोधन गर्नका निम्ति जैविक र जीववैज्ञानिक विधिहरूको विकास गरियो अनि त्यसबाट ज्यादै जटिल वैज्ञानिक समस्याहरू देखा परे । ती समस्याहरूमा जरूरी जीवाणुहरू पैदा गर्ने मुहानका रूपमा रहेको दिसालाई व्यापकरूपमा प्रयोग गर्ने कुरा पनि परेको थियो । त्यस अनुसन्धानको ठूलो सार्थकता हुने कुरालाई सबैले मानेको हुँदा उच्च स्तरका वैज्ञानिकहरूसमेत सबै जना दिसालाई तह लगाउने काममा सामेल भएर उनीहरूले त्यसलाई खाडलहरूबाट झिकेर परीक्षण स्थलहरूमा पुयाए ।
अनुसन्धान गर्ने कामलाई केही थोरै मानिसका हातमा छाडिदिने नगरी जन समूहलाई नै त्यसमा सामेल गराउनुपर्ने कुराको महत्त्वमाथि लिउले बारम्बार जोड दिए ।
विद्युत् इन्जिनियर तुङले अनुसन्धान औद्योगिक विकासको अवस्थासँग ज्यादै गहिरोसँग गाँसिएको हुने कुरामा जोड दिए । यन्त्र बनाउँदा समाजमा हातलागी हुने पदार्थहरू र पद्धतिहरूतिर एकदमै आँखा चिम्लन मिल्दैन ।

यसर्थ अनुसन्धानसम्बन्धी निर्णयहरू गर्ने काममा कारखानाहरू र प्रशोधनशालाहरूको अवस्थाको सामान्य ज्ञान अर्थात् कारखानाहरू र यन्त्रहरूको व्यावहारिकअनुभव महत्त्वपूर्ण हुन आउँछ । अझ अर्को कुरा, कारखानाका सयौं मजदुरहरू र साधारण प्राविधिकहरूको काम जटिल उपकरणबिना बनाउन वा प्रयोगहरू गर्न सकिंदैन । केही चतुर वैज्ञानिकले आफैं सबै कुरा गर्न सक्दैनन् । हजारौ मानिस सबैभन्दा सरल खालका प्रयोगहरूमा जुटेका हुनाले उनीहरूलाई सचेतरूपबाट सरिक गराउनु र उनीहरूलाई परिचालन गरी मद्दत जुटाउनु निकै नै फलदायी हुन्छ ।

चीनमा समेत पनि अनुसन्धान गर्ने वैज्ञानिकहरू विशेष अवस्थाहरूमा रहेर काम गर्छन् भन्ने कुरा स्वीकार गर्ने पहिलो मानिस चिएन नै थिए तर त्यसो हुँदैमा उनीहरू घरानियाँ भइहाल्छन् वा उनीहरूको विचारधारा भ्रष्ट भइहाल्छ भन्ने कुरामा उनी पटक्कै विश्वस्त थिएनन् । जे भए पनि उनीहरू सबैले शारीरिक श्रममा भाग लिई आफ्ना संस्थानहरूका दैनिक कार्यहरूमा हात बढाउँछन् र उनीहरू सबैले क्रान्तिकारी नीतिहरू, दुई लाइनको सङ्घर्ष र कसको सेवा गर्ने अनि कसरी सबैभन्दा राम्रोसँग सेवा गर्ने भन्नेजस्ता महत्त्वपूर्ण प्रश्नहरूमा भाग लिन्छन् भनी उनले तर्क गरे । “नगदको काम गर्ने मानिसले परन्तुमा केही न केही नगद चोरेरै छाड्छ, पुस्तक लेख्ने मानिसले परन्तुमा पुस्तक नलेख्ने मानिसलाई तिरस्कार गरेरै छाड्छ वा तकनिकीमा दख्खल प्राप्त गर्ने मानिसले परन्तुमा त्यसलाई आफ्नै उन्नतिलाई अघि बढाउने काममा लगाएरै छाड्छ भन्न मिल्दैन । सबै मानिसले समयको एक खण्डमा शारीरिक श्रम गर्ने मात्र नभई उनीहरूले समातेको बाटो र उनीहरूलाई बाटो देखाउने विचारको प्रश्न पनि उठिहाल्छ । विचारधारात्मक सङ्घर्ष लगातार चलाइयो भने मानिसहरू त्यत्तिकै भ्रष्ट भइहाल्दैनन् । उनीहरू भ्रष्ट भए भने हामीले अर्को सांस्कृतिक क्रान्ति गर्नुपर्नेछ ।”, चिएनले मुस्कुराउँदै भने ।

