
घोराही । नेपाल कम्युनिस्ट पार्टीका पिबिएम शीतल सीले माओवादी कालमा भएका घटनाहरुको जिम्मा आफूहरूले लिने बताएका छन् । युवा संगठन नेपाल पूर्वी दाङको आयोजनामा सोमबार घोराहीको उद्योग वाणिज्य संघको सभाहलमा भएको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पार्टीका पिबिएम शीतलले आज दलाल पूँजीवादले जनयुद्ध कालिन मुद्दा लगाएर कसैलाई हान्छ भने त्यो जनयुद्धको इतिहास विरुद्ध हुने बताए । `त्यसकारण जनयुद्धको मुद्दाहरु ल्याएर हान्दाखेरी हामी चुपचाप लागेर बस्न सक्दैनौं´ उनले भने `हामी यसको विरुद्ध उत्रिन्छौं, हाम्रो पार्टीले भनेको छ । ठूलाठूला घटना घटाउने र भ्रष्टाचार भ्रष्टाचार गर्नेहरू छन् । तर, उनीहरूको नाम किन आउँदैन् ? यो चाहिँ दलाल पूँजीवादीको क्रियाकलाप हो । यो माओवादी बृत्तबाट आएको शक्तिलाई सिध्याउने खेल अन्तर्गत पदर्छ । यो कुरा माओवादीले बुझ्नुपर्दछ । ´
वास्तविक माओवादी आफूहरू भएको भन्दै संसदमा भएको माओवादीमा चेतना भएन भने समयमा संसदीय व्यवस्था परित्याग गरेन पूँजीवादी सत्ताले उनीहरूलाई कही नभेटिने गरिकन पत्तासाप गर्दै छ, शीतले भने । यो कुरा माओवादीले बुझ्नुपर्नेछ ।
आज राज्यसत्तामा भएको महंगी, भ्रष्टाचार, देशमा आर्थिक समस्या लगायतका यी कारणले गाउँगाउँबाट बिद्रोहको जन्म भइरहेको छ´ नेता शीतलले भने ` त्यसलाई कमाण्डिङ गर्ने शक्ति चाहिएको छ । दृष्टिकोण चाहिएको छ । नेपालमा आज यो बिचार हाम्रो पार्टीसँग मात्रै छ । अन्त कहिपनि छैन् । त्यो प्रकारको शक्ति र कमाण्ड हाम्रो पार्टीसँग छ । त्यसकारण जिल्लाका कुनाकन्दरामा रहेका बिद्रोहलाई खोज्नुपर्ने छ र त्यसलाई संगठित गर्नुपर्छ । तर, त्यो गर्न सकेनौ भने देश एउटा ठूलो अराजकताको भड्खालोमा भासिने खतरामा छ ।´
देशलाई अन्धकारको भड्कालोमा जान नदिने र बिद्रोहका झिल्कोलाई कमाण्डिङ गर्दै संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था गर्ने नेता शीलतको भनाइ थियो ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इन्चार्ज सविन सीले नेपालको स्थितिका बारेमा युवाहरूले ठिक ढंगले बुझ्नुपर्ने बताए । उनले १० वर्षमा ३५ लाख युवा विदेश गएको भन्दै गणतन्त्र आएसँगै अत्याधुनिक युवा विदेश पलायन भएको र यो पलायनको स्थिति नरोकिने कुरामा जोड दिँदै यसको मुख्य कारण दलाल पूँजीवादी सत्ता भएको स्पष्ट पारे ।
नेता सविनले नेपालको विद्यामन दलाल पूँजीवादी सत्ताका शासकहरुले योजनावद्ध ढंगले युवाको विदेश पलायन गराइरहेको हुँदा यो पूँजीवादी सत्ता विघटन गर्नुपर्ने भन्दै त्यसका लागि युवाले आफ्नो सम्पूर्ण तागत प्रयोग गर्नुपर्ने अवस्था आइसकेको उद्घोष गरे । यो पूँजीवादी सत्ता विघटन गर्दै वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनुपर्ने र त्यसका लागि पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत अगाडि बढ्नुपर्ने भन्दै उत्पादन र श्रमसँग जोडिएमात्र पार्टीले लिएको एकीकृत जनक्रान्ति पूरा हुने भएको हुँदा सचेत युवाहरु आत्मनिर्भर बन्नका लागि उत्पादन र श्रमसँगै गर्दै आजका युवाले भ्रष्टाचारविरुद्ध, राजनीतिमा आएको बिकृती, बिसंगति लगायकाविरुद्ध भण्डाफोर गर्नेपर्ने उनको भनाइ थियो ।
नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा पूर्वी दाङका इन्चार्ज सम्झना सीले देश आज संकटमा गुज्रिएरहेको बताउदै समाज युवाबिहिन बन्दै गएको बताइन् । उनले युवा आफैमा आत्मनिर्भर बन्नुपर्ने र त्यसका लागि उत्पादनमा जोडिदिनु पर्ने कुरामा जोड दिइन्। यो दलाल राज्यले युवालाई बेरोजगार बनाएकोले युवा भनेको समाज रुपान्तरणको बाहक भएको भन्दै युवाले आफ्नो जिम्मेवारी बोध गर्दै अनुशासित भएर अगाडि बढ्नुपर्ने कुरामा नेतृ सम्झनाको जोड थियो ।