देशको राज्य देशका जनताको अभिभावक हुनुपर्छ । अभिभावकले मातहतका लागि इमानदार भएर काम गर्नुपर्छ । तर याे देशले कहिल्यै त्यस्तो अभिभावक पाएन । देशमा सधैँ राज्य रह्यो तर जनताले अभिभावकत्व कहिल्यै पाएनन् । राजा र राणाकालीन राज्यले जनताको श्रमसीप र देशको स्राेतसाधनमाथि चरम शोषण गर्यो । ०६३ सालपछि राज्यमा संसदवादी दलहरूकाे हालीमुहाली छ । तर देश र जनतामाथि तिनको शोषण पनि कही कतै कम देखिँदैन । राज्यले आजसम्म अभिभावकीय जिम्मेवारी सम्हालेर हामीलाई शाेषणकाे जाताेमुनि चरम दु:ख र निराशाले पिसिरह्याे ।
सधैँकाे दु:ख र निराशाले कहिलेकाहीँ ससाना र स्वाभाविक कुराहरूमा धेरै खुसी र उत्साह मिल्ने रहेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेको प्रचण्ड सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठको चाैतर्फी वाहवाही यस्तै खुसी र उत्साह हाे । यहाँनेर भ्रष्ट र घुसखाेर अपराधीहरूलाई कारबाही गर्नु राज्यको कर्तव्य हाे भन्ने नै हामीले बिर्सेका छाैँ । भ्रष्टाचार र घुसखोरी रोक्न र अझ देश र जनताको हितमा थुप्रैथुप्रै काम गर्न हामीले नै उनीहरूलाई विश्वास गरेर ठूलाे सेवासुविधा र सम्मानसहित जिम्मेवारीमा पठाएका हाैँ । उनीहरू देश र जनताको हितमा जेजति काम गर्छन् त्याे दयामाया हाेइन, हाम्राे अधिकार हाे । तर राज्यका त्यस्तै मान्छेले विगतमा अपराध गरेको हुनाले अहिलेको सरकारलाई वाहवाही पाउने ठाउँ मिलेको छ ।
आफ्ना नागरिकलाई नक्कली शरणार्थी बनाएर राज्यविरुद्ध ठगी र मानव बेचबिखनकाे दुस्साहस गर्ने तत्कालीन उपप्रधानमन्त्री, गृहमन्त्री, राज्यका सचिव, सांसद लगायत जिम्मेवार मान्छेले नै प्रचण्ड सरकारका लागि याे ठाउँ बनाइदिएका छन् । राज्यको यति महत्त्वपूर्ण ठाउँमा पुगेर देशविरुद्ध ठगी गर्नु सानाेतिनाे अपराध हाेइन । यस्ता अपराधीलाई कडा कारबाही हुनुपर्छ । तर नक्कली भुटानी शरणार्थी प्रकरणमा आराेपितलाई मात्र दाेषी देख्नु अधुरो हुन्छ । देशमा बस्न काेही किन तयार छैन ? देश चरम गरिबी र बेरोजगारीकाे दलदलमा किन फसिरहेकाे छ ? नक्कली भुटानी शरणार्थी प्रकरणकाे एउटा कारण यी प्रश्नहरूको अन्तर्यमा छ ।
आजसम्मका राज्य संचालक र राज्य व्यवस्थाहरू इमानदार र उचित भइदिए याे देश पनि विश्वका कुनै देशभन्दा पछाडि पर्नुपर्ने देश हाेइन । २३८ वर्षसम्म कथित राजाहरूकाे बेइमानी र ठगी, १०४ वर्षसम्म राणाहरूकाे ठगी, ३० वर्षसम्म पञ्चहरूकाे ठगी अनि अहिलेका संसदवादी नेताहरूका काण्डमाथि काण्ड, भ्रष्टाचार, घुसखाेरी, कमिसनखाेरी र ठगीले देश कंगाल हुनु पनि नक्कली शरणार्थी प्रकरणकाे कारण हाे । यही कारणले जनता चरम गरिबी र बेरोजगारीमा छन् । देशमा बस्न काेही तयार छैन । पैसा तिरेर नक्कली शरणार्थी नै किन बन्न नपराेस्, मान्छेहरू देश छाेड्न विवश छन् ।
