७ बैशाख २०८१, शुक्रबार

हरैयाको जमिन सुकुम्बासीलाई दिन माग गर्दै नेकपा आन्दोलित, गर्यो सांकेतिक कारबाही

0

कैलाली : नेपाल कम्युनिस्ट पार्टीले कैलालीको गोदावरी नगरपालिका ६ मा रहेको हरैया शिविर छोड्न चेतावनीस्वरूप सांकेतिक कारबाही गरेको छ ।
गएको राति नेकपाले माफियाले होटल खोल्न प्लटिङ गरेको उक्त जमिनका विद्युतीय पोलहरु ढाल्ने, नालीहरु भत्काउने जस्ता कार्य गरेको स्रोतले बताएको छ ।

 जनयुद्धकालमा माओवादीले कब्जा गरेको उक्त हरैयाको जमिन उद्योगीहरुले जालसाजी गरी आफ्नो नाममा गरेका थिए र त्यहाँ ठुलो संख्यामा बस्दै आएका सुकुम्बासीको बिचल्ली पारिएको थियो । जनयुद्धको समयमा तत्कालिन नेकपा (माओवादी) ले जमिन्दारको जग्गा कब्जा गर्ने नीति अनुरुप उक्त जग्गा कब्जा गरी सुकुम्बासीलाई ल्याएर बसाएको थियो । पछि माओवादी शान्तिप्रक्रियामा आएपछि तत्कालीन केही राजनीतिक व्यक्तित्वको मिलिमतोमा उक्त जमिन उद्योगी रणबहादुर शाहबाट पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रा.लि.पोखराले २०७४ माघ २५ गते कैलालीको हरैयास्थित जमिन किनेको थियो ।

सोही बेलादेखि संघर्षमा रहेको नेकपाले हरैया शिविर जमिन कुनै उद्योगीको नाममा नभई विगत लामो समयदेखि भोगचलन गर्दै आएका सुकुम्बासीले पाउनुपर्ने माग राख्दै आएको थियो ।

के भन्छ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ?

विगतको जनयुद्धकालमा हाम्रै पार्टीले साहु जमिनदारहरुको जमिन कब्जा गरी जनतालाई बाँड्ने नीति अन्तर्गत हरैयाको त्यो जमिन पनि कब्जा गरिएको हो र त्यहाँ सुकुम्बासीहरुलाई राखिएको थियो । तर पछि पार्टी शान्ति प्रक्रियामा आएपछि केही घृणित मानसिकताका व्यक्तिकै सेटिङमा उक्त जमिन कुनै आमुख कम्पनीलाई बेच्ने काम गरियो । हामीले त्यतिबेलै यो कुराको विरोध गरेका थियौं र आन्दोलन पनि अगाडि बढाएका थियौं त्यसै क्रममा पार्टीका नेताहरुको सहादत भएको र केही अहिले पनि जेलमा रहेको नेकपाको भनाइ छ । त्यसकारण उक्त व्यक्तिको नाम रहेको जमिन जुनसुकै हालतमा पनि खारेज हुनुपर्छ र त्यहाँ वर्षौंदेखि जमिन भोगचलन गर्दै आएका सुकुम्बासीले जमिन पाउनुपर्छ । पार्टीको यसै नीति अनुसार हामीले उक्त हरैया शिविरमा प्लटिङका लागि बन्न लागेका संरचना भत्काउने काम गरेका छौँ, यो सांकेतिक कारबाही हो । जमिन नछाडेसम्म पार्टीले जुनसुकै चुनौती मोल्न तयार छ तर जमिन फिर्ता गरी सुकुम्बासीले पाउनु पर्छ, नेकपाले बताएको छ ।

के हो हरैया जमिन विवाद ?

तत्कालीन विद्रोहमा रहेको नेकपा माओवादीले जमिन्दारबाट कब्जा गोदावरीको वडा नं. ६ हरैया शिविरमा रहेको झण्डै २३ बिघामा २०६१ सालमा सुकुम्बासीलाई बसाएको थियो । पार्टी शान्ति प्रक्रियामा आएपछि उद्योगी रणबहादुर शाहबाट पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रा.लि.ले २०७४ माघ २५ गते कैलालीको हरैयास्थित जमिन किनेपछि नेकपा र बसोबास गर्ने सुकुम्वासीहरु आन्दोलित भएपछि विवादले उग्र रुप लिंदै गयो । जमिन खरिदकर्ता सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रा.लि. पोखराले भाडाका गुण्डा ल्याएर तथा स्थानीय प्रहरी प्रशासनको मिलिमतोमा सुकुम्बासीलाई हटाउने कार्य भएको  विभिन्न सञ्चारमाध्यममा आएको थियो । सुकुम्बासीको बिचल्ली पारेपछि नेकपा त्यतिबेलैदेखि उक्त जमिन उद्योगीको नाममा नभई वास्तविक पीडित सुकुम्बासीले पाउनु पर्ने माग राख्दै आएको छ । पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रा.लि.ले भने सो क्षेत्रमा आफूले पाँच तारे होटल सञ्चालनमा ल्याउने भनेर जग्गा प्लटिङ गरी त्यहाँ विद्युतीय पोलहरू राख्ने, नाली निर्माण गर्ने जस्ता कार्यहरू गरिरहेको छ ।

सुकुम्बासीको बिचल्ली ?

कैलालीको गोदावरी नगरपालिका हरैया शिविरबाट धनगढी उप–महानगरपालिकाको धुर्जन्ना सारिएका केही सुकुम्बासी परिवारको समेत बिचल्ली भएको छ । कम्पनीले उचित व्यवस्थापन नगर्दा ठूलो समस्या भएको पीडितहरुको गुनासो छ । हरैया शिविरमा लामो समयदेखि बसोबास गर्दै आएका झण्डै २५० परिवारको बिचल्ली भएको छ । अहिले उनीहरू घरबारबिहिन बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।