७ बैशाख २०८१, शुक्रबार

कन्यादान

0

आफ्नै मृत्युको साक्षी बनेर
भन्नुस् बा !
कसरी गर्न सक्छु म
जिउने सङ्कल्प ?
बालाई देखेर
जसरी तर्सिएकी थिएँ
यो सेतो वस्त्रमा
हजुरबा खस्दा
ठीक त्यसैगरी
तर्सिएकी छु आज
आफ्नै मृत्युको साक्षी बनेर
कसरी उमिन सक्छु
यो बिहे मण्डपमा ?
जहाँ बिराजमान छन्
आफ्नै छोरीको कुमारित्व लुटने ब्रम्हा
पतिव्रता वृन्दाको सतित्व लुट्ने विष्णु
कुन्तीका बलात्कारी सूर्य
र, आफ्नै गुरुआमा  भित्र्याउने चन्द्र
यी सबै सबैलाई साक्षी राखेर
बा बोल्नुहुनेछ वाग्दान
भन्नुस् बा !
कसरी हुनसक्छु म सुरक्षित ?
चढाएर पाउमा आत्मसम्मान
पिएर पाउ पखालेको पानी

बाँधेर पाउजुले यी पाउहरु
गुमाएर आफ्नै निधारको स्वामित्व
कसरी मान्न सक्छु
आफ्नै जीवन साथीलाई
पति परमेश्वर या विष्णु ?
चुँडाएर कुशको सिन्का
कसरी चुँडिन सक्छ
वंशाणुको धागोले
बाँधिएको हाम्रो नाता
कसरी छुट्न सक्छ
गर्भमै गाँसिएको गोत्र
यो पनि भन्नुस् बा !
कसरी गर्नुहुन्छ
जिउँदै छोरीको किरिया
र भन्न सक्नुहुन्छ
मारे पाप पाले पुण्य
बा !
जीवनको यो बीसौं वसन्तमा उभिएकी
म कुन्ता कुमारी
कुमारी रहनै सकिन
कन्या त ́न हुँदै होइन
भन्नुस् बा !
अब कसरी गर्नुहुन्छ
मेरो कन्यादान ?
(यादहरुकाे सङ्ग्रहालयबाट साभार)                       जनपत्रिका मासिकमा प्रकाशित


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।