त्यस्तै जनता ठगिने अवस्थाले पनि नक्कली शरणार्थी प्रकरणमा भूमिका खेलेको छ । मान्छेले आफ्नो शक्ति चिनिसके । विज्ञान, प्रविधि, ज्ञान, सीप लगायत मानव हितमा ठूल्ठूला चमत्कार गरिसके । तर हामी अझै लुटिने र ठगिने हालतमा किन पिछडिएका छाैँ ? नक्कली शरणार्थी प्रकरणमै पनि ठग्नेहरू राज्यका उच्चपदस्थ मान्छे छन् । तिनीहरू लुकेर त्यो ठाउँमा पुगेका थिएनन्, आम जनताले नै विश्वास गरेर त्यहाँ पुर्याएका थिए । ठगहरूलाई चिन्न नसक्ने कमजोर चेतनास्तरबाट हामी किन माथि उठ्न सकिरहेका छैनाैँ ? ठगहरू राज्यको महत्वपूर्ण ठाउँमा पुग्ने प्रक्रिया अनि ठाउँमा पुगेका मान्छेलाई ठग बनाउने व्यवस्था हामीले किन चिन्न सकिरहेका छैनाैँ ? नक्कली भुटानी शरणार्थी प्रकरणकाे अर्को कारण यी प्रश्नहरूभित्र छ ।
कुरा उही हाे, राज्य आफ्नो अभिभावकीय भूमिकाप्रति इमानदार भएन । हामी एकजनाले मुलुक आर्जेकाे इतिहास पढ्छाैँ । भगवानकाे पुजा गर्छाैँ । कसैले मीठाे भाषामा देश बनाउने र सुख, समृद्धि दिने गफ गरिदिए हामी उसलाई नेता बनाइदिन्छाैँ । याे तरिकाले हामी अमूक मान्छेकाे भरमा बाँच्नुपर्ने हालतमा फस्छाैँ । हाम्रो यही हालतकाे फाइदा उठाउँदै बेइमानहरू हामीमाथि शासन गर्छन् । हामी ठगिने स्थिति यहीँ बन्छ । याे स्थितिबाट पार पाउन आवश्यक शिक्षा र तालिम हामीले कहिल्यै पाएनाैँ । जहिल्यै हामीलाई रैती र अन्धविश्वासी बनाउन खाेजियाे । हामीलाई आफ्नो क्षमता बुझ्ने र त्यसको विकास गर्ने अवसर कहिल्यै दिइएन । इतिहासका यस्तैयस्तै भूलहरूले हामीलाई ठग्याे । हामीलाई ठगेर नै ठगहरू राज्यका महत्त्वपूर्ण स्थानमा पुगे । विशेष ठगीबाहेकका ठगीहरू हामी चिन्न नसक्ने नै भयाैँ । हामी धेरैलाई थाहा छैन, स्वयम् राज्य नै ठगी हाे । राज्यको उत्पत्ति नै ठूलाे ठगी थियाे । र राज्यको उन्मुलन नगरी मान्छे ठगीबाट पूर्णरूपमा मुक्त हुन सक्दैन ।
त्यसैप्रकारले मानव श्रमसीपभन्दा पैसा माथि हुने प्रणाली पनि नक्कली शरणार्थी प्रकरणकाे दाेषी हाे । पैसाप्रधान प्रणालीले मान्छेहरू जसरी पनि पैसा थुपार्ने धाउन्नमा लागे । पैसाले सबथाेक किन्न पाइने भएपछि मान्छेहरू आमालाई ठगेर, देशलाई लुटेर भएपनि पैसा कमाउन थाले । नेताहरूकाे चुनाबी हारजीत पनि पैसाकै शक्तिमा निर्भर हुनथाल्याे । वडा अध्यक्ष जित्न कराेडभन्दा बढी पैसा आवश्यक पर्नथाल्याे । देशमा आम्दानीले मात्रै त्यत्रो पैसा थुपार्न मुस्किल छ । अनि त चुनाब जितेर नेता हुने र नेता हुन चाहनेहरू आफ्नो जिम्मेवारी भूलेर ठगीमा लाग्ने सम्भावना भयाे । त्यस्तै नेताहरूका भ्रष्टाचार र घाेसखाेरीका थुप्रै प्रकरणहरूबाट अहिले नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै सतहमा आएकाे हाे ।
अन्तमा, टाेपबहादुर रायमाझी, बालकृष्ण खाण, आङ्टावा शेर्पा, टेकनारायण पाण्डे, इन्द्रजीत राई सँगसँगै देशलाई सदाबहार गरिबी दिने अनि जनतालाई अन्धविश्वासमा ढुबाएर राख्ने आजसम्मका सबैसबै राज्य व्यवस्था र राज्य संचालकहरू नक्कली भुटानी शरणार्थी प्रकरणका दाेषी हुन् । पैसा र पुजी सर्वाेसर्वा हुने प्रणालीलाई आत्मसात गरेर हैकम चलाइरहेका मान्छेहरू पनि नक्कली शरणार्थी प्रकरणमा दाेषी छन् । यी ठग र अपराधीहरूलाई कठघरामा उभ्याएर इतिहासको पुनर्निर्माण गरिएमात्रै हाम्रा लागि ठगिने स्थितिबाट मुक्त लुटविहीन संसार सम्भव छ ।