चिएनले भन्दै गए, “उन्नाईस वर्षदेखि छब्बीस वर्षसम्मको उमेर नै अनुसन्धान गर्ने काममा सिर्जनशील वर्षहरू हुन् भनी म अमेरिकीहरूले झैं सोच्ने गर्थे तर अचेल मेरो सोचाइ के छ भने मानिस जवान होस् वा बूढो, ऊ माओ त्से-तुङ विचारधाराले सुसज्जित छ र उसले द्वन्द्वात्मक भौतिकवादको प्रयोग गर्छ भने उसले उत्तिकै राम्ररी काम गर्नसक्छ । मुख्य कुरा त मानिसले प्रयोग गर्ने चिन्तन नै हो । बूढो भएकाले मैले आफूलाई किनारा लगाउन नचाहेको पनि हुन सक्छ तर अध्यक्ष माओलाई हेर्नोस् त । उहाँ बूढो हुनुहुन्छ तैपनि उहाँ जाज्वल्यमान वैज्ञानिक हुनुहुन्छ । उहाँले हामीलाई सांस्कृतिक क्रान्तिका सारा घुम्ती र मोडहरूबाट अगाडि डोऱ्याउनु भयो । यस्तो आन्दोलन चलाउने आँट अरू कसले गर्दो हो र ? अरू कसले यसलाई निर्देशित गर्न सक्थ्यो ? तन्नेरी मानिसहरूले चिन्तन र कार्य गर्न आँट त गर्छन् तर उनीहरूमा अनुभव हुँदैन । त्यसकारण अध्यक्ष माओको एकमा तीनको जोड भन्ने सिद्धान्तले मजदुर, प्राविधिक र काडरहरूलाई मात्र होइन, तन्नेरी, अधबैँसे र पाका मानिसहरूलाई पनि एकताबद्ध तुल्याउँछ ।”

चिएनले विज्ञानको ज्ञानका अनेकौं क्षेत्रहरूबारे कुरा गर्दै गए । ती क्षेत्रहरूलाई उनले यसरी सूचीबद्ध गरेका थिए । (१) आणविक ऊर्जाका उपयोगहरू, (२) अन्तरिक्ष विज्ञान, (३) मूलभूत कणहरूको सिद्धान्त, (४) जीवन विज्ञान (अर्थात् प्रोटिन) र (५) विशुद्ध गणित । उनको विचारमा आणविक ऊर्जाबारे उति धेरै तर्कवितर्क हुन सक्दैन । चीन यस्ता अनुसन्धान र विकासहरूलाई सञ्चालन गरिरहेकै थियो अनि त्यो काम थोरै वैज्ञानिकहरूबाट नभएर एकमा तीनको जोड भन्ने सिद्धान्तअनुसार थुप्रै मजदुर र प्राविधिकहरूबाट एकसाथ भइरहेको थियो ।

उनले के बताए भने अरू चारवटा क्षेत्रको हकमा सैद्धान्तिक अनुसन्धानमा मुख्य जोड दिइएको थिएन तर त्यसो हुँदाहुँदै पनि केन्द्रीय समितिले विज्ञानको विकासको निम्ति अनुमोदन गरेको दश वर्षे योजनामा यस्तो अनुसन्धानलाई बेवास्ता गरिएको थिएन । त्यस अनुसन्धानबाट कम्तीमा पनि दुईवटा मोर्चामा फल हातलागी भइसकेको थियो र त्यस कुरालाई प्रमाणित गर्ने गरी सामग्री पनि प्रकाशित भइसकेका थिए । तीमध्ये ठूलो स्तरमा भूगर्भ विज्ञानको अध्ययन गर्ने एउटा मोर्चा थियो । त्यस विज्ञानले तिब्बत र हिमाली पहाडहरूको भौगर्भिक सर्वेक्षण गर्ने काम गरेको थियो । यो खालि राष्ट्रिय स्रोतहरू आदिको जाँचबुझ मात्र नभई हिमाली शृङ्खलाको विगत, वर्तमान र भविष्यसित, हिमाल किन र कसरी समुद्रबाट उठेर बाहिर निस्कन्छ र तिब्बत र एशियाका निम्ति त्यसको के अर्थ हुन्छ भन्ने कुराहरूसित सम्बन्धित मूलभूत अनुसन्धान थियो ।

