![](https://janapatrika.com/wp-content/uploads/2023/06/received_1298712714403196.jpeg)
काभ्रे – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ व्युरो इन्चार्ज विकल्प सीले दलाल पुँजीवादी सत्तासँग जनताको मोह भंग भैसकेको बताएका छन् । नेकपा पूर्वी ताम्सालिङ व्युरोको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमको अध्यक्षता गर्दै विकल्पले पुँजीवादी सत्ताका कारण जनतामा निराशा छाएको बताएका हुन् ।
शुत्रबार काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रममा उनले देश दलालहरुका कब्जामा गएर महङ्गी, भ्रष्टाचार, विकृति, विसंगति बढेका कारण जनतामा निराशा छाउँदै व्यवस्थाप्रति मोह भंग भएको बताएका हुन् । ‘आजको युवाले क्रान्तिकारी वर्ग र प्रतिक्रान्तिकारी वर्ग चिन्नुपर्छ । हामी कम्युनिस्टहरु क्रान्तिकारी वर्ग हौं ।’, उनले भने, ‘अहिले देश नेपाली जनताको हातमा छैन । विदेशी निगमहरुको कब्जामा छ । जसलाई हामीले प्रतिक्रान्तिकारी वर्ग भनेर बुझ्दछौं ।’
उनले विश्वपरिवेश बदलिएको भन्दै क्रान्तिको मोडेल पनि बदलिएको बताए । ‘हामीले २०औं सताव्दीमा गरेको क्रान्तिसँग अहिलेको परिवेशलाई तुलना गर्न मिल्दैन ।’, उनले भने, ‘त्यो शताब्दीको द्वन्दात्मक भौतिकवादले आजको परिवर्तित विश्व परिवेशलाई नेतृत्व गर्न सक्दैन । त्यसैले नेपालमा मालेमावादको जगमा टेकेर नेपालको बस्तुस्थितिको मुल्याङ्कन गर्दै क्रान्तिको मोडेल परिवर्तन गरिएको छ । त्यो एकीकृत जनक्रान्ति हो ।’
कार्यक्रममा नेकपा महासचिव विप्लप सीको प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिहरुमा स्थायी समिति सदस्य सुशिल सी, पार्टी केन्द्रीय सल्लाहकार समिति सदस्य यादव सी, आरोह सी, अडिक सी लगायतको रहेको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज विन्दु सीले पार्टीको दस्तावेज पढेर सुनाएकी थिइन् भने जिल्ला सचिवहरुले जिल्लाको प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन नेकपा केन्द्रीय सदस्य अर्जुन सीले गरेका थिए भने व्युरो अन्तरगतका जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।