११ मंसिर २०८१, मंगलवार

८०को दशक वैज्ञानिक समाजवाद स्थापनाका लागि हुनेछ

0

सदियाैंदेखि राजदरबारभित्रकाे काटमारमा कैद देशकाे राजनीति ००७ सालकाे प्रजातन्त्र स्थापनासँगै केही हदसम्म जनतामा पुग्याे । यद्यपि, ००७ सालकाे प्रजातन्त्र जनहितकाे लागि आफैँमा अपूर्ण थियाे । र त त्यसपछि पनि अधिकारविहीन जनताका विभिन्न राजनीतिक संघर्ष, आन्दोलन र युद्धहरूकाे सृष्टि भइरह्याे ।

नेपाली कांग्रेसकाे नेतृत्वमा पटकपटक संचालित संघर्ष र युद्धहरू, झापा आन्दोलन, ०४६ सालकाे जनआन्दोलन अनि नेपाली इतिहासमै जनताको सबैभन्दा ठूलो मुक्तिगामी संघर्ष ‘१० वर्षे जनयुद्ध’, जनयुद्धकै जगमा सम्पन्न ०६२/६३ काे दाेस्राे जनआन्दोलन, मधेस आन्दोलन लगायत पहिचान र अधिकारका थुप्रै युद्ध, आन्दोलन र संघर्षहरू देशले ००७ सालपछि नै संचालन पर्‍यो । जसकाे परिणाम  जनहितमा सानातिना सुधारहरू जरुर प्राप्त भए । तर ती सुधारहरू आजकाे जनचाहना र आवश्यकतालाई सम्बाेधन गर्नसक्ने अवस्थामा छैनन् ।

विगतमा जनताका तमाम संघर्ष र ती संघर्षले दिएका तमाम राजनीतिक सुधारहरूका बाबजुद आज पनि जनताका दु:ख-कष्ट यथावत छन् । बेरोजगारी, युवा पलायन, महिलाहिंसा, जातीय विभेद, धार्मिक अन्धविश्वास, व्यभिचार, दुर्व्यसनी, गरीबी, परनिर्भरता झन् बढेको छ । जसले गर्दा अब पनि विगतमा जस्तै जनताको संघर्ष, आन्दोलन र युद्धको सम्भावना टरेकाे छैन ।

सुख, शान्ति, समृद्धि र सुशासन हामी सबैको चाहना हो । तर परिस्थिति मिलाउन सकिएन भने उच्च चाहनाहरू पनि फगत हवाई कल्पनामा परिणत हुन्छन् । नेतृत्वले आफ्नो स्वार्थ केन्द्रित सम्झौतामा जनताको संघर्षलाई बेचिदिँदा एकपछि अर्को सामाजिक विस्फोट र राजनीतिक उथलपुथलहरू देखापर्ने गरेको इतिहास हाम्रासामु छ ।

शासक वर्गको अत्याचार विरुद्धका संघर्षहरू अर्को परिवर्तित पात्रको अत्याचारमा परिणत भइदिँदा एकातिर राज्यले सधैँ अत्याचारको मात्रै खेती गर्‍यो । अर्कोतिर सुखकाे साटाे पीडा, शान्तिकाे साटाे अशान्ति, समृद्धिकाे साटाे विध्वंस र सुशासनको साटाे अराजकता थाेपरियाे । हामी आज पनि देख्छाैँ, जनताका ठूलाठूला संघर्ष, त्याग र बलिदानबाट प्राप्त व्यवस्थामा जननिर्वाचित प्रतिनिधिहरू राजाको तरिकाले नै जनतामाथि अत्याचार गरिरहेका छन् ।

जनताले प्राप्त गरेको पछिल्लो उपलब्धि भनेकाे गणतन्त्र हो । तर गणतन्त्रमा पनि जनताले राजतन्त्रात्मक शैलीको सामना गरिरहनुपरेको छ । जनताको करबाट आज पनि राज्यका मान्छेहरू आफ्नो वैभव खडा गर्न उद्धत छन् । एकपछि अर्को गरेर आफ्नो सेवासुविधा बढाइरहेका छन् । जनताभन्दा ठूलो देखिन हरसम्भव प्रयत्न जारी छ ।

आजका जनताले आफ्नो शक्ति चिन्न पाउनु पर्ने हो । तर राज्य र राज्य संचालक मान्छेहरू अझै पनि मीठा भाषण र कथित समाजसेवाकाे भरमा चुनाब जितेर जनतामाथि शासन गर्छन् ।

याे ८० को दशकमा सबैले समीक्षा गर्न जरुरी छ कि याे सब किन भइरहेको छ ? जरुर, खराब व्यवस्था भित्रको सामान्य सुधारले हामी सही ठाउँमा पुग्न सकिरहेका छैनाैँ । पात्र फेरिए पनि राज्यको प्रवृत्ति सधैँ उही रह्यो । राणाको ठाउँमा राजा आयो । राजाको ठाउँमा नेता आए । तर यी सबैले जनताको चरम शोषण गरेर आफ्नो अनुचित स्वार्थ पूरा गरे ।

अब यो अत्याचारले निरन्तरता पाउनु हुँदैन । हामी ००७ सालबाट संघर्ष, त्याग र बलिदान गर्दै ८० को दशकमा प्रवेश गरिसकेका छाैँ । अनुभवहरूले खराब व्यवस्था भित्रका जुनसुकै सुधारले पनि आवश्यक नतिजा दिन नसक्ने तथ्यद्धारा हामी शिक्षित भइसकेका छाैँ । अब मान्छेले मान्छेको शोषण गर्ने पुराना व्यवस्था र ती व्यवस्थामा गरिने सामान्य हेरफेरको साटो वैज्ञानिक समाजवादद्धारा समग्र व्यवस्थाकै परिवर्तन जरुरी छ । वैज्ञानिक समाजवाद दास युगदेखि मानवजातिले झेल्नुपरेका कुनै पनि राजकीय शोषणहरूकाे निरन्तरता होइन । याे आमूल परिवर्तन हो ।

वैज्ञानिक समाजवादमा मात्रै जनताले पूर्ण र वास्तविक जीवन प्राप्त गर्ने सम्भावना पाउँछन् । वैज्ञानिक समाजवाद मात्रै शोषणविहीन व्यवस्था हाे । वैज्ञानिक समाजवादले धनसम्पत्ति र पैसाको साटो मानव जीवनलाई सदैब महत्व दिन्छ । गरिबी,  बेरोजगारी, युवा पलायन, महिलाहिंसा, जातीय विभेद, धार्मिक अन्धविश्वास, व्यभिचार, दुर्व्यसनी, परनिर्भरता लगायत समस्याहरूबाट मानव जीवनलाई मुक्ति दिनसक्ने उन्मुक्त आकाश पनि वैज्ञानिक समाजवादसँग मात्रै हुन्छ ।

त्यसैले यो ८० को दशकलाई हामीले वैज्ञानिक समाजवाद स्थापनाको दशकका रुपमा संचालन गराैँ । कहिले भाग्य, कहिले भगवान, कहिले राणा, कहिले राजा अनि कहिले नेताको मुख ताक्नुपर्ने व्यवस्था परिवर्तन गरौँ । आफ्नो शक्ति चिनाैँ अनि आजसम्म मानवजातिले झेल्नुपरेका हरेक समस्याहरूबाट मुक्त हाेऔँ र २१ औँ शताब्दीकाे महान मान्छे भएर बाँचाैँ ।
(२०८० बैशाख, काठमाडौं ,बडुवाल कपिल सिजापति )


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।