विज्ञानको अर्को मोर्चा प्रोटिनबारे काम गर्ने मोर्चा थियो । त्यस मोर्चाले हार्मोनको संश्लेषण तयार पारेको थियो । यस आयोजनाले विज्ञानका सबै हाँगाबिगालाई समेटेर तालमेल मिलाएको थियो । त्यसले उच्च स्तरका ६०० भन्दा धेरै वैज्ञानिकहरू र उनीहरूभन्दा अलि कम जान्ने अरू हजारौ मानिसहरूलाई काममा जुटाएको थियो । निकै नै पछौटे अवस्थाबाट काम थालेको चीन अहिले यस क्षेत्रमा संसारकै अगुवा बन्न पुगेको थियो ।

मूलभूत कणहरूकोर उच्च गणितको क्षेत्रमा पनि अनुसन्धान अघि इढिरहेको थियो। जताततै पहिलेभन्दा कम होइन बढी नै मानिसलाई काममा जुटाएर यस्तो काममा एकमा तीनको जोड भन्ने सिद्धान्तलाई व्यवहारमा उतारिएको थियो ।
चिएनले कुराको सार खिच्दै भने, “विज्ञानलाई केही विशेषज्ञहरूका हातमा छाडिदिनुको सट्टा यस क्षेत्रमा लाखौं मानिसलाई परिचालन गरेको खण्डमा नै विज्ञानको छिटो विकास हुनेछ भन्ने मलाई लाग्छ ।”

दिउँसोको खाना खाने बेला भइसकेको थियो । मानिसहरू घर नं. १ को खाना खाने हलतिर जाँदै थिए । जुलाई महिनाको मन्द गतिको न्यानो हावामा मुट्दै गरेको सुँगुरको मासुको बास्ना तैरिरहेको मैले छनक पाएँ ।
अन्तिम शब्दहरू बडो होसियारीसाथ रोज्दै चिएन उनको आफ्नै शिक्षणतिर फर्किए । असहायपना जनाउने हाउभाउसाथ हात उठाउँदै उनले भने, “हामी अहिले जे गरिरहेका छौं, हामीले पहिले गरेका कुरासँग त्यसको दाँजो हुनै सक्दैन । पहिले मैले व्याख्यान दिंदा कोही पनि प्रश्न सोध्न आँट गर्दैनथ्यो । पहिलो कुरा त म प्रश्नहरूलाई स्वागत नै गर्दिनथें किनभने त्यसको अर्थ मैले विषयको व्याख्या राम्रोसँग नगरेको भन्ने हुन्थ्यो, त्यसकारण मेरो नाक
जान्थ्यो । दोस्रो कुरा, प्रश्न सोध्नुको अर्थ विद्यार्थीले व्याख्यान नबुझेको ठहरिन्थ्यो, त्यसकारण उसको नाक जान्थ्यो । पाठ्यक्रमको उद्देश्य बुझ्नु नभएर राम्रो नम्बर ल्याउनुभएको हुनाले कुनै पनि विद्यार्थीले दोहोरो नाक जाने यस्तो काम गर्न आँटै गर्दैनथ्यो । बरू चुपचाप बस्नु नै राम्रो हुन्थ्यो ।

अर्को कुरा, कसैसँग पनि व्यावहारिक अनुभव नहुने हुँदा विषयवस्तु एकदमै अमूर्त हुन्थ्यो, त्यसकारण अर्थपूर्ण प्रश्न सोध्न सक्ने गरी विषयको सार बुझ्ने प्रायःकोही पनि हुँदैनथ्यो । आज भने यस कुरामा ठूलो हेरफेर भएको छ । अहिले हाम्रा विद्यार्थीहरू निम्न माध्यमिक विद्यालयबाट आएका भए पनि उनीहरू सबैका पोल्टामा उत्पादनको काममा सँगालेको तीन वर्षको अनुभव हुन्छ । यहाँ आएपछि उनीहरूले स्थानीय कारखानाहरूमा काम गर्छन् । मैले भनेका कुराले उनीहरूका जीवन-अनुभवसँग मेल खाएनन् भने उनीहरू तत्कालै आपत्ति जनाएर असीमित प्रश्न सोध्न थालिहाल्छन् । यस कुराले निश्चय नै मेरो जिम्मेवारी बढाइदिन्छ । यहाँ धाक लगाएर काम चल्दैन । मैले प्रश्नको उत्तर दिन सकिनँ भने हामी सँगसँगै अनुसन्धान गर्नतिर लाग्छौं । हाम्रो शिक्षा रूपान्तरित भएको छ र त्यसैगरी म पनि रूपान्तरित भएको छु ।”
(अनु :खगेन्द्र सङ्ग्रौला)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।