२९ असार २०८१, शनिबार

दशरथपुर विद्रोहका सहिद र घाईतेहरुको ४४ वर्ष: अझै पाएनन् न्याय !

0

१७ जेठ,सुर्खेत । देशभर निरंकुश पञ्चायती शासनका विरुद्ध आन्दोलन चर्किदै थियो । पञ्चायती शासकहरुको अत्याचारले नेपालका गाउँ –गाउँ आक्रन्त थिए । पञ्चायती शासनका विरुद्धको आन्दोलनको प्रभाव सुर्खेतको दशरथपुर सम्म पुगेको थियो ।
वि.स. २०३६ साल जेठ १५ गतेको दिन थियो । हजारौ युवा विद्यार्थीहरु गुमी,लेखफर्सा लगायतका गाउँ– गाउँबाट पञ्चायत शासनका विरुद्ध हातमा विद्रोहको झण्डा बोकेर प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शन दशरथपुर हुदै सिडियो कार्यालय विरेन्द्रनगर सम्म पुग्ने लक्ष्यमा थियो । जब प्रदर्शन दशरथपुर पुग्यो तब तत्कालिन पञ्चायती शासक तुल्सीलालको आदेशमा प्रहरीले अन्धा धुन्ध प्रदर्शनकारी माथि गोली बर्सायो । ७ जनाको घटनास्थलमा उच्च बलिदान भयो भने करिव डेढ दर्जन आन्दोलनकारी सक्त घाईते भए ।

दशरथपुर बजार एकाएक रणमैदानमा परिणत भयो । नजिकैको भेरी नदि रगतले रक्तामे भयो । गाँउ बस्ति शोकाकुल भए । आफन्तजनका आँखाबाट आसुको धाराहरु बगे । ती आँसुका धाराहरु अहिले पनि रोकिएका छैनन् । मुटुभरी गहिरो चोट छ । पञ्चायती शासकहरुले आफन्जनहरुलाई लास समेत नवुझाएर लास गायव पारेको पीडा आफन्तजनलाई छ ।
आन्दोलनमा प्रहरीको गोली लागेर सुर्खेत चोप्लाका युवा विद्यार्थी इन्द्र विसी, सुर्खेत लेखफर्साका किसान व्रहमदत्त तिवारी, सोही ठाउँका लालवीर टमट्टा,न्याउले कामी, बहादुरे कामी,कर्ण बहादुर खत्री र हस्त बहादुर सार्कीको उच्च बलिदान भयो ।

प्रदर्शनका क्रममा पूर्ण वहादुर फौजा मगर,जंग बहादुर रखाले, मानवहादुर सटाली र इन्द्र वहादुर पौडेल लगायतका १७ जना सर्वसाधारणहरु गोली लागि घाईते भए ।
यो कहाली लाग्दो घटना भएको अहिले ४४ वर्ष भईसक्यो । यो घटनाको दृश्य अहिले पनि दशरथपुरका पदम वहादुर टमट्टाको आँखा अगाडि झल्झल्ती आईरहको छ । उनी घटनाको प्रत्यक्षदर्शी र ज्यूदो इतिहास समेत हुनु ।
पदमवहादुरले आफ्नो वुवा लाल वहादुर टमट्टा संगै आन्दोलनमा प्रत्यक्ष सहभागी भएको कुरा सुनाउदै भन्ने “म त्यति वेला १६ वर्षको थिए,अहिले ६० वर्षको भए । मेरो वुुवा संगै म आन्दोलनमा गएको थिए । वुवा र म संगै थियौ । आन्दोलन माथि प्रहरीले एकाएक गोली हान्यो, वुवालाई गोली लागेछ । मलाई थाहा भएन ।
आन्दोलनको बीचमा भागदौड मच्चियो । मैले वुवा आउनु भयो होला भन्ने लाग्यो । तर साँझ घर आउनु भएन । उहाँ त सदाको लागि जानु भएछ । घरमा रुवावासी चल्यो । आँसुहरु अहिले पनि रोकिएका छैनन् । घटना सम्झिदा छाति भक्कानिएर आउछ ।”
सहिद लाल बहादुरका छोरा पदमले निरंकुश पञ्चायती शासनको सट्टा बहुदलीय प्रजातन्त्र चाहिन्छ भनेर आफ्नो वुवाले रगत बगाएको वताए । तर आफ्नो वुवाको रगत माथि बहुदलवादी पार्टीहरुले अपमान गरेको र चार दशक सम्म राष्ट्रिय सहिद समेत घोषणा गर्न नसेको पीडा उनले पोखे ।

बहुदल,लोकतन्त्र र गणतन्त्र सम्म आउदा पनि आफ्नो वुवाको बलिदानको सम्मान राज्यले गरेन पदम वहादुरले भने “माधव नेपाल प्रधानमन्त्री हुदा काठमाडौ सम्म धर्नामा पुग्यौ ,सहिद घोषणा हुनुपर्छ राहत र क्षेतिपूर्ति पाउनु पर्छ भन्दा उल्टै २ दिन जेल हालियो यो सामान्य पीडा होइन ।”

उनले आफुहरुको माग अहिलेको सरकाले गम्भीरतापूर्वक सुनहोस र दशरथपुर घटनामा हत्या गरिएका सवैलाई राष्ट्रिय सहिद घोषणा गरिहोस भनेर जोडदार माग गरे । तर उनी मागहरु पुराहुनेमा आसावादी भएपनि सजिलै पुराहुने विश्वास भने गर्दैनन्  ।
यस्तै चार दशक पहिले आफ्नो भाई व्रहमदत्त तिवारी गुमाएका  दाजु दुर्गा प्रसाद तिवारीले पनि राज्यले यति ठुलो बलिदानको घटनालाई वेवास्ता गरेको गुनासो गरे ।
उनले भने “२०३६ सालको आन्दोलनको बलले जनमतसंग्रहको अधिकार पाईयो,त्यसमा पञ्चायती शासकहरुले षड्यन्त्र गरी बहुदलवादीलाई हराए । त्यसपछि ०४६ सालमा जनआन्दोलन भयो र पञ्चायती व्यवस्था अन्त्य भयो । नेपालमा बहुदलीय व्यवस्था स्थापना भयो । त्यो हाम्रो आफन्तजनको रगतले हो । आज किन राष्ट्रिय सहिद नबनाईएको हो ? किन पीडित परिवारलाई सम्मान नगरिएको हो ? हामी अन्यायमा छौ । कहिले हामीले न्याय पाउने ? सहिदहरुहरुलाई कहिले सम्मान हुने ।”

उनको पीडा जति लेखे पनि कमै हुन्छ । आज राज्यमा बस्नेहरुले वेवास्ता गरेका छन । एकातिर आफन्तजन गुमाएको पीडा छ अर्कोतिर राज्यले अपमान गरेको पीडा छ ।
यस्तै दशरथपुर घटनामा बलिदान गरेका हस्त बहादुर सार्कीकी श्रीमती चन्दीराको पीडा पनि कम छैन । उनले घटनामा आफ्नो श्रीमान गुमाएको पीडा भन्दा बढी राज्यले अपमान गरेको पीडा वढी छ भनिनन् ।

चन्दीराले भनिनन् “चार दशक भन्दा बढी हुदा सम्म आफ्ना आफन्तहरुको र परिवारहरुको बारे राज्यले खोजी तलासी किन नगरेको हो ? आफ्नो श्रीमान कुनै गाई भैसी चराउन गएर मरेको होइन । देशको लागि समाज परिवर्तनको लागि बहुदल ल्याउनको लागि रगत बगाएको हो । राज्य सहिद परिवारको होकी होईन ? यो कसको हो ? हाम्रो पीडा कसले सुन्ने हो ? हामीले केही खोजेका छैनौ ? राष्ट्रिय सहिद बनाईनु पर्छ र सहिद परिवारलाई सम्मान गरिनु पर्छ भनेका छौ । ”
यस्तै श्रीमान न्याउले कामी गुमाएकी तुल्सी कामीको पीडा पनि कम छैन । उनी ३५ वर्षको उमेरमै एकल महिला भईन । अहिले उनी ७६ वर्षको भईन । उनले श्रीमान वितेको पीडा भन्दा राज्यको अपमानको पीडा धेरै भएको गुनासो गरिन ।

चार दशक सम्म अन्यायमा पर्यौ १ लाख किरिया खर्च वाहेक अरु कुनै राज्यवाट राहत पाएका छैनौ । अरु आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा गरिएको छ, १०÷१० लाख राहत दिएको छ,मेरो श्रीमानलाई किन अपमान गरियो तुल्सीले भनिन् ।

यस्तै अर्का सहिद बहादुरे कामीका छोरा कर्ण वहादुर कामीले पनि चार दशक सम्म यति ठुलो घटनालाई लुकाउनु अन्याय भएको पीडा पोखे । उनले यो आन्दोलनका सवै सहिदहरुलाई राष्ट्रिय सहिद बनाउन र सहिद परिवारलाई उचित राहतको व्यवस्था गर्न माग गरे ।
उनले भने “नेकपाका महासचिव विप्लव यहि पुगेर कार्यक्रम गर्नु भयो, सहिद परिवार घाईतेलाई सम्मान गर्नु भयो । राष्ट्रिय सहिद घोषणाको पहल गर्ने भन्नु भएको छ । हामीलाई केही आसा पलाएको छ अव हामीले न्याय पाउछौ कि भनेर ! अहिले सम्म कोही हामीलाई सोधन आएको थिएन ।”
दशरथपुर विद्रोहको घटनामा सहिद परिवारले मात्र होइन घाईतेहरुले पनि धेरै पीडा खेप्नु परेको छ । त्यो घटनामा घाईते भएकाहरुले ४४ वर्ष सम्म गोलीका छर्राहरु पैसाको अभावमा शरिर भित्रै राखेर वाँच्नु परेको पीडा व्यक्त गरेका छन ।

दशरथपुरका पूर्ण बहादुर फौजामगरको उमेर अहिले ८० वर्ष भयो । उनको टाउकोमा अहिले पनि ३ वटा छर्राहरु निकालिएको छैन । घाईते मगरलाई गोली लाग्दा उनको उमेर ३६ वर्षको थियो । उनले आन्दोलनमा सहभागी हुदा टाउकोमा ३ र घाँटीमा ७ वटा छर्रा लागेको वताए  । घाईते मगरले घाँटीका छर्रा आफै पाकेर वाहिर आए तर टाउको निकाल्न पैसाको अभावले सकिन भने ।
उनलाई टाउको छर्राले कहिले काँही वेहोस हुने र टाउको दुखने हुन्छ । तर पनि उनको पीडा बहुदलीय व्यवस्था देखि गणतन्त्रको व्यवस्था संचालक सम्म पुग्न सकेको छैन । उनले भने  “बहुदल ल्याउने आन्दोलनमा रगत बगायौ घाईते भयौ । तर राज्यले सम्मान गरेन,औषधी उपचार पनि गरेन, हामी माथि ठुलो अन्याय गर्यो हामीलाई कसले न्याय दिने हो र कहिले दिने हो ? ”

दशरथपुर विद्राहका अरु घाईतेहरु जंगवहादुर रखाले,मान वहादुर सटाली र इन्द्र पौडेलको पीडा पनि उस्तै छ । उनीहरु सवैको शरिरमा अहिले पनि पञ्चायती शासकहरुका विरुद्धको आन्दोलनमा लागेको गोलीका छर्राहरु छदैछन । यी गोलीहरु चार दशक बढी हुदा पनि शरिरवाट निकालिएका छैनन ।
घाईते हुनेहरुलाई अब सरकारले गोली निकालिदिन्छ भन्ने विश्वास पनि छैन । युवा उमेरमा शरिरमा गोली राखेर बस्नु पर्यो भने अब उमेरले पनि मर्ने बेला गोली निकालेर के नै हुन्छ ? घाईते जंगवहादुर रखालेले भने ।

घाईते इन्द्रवहादुर पौडेलले ४४ वर्ष सम्म वेवास्ता गरिएको घटनालाई महत्व दिएर नेकपाले जेठ १५ गते कार्यक्रम गर्नु र सहिद परिवार तथा घाईतेहरुलाई सम्मान गर्ने कुराले आफुहरु हर्षित भएको र आसावादी भएको वताए ।

उनले आफ्ना दविएका आवाज र दवाईको बलिदानको इतिहासलाई राष्ट्रियकरण तथा अन्तर्राष्ट्रियकरण गरिने र सहिदहरुलाई राष्ट्रिय सहिद घोषणाको पहल गर्ने कुरा विप्लवले भनेकाले केही आशावादी भएको बताए । घाईते मानवहादुर सटालीले आफुहरुलाई यो राज्यले न्याय दिनु पर्ने फेरी पनि माग गरे ।
दशरथपुर विद्रोहका सहिद परिवार हुन वा घाईते र घाईतेका आफन्तहरु हुन सवैको एउटै माग छ अझै पनि आफ्नो बलिदान माथि राज्यले अपमान नगरोहोस र सम्मान गरोहोेस